१८३ पटक हेरिएको
प्रकाशित: २०७६ श्रावण ०३ , ०६:०५ बजे

कञ्चनपुर भन्सारले लक्ष्यअनुसार राजश्व संकलन गर्न सकेन

Image

महेन्द्रनगर, ३ साउन । कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीले गत आर्थिक वर्षमा लक्ष्यअनुसार राजश्व संकलन गर्न सकेन ।

आव ०७५/७६ मा ४० करोड १२ लाख ६२ हजार रुपैयाँ राजश्व संकलनको वार्षिक लक्ष्य लिएको भन्सारले ३६ करोड ६७ लाख राजश्व संकलन गरेको छ ।

आर्थिक मसान्तको अन्तिमतिर भारतबाट तरकारी, चिनीलगायतका वस्तु कम भित्रिएकाले राजश्व संकलनमा कमी आएको कञ्चनपुर भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत भीमप्रसाद अधिकारीले बताए ।

‘विषादी परीक्षण गरेर मात्रै तरकारी र फलफूल आयात गर्न भनेकाले पनि राजश्वमा गिरावट आयो’, प्रमुख भन्सार अधिकृत अधिकारीले भने, ‘तर विगतको भन्दा राजश्व संकलनको दायरा पनि बढ्दै गएको छ ।’

अघिल्लो आवमा भन्सार कार्यालयले ३२ करोड ५३ लाख ९० हजार राजश्व संकलन गरेको थियो । गड्डाचौकी भन्सारबाट पिना (तोरीको) अदुवा, राइस ब्रान र जडीबुटीमा तेजपात तथा रिट्ठा निर्यात हुने गरेको छ ।

गड्डाचौकीपारि भारतको सीमा क्षेत्रमा प्लाण्ट क्वारेन्टाइन नहुँदा पनि यहाँबाट निकासी कम हुने गरेको अधिकारीले बताए । गड्डाचौकी नाकाबाट दैनिक उपभोग्य सामान, तरकारी, लत्ताकपडा र हार्डवेयर सामानहरु बढी मात्रामा आयात हुने गरेको छ ।


About Author
-रासस

राष्ट्रिय समाचार समिति नेपालको एक मात्र समाचार एजेन्सी हो । यो नेपाल सरकारको पूर्ण स्वामित्व रहेको संस्थान हो ।