५४४६ पटक हेरिएको
प्रकाशित: २०७६ श्रावण १३ , ११:१६ बजे

निर्मला प्रकरण : कञ्चनपुरमा भित्रभित्रै धम्की आतंक

Image

आचार्यको फोनको कल डिटेल

निर्मलाका लागि न्याय माग्दै फेसबुकमा अभिव्यक्ति दिनेहरुलाई धम्क्याउन र नक्कली आईडी बनाएर जथाभावी गालीगलौच गर्ने समूह नै सक्रिय ।

–मानसखण्ड
महेन्द्रनगर, १३ साउन । निर्मला हत्याकाण्डको विषयमा सरकारको असफलताको विरोध गर्ने र निर्मलालाई न्यायका लागि आवाज उठाउनेहरुलाई प्रलोभनमा पार्ने र तर्साउने जस्ता हतकण्डा प्रयोग भइरहेको संकेत आइरहेको बेला एक पीडित भने खुलेरै अगाडि आएका छन् ।

कैलालीको सुखड घर भई हाल कञ्चनपुरमा अध्ययनरत सिद्धनारायण आचार्यलाई अज्ञात व्यक्तिले फोनबाट धम्क्याएको बताएका छन् । उनले सामाजिक सञ्जालमार्फत् बेला–बेलामा सरकारले बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तलाई सरकारले न्याय दिन नसकेको आरोप लगाउँदै आएका थिए । निर्मलाको सन्दर्भमा लेखिएका अन्य पोष्ट तथा सामग्रीमा पनि उनले टिप्पणी गर्छन् ।

उपचारका लागि काठमाडौंमा रहेका आचार्यलाई गत साता सोमबार अपरिचित व्यक्तिले फोन गरेर धम्क्याएको उनले बताए । उनले एनसेलको ९८००६७४९११ नम्बरको सिमबाट तीन पटक फोन गरेर आफूलाई धम्क्याइएको
बताए ।

‘खेम भण्डारीको पहचानता है’ भनी सोध्दै अपरिचित व्यक्तिले अब उप्रान्त खेम भण्डारीका स्टाटसमा लाइक, शेयर वा कमेन्ट गरेमा गम्भीर परिणाम भोग्नुपर्ने धम्की दिएको आचार्यको भनाई छ । अपरिचित व्यक्तिले आफ्नो स्वर बदलेको जस्ता आफूलाई लागेको आचार्य बताउँछन् । ‘त्यो मान्छेले हिन्दीमा धम्क्याइरहेको थियो,’ उनले भने ।

आइन्दा खेम भण्डारीका स्टाटसमा लाइक, शेयर वा कमेन्ट गरे ‘डण्डा’ लगाइने भन्दै अपरिचित व्यक्तिले फोन काटेको आचार्यको दावी छ । पछि आचार्यले फोन गर्दा सो मोबाइल नउठेको पनि उनले बताए ।

यस सम्बन्धमा दैनिक मानसखण्डले एनसेलको सो नम्बरमा फोन गर्दा आफूलाई प्रिति राना नाम बताउने स्वर पुरुष वा महिला कसको हो भन्ने छुट्याउन कठीन हुने व्यक्तिले उठाएका थिए । उनले सुरुमा आफ्नो नाम मिट्ठु बताएका थिए । शनिबार बेलुका ६ बजे मानसखण्डसँग बोल्दै उनले आफू कृष्णपुर नगरपालिका–५ किचाईको वासिन्दा भएको बताएका थिए । उनले आफूले आचार्यलाई फोन नगरेको समेत दावी गरे ।

पछिल्लो समय दैनिक मानसखण्डका सम्पादक खेम भण्डारीका फेसबुक पोष्टको समर्थनमा कमेन्ट गर्नेहरुलाई विभिन्न व्यक्तिहरुले सम्पर्क गरेर धम्क्याउने काममा केही व्यक्तिको समूह नै क्रियाशील भइरहेको संकेत पाइएको छ । केही पीडितहरुले अर्को पटक धम्क्याइए खुलेर अगाडि आउने बताएका छन् ।

अर्कातिर निर्मला हत्याकाण्डबारे आक्रोशपूर्ण अभिव्यक्ति दिनेहरुलाई रोक्न विभिन्न व्यक्ति परिचालित गरिएका केही पीडितले बताएका छन् । भीमदत्त नगरपालिका–१८ गोबरैया निवासी सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा कार्यरत एक कर्मचारीका छोराले निर्मलालाई न्याय माग्दै आक्रोशपूर्ण पोष्ट लेख्न छाडेका छन् । उनलाई निर्मला हत्याकाण्डमा संदिग्ध भनेर चिनिने एक व्यक्तिले घरमैं मान्छे पठाएर स्टाटस नलेख्न बाध्य पारेपछि उनले लेख्न छोडेका हुन् ।

अज्ञात व्यक्तिले धम्क्याएपछि बेदकोट नगरपालिका सिसैयाका एक युवकले पनि स्टाटस लेख्न र कमेन्ट गर्न छाडेका छन् । उनले भने, ‘डर लाग्यो, धम्क्याउनेको स्वर नै डरलाग्दो थियो ।’ तर, असुरक्षाका कारण उनले धम्क्याउने मोबाइल नम्बर दिन मानेनन् ।

निर्मला हत्याकाण्डलाई दबाउन राज्य नै सक्रिय रहेको आरोप लागिरहेको बेला अदृश्य रुपमा केही व्यक्ति धम्क्याउन सक्रिय रहेका छन् भने अर्कातिर नक्कली फेसबुक आइडी बनाएर सम्पादक भण्डारी फेसबुकमा अभिव्यक्ति दिने अरुका पोष्टमा जथाभावी कमेन्ट गर्नेको समूह नै क्रियाशील छ । ती आइडी संदिग्घ पक्षका व्यक्ति स्वयंले प्रयोग गरिरहेको आशंका गरिएको छ ।


About Author
-मानसखण्ड