१९१५ पटक हेरिएको
प्रकाशित: २०७६ मंसिर ०३ , ११:५० बजे

निर्मला प्रकरण : यसकारण दिलिप विष्टविरुद्ध मुद्दा चलाउने चलखेल !

Image

–मानसखण्ड ।
महेन्द्रनगर, ३ मंसीर । प्रहरीले निर्मला प्रकरणको अनुसन्धान जारी रहेको, घटनास्थलबारे एकिन गर्न नसकिएको र बलात्कार–हत्यामा एक व्यक्ति वा समूहको संलग्नता थियो भन्ने अझै खुल्न नसकेको बताइरहेको छ । तर, मानसिक रुपमा अस्वस्थ दिलिप विष्ट नै निर्मलाको हत्यारा भन्दै अनुसन्धानको बाहनामा पक्राउ गर्नका लागि दवाव दिन एक समूह नै सक्रिय भएको छ ।

निर्मलाकी आमा दुर्गादेवी पन्तलाई अगाडि लगाएर सोमबार त्यो समूह जिल्ला प्रशासन कार्यालय पुग्यो ।समूहले दिलिप विष्ट नै अपराधी हो भन्ने ठोकुवा गर्दै पक्राउ गरी फेरि अनुसन्धान गर्न दावी शैलीमा प्रमुख जिल्ला अधिकारी सुशिल वैद्यलाई दवावी शैलीमा भेटेको छ । सिडिओ वैद्यले समूहलाई ‘अनुसन्धान साँघुरिंदै गएको र प्रमाण बेगर कसैलाई समात्न नमिल्ने’ बताए ।

प्रहरी भने अहिलेसम्म घटनास्थलको एकिन भइनसकेको र अपराधमा कतिजना संलग्न थिए भन्ने अझै खुल्न नसकेको बताइरहेको छ । सोमबार साँझ दैनिक मानसखण्डसँग कुरा गर्दै जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा डिएसपी........ चन्दले घटनास्थल र संलग्न व्यक्तिको संख्या यकिन भइनसकेको बताउँदै भने, ‘अनुसन्धान जारी छ, हामी कुनै निष्कर्षमा पुग्न सकेका छैनौं ।’

प्रहरी अनुसन्धान निष्कर्षमा नपुग्दै दुर्गादेवी पन्तका साथ सिडिओलाई दवाव दिन जाने समूहमा महेन्द्रनगर माध्यामिक विद्यालयका प्रधानाध्यप चन्द्रकला पन्त, माया नेगी, हेलेन श्रेष्ठलगायतका व्यक्ति थिए । समूहमा वर्खास्त एसपी डिल्लीराज विष्टका नातेदार र निकटका व्यक्ति पनि रहेका भेटघाटका क्रममा उपस्थित पत्रकारहरुले बताएका छन् ।

अभियान जारी छ
दिलिपसिंह विष्टलाई अपराधी बनाएर वास्तविक अपराधी उम्काउने पुरानै अभियानको एक कडीका रुपमा सोमबारको भेटघाटलाई लिइएको छ । प्रहरी अनुसनधानले अहिलेसम्म दिलिपविरुद्ध कुनै प्रमाण जुटाउन नसके पनि विभिन्न प्रपञ्च गर्दै विष्टलाई नै अपराधी सावित गर्ने संगठित प्रयास भइरहेको छ । दिलिपविरुद्ध बलात्कारपछि हत्याको मुद्दा चलाउनकै लागि पत्रकारहरुहरु समेतलाई प्रभावमा पारेर दुष्प्रचार गरिंदै आएको छ । दुर्गादेवी पन्तलाई अगाडि उभ्याएर स्थानीय रुपमा दवाव दिने कामको उदाहरण हो सोमबारको भेटघाट ।

दुर्गादेवीले गत भदौमा दिलिप विरुद्ध किटानी जाहेरी दिएकी थिइन् । तर, प्रहरीले सो जाहेरीलाई सत्य प्रमाणित गर्ने प्रमाण भेटाएको छैन । केही महिना अगाडि न्यूज–२४ टेलिभिजनमार्फत दिलिपका विरुद्ध ‘प्रत्यक्षदर्शी’ पनि खडा गरिएको थियो । ती प्रत्यक्षदर्शीले पछि प्रहरीमा उपस्थित भएर बयान दिए पनि उनले दिएको जानकारीले प्रहरी अनुसन्धानमा कुनै सहयोग नगरेको प्रहरी अधिकारीहरुले बताएका छन् । न्यूज–२४ टेलिभिजनको ‘सीधा कुरा जनतासँग’ कार्यक्रमले दिलिपलाई अपराधी देखाउने कोणबाट आधा दर्जन कार्यक्रम प्रसारण गरिसकेको छ भने दर्जनौं अनलाइनल समाचार पोर्टलहरुले पनि त्यही आशयका साथ काम गरिरहेका छन् । तर, प्रहरीले दिलिपविरुद्ध ठोस भौतिक प्रमाण जुटाउन नसक्दा ती सबै प्रयास निष्फल सावित भएका छन् ।

स्थानीय स्तरमा निर्मलाको वास्तविक बलात्कारी–हत्यारा पत्ता लगाउनुपनै पक्षमा अडिग रहेकाविरुद्ध विभिन्न जालझेल गर्नेदेखि समूह नै परिचालित भएर प्रहरी र प्रशासनलाई दवाव दिने कार्य जारी छ । निर्मलाकी आमा दुर्गादेवीले भनेकै आधारमा दिलिपसिंह विष्टलाई पक्राउ गरी मुद्दा चलाउनुपर्ने सो समूहको माग रहिआएको छ । समूहले खुलेआम दिलिप नै बलात्कारी–हत्यारा भन्दै हिडिंरहे पनि प्रहरीलाई सहयोग पुग्ने प्रमाण दिन सकेको छैन ।

निर्मलाको बलात्कारपछिको हत्यामा राज्यका प्रभावशाली पदमा बसेका व्यक्तिका पारिवारिक सदस्यको संलग्नता रहेको आम आशंका छ । प्रतिनिधिसभामा सांसद डिला संग्रौलाले अपराधी सिंहदरबारभित्र सुरक्षित रहेको दावी रेकर्ड गराएकी छन् भने नेपाली कांग्रेसको भ्रातृ संगठन तरुण दलका नेता जीतजंग बस्नेतले सार्वजनिक रुपमैं गृहमन्त्री रामबहादुर थापाका छोराको डिएनए परीक्षण हुनुपर्ने माग गर्दै आएका छन् । तर, ती दावी र मागप्रति पनि सरकार गम्भीर देखिएको छैन ।

सरकारद्वारा गठित उच्चस्तरीय छानविन समितिले केही त्यस्ता व्यक्तिलाई ‘शंकास्पद’ भनी प्रष्ट रुपमा उल्लेख गरे पनि सरकारले त्यो प्रतिवेदन थन्क्याएर राखेको छ । निर्मला प्रकरणमा राष्ट्रिय मानव अधिकार आयोगद्वारा गठित विज्ञ टोलीको अनुसन्धान प्रतिवेदनका आधारमा आयोगले सरकारलाई दिएको निर्देशनको पनि वास्ता गरिएको छैन ।

किन दिलिप नै तारो ?
बर्खास्तीमा परेका कञ्चनपुरका तत्कालिन प्रहरी प्रमुख एसपी डिठल्ली राज विष्ट र केन्द्रीय जाँच ब्यूरो (सीआइबी)को अनुसन्धान टोलीका प्रमुख डिएसपी अंगुर जिसीको निर्देशनमा गत वर्ष भदौमा दिलिपसिंह विष्ट नै अपराधी दावीसहित पक्राउ गरी मुद्दा चलाउने प्रयास गरेका थिए । तर, महेन्द्रनगरमा उठेको आन्दोलन र प्रमाणको अभावका कारण दिलिपमाथि मुद्दा चलाइएको थिएन । दिलिपलाई यातना दिएको र प्रमाण नष्ट गरेको अभियोगमा विष्ट र वडा प्रहरी कार्यालयका तत्कालिन इन्चार्ज जगदीश भट्टलाई गृहमन्त्रालयले वर्खास्त गरेको थियो भने अंगुर जिसीसमेत अन्य ६ जनालाई निलम्बन ।

प्रहरीले प्रमाण नष्टमा ८ प्रहरी र यातनामा ४ प्रहरी (उनै ८ जनामध्येका) विरुद्ध अनुसन्धान गरी नेपाल सरकारले दायर गरेको मुद्दा अहिले जिल्ला अदालत कञ्चनपुरमा अन्तिम सुनुवाईको क्रममा छ ।

फैसलाको घडी नजिकिंदै गर्दा दिलिप विष्टलाई अपराधी बनाएर मुद्दा चलाउन विभिन्न खालका प्रचारवाजी र सक्रियता जारी छन् । दिलिप विष्टमाथि मुद्दा मात्रै चलाउन सकिए आठ प्रहरीविरुद्धको मुद्दाको सुनुवाई पनि सर्दछ । दिलिपविरुद्धको मुद्दा मूल मुद्दा भएपछि यातना र प्रमाण नष्टका मुद्दा गौंण हुन जान्छन् । मूल मुद्दाको छिनोफानोकै आधारमा गौंण मुद्दाको फैसला हुन्छ । कुनै किसिमले अदालतलाई समेत प्रभावमा पारेर दिलिपलाई अपराधी घोषित गर्न सके ८ जना प्रहरी स्वतः उम्कन्छन् र वास्तविक हत्याराले पनि उन्मुक्ति पाउँछ । अबका केही सातामा मूल मुद्दाका रुपमा दिलिपलाई अदालत पु¥याउन नसके ८ प्रहरीविरुद्धको मुद्दा फैसला हुने निश्चित छ । त्यही भएर दिलिपलाई ‘जसरी हुन्छ अदालतमा पु¥याउने’ कसरत चलिरहेको हो ।

कहाँबाट ल्याउने प्रमाण !
दुर्गादेवीको कथन, न्यूज–२४ को दुष्प्रयास, केही शंकास्पद पत्रकारको भिडियो र स्थानीय एक समूहको दावीका आधारमा दिलिपलाई अभियुक्त बनाउन नसकिने र त्यसका लागि ठोस प्रमाण चाहिने कञ्चनपुर प्रहरी र जिल्ला महान्यायाधिवक्ताको कार्यालयको निष्कर्ष छ ।

दिलिपविरुद्ध प्रचारबाजी र अभियानमा होमिएकाहरुले मात्रै नभई सिंगो प्रहरी संगठनले समेत ठोस प्रमाण ल्याउन असम्भव छ किनभने विधिविज्ञानका दृष्टिले प्रमाणका रुपमा पेश गर्न सकिने ३ दर्जनभन्दा बढी प्रमाण वर्खास्त एसपी डिल्लीराज विष्ट र निलम्बित डिएसपी अंगुर जिसीकै पहलमा मेटाइएको छ । प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालाले समेत निर्मलाको भजाइनल स्वाबबाट डिएनए प्रोफाइल तयार गर्दा जानाजान त्रुटी गरेको मानव अधिकार आयोगको निष्कर्ष छ ।

चाहिने जति सबै प्रमाण मेटाएपछि डिल्ली विष्ट र अंगुर जिसीकै योजनामा दिलिप विष्टलाई अभियुक्त बनाई आफूहरु सहित ८ प्रहरी र वास्तविकत अपराधीलाई उन्मुक्ति दिलाउने प्रयास भइरहेको सर्वसाधारणको पनि बुझाई छ ।

संसारले हेर्दैछ !
दिलिपलाई मुख्य अभियुक्तका रुपमा अदालत पु¥याउन विभिन्न प्रयास भइरहेका भए पनि निर्मला प्रकरणबारे अदालतमा चलिरहेका मुद्दामा संसारकै ध्यान केन्द्रीत छ । विभिन्न अन्तर्राष्ट्रिय संस्थाहरुले विशेष डेस्क नै स्थापना गरेर यस प्रकरणलाई हेरिरहेका हुनाले ठोस भौतिक प्रमाणविना प्रहरी र सरकारी वकिलको कार्यालयले दिलिपविरुद्ध मुद्दा दायर गर्न सक्ने अवस्था छैन ।

हावादारी तरिकाले दिलिपमाथि अभियोग चलाइएमा आममानसमा रोष बढ्ने र नेपाल प्रहरीको साख झन् खस्कने खतरा विद्यमान रहेको छ । सरकारी न्यायाधिवक्तावक्ताहरुले भौतिक प्रमाणविना मुद्दा दायर गर्न सक्ने खोजे नेपाल सरकार अन्तर्राष्ट्रिय जगतमा झन् आलोचित हुने निश्चित छ । उच्चस्तरीय समिति र मानव अधिकार आयोगका प्रतिवेदन थन्क्याएर हावादारी आधारमा दिलिप माथि मुद्दा चलाइएमा प्रधानमन्त्री केपी ओलीले थप क्षति बेहोर्नुपर्ने देखिन्छ । उसै पनि निर्मला प्रकरणमा प्रधानमन्त्रीका अभिव्यक्तिले उनको छविमा नराम्रो धक्का पुगेको छ ।

दिलिप झन् अस्वस्थ
दिलिपसिंह विष्टको मानसिक अवस्था झन् बिग्रेको उनका दाजु खडक विष्टले बताएका छन् । अहिले दिलिप विगतमा भन्दा धेरै बोल्ने, तथानाम बोल्ने र रातभरि नसुत्ने समस्याबाट ग्रस्त भएका खडकको भनाई छ ।

दिलिप अहिले पनि महेन्द्रनगर बजारमा घुमिरहेका देखिन्छन् । उनलाई चिन्नेहरु पनि उनको मानसिक अवस्था झन् बिग्रेको बताउँछन् । उनलाई लामो समयदेखि चिन्ने नयाँ नेपाल चाउमिन सेन्टरका सञ्चालक हेमराज जोहीले भने, ‘अहिले झन् पागल भएको छ ।’

दिलिप विष्ट गम्भीर खालको मानसिक समस्या ‘इन्डिफ्रेन्सियटेड जिोफ्रेनिया’बाट ग्रस्त रहेको त्रिभूवन विश्वविद्यालयको महाराजगञ्ज शिक्षण अस्पतालले प्रमाणित गरिसकेको छ । शिक्षण अस्पतालको सिफारिसका आधारमा दिलिपलाई गत वर्ष कोशिष मेन्टल हेल्थ सेन्टरमा उपचार गरिाइउको थियो भने अहिले पनि उनी शिक्षण अस्पतालको प्रिस्क्रिप्सनमा मानसिक रोगको औषधि सेवन गरिरहेका उनका दाजु खडक विष्टले बताए ।
गत वर्ष प्रहरीले हिरासतमा यातना दिएपछि मानसिक अवस्था झन बिग्रेका दिलिपको उपचारका लागि गृहमन्त्रालयले अहिलेसम्म ३६ हजार रुपैयाँ समेत जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमार्फत् निकासा गरिसकेको छ ।

सरकारले अपराधी लुकाएको छ : देउवा
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले निर्मला पन्तका बलात्कारी–हत्याराको संरक्षण गरिरहेको दावी गरेका छन् ।

शनिबार महेन्द्रनगरको होटल ओपेरामा आयोजित पत्रकार सम्मलेनमा देउवाले नेपाली कांग्रेस सरकारमा आएपछि वास्तविक हत्यारालाई कठघरामा पु¥याउने बताए ।

नेपाली कांग्रेसका अन्य नेताले पनि निर्मलाका हत्यारालाई सरकारले संरक्षण दिइरहेको आरोप लगाउँदै आएका छन् कांग्रेस नेतृ डिला संग्रौंलाले प्रतिनिसधसभामैं ’निर्मलाको हत्यारा सिंहदरवारमा सुरक्षित छ’ भन्दै दावी रेकर्ड गराएकी छन् भने तरुण दलका नेता नेता जीतजंग बस्नेतले गृहमन्त्री रामबहादुर थापाका छोराको डिएनए जाँचको माग गर्दै आएका छन् ।


About Author
-मानसखण्ड