२७८४ पटक हेरिएको
प्रकाशित: २०७६ श्रावण २८ , १०:३८ बजे

निर्मलाकी आमालाई जागिर दिने मेयरले ७२ वृद्धवृद्धाको दानपानी रोके

Image

 


निर्मला प्रकरणमा आन्दोलन गर्नेहरु विरुद्ध उत्रियो भीमदत्त नगरपालिका

– भुवन भट्ट
महेन्द्रनगर, २८ साउन । भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्ट प्रतिशोध साँध्न अमानवीय स्तरमा उत्रन थालेका छन् । निर्मला पन्तकी आमा दुर्गादेवीलाई जागिर दिएर आफूले महान काम गरिरहेको बताउने मेयरले निर्मला प्रकरणकी एक आन्दोलनकारी शारदा चन्दले सञ्चालन गरेको वृद्ध आश्रमका वृद्धवृद्धालाई भने भोकै बस्नुपर्ने अवस्था सिर्जना गरिदिएका छन् ।

निर्मला पन्तकी आमालाई नगरपालिकामा ज्यालादारी कर्मचारी बनाएर सहानुभूति आर्जन गर्न खोजेको भीमदत्त नगरपालिकाले एक दशकदेखि ६ दर्जन वृद्धवृद्धालाई दिंदै आएको सहयोग भने कटौती गरेको छ । निर्मलाको न्यायका लागि संघर्षरत अधिकारकर्मी शारदा चन्दको पहलमा सञ्चालन भइरहेको बनखेतस्थित वृद्धा आश्रमलाई नगरपालिकाले दिंदै आएको सहयोग बन्द भएको छ ।

२०६४–०६५ देखी ०७३ सम्म नगरपालिकाले नियमित रुपमा बृद्धा आश्रमका लागि बजेट छुट्याउने गरेको थियो । तर, यस वर्षबाट भने सो बजेट रोक्का गरिएको छ । बजेट रोक्का गरिएपछि आश्रमका ७२ जना वृद्धवृद्धालाई खान र पिउनका लागि समेत संकट भएको छ ।

भीमदत्तनगरपालिका बनखेत स्थित आश्रममा अहिले ७२ जना बृद्धबृद्धा आश्रीत रहेका छन् । आश्रमको सञ्चालन महिला अधिकारकर्मी शारदा चन्दले गरीरहेकी छन् । निर्मला प्रकरणमा शारदा अग्रपंक्तिकी अभियन्ता हुन् । उनको सक्रियता घटाउन नगरपालिकाले वृद्धाश्रमलाई दिदैं आएको बजेट रोक्का गरेको अनुमान गर्न थालिएको छ ।

सुदूरपश्चिम तथा देशका कुनाकाप्चाबाट बृद्धा आश्रममा बस्न बृद्धबृद्धाहरु आउने गरेका छन् । बृद्धबृद्धाको स्याहारसुसार गरिरहेकी चन्द अहिले निराश बनेकी छन् र आश्रम सञ्चालनका लागि संकट आइलागेको उनको कथन छ । ‘विगतका वर्षहरुमा नगरपालिका तथा जिल्ला बिकास समितिबाट आश्रम सञ्चालनका लागि रकम निकासा भईरहन्थ्यो जसले आश्रममा खाद्यान्न, लुकाकपडाको व्यवस्था गर्नसहज भईरहेको थियो तर अहिले स्थानीय सरकारले सहयोग बन्द गरिंदिंदा वृद्धवृद्धाको पेट भर्ने समस्या भएको छ’, चन्दले बताइन् । तत्कालीन जिल्ला विकास समिति वार्षिक रुपमा आवश्यकता अनुसार रकम निकासा गर्ने गरेको बताउँदै उनले अहिले सबै सहयोग रोक्का गरिएको उनले बताईन् ।

नगरपालिकाले उपलब्ध गराउने रकम रोकेपछि बृद्धआश्रम चलाउन समस्या भएको उनको भनाई छ । नगरपालिकासँग यस विषयमा कुरा गरिए पनि कुनै सुनुवाई नभएको भन्दै उनले जनाईन् । प्रमुख प्रशासकीय अधिकृतसँगको भेटघाटमा प्रपोजल तयार पार्न भनिए नगरपालिकाले कुनै वास्ता नगरेको उनको गुनासो छ । नगरप्रमुख शुरेन्द्र बिष्टलाई पनि पटक–पटक अनुरोध गरिए पनि उनले वास्ता नगरेको चन्दको भनाई छ ।

 


About Author
-भुवन भट्ट

भट्ट दैनिक मानसखण्डका सम्वाददाता हुन् । उनी दुई वर्षदेखि पत्रकारितामा क्रिाशील छन् ।