११७६९ पटक हेरिएको
प्रकाशित: २०७६ श्रावण १३ , १५:०८ बजे

दिलिप विष्ट, गुप्त प्रत्यक्षदर्शी र रवि लामिछाने

Image

 

 

    विश्लेषण   

 

–खेम भण्डारी
शनिबार न्यूज–२४ टेलिभिजनको लोकप्रिय कार्यक्रम ‘सीधा कुरा जनतासँग’मा एक प्रत्यक्षदर्शी अगाडि आएको रिपोर्टपछि निर्मला प्रकरण झन् चर्चित हुन पुगेको छ । निर्मला प्रकरणमा यो निर्णायक मोड नै सावित हुनसक्छ तर प्रत्यक्षदर्शी जस्तो महत्वपूर्ण स्रोत अगाडि आए पनि ‘मास’ले त्यसलाई खासै गम्भीरतापूर्वक लिएको पाइएन । लिए पनि त्यो ‘प्रायोजित’ भनेर उडाईदिएको जस्तो देखिन्छ । किन भयो यस्तो ?

निर्मला प्रकरण बल्झाउन प्रहरी र सत्तासिनहरुको एउटा हाँगो नै प्रमुख कारक हो भन्नेमा कुनै आशंका बाँकी नरहेको अवस्थामा रवि लामिछानेले पहिचान लुकाएर प्रस्तुत गरेकी ती प्रत्यक्षदर्शीको टेलिभिजन बयानले सनसनी मच्चाउन सकेन बरु त्यसबाट रवि नै आलोचित देखिए सामाजिक सञ्जालमा । प्रकरणको पृष्ठभूमि नबुझेर, घटनाक्रमको अन्तरकुन्तर थाहा नपाएर, औपचारिक स्रोतहरुको मात्रै भरपर्दा र रविले हतारो गर्दा ‘हात्ती आयो...फुस्सा’को लोकोक्ति चरितार्थ हुने सम्भावना देखिएको छ । कदाचित ती प्रत्यक्ष्यदर्शी खडा गरिएकी पात्र मात्रै ठहरिइन् भने निर्मला प्रकरणमा झन् जटिल गाँठो त पर्ने नै छ, रविको पत्रकारिता जीवन पनि ओरालोयात्रामा निस्कने पक्का छ । आशा गरौं त्यसो नहोला । राष्ट्रको सर्वाधिक लोकप्रिय कार्यक्रम र नयाँपुस्ताको आशलाग्दो पत्रकारको प्रतिष्ठा यस प्रकरणपछि झन् उचो होस् भन्ने कामना गर्नैपर्छ किनभने यो नेपाली पत्रकारिताको प्रतिष्ठासँग पनि जोडिएको छ ।

तर, निर्मला प्रकरणमा रवि लामिछानेको चर्चित कार्यक्रमका बिभिन्न अंकहरुबीच निहित असंगती र ती अंकहरुबाट जन्मेका केही स्वाभाविक प्रश्नबारे भने निर्मम समीक्षा हुनु जरुरी छ । विशेषतः गत साता प्रसारित दुई अंकलाई पृष्ठभूमिमा राखेर ती अंकमा समेटिएका पात्र र कार्यक्रमले उब्जाएका प्रश्नबारे बहस हुनु आवश्यक देखिन्छ किनभने ‘राज्य निर्देशित षड्यन्त्र’ कहलाइन थालेको निर्मला प्रकरणमा उठ्ने साना–ठूला सबैखाले प्रश्नहरु निरुत्तर छोडेर यो प्रकरणको समाधान निस्कन सक्दैन ।

गत साताको पहिलो अंकमा प्रस्तुत गरिएका निलम्बित डिएसपी अंगुर जिसीका तर्कको विश्लेषण अघिल्लो आलेखमैं गरिएको छ । यो आलेखमा दिलिपसिंह विष्ट, अज्ञात प्रत्यक्षदर्शी र शनिबारको त्यो अंकको समीक्षा गरिने छ ।

दिलिप सिंह विष्ट र आन्दोलन
पछिल्ला केही महिनायता निर्मलाको बलात्कारी–हत्यारा दिलिपसिंह विष्ट नै हो भन्ने किसिमले उल्टाखामदेखि काठमाडौंसम्म घनिभूत अभियान चलाइएको छ । यो अभियानलाई भूमिगत राख्ने प्रयास गरिए पनि विशेषतः महेन्द्रनगरमा यो खुला किताब झै सबैले पढिरहेका छन् । एउटा व्यावसायिक संगठनका नेता त यस काममा पूर्णकालिक नै बनेका छन् र सुरुदेखि नै आन्दोलनको विरोधमा रहेकाहरु अहिले भित्रभित्रै ‘जनमत’ परिवर्तन गरिदिने र आन्दोलनका अगुवा र समर्थकहरुलाई एक्लो पार्ने अभियानमा जुटिरहेका छन् । उनीहरु दिलिप विष्टलाई बचाउनकै लागि आन्दोलन गरिएको भ्रम छरिरहेका छन् । यो प्रयास महेन्द्रनगरमा मात्रै होइन काठमाडौंमा पनि भइरहेको छ । राष्ट्रिय मिडियाका अपराध सम्वाददाताहरुलाई नियमित रुपमा भेट्ने र प्रभावित गर्नेदेखि विभिन्न शक्ति केन्द्रहरुमा दिलिप विष्टलाई बचाउनु अधिकारकर्मी र स्थानीय केही पत्रकारहरुको उद्देश्य रहेको ब्रिफिङ भइरहेको छ ।

तर, वास्तविकता भने अर्कै हो । हिजोको आन्दोलन वा आजको प्रतिरोध दिलिपसिंह विष्टलाई बचाउनका लागि होइन । दिलिप विष्टलाई प्रहरीले गत भदौ ४ गते करिब ४ बजे सार्वजनिक गर्नेवित्तिकै स्थानीय मदनचोकमा आन्दोलन सुरु भइसकेको थियो । समातिएको व्यक्ति दिलिप हो भन्ने थाहा पाएको जम्मा एक घण्टामा नगरका व्यवसायी र युवा आन्दोलित भएका हुन् । अझै पनि महेन्द्रनगरमा दिलिप निर्दोष हो भन्ने मत बलियो छ । यो मत दिलिपको स्वच्छ छवि, लोकप्रियता वा उसका पछाडि शक्तिशाली व्यक्तिहरु भएर बनेको होइन । यो मत ११ साउनदेखि ४ भदौसम्म कञ्चनपुर प्रहरीले निर्मला प्रकरणका देखाएको व्यवहार र गरेका कर्मबाट बनेको हो ।

दिलिप विष्ट हत्याको अभियोगमा १० वर्ष जेलसजाय काटिसकेको व्यक्ति हो । उ मानसिक रुपमा रोगी पनि हो । निर्मलाको हत्या भएको ठाउँमा नांगै देखिने गरेको व्यक्तिको कुरा आउँदा महेन्द्रनगरमा दिलिपसिंह विष्ट त होइन भन्ने प्रश्न पनि उठ्ने गरेको थियो । घटनाको एकसाता वा त्यसभन्दा केही ढिलो गरी दिलिपसिंह नै निर्मलाकाको हत्यारा होृ भनेर प्रहरीले पक्राउ गरेको भए सवैले विश्वाश गर्ने अवस्था पनि बन्न सक्थ्यो ।

तर, कञ्चनपुर प्रहरीले १० साउनदेखि दिलिपलाई ४ भदौमा सार्वजनिक गर्दासम्म जस्तो पेलाहा र शंकास्पद व्यवहार देखायो त्यसबाट महेन्द्रनगरवासीलाई ‘दिलिप होइन’ भन्ने ठोकुवा गर्न सक्ने आत्मविश्वास प्राप्त भयो । १० साउनमा निर्मलाकी आमाले पटक–पटक प्रहरी गुहार्दा पनि सुनिएन र खोज्न भनी निस्कन तयार सालघारी बिटका असईले बर्दी फुकालेर ‘भोलि खोजौला’ भनेको कानले सुन्नेहरु अझै पनि जीवित छन् । ११ साउनमा प्रहरी भात खाएर विहान ढिलो गरी आरामसँग उल्टाखाम गयो । निर्मलाको साइकल भेटिएपछि थप प्रहरी बल बोलाएर उखुबारी सर्च गर्नुको साटो सडकमा हिंडिरहेकालाई भेला गरेर उखुबारीमा लगियो । किताब सुख्खै थिए कुकुर परिचालन गरिएन । मिर्मिरेमैं निर्मलाको अन्त्येष्ठी गरियो, कपडा गायब पारिए । सुरुका दिनको आन्दोलनलाई दबाउन बल प्रयोग गरियो तर आन्दोलनकारीसँग वार्ताको प्रयास नै गरिएन । दीपक नेगी र जीवन घर्तिमगरले अपराध स्वीकार गरिसकेको भनेर गृहमन्त्रालयमा रिपोर्ट गरियो, गृहमन्त्रीले अस्वाभाविक हतारोका साथ संसदलाई त्यसबारे जानकारी गराए । तर, दीपक र जीवनले हिरासतमा ठाडै अस्वीकार गर्न थालेपछि उनीहरुलाई छोडियो । उल्टाखामकी एक युवती (परिवारको अनुरोधमा पहिचान लुकाइएको छ तर उच्चस्तरीय समितिको प्रतिवेदनमा उल्लेख छ) उल्टो झुण्ड्याएर कुट्दै हत्यामा आफ्नो संलग्नता रहेको स्वीकार्न बाध्य बनाइयो तर उनले बलात्कारी हत्यारा (पुरुष)को नाम किट्न नसकेपछि छोडियो ।

महेन्द्रनगरवासीलाई दुई महिना पहिलेका दुई घटनाको याद ताजै थियो । भुजेलाका नैनराम सार्की र देखतभूलीका शिवराज रानाको हत्यालाई दुर्घटना भनेर कञ्चनपुर प्रहरीले टुंग्याईदिएको थियो । जनतामा भित्रभित्रै प्रहरीप्रतिको अविश्वास चुलिंदो थियो । त्यसमाथि नैनराम सार्कीको घटनामा भूमिका गरेका गड्डाचौकी इलाका प्रहरी कार्यालयका इन्चार्ज ११ भदौमा सबैभन्दा पहिले उखुबारी पुग्नेमध्ये थिए र उनी त्यसपछि किहल्यै गड्डाचौकी फर्केनन् । कुनै किसिमको आधिकारिक पत्र नदिएरै उनलाई वडा प्रहरी कार्यालय महेन्द्रनगरको अधिकारक्षेत्रभित्र हप्तौं सो हत्याकाण्डको अनुसन्धानको काममा लगाइयो । केही दिनमैं उखुबारी नजिकका चक्रदेव वडूलाई सार्वजनिक अपराधको मुद्दामा थुनेर बलात्कार र हत्याको अपराध सकार्न यातना दिन थालियो तर प्रमुख जिल्ला अधिकारीले म्याद थप्न नमानेपछि चक्रदेवलाई छोड्न प्रहरी बाध्य भयो ।

सुरुकै दिनदेखि आन्दोलनकारीले अन्तिम पटक निर्मला ज्यूँदो देखिएको घरबाट अनुसन्धान हुनुपर्ने माग गरिरहे तर कञ्चनपुर प्रहरीले ‘हाम्रो अनुसन्धानबाट बम दिदीबहिनी निर्दोष देखिए’ भनिरह्यो । त्यसबाट आमजनता झन् सशंकित हुने अवस्था आयो । त्यहीबीच तत्कालिन एसपी डिल्लीराज विष्टका बारेमा अनेक हल्ला चल्न थाले । दार्चुलामा उनले यस्तो गरेका थिए, डोटीमा उस्तो, जोगबुडामा त्यस्तो भन्दै गाउँसहर चर्चा हुनथाल्यो । स्थानीय मिडियाले त्यस्ता हल्लालाई ध्यान दिएन तर पछि एक प्रतिष्ठित राष्ट्रिय दैनिकले आफ्नो समाचार सञ्जालबाट अनुसन्धान गराएर ती हल्लालाई पुष्टि हुने गरी पूरै पृष्ठको रिपोर्ट छापिदियो ।

१० साउनदेखि ४ भदौका २७ दिनमा प्रहरीको व्यवहारले आक्रोश र आशंकाको खग्रास ग्रहण नै लगाइदिएको थियो कञ्चनपुरमा । त्यसमाथि मुचुल्कामा निर्मलाका बुवाको नक्कली औंठाछापको खबरले त वातावरण विष्फोटक नै बनेको थियो । मान्छेहरु निर्मलाको बलात्कार र हत्यामा चानचुने व्यक्तिको हात नरहेको निष्कर्षमा पुगिसकेका थिए ।

घटनाबारे ‘मास’ले आफ्नो धारणा बनाइसकेको र अवस्था विष्फोटक भएका बेला ४ भदौमा दिलिपलाई सार्वजनिक गरियो । नैनराम सार्की र शिवराज राना प्रकरण नभुलेको ‘मास’ले कञ्चनपुर प्रहरीको ‘गरिब, निमुखा फसाउने’ स्टाइल फेरि दोहरिएको महसुस ग¥यो र आन्दोलन भयो र सिंगो कञ्चनपुरले भन्या – दिलिप विष्ट निर्दोष हो ।

जनताको ठहर गलत पनि भएन । न दिलिपको डिएनए मिल्यो, न अरु कुनै भौतिक प्रमाण प्रहरीले जुटाउन सक्यो । सर्टको खल्ती च्यातेर प्रमाण जुटाउने प्रयास पनि पानीको फोका झैं प्रहरीकै कारण भएको हो । प्रत्यक्षदर्शीले दिलिपको सर्टको खल्ती च्यात्न लागेको नदेखेका भए अवस्था अर्कै हुने थियो ।

आन्दोलनलाई मलजल गर्ने र दिलिप विष्ट निर्दोष हो भन्ने आमधारणा बनाउने श्रेय पनि प्रहरीलाई जान्छ । दिलिपलाई सार्वजनिक गर्दा प्रहरीले बाँडेको लिखित विवरण हेरेर सबै आक्रोशित भए । एक दर्जन असंगति रहेका थिए त्यसमा ।

प्रत्यक्षदर्शीको नयाँ कहानी
रवि लामिछानेको सम्पर्कमा आएकी प्रत्यक्षदर्शी को हुन् भन्ने अहिले चर्चाको विषय बनेको छ । ती प्रत्यक्षदर्शीले १० साउनमा दिलिपलाई उल्टाखाम रोडमा हिंड्दै गरेको अवस्थामा देखेको बताएकी छन् । उनी सही पनि हुन सक्छिन् किनभने दिलिपको घरबाट बजार आउने जाने एउटा बाटो त्यो पनि हो ।

ती प्रत्यक्षदर्शीले दिलिपले निर्मलालाई पछ्याइरहेको वा साइकिलको चेन हालिरहेको वा घिसारेर लैजाँदै गरेको वा बलात्कार गरेर मारिरहेको वा अपराध गरिसकेर उखुबारीबाट बाहिर निस्कँदै गरेको देखेकी हुन् कि होइनन् भन्ने यहाँनिर महत्वपूर्ण छ । रवि लामिछानेले कि ती प्रत्यक्षदर्शीसित यो जानकारी मागेनन्, कि लुकाए । जानकारी नै नमागेको हो वा लुकाएको हो भने दुबै अवस्थामा रवि लामिछानेको साख प्रश्नको घेरामा पर्छ किनभने पत्रकारले चाहिने जानकारी नमाग्नु र पाइएको त्यस्तो जानकारी लुकाउनु दुबै पेशागत नैतिकतासँग बाझिने विषय हुन् । जानकारी नै नमागेको हो भने त लामिछानेको क्षमतामैं प्रश्न उठ्न सक्छ ।

अर्को कुरा ती प्रत्यक्षदर्शीले कति बजे देखेकी हुन् दिलिपलाई भन्ने पनि खुल्दैन । यो पनि आश्चर्यकै कुरा हो । रवि जस्तो पत्रकारले यो प्रश्न छुटाएका हुन् वा उत्तर लुकाएका हुन् अबका दिनमा थाहा हुने छ । त्यो बाटोमा दिलिप हिंडेको समय महत्वपूर्ण मानिनेछ ।

प्रत्यक्षदर्शी महिललाले रविलाई आधारभूत र अत्यावश्यक सूचना दिएकी होइनन् भने अबका दिनमा उनले गर्ने संशोधन शंकास्पद हुने छ । होइन, रविले ती जानकारी मागेका होइनन् वा पाएर पनि लुकाएका हुन् भने रविले करिअर भरि नै यो कमजोरीबाट दुःख पाइरहने छन् ।

प्रत्यक्षदर्शीलाई पूर्ण सुरक्षाको हक हुन्छ र राज्यले उनको सुरक्षा गर्नैपर्छ तर प्रत्यक्षदर्शीलाई गोपनीयताको अधिकार हुँदैन । कसैलाई हत्यारो सावित गर्न गोप्य बस्छु भन्न पाइन्छ ? निश्चय नै पाइन्न किनभने साक्षी र प्रत्यक्षदर्शीले अदालतमा हाजिर हुँदा तीनपुस्त नै लेखाउनुपर्छ र मुख नछोपेर कठघारामा उभिनुपर्छ । प्रत्यक्षदर्शी पनि गुप्त रहन पाउने न्यायप्रणाली सम्भव छ ? सम्भव छ भने सयौं मान्छे आरोप–प्रतयारोपमा उत्रिन सक्छन् । दर्जनौं व्यक्तिलाई हत्यारा दावी गर्न सक्छन् । के रवि लामिछाने ती सबैको बयान आफ्नो शोबाट प्रसारण गर्न सक्छन् ?

ती प्रत्यक्षदर्शीले कञ्चनपुरका प्रहरी अधिकारीहरुलाई समेत ‘दिलिप त्यो बाटोमा हिंडिरहेको’ देखेको बताएकी रहिछन् तर प्रहरीले मतलब नराखेको उनको भनाई सुनियो । उनको आशय के हो ? नेपाल प्रहरी नै दिलिपलाई बचाउन खोजिरहेको भन्ने हो ? कतै प्रत्यक्षदर्शी प्रहरीले विश्वास नै नगर्ने महेन्द्रनगरका केही यता न उताका महिला अधिकारकर्मीमध्ये हुन् । प्रहरीले त्यति गम्भीर सूचनालाई वेवास्ता गर्नु भनेको प्रत्यक्षदर्शीमाथि विश्वास नभएर नै हो भन्न सकिने ठाउँ पनि देखियो । रविजस्तो पत्रकारले ती प्रत्यक्षदर्शीको कुरा प्रहरीले गम्भीरतापूर्वक लिएन भन्ने प्रश्नको खोजविन नगरी ‘सेनसेसन’ कै लागि मात्र काम गरेको भन्ने आरोप लगाउने ठाउँ त रह्यो नि !


अर्कोतर्फ, प्रत्यक्षदर्शीले एक वर्षसम्म कुरा लुकाउनुको कारण मिडिया र अधिकारकर्मीको भय रहेछ । यो कस्तो भय हो ? के कञ्चनपुरका सबै पत्रकार र सबै अधिकारकर्मी डरलाग्दा छन् ? के यहाँ खुलेरै आन्दोलनको विराध गर्ने पत्रकार र अधिकारकर्मी नभएका हुन् ? एक वर्षमा ७० प्रतिशत अधिकारकर्मी र ५० प्रतिशतजति पत्रकारले (अनुमानमा आधारित) यूटर्न लिएर हिजो आफैले मतियार र अपराधी भनेकालाई क्लिन चिट दिंएर कित्ता परिवर्तन गरेका छन् । उनीहरुमध्ये केही ‘उल्ट्याई दिने अभियान’मा मोटो झोला बोकेर हिंडेका छन् । अहिले पनि आफ्नो अडानमा रहेका अधिकारकर्मी र पत्रकारलाई एक्ल्याउने, अनेक तिकडम गरेर फसाउन खोज्ने पत्रकार र अधिकारवादी उनले किन देखिनन् ? उनीहरुकै शरणमा गएको भए सुरक्षित भैहालिन्थ्यो नि !

ती प्रत्यक्षदर्शी सत्य सावित हुन् भन्ने कामना गर्नैपर्छ किनभने देशले निर्मला प्रकरणबाट थप गञ्जागोल बेहोर्न सक्दैन । राज्यले उनको पूर्ण सुरक्षाको ग्यारेन्टी दिनुपर्छ । अंगुर जिसीले तर्कका आधारमा अपराधी घोषित गरेका दिलिप सिंह विष्ट वास्तविक अपराधी हुन् भन्ने प्रमाणित गर्न ती महोदयाले बेदाग बयान र बस्तुगत आधार दिएर यो गञ्जागोलबाट मुलुकलाई त्राण दिइन् भने उनलाई इतिहासले सम्झने छ ।

दाउमा नपरोस् रवि लामिछानेको करिअर !
नेपालको टेलिभिजन पत्रकारितामा रवि लामिछानेको उदय कोशेढुंगा नै हो । उनी क्षमतावान, सुशिक्षित, निर्भिक र तार्किक पत्रकार हुन् भने उनको शो मुलुकमा सुशासन र पारदर्शिता कायम राख्ने सशक्त औजारका रुपमा स्थापित हुँदै गइरहेको छ । तर, रवि लामिछाने नेपाली पत्रकारिताका केही ढ्वाङमा छिर्ने हुन् कि भन्ने खतरा पनि देखिन थालेको छ, जुन निश्चय नै राम्रो कुरा होइन ।

विशेषतः निर्मला प्रकरणमा रवि लामिछानेले आफ्नो साख नै दाउमा राखेर काम गरिरहेका छन् । कहिलेकही पत्रकारितामा यस्तो जोखिम मोल्नैपर्छ । जोखिम मोल्दा परिणामको पूर्वानुमान गर्नुपर्छ र सफलताको निश्चित मार्गचित्र बनाउनुपर्छ । संगति (कन्सिस्टेन्सी) र प्रतिद्धता (किमिटमेन्ट) ले मात्रै मार्गचित्र अनुसार सफलतामा पुग्न सकिन्न घटनाका आयामहरुको बुझाई, विश्लेषण र प्रस्तुतिमा पनि स्पष्टता चाहिन्छ । यति भयो भने झिनामसिना अवरोधले सफलतामा पुग्न कुनै पनि पत्रकारलाई रोक्न सक्दैन, भौतिक सफायाको अवस्थामा बाहेक ।

आश्चर्यको कुरा त के भने गुप्त राखिएकी प्रत्यक्षदर्शीले मिडिया र अधिकारकर्मीको डरले आफू अहिलेसम्म खुलेर बाहिर निस्कन नसकेको बताउँछिन् र रविले त्यसलाई सत्य ठानेको शोबाटै प्रमाणित हुन्छ । रविले कञ्चनपुरको आन्दोलनलाई अहिले आएर किन पत्रकार र अधिकारकर्मीको आन्दोलन ठाने ? २ असोजमा त उनले कञ्चनपुरवासीको आन्दोलन भन्दै प्रशंसा गरेका थिए । किन रवि त्यहि धारको प्रभावमा परेजस्तो देखिन्छन् जुन धारले लगातार पत्रकार अधिकारकर्मीको दोहोलो काढेर वास्तविक हत्यारा बचाउने प्रपञ्च गरिरहेको छ ? ती प्रत्यक्षदर्शीलाई अपराधीबाट पो खतरा हुनुपर्ने हो, अधिकारकर्मी र पत्रकारबाट किन भयो ? यो गहिरो प्रश्न हो । आफ्नो नाम, वतन, तस्विर सबै गोप्य राखेर अरुलाई हत्यारो भन्छु भन्दै अगाडि आएकी ती महिलालाई पहिला पुलिसमा जानुस् किन भन्न सकेनन् रविले ? सबै तथ्य लुकाइएको पत्रकारिताको अभ्यास संसारको कुन देशमा हुन्छ ?

अंगुर जिसीलाई स्टुडियोमा बोलाउँदा र प्रत्यक्षदर्शीको बयान सुनाउँदाका दुई अंकमा रवि लामिछाने अचानक राज्यका सहयोगीको भूमिका देखिएका छन् जबकी २ असोज २०७५ को शोमा उनको बोली अर्कै थियो । पत्रकारले राज्यलाई नै बलियो बनाउने काम गर्नुपर्छ भन्नेमा पंक्तिकार बिमति राख्दैन । तर, पत्रकारले सूचना संकलन गरेर पुलिसलाई बुझाउन भने मिल्दैन । शनिबारको अंकमा उनले भनेका छन्... यसबाहेकका जानकारी पनि छन् हामीसँग प्रत्यक्षदर्शीको सुरक्षाको प्रत्याभूति हुने हो भने राज्यलाई दिन सक्छौं । यो पत्रकारिताको आधारभूत सिद्धान्तसँग बाझिने भनाई हो । अडियन्सलाई किन नदिने ‘फस्ट ह्याण्ड’ जानकारी ?

अंगुर जिसीलाई सोध्नुपर्ने दर्जनौं प्रश्न उनले सोधेनन् । कतिपय कारणले यस्तो हुन्छ, यो काम गर्दाको सामान्य समस्या नै हो । तर, अंगुर जिसीप्रति उनी जुन रुपमा नम्र देखिए नाम चलेको पत्रकारले त्यस्तो गर्न सुहाउँदैन । उनलाई अंगुर जिसीले एक ठाउँमा ‘साथी’ भनेर अत्यन्त इनफर्मालिटी देखाएका छन् । यसले त्यो अंक कतै पूर्वाभ्यासपछि तयार गरिएको त होइन भन्ने आशंका जन्माउँछ । त्यसो नहोला तर रविले यसबारे प्रष्ट पार्नु आवश्यक छ । टेलिभिजन, पत्रपत्रिका, रेडियो, अनलाइन सबैबाट प्राप्त हुने जानकारी राज्यका लागि काम लाग्छन् भन्ने थाहा हुँदाहुँदै उनले बाराम्बार राज्यको सहयोगका लागि दोह¥याइरहँदा खल्लो महसुस हुनु स्वाभाविकै हो ।

निर्मला प्रकरणमा राज्य एउटा पक्ष भइसकेको छ । यो कुरा रविको २ असोजको शोबाट पनि प्रष्ट हुन्छ । निर्मला प्रकरणमा राज्यले कसैको साथ नपाएर अपराधी पत्ता नलागेको होइन । दुईतिहाई बोकेको एउटा सिंगो राजनीतिक राज्यको सहयोगमा छ, राज्यसँग स्रोत–साधन छ, अधिकार छ तर पनि अपराधी पत्ता लाग्दैन ।

कतिपय घटनाका अपराधी कहिल्यै पत्ता लाग्दैनन् र यसमा राज्यलाई धेरै दोष दिइरहनु पनि पर्दैन किनभने अपराधी पोख्छ हुन्छ र उसले सबै प्रमाण मेटाइदिएको हुन्छ । निर्मला प्रकरणमा पनि त्यस्तै भएको मान्न सकिन्थ्यो तर राज्यका जिम्मेवार अंगहरु र तिनका अधिकारीहरुको व्यवहारले बाठो अपराधीले प्रमाण नष्ट गरेको भन्ने विश्वाश नै गर्न नसकिने अवस्था भयो ।

बलात्कारपछिको हत्यामा चाहिने जति सबै प्रमाणको चेक लिस्ट बनाएर कि नष्ट गरिएको छ, कि बिगारिएको छ, कि ती प्रमाण नै संकलन गरिएको छैन । तर राज्य नै नक्कली अपराधी बनाउन पटक–पटक कुचेष्टा गर्छ, प्रकरण यति बिहंगम भइसक्दा पनि नैतिकता कसैले देखाउँदैन, गृहमन्त्री अनासनाप बोल्छन्, प्रधानमन्त्रीलाई उल्टोसुल्टो बोलाइन्छ । हुँदाहुँदा कस्तो अवस्था आइसक्यो भने एउटी महिला प्रत्यक्षदर्शीका रुपमा अगाडि आएर यो प्रकरणलाई सुल्झाउन चाहन्छिन् तर उनी दिलिप, विशाल र प्रदीपकै सूत्रमा खडा गरिएकी नक्कली प्रत्यक्षदर्शी भनेर समाजिक सञ्जालमा व्यापक प्रतिक्रिया भइरहेको छ ।

राज्यप्रति विश्वास गुमेको छ । निर्मला प्रकरणको ‘स्पिलओभर इफेक्ट’का कारण राज्यका धेरै अंगले कामै गर्न सकिरहेका छैनन् तर पनि राज्यका मुखियाहरुलाई चिन्ता छैन । रविले राज्यलाई सहयोग गर्न खोज्नु प्रशंसनीय हो तर उनले गेमप्लानको अंग बन्नबाट जोगिनुपर्छ । शनिबारको अंक गेमप्लानको सिकार हुनसक्छ । त्यसो भयो भने रविको करिअर आरोलो यात्रामा निस्कने निश्चित छ ।


About Author
-खेम भण्डारी