८४६ पटक हेरिएको
प्रकाशित: २०७६ श्रावण ०५ , ११:०६ बजे

नयाँ ट्रान्सफर्मर जडानपछि पनि महेन्द्रनगरमा विजुलीको डिस्को कायमै

Image

–मानसखण्ड
महेन्द्रनगर, ५ साउन । लालपुर सबस्टेशनमा नयाँ ट्रान्सफर्मर जडान गरिए पनि महेन्द्रनगर क्षेत्रको विद्युत आपूर्तिमा गडबडी रोकिएको छैन । नेपाल विद्युत प्राधिकारणका इन्जिनियर ललित चन्दका अनुसार लाललुर सबस्टेशनमा पावर १५ केभीएमको नयाँ ट्रान्सफर्मर जडान गर्ने कार्य शुक्रबार सकिए हो । नयाँ ट्रान्सफर्मर जडानपछि पनि विद्युत आपूर्ति अनियमित हुनुमा अन्य प्राविधिक समस्या रहेको हुन सक्ने उनले बताए ।

कञ्चनपुर जिल्लाको कूल विद्युत खपत करिब २५ मेगावाट रहेको छ तर लालपुर सबस्टेशनमा जडित दुईवटा पावर ट्रान्सफर्मरको कूल क्षमता पनि २५ मेगावाट बराबर हुँदा ट्रान्सफर्मर ट्रिप हुने समस्या उत्पन्न भएको थियो । सो समस्याका कारण महेन्द्रनगर क्षेत्रमा प्रत्येक आधा घण्टामा विद्युत जाने आउने भइरहेको थियो ।
लालपुर सवस्टेशनमा यसअघि १५ र १० केभीएमका दुईवटा ट्रान्सफर्मर जडित थिए । १० केभीएमको ट्रान्सफर्मरले महेन्द्रनगर क्षेत्रमा विद्युत आपूर्ति गरिरहेको थियो । सो ट्रान्सफर्मरको ठाउँमा १५ केभीएमकै ट्रान्सफर्मर जडान भभएको हो ।

महेन्द्रनगरमा विद्युत आपूर्तिमा लगातार गडबडी भएपछि सत्तारुढ दल नेकपाका युवा र विद्यार्थीले दुई साता अगाडि विद्युत प्राधिकरण महेन्द्रनगर वितरण केन्द्रका प्रमुखमाथि हातपात नै  गरेका थिए । सो घटनापछि प्राधिकरणले कञ्चनपुर जिल्लामा लोडसेडिङको घोषित तालिका नै प्रकाशित गरेको थियो । कञ्चनपुर देशकै एक मात्र घोषित लोडसेडिङयुक्त जिल्ला हुने भएपछि सरकारले तत्काल सो घोषण फिर्ता लिई नयाँ पावर ट्रान्सफर्मर पठाएको हो ।
नयाँ ट्रान्सफर्मर जडान भए पनि महेन्द्रनगरका विभिन्न क्षेत्रमा रहेको लो भोल्टेजको समस्या भने नहट्ने इन्जिनियर चन्दको भनाई छ । ‘वितरण ट्रान्सफर्मरहरुको समस्याका कारण पावर ट्रान्सफर्मर नयाँ हुँदैमा लो भोल्टेजको समस्या हल हुँदैन,’ उनले भने, ‘तर फिडरहरुमा भने अलिकति सुधार हुन सक्छ ।’

लालपुर सवस्टेशनमा जडान गरिंदै आएको नयाँ ट्रान्सफर्मरबाट विद्युत वितरण हुने भीमदत्त, बेदकोट र दोधाराचाँदनीका धेरै क्षेत्रमा लो भोल्टेजको समस्या छ । लो भोल्टेजका कारण कतिपय क्षेत्रमा त पंखा पनि नचल्ने अवस्था छ । इन्जिनियर चन्दका अनुसार वितरण ट्रान्सफर्मरको स्तरोन्नति तथा नयाँ ट्रान्सफर्मर जडान नगरिएसम्म लो भोल्टेजको समस्या समस्या समाधान हुन सक्दैन ।


About Author
-मानसखण्ड