९९२८ पटक हेरिएको
प्रकाशित: २०७६ श्रावण २७ , १२:१३ बजे

पत्रकारिताको अनुहारमा कालो पोतिएको त्यो दिन !

Image

-खेम भण्डारी
२०७६ साल साउन २१ गतेको दिन नेपाली पत्रकारितामा कलंकको दिनका रुपमा अंकित हुनेछ । निर्लज्जता, पेशागत धर्म र मर्यादा, पत्रकारिताको आचारसंहिता तथा समाजलाई दिग्भ्रमित पार्न र अपराधको ढाकछोप गर्न पत्रकारिताको नांगो र चरम दुरुपयोग भएको दिनका रुपमा २१ साउन इतिहासमा चर्चित रहनेछ ।

न्यूज–२४ टेलिभिजनको ‘सीधा कुरा जनतासँग’ कार्यक्रमको त्यस दिनको अंकले नेपाली पत्रकारितामा रहेको बेथितीको सटिक प्रदर्शन गरेको छ । निर्मला प्रकरणका सम्बन्धमा ‘बहस’ गर्न अतिथीका रुपमा बोलाइएको यो पंक्तिकारलाई कार्यक्रम सञ्चालक (होस्ट)ले धोकाधडीपूर्ण व्यवहार मात्रै गरेनन्, यो ज्वलन्त मुद्दामा अपराध गर्नेहरुको पक्षपोषण समेत गर्ने असफल प्रयास गरे । सम्भवतः विश्वकै टेलिभिजन इतिहासमा यस्तो निर्लज्जता अहिलेसम्म प्रस्तुत भएको थिएन ।

निर्मला प्रकरणलाई अनावश्यक रुपमा उचालेको, आफ्नो व्यक्तिगत रिसइबी साँध्न र आफन्तलाई बचाउन कलमको दुरुपयोग गरेको एकपक्षीय रिपोर्टहरु लगातार प्रसारित भएपछि मैले होस्ट रवि लामिछानेको आमन्त्रणलाई सशर्त स्वीकारेको थिएँ । कार्यक्रमको पूरै समय मलाई दिइनुपर्ने, आवतजावतसहितको खर्च बेहोर्नुपर्ने र मेरो सुरक्षाको प्रत्याभूति गरिनुपर्ने शर्त स्वीकारिएपछि म २१ गते बिहान काठमाडौं पुगेको थिएँ ।

प्रकरण सम्बन्धी गहन तथ्यहरु बोकेर संसारसामु ती तथ्य प्रस्तुत गर्ने मेरो उत्साहमा तब झड्का लाग्यो जब मैले रवि लामिछाने र निलम्बित डिएसपी अंगुर जिसीबीच अन्तरंग सम्बन्ध रहेको थाहा पाएँ । अघिल्लो दिन २० साउनमा मैले कार्यक्रममा मेरा तर्फबाट प्रस्तुत हुने भिडियो, दस्तावेज र अन्य चित्रणहरु समेतका ९ वटा सामग्री गुगल ड्राइभबाट इमेल गरेको थिएँ । कार्यक्रमका उत्पादक दिपक बोहरालाई पठाइएको इमेल निलम्बित डिएसपी अंगुर जिसीलाई फरवार्ड गरियो । एकजनालाई मात्र एक्सेस दिएको इमले अंगुर जिसीले खोल्न खोज्दा मेरो अनुमति माग गरियो र म झसंग भएँ ।

पत्रकारितामा यस्तो बेइमानी हुन्छ भन्ने कल्पना पनि गर्न नसकिने कुरा हो । मैले अडियन्सका लागि प्रस्तुत गर्न पठाएको सामग्री मेरा विपक्षीहरुलाई तत्काल पठाएर पत्रकारिताको धर्म नै नाश गर्ने काम गरियो । अंगुर जिसीसँग मेरो बहस निर्धारित थिएन । लामिछानेले मलाई स्टुडियोमा स्वागत गरुञ्जेल समेत तेस्रो कुनै व्यक्ति स्टुडियोमा आउने संकेत सम्म दिएका थिएनन् । तेस्रो व्यक्ति आउने घोषणा भएको अवस्थामा पनि त्यसरी मैले आफ्ना तर्क र दावी पुष्टि गर्न कार्यक्रम सञ्चालकलाई पठाएका सामग्री ‘पास’ गर्न पाइन्न तर अघोषित व्यक्तिलाई मेरो जमेर प्रतिवाद गर्नका लागि ती सामग्री फरवार्ड गरियो । अनैतिकताको यो खुल्ला प्रदर्शनले नेपाली पत्रकारिता नै लज्जित हुनुपरेको छ ।

कार्यक्रम सुरु भएको झण्डै १० मिनेटमा निलम्बित डिएसपी जिसीको स्टुडियोमा प्रवेश भयो र रवि छामिछानेले होस्टको नभई मेरो विरोधीको भूमिका निभाए । बेला–बेलामा लाग्थ्यो – रविले आफ्नो सहयोगका लागि जिसीको आड लिइरहेका छन् । विषयवस्तुको अलिकति पनि ज्ञान नभएका रविसँग अन्तर्वार्ताकला पनि रहेनछ भन्ने बुझ्न समय लागेन । रविको सहयोगीका रुपमा आएका जिसीले आफूलाई निर्दोष सावित गर्ने र मलाई दोषी प्रमाणित गर्ने अथक प्रयास गरिरहे र उनको त्यो प्रयासलाई रविले सघाइरहे ।

अंगुर जिसीसँग मिलेर रविले मलाई पटक–पटक दोषी देखाउने असफल प्रयास गरे । धेरै पटक उनले मलाई यो स्वीकार्नुस् र त्यो स्वीकार्नुस् भन्दै न्यायाधीशको जस्तो आदेश दिइरहेका थिए । तर, उनले अंगुर जिसीलाई एउटा पनि प्रश्न गरेनन् बरु अंगुर जिसीका प्रश्नहरु तिखार्ने, उनलाई सहयोग पुग्ने खालका पूरक प्रश्न गर्ने र मलाई हतोत्साहित गर्ने प्रयास अन्तिमसम्म गरिरहे । कुनै पनि होस्टले लाखौं दर्शका माझ यस्तो पक्षपातपूर्ण र शंकास्पद भूमिका गर्दैन । रविको यो भूमिकाले न्यूज–२४ टेलिभिजनकै साखमा प्रश्नचिन्ह लागेको छ ।

सुरुका केही मिनेट म हतप्रभ भएँ । कल्पना पनि नगरेको पत्रकारिताको अभ्यास देखेर म आफैलाई लाज लागिरहेको थियो । जब–जब म निर्मला प्रकरण सम्बन्धी तथ्यहरु प्रस्तुत गर्न थाल्थें दुबैजना मिलेर मलाई रोक्थे । जुन मुद्दामा बहस हुँदैछ त्यही मुद्दामा निलम्बित भएको र त्यही मुद्दामा अदालतमा अभियुक्त रहेको व्यक्तिलाई रविले भरपूर साथ दिइरहेका थिए । मलाई खुइल्याउन जुनसुकै हदको निर्लज्जता पनि प्रदर्शन गरिदिने उनीहरुको मनसाय रहेको बुझ्न मलाई करिब १० मिनेट लागेकै हो तर पनि मैले शिष्टता र भद्रताको प्रदर्शन गर्ने सक्दो प्रयास गरिरहें ।

मैले दिपक बोहरालाई पठाएका इमेलमा रहेका सामग्री पहिले नै प्राप्त गरेका अंगुरले ती सामग्रीको खण्डन गर्न झुठको पोको नै खोलिदिएका थिए । दिलिप विष्ट मानसिक रोगी होइन भन्ने प्रमाणित गर्न रवि र अंगुरले सर्वोच्च अदालतले नै उसलाई पागल अस्वीकार गरेको झुठा कुरा बोले । मलाई भोलिपल्ट मात्रै थाहा भयो सर्वोच्च अदालतको काम कसैलाई मानसिक रोगी हो वा होइन भन्ने खुटयाउने होइन रहेछ । अनडिफ्रेन्सियटेड सिजोफ्रेनियाका पनि प्रकार हुन्छन् र त्यो मानसिक रोग नै होइन भन्ने उनीहरुको संयुक्त दावी रह्यो । शिक्षण अस्पतालका मानसिक रोग विशेषज्ञलाई सम्पर्क गरी वास्तविकता बुझ्न मैले पटक–पटक गरेको अनुरोध सुनिएन । तीबाहेक अरु थुप्रै झुट अंगुरले बोल्ने र रविले समर्थन गर्ने क्रम करिब ३ घण्टा लामो कार्यक्रममा चलिरह्यो ।

रवि र अंगुरले मिलेर पूर्वतयारी गरेको लाखौं दर्शकहरुमाझ लुकेन । देशकै सर्वाधिक लोकप्रिय कार्यक्रमका प्रस्तोता यसरी निवस्त्र भएर लाइभ हुनसक्छन् भने भित्रभित्रै उनले कस्तो आचरण गरिरहेका होलान् भन्ने प्रश्न उठ्नु अस्वाभाविक होइन । कार्यक्रम एकदमै नियोजित थियो । कतिसम्म भने महेन्द्रनगरकी एक युवतीको अनुहार लुकाएर दिलिपसिंह विष्टलाई अपराधी हुनसक्ने सन्देश प्रवाहित गर्न खोजियो । हतप्रभ ती युवतीले तत्काल आपत्ति जनाउँदै स्थानीय पत्रकारहरुलाई आफूमाथि धोका भएको बताएकी छन् । उनको आवाज र भिडियो पनि सुरक्षित भइसकेको छ । यस्तो अनैतिक पत्रकारिता संसारमा कतै हुँदैन, रविले नेपालमा अभ्यास गरिरहेका छन् ।

निर्मलाकी आमा दुर्गादेवी पन्तको भिडियो ‘भिजन मिडिया’ नामक यूट्यूब च्यानलबाट अनुमति नै नलिई ‘कर्टसी’ भनेर प्रसारण गरियो । त्यो भिडियोमा पनि हदैसम्मको छेडछाड गरिएको छ । अगाडि र पछाडि दुबैतिर काटेर आफूलाई अनुकूल हुने किसिमले भिडियो प्रस्तुत गरियो । ‘कर्टसी’ लेख्दैमा प्रतिलिपी अधिकार प्राप्त हुन्छ भन्ने आलोकाँचो सोचबाट ग्रस्त रविले यहाँनिर पनि पत्रकारिताका आधारभूत सिद्धान्त र विश्वव्यापी प्रचलनमा रहेका मान्यताको धज्जी उडाइदिए । कार्यक्रममा देखाइएको दैनिक मानसखण्डको शीर्षक ‘निर्मलालाई झुण्ड्याइएको संकेत’ शीर्षपंक्ति थियो र समाचारमा कहिंकतै अम्बाको रुखमा झुण्डयाइएको उल्लेख छैन तर रवि र अंगुरले अम्बाको रुखमा झुण्डइएको भनी लेखिएको प्रमाणित गर्न खोजे । प्रत्यक्षदर्शीका सम्बन्धमा कञ्चनपुरका एसपीले स्थानीय पत्रकारसँग बोलेको रेकर्ड सुनाउने वातावरण नै बनाइएन । मैले प्रस्तुत गर्न खोजेका सामग्री देखाउन हदैसम्मको कञ्जुस्याईं गरियो ।

सन्तुलित पत्रकारिताको दुहाई दिने रविले कार्यक्रममा आफ्नातर्फबाट तिनै व्यक्तिका मात्रै बाइट दिए जसलाई उच्चस्तरीय छानविन समितिले शंकाको घेरामा राखेको छ । प्रहरीले चरम यातना दिएका ७ जना र अपराधी नै घोषित गरेका ५ जना उनका लागि बाइटका विषय बनेनन् । अंगुर जिसीले खिचेको तर एकदर्जन जति गलत तथ्य रहेको दिलिप विष्टको भिडियोलाई रविले शतप्रतिशत ‘एक्युरेट’ भन्ने आशयका साथ वकालत गरिरहे । दिलिप विष्टले बोलेका कुराको सत्यापन नै नगरी त्यो भिडियोलाई अचुक प्रमाण मान्ने अंगुरको दावीलाई रविले आँखा चिम्लेर विश्वास गरिदिए । मैले त्यो भिडियोमा रहेका त्रुटी केलाउन खोज्दा दुबैजनाले न्वारानको बल लगाएर मलाई डाइभर्ट गर्ने प्रयास गरिरहे ।

विश्वव्यापी प्रचलन हो – टलिभिजन शोमा निम्त्याइएका गेष्टलाई होष्टले आवतजावत मात्रै होइन पारिश्रमिक पनि दिने । मैले पारिश्रमिक मागेको थिएन, टाढा भएको हुनाले हवाईटिकट र बास खर्च मागेकै हो । रवि पनि सहमत भएकै हुन् । तर, मेरो समाजले खर्च उठाउने भएपछि मैले टिकट नकाट्न म्यासेज पठाएको थिएँ । उनले फिर्ता नहुने सस्तो टिकट काटिसकेका रहेछन् । कार्यक्रमपछि पैसा फिर्ता गर्ने हाम्रो योजना नै थियो । तर, रविले लाखौं दर्शकको अगाडि पैसा फिर्ता मागिदिए । खल्तीमा मैले पैसा बोकेको थिइनँ । गेस्ट रुममा रहेको मेरो झोलामा रहेको पैसा स्टुडियोमैं दिन खोजें तर मेरो झोला भित्र ल्याइएन । कार्यक्रमपछि मैले ५ हजार ९ सय एकतर्फी गरी जम्मा ११ हजार ८ सय रुपैयाँ दिनुपर्नेमा चानचुन नभएकाले १२ हजार दिएँ । रविले २ सय रुपैयाँ फिर्ता दिने नैतिकता देखाएनन् । मेरो समाजले ५–१० रुपैयाँ उठाएर दिएको पैसा थियो त्यो ।

सीधा कुरा जनतासँगको त्यो अंकमा मैले निर्मला प्रकरणका सबै तथ्य संसार सामु राख्नकै लागि कार्यक्रमको समय बढाउन अनुरोध गरेको थिएँ । मेरो अनुरोध मानेजस्तो गरेर मलाई नखुइल्याउञ्जेल कार्यक्रम जारी राख्ने नियत देखियो । तर, सत्यको पथमा हिंडेको मेरा अगाडि उनीहरुको केही चलेन र समाचार बुलेटिन आउँदैछ भन्ने निहुँ गरेर कार्यक्रम टुंग्याए ।

हो, मैले कार्यक्रममा सबै तथ्य प्रस्तुत गर्न सकिनँ तर त्यो कार्यक्रमले धेरै कुरा प्रष्ट पारिदियो । पहिलो, रवि लामिछानेको पत्रकारितालाई कलंकित बनाउँदै त्यो अंकले उनी निर्मला प्रकरण दबाउने एक यन्त्रका रुपमा उपयोग भइरहेका छन् दावी गर्न सकिने आधार दियो । दोस्रो, निलम्बनमा रहेका र अदालतमा मुद्दा खेपिरहेका अंगुर जिसीलाई ठूलै शक्तिको आडभरोषा रहेको देखियो अन्यथा अदालतको अपहेलना गरेर उनले आफ्नो जेलजीवन लम्ब्याउने खालको काम कसरी गर्न सक्छन् ? र तेस्रो, निर्मला प्रकरण दबाउन ठूलोस्तरमा ठूलै कसरत चलिरहेको छ भन्ने प्रष्ट भयो ।


About Author
-खेम भण्डारी