१०१२९ पटक हेरिएको
प्रकाशित: २०७६ श्रावण ११ , १९:३२ बजे

अंगुर जिसी : दुःख पाइस् मंगले, आफ्नै ढंगले

Image

 

 

भौतिक प्रमाणसहित दिलिप विष्ट नै अपराधी हो भनेर दावी गर्ने मौका गुमाए । उनीसँग करिब आधा दर्जन त्यस्ता उपाय थिए जसबाट अपराधी सावित गर्न सकिने भौतिक प्रमाण प्राप्त हुन सक्थे तर त्यतातिर उनको ध्यान नै गएन । अहिले आएर उनी आँशु झारेर दिलिपलाई अपराधी सावित गर्ने निरर्थक प्रयासमा लागेका छन् ।

–खेम भण्डारी
न्यूज–२४ टेलिभिजनको ‘जनतासँग सीधा कुरा’ कार्यक्रमको पछिल्लो अंकमा निलम्बित डिएसपी अंगुर जिसीको अन्तर्वार्ता प्रसारण भएपछि निर्मला प्रकरणमा नयाँ तरंग आएको छ ।

निर्मलाको बलात्कार–हत्या भएको तीन दिनपछि केन्द्रीय जाँच ब्यूरो (सीआइबी)े टोलीको नेतृत्व गर्दै कञ्चनपुर आएका डिएसपी जिसीले दिलिप विष्ट एक्लैले निर्मलाको बलात्कार र हत्या गरेको ठोकुवा गरेका छन् । जबकी कञ्चनपुर प्रहरीले बिहीबार मात्रै नागरिक दैनिकसँग अहिलेसम्म घटनास्थल कहाँ र बलात्कार एकल वा सामुहिक के हो भन्ने निष्कर्षमा नपुगेको बताएको छ ।

जिसीले प्रहरी हिरासतमा दिलिप विष्टले दिएको साविती बयानलाई आधार मानेर त्यस्तो ठोकुवा गर्र्दै दिलिपविरुद्ध भौतिक प्रमाण (फिजिकल एभिडेन्स) भने नरहेको स्वीकारेका छन् ।

अन्तर्वार्तामा जिसीले आफूले हिरासतमा खिचेको भिडियोकै आधारमा दिलिपलाई सय प्रतिशत अपराधी घोषित गरेका छन् । उनले पारिस्थितिक र प्राविधिक दुबै दृष्टिले दिलिपले हिरासतमा दिएको बयान सत्य भन्दै दिलिप नै अपराधी भएको ठोकुवा गरे पनि उनको समग्र अन्तर्वार्ताले जिसी अलमलमा रहेका र आफूअनुकूलको कुरा मात्रै गरेकोे पाइएको छ ।

जिसी आफूलाई नेपाल प्रहरीको अब्बलदर्जाको अपराध अनुसन्धानकर्ता दावी गर्छन् । तर, अन्तर्वार्ताका क्रममा उनले बलात्कारपछिको हत्याका क्रममा महत्वपूर्ण मानिने केही आयाम र पक्षलाई लुकाएका छन् । उनले आफ्नो दावीलाई सत्य सावित गर्न तर्क दिइरहँदा तिनै तर्कसँग जोडिएका तर उनको दावीलाई प्रतिकूल हुने सत्य भने लुकाएका हुन् ।

निर्मलाको लुगा र लास पखालिनु सामान्य
जिसीले निर्मलाको लुगा र शव पखालिनु अनुसन्धानका दृष्टिले सामान्य भएको बताएका छन् । भजाइनल स्वाबमा बलात्कारीको बीर्य पाइएको हुनाले लुगा र लास पखालिनु सामान्य भएको उनको ठहर छ । यो अचम्मकै तर्क हो । भजाइनल स्वाबमा बीर्य नपाइएको भए के हुन्थ्यो ? जिसी आफैले भनेका छन् – लास र लुगामा रगत, बीर्य र योनांगको रौं (प्युबिकल हेअर) हुन्छन् । एकातिर उनी यस्तो भन्छन् अर्कातिर लुगा र रौं पखाल्नु प्रमाण नष्ट होइन भन्छन् । निर्मलाको लुगामा रहेका बलात्कारीका रौं, फाइबर, बीर्य वा रगत सुरक्षित भएको भए आज डिएनए प्रोफाइल तयार गर्न विकल्प उपलब्ध हुन्थ्यो कि हुँदैन थियो ? रगत र बीर्य पानीले बगाएको पूर्वानुमान कसरी ग¥यो प्रहरीले र जिसीजस्तो अनुसन्धानकर्ताले त्यस्तो पूर्वानुमानका आधारमा मृतकको लुगा र लास पखाल्नुलाई जायज कसरी ठाने ? रगत र बीर्य पखालिए पनि लुगामा रौं अड्किएको हुनसक्ने सम्भावनातर्फ किन सोचिएन ?

प्रमाण नष्ट हुँदा सबैभन्दा ठूलो समस्या जिसीलाई नै परेको छ । उनले दिलिपलाई अपराधी सावित गराउने प्रमाण नै रहेन तर पनि उनी दर्जनौं प्रमाण नष्ट गरिएको कुरा मान्न तयार छैनन् । यो आश्चर्यकै कुरा हो ।

पाइलाको डोब र पाँच औलाको डामलाई किन उपेक्षा ?
जिसीले अन्तर्वार्ताका क्रममा घटनास्थल नजिक खोलाको किनारमा खुट्टाको डोब देखिएको र निर्मलाको घाँटीमा पाँच औंलाको डाम रहेको बताएका छन् । सायद ती दुबैको फोटो प्रहरीसँग होला । त्यसो हो भने खुट्टाको डोब र पाँच औलाको डामको फरेन्सिक परीक्षण किन नगरिएको ?

पाँच औंलाकै डाम पर्दा फिंगरप्रिन्ट सुरक्षित नभए पनि औलाको आकारप्रकार त सुरक्षित रहन्छ नि ? त्यो आकारप्रकार र दिलिप विष्टको बाँया हातका औलाको आकारप्रकार भिडाउन किन सकेनन् जिसीले ? अर्कोतिर, खुट्टाको डोबले अपराधीले जुत्ता वा चप्पल के लगाएको थियो, कति साइजको थियो, खुट्टाको आकार कति र कस्तो थियो, कुनै सिग्नेचर मार्क थियो कि जस्ता जानकारी दिन्छ कि दिंदैन ? दिन्छ भने दिलिप विष्टको खुट्टासँग त्यो डोब मिलान किन गरेरनन् अब्बल अनुसन्धानकर्ता जिसीले ?

लुगा सुरक्षित नराख्नुको कारण
जिसीले अन्तर्वार्ताका क्रममा निर्मलाका लुगा सुरक्षित नराख्नुको अनौठो कारण बताएका छन् । उनले पहिचान नखुलेका व्यक्तिको मात्रै लुगा सुरक्षित राखिने तर्क दिएका छन् । विकसित मुलुकका अनुसन्धानकर्ताले यस्तो सुनेमा कति हाँस्दा हुन् ? निर्मलाका लुगा प्रहरीले सुरक्षित राखेको भए आज भजाइनल स्वाब सकियो भनेर ट्वाँ पर्नुपर्ने अवस्था नै रहने थिएन । ती लुगाको गहन परीक्षण गरेर बलात्कारीको रौं वा उसको लुगाबाट झरेका फाइबर पाउन सकिन्थ्यो कि ? रौंबाट डिएनए प्रोफाइल तयार पार्न सकिने र फाइबरबाट अपराधीको पहिचान हुन सक्ने कुरा किन बिर्सेका होलान जिसीले ?

दिलिपको बयान टेक्निकल्ली फिट
दिलिपसिंह विष्टले प्रहरी हिरासतमा दिएको बयान प्राविधिक रुपमा सत्य भएको र त्यसबाट दिलिप नै अपराधी हो भन्ने पुष्टि हुने जिसीको तर्क छ । जिसीले खिचेको भिडियोमा दिलिपले सजिलै निर्मलालाई बोकेर उखुबारीमा लैजान्छ र प्रतिरोधविना नै बलात्कारपछि हत्या गरेको बताउँछ । के यो सम्भव छ ? सम्भव होला रे † त्यसो हो भने निर्मलाले कुनै प्रतिरोध गरिनन् त ? १३ वर्षिया बालिकाले गर्ने प्रतिरोधको कुनै प्रमाण हुँदैन घटनास्थलमा ? हुन्छ भने के थियो त्यो प्रमाण ? किन जिसीजस्तो टप इन्भेस्टिगेटरले त्यो प्रमाण किन नखोजेको ?

साइकल देखियो अम्बा र किताबकपी देखिएन
१० साउन २०७५ दिउँसो ४ बजे उल्टाखामकै भण्डारी थरकी महिलाले स्याउला काट्दै गरेको बेला खोलामा साइकल देखेकोले बलात्कारपछि हत्या त्यसभन्दा पहिले उखुबारीमैं भएको निष्कर्ष निकालेका रहेछन् जिसीले । ती महिला सडकछेउकै एक रुखमा स्याउला काटिरहेकी थिइन् । त्यो रुखबाट साइकल ५ मिटर टाढा थियो भने किताबकपी र अम्बाको थैलो जम्मा २ मिटर टाढा । ती महिलाले किताब र अम्बाको पोलिथिन नदेखेको बयान दिएको किन लुकाइयो ? निर्मलाकी आमासँगै १० गते राति निर्मलाको खोजीमा निस्केका एक छिमेकीका अनुसार खोला किनारमा टर्चलाइट बालेर हेरिएको थियो । उनीहरु किताब पाइएकोपट्टि सडकछेउबाट दुई पटक ओहरदोहर गरेका थिए । उनीहरु हिंडेको ठाउँबाट किताब २ मिटरभन्दा कम दूरीमा थियो । भण्डारी थरकी ती महिला र खोजीमा निस्केकाहरुले दुई पटकसम्ममा किताबकपी र अम्बा नदेख्नु स्वाभाविक होला तर जिसीले उनीहरुले नदेखेको तथ्य लुकाउनु कुनै पनि अवस्थामा स्वाभाविक होइन ।

किताब नभिज्नुको अदभूत कारण
१० गते राती १० बजेतिर उल्टाखामको त्यो क्षेत्रमा भारी वर्षा भएको थियो । निर्मलालाई खोज्न निस्केको दुर्गादेवी पन्तसहितको टोली आधा घण्टा ओत लागेको थियो । तर, भोलिपल्ट किताब सुख्खा अवस्थामा भेटिएको स्वयं जिसीले स्वीकारेका छन् । उनले किताबकपी नभिज्नुको अद्भूत कारण औल्याएका छन् । प्लास्टिक लेमिनेशन भएको हुँदा पानी तर्केको उनको कथन छ । आधा घण्टाको घनघोर वर्षामा पनि पानी भित्र नपस्ने कस्तो लेमिनेसन होला त्यो ? किताब राखिएको ठाउँ हेर्दा भारी वर्षाले त बगाउनु पर्ने हो तर किताब सुख्खा पाइए । अन्तर्वार्ताको भिडियोमा जिसीले भनेको किताबकपी नभिज्नुको कारण पटक–पटक सुन्दा पनि बुझ्न नसकिने छ । त्यस्तो पनि होला र ? भन्ने प्रश्न स्वाभाविकै आउँछ ।

कुकुरको प्रयोग, सुख्खा किताब र अम्बाको थैलो
शव पाइएको स्थल तथा अम्बाको थैलो र किताब पहिले नै जम्मा भएका सर्वसाधरणले छोएको भन्ने जिसीको तर्क गलत हो । प्रत्यक्षदर्शीहरुका अनुसार सर्वसाधारण कसैले पनि कापीकिताब र अम्बाको थैलो छोएका होइनन् । प्रहरीले नै अलि टाढा रहेको अम्बाको थैलो किताब नजिक फ्याँकेका हुन् ।

तर, जिसीले किताबकपी दुषित भइसकेको हुँदा कुकुर प्रयोग गरे निर्दोष फस्ने तर्क दिएका छन् । अर्कोतिर उनले किताबकपी आफूले जिल्ला प्रहरी कार्यालयमा थन्क्याइएको देखेको बताएका छन् । उनीजस्तो घघडान अनुसन्धानकर्ताले ती कपीकिताबको फरेन्सिक जाँच किन गराएनन् ? तिनमा निर्मलाबाहेकका फिंगरप्रिन्ट हुन सक्थे । कतै दिलिपको नै फिंगरप्रिन्ट पाइन्थ्यो कि ?

अचम्म त के भने अम्बाको थैलोलाई पनि अंगुर जिसीले अनावश्यक ठानेर मिल्काइदिए जस्तो छ । त्यो थैलोमा रहेको अम्बा र बम दिदीबहिनीको घरमा काटिएको विवादास्पद अम्बाको रुखबीच सम्बन्ध बारे थाहा पाउन पनि अम्बाको फरेन्सिक फरीक्षण गराउनु पथ्र्यो कि पर्दैन थियो ? कतै ती अम्बा बम दिदीबहिनीको घरको अम्बाभन्दा फरक थिए कि ? आफूलाई सफल अनुसन्धानकर्ता बताउने जिसीले किन त्यति पनि किन सोच्न सकेनन् ? सोचेका हुन् र परीक्षण गराइएको हो भने लुकाउनुको तात्पर्य के हो ?

सर्टको खल्तीको कहानी
जिसीले अन्तर्वार्तामा सर्टको खल्ती आफूले च्यात्न नलगाएको बताउँदै ३ साउन २०७५ मा शव पाइएको स्थलमैं टुक्रा पाइएको आशय व्यक्त गरेका छन् । फेरि यहाँनिर फरेन्सिक परीक्षण कै कुरा आउँछ । दिलिप विष्टको सर्टको त्यो खल्ती २३ दिन अगाडिदेखि नै निर्मलाको शव नजिक रहेको थियो भने त्यसको फरेन्सिक जाँच गराए त टन्टै साफ हुने थियो । २३ दिनपछि बरामद त्यो टुक्रा हेर्दा ताजै देखिएकोले उनीमाथि आरोप लागेको हो । आरोप मात्रै होइन, उनको टोली दिलिप विष्टको घर पुगर खानतलासी तलासी गर्दा एक प्रहरीले खल्ती च्यातेर आफ्नो खल्तीमा हालेको देख्ने प्रत्यक्षदर्शी अझै पनि जीवित छन् । अर्कोतिर, घटनास्थलमा टुक्रा भेट्टाएर टोली दिलिपको घर पुगेको भए विश्वास बढ्थ्यो । दिलिपको घरबाट टोली घटनास्थल पुग्यो र खल्तीको टुक्रा पायो । त्यतिसम्म ठीकै छ, अंगुर जिसीजस्तो जिनियसले त्यो टुक्राको फरेन्सिक परीक्षण गराएको भए त आज निलम्बित पनि हुनुपर्ने थिएन, आरोप पनि खेप्नुपर्ने थिएन, दिलिप विष्टलाई अपराधी करार गर्न यस्तो माथापच्ची गर्नुपर्ने पनि थिए ।

आधारविना दिलिप विष्ट नै अपराधी भएको निष्कर्ष
अंगुर जिसी दिलिप विष्ट नै अपराधी हो भन्ने निष्कर्षमा पुगेका छन् । उनी आफैले अनुसन्धानको नेतृत्व गरिरहेका थिए र आफूलाई ठूलै अनुसन्धानकर्ता पनि भन्छन् । तर, दिलिप नै अपराधी हो भन्ने उनको दावीलाई पुष्टि गर्ने कुनै पनि भौतिक प्रमाण उनले जुटाएनन् । पाइलाको डोब, पाँच औलाको डाम, अम्बा, किताबकपी, लुगा आदिको फरेन्सिक जाँच गर्न समेत ध्यान नदिने उनी कस्ता अनुसन्धानकर्ता ? यी आधादर्जन बस्तुमा कहिं न कंही अपराधी प्रमाणित गर्न सकिने भौतिक प्रमाण हुन सक्थ्यो । सबै कुरा पानीले बगाइसक्यो भनेर त्यतापट्टि ध्यान नदिनुले जिसीको अनुसन्धान क्षमतामैं प्रश्न खडा गरेको छ । आफै निर्णय तहमा बसेका व्यक्तिले अहिले भौतिक प्रमाणविना मनगढन्ते तर्कका आधारमा कसैलाई अपराधी घोषित गर्दाको परिणाम के हुन्छ सायद जिसीलाई थाहा छैन ।

बयानको भिडियो मात्रै सहारा
दिलिप विष्टको बयानको भिडियो ३ भदौ मध्यरातमा खिचिएको हो तर जिसीले आफू निलम्बित भइसकेपछि मात्रै त्यो भिडियो लिक गरेका हुन् । उनले ४ भदौमा दिलिपलाई म्याद थप्दा र सरकारी वकिल कार्यालयमा बयान गराउँदा त्यो भिडियो किन पेश गरेनन् ?

त्यो भिडियो बनाउनुभन्दा पहिलेको पृष्ठभूमिका बारेमा सायद जिसी अनविज्ञ छन् । दिलिपलाई २ भदौमा उल्टाखामको सरस्वती मावि नजिकबाट पक्राउ गरेर झण्डै २४ घण्टा गैरकानुनी हिरासतमा राखिएको थियो । त्यो अवधिमा दिलिपलाई यातना दिइएको प्रमाणकै आधारमा अदालतमा उनीसहितका ४ जनाविरुद्ध यातना सम्बन्धी मुद्दा चलेको हो । महाराजगञ्जस्थित त्रिभूवन विश्वविद्यालयको शिक्षण अस्पतालका फरेन्सिक विज्ञले दिलिपलाई हिरासतमा यातना दिइएको प्रमाणित गरिसकेका छन् । यातनाकै कारण दिलिपले हिरासतको बयानमा अपराध कबुल गरे तर पछि इन्कार गरिदिए । अदालतले विश्वास गर्ने कुनै पनि लिखतमा दिलिपको साविती बयान छैन । जिसीविरुद्ध अदालतमा यातना सम्बन्धी मुद्दा चलिरहेको छ । उनलाई अदालतले सफाई निदिंदै यातना दिएर गराइएको बयानका आधारमा भ्रम छर्नु कति जायज हो ?

डिएनए बिग्रेको फाइदा उठाउँदै
प्रहरीको केन्द्रीय विधिविज्ञान प्रयोगशालाले निर्मलाको स्वाबमा पाइएको बीर्यबाट बलात्कारी पहिचान गर्न सकिने डिएनए प्रोफाइल तयार पर्दा गरेको त्रुटीबाट भने जिसीलाई फाइदा पुगेको छ । डिएनएका आधारमा बलात्कारी पत्ता नै नलाग्ने अवस्था बनेपछि उनले भन्न पाएका छन् – दिलिप विष्ट नै अपराधी हो । तर, उनले के बुझेका रहेनछन् भने उनको तर्क र दावीले मात्रै कसैलाई दोषी ठह¥याउन सक्दैन अदालतले । अदालतले आँशु होइन प्रमाण माग्छ । र, जिसीको हातमा कुनै पनि भौतिक प्रमाण छैन । कुर्लेर, सुरिलो अन्तर्वार्ता दिएर केही मान्छेलाई प्रभावित गर्न सकिएला तर सिंगो न्यायालय र आमजनतालाई मुर्ख बनाउन सकिदैन । कापीकिताब, अम्वा, खुट्टाको डोब, पाँच औलाका डाम, निर्मलाका लुगा, दिलिपको सर्टको टुक्रा जस्ता महत्वपूर्ण बस्तुबाट भौतिक प्रमाण जुटाएको भए आज अंगुर जिसीले रोएर दिलिपलाई अपराधी सावित गर्ने प्रयास गर्नुपर्ने थिएन । उनी महान अनुसन्धानकर्ता हुन् भन्दैमा उनका तर्कलाई नै प्रमाण मानिदिनु पर्ने न्याय प्रणाली छ र यस देशमा ?
जिसीलाई फसाइएकै हो त ?

धेरै कुरा जिसीलाई नै थाहा होला उनलाई फसाउने चक्कर कहिले र कहाँबाट सुरु भयो भन्ने तर एउटा कुरा त आंशिक सत्य नै हो – जिसीलाई दिग्भ्रमित गराउने चलखेल भएकै हो । उनले गहिरिएर पुराना घटनाक्रममा ध्यान दिए भने धेरै कुरामा प्रष्ट हुनेछन् । दिलिप विष्टलाई उनले आफै पक्राउ गरेर आफूसँगै ४८ घण्टा राखेका हुन् कि भिडियो बनाउने बेला मात्रै उनले दिलिपलाई भेटेका हुन् भन्ने अन्तर्वार्तामा प्रष्ट पारिदिएको भए हुन्थ्यो । अर्को कुरा उनले गर्न चाहेर पनि गर्न नपाएका केही कुरा हुनसक्छन् कञ्चनपुरमा, त्यता सोचे उनले आफूलाई कहाँनिरबाट फसाउन थालिएको रहेछ भन्ने पत्ता लगाउने छन् ।

खल्तीको टुक्रामा आफू आरोपित हुनुपूर्व जिसीले कञ्चनपुरमा प्रहरी संगठनभित्रबाट कस्तो सहयोग पाए ? उनलाई कस्ता खालका सहयोगी उपलब्ध गराइयो ? घटनाबारे कस्तो कथा सुनाइयो ? जस्ता प्रश्नमा घोत्लिएर सोच्ने हो र जनतालाई सत्यतथ्य बताइदिने हो भने उनको स्पष्टवादिता प्रमाणित हुनेछ ।

 


About Author
-खेम भण्डारी