७२७ पटक हेरिएको
प्रकाशित: २०७६ जेष्ठ २३ , १४:४९ बजे

भीमदत्तमा यस्तो पनि : कहाँ जान्छ २ करोड, के गर्छन् ४० कर्मचारी ?

Image

गल्ली नं. ५ का एक व्यवसायी बिहानै आफ्नो पसल अगाडिको सडक सफा गर्दै । महेन्द्रनगर बजारमा एकाबिहानै यस्ता दर्जनौं दृश्य देख्न पाइन्छ ।

 

–मानसखण्ड
महेन्द्रनगर, २२ जेठ । विगत २ वर्षदेखि भीमदत्त नगरपालिकाको केन्द्र महेन्द्रनगर बजारमा नगरपालिकाले झाडु लगाएको छैन । तत्कालिन कार्यकारी अधिकृत गहेन्द्र डाँगीले जनचेतना अभिवृद्धि अभियान सञ्चालन गरेपछि आफूले उत्पादन गर्ने फोहर बजारवासीले आफै तह लगाउन थालेपछि नगरपालिकाले झाडु लगाउनै छोडेको हो ।

बजारवासीले उत्पादन गरेको कुहिने र नकुहिने फोहर संकलन गर्न बजार क्षेत्रको सीमित क्षेत्रमा नगरपालिकाको फोहर संकलन गाडी चल्ने भए पनि २ वर्षयता सडकमा जमेको धुलो बढारिएको छैन । बटुवा तथा बाहिरिया व्यक्तिले फालेको फोहर नगरपालिकाले सफा नगरेपछि व्यवसायीहरुले आफ्नो पसल वरपरको फोहर आफै बढार्ने गरेका छन् ।

सडकमा झाडु नलाइएपछि जमेको धुलोले भने नगरवासीको स्वास्थ्यमा असर पार्न थालेको छ । ठूलो सवारीसाधनको पछाडि हिंड्नै नसकिने गरी धुलो उड्छ । धुलोले पिच गरिएका सबै सडक फोहर देखिन्छन् ।
‘३ महिनामा एक पटक धुलो बढारिदिएको भए पनि सडक सफा रहने थिए,’ ५ नम्बर गल्लीका व्यापारी गजेन्द्र पाण्डेले भने, ‘धुलो जम्मा गरी लैजाने काम मात्रै नगरपालिकाले गरिदिएको भए हुन्थ्यो ।’

खर्च भने उही  ?
नगरपालिकाले सडक बढार्ने काम रोकेर दैनिक एउटा फोहर संकलन गर्ने गाडी घुमाए पनि फोहर व्यवस्थापनमा नगरपालिकाले गरिरहेको खर्च भने घटेको छैन ।

नगरपालिकासँग अहिले पनि फोहर व्यवस्थापनका लागि ४० जना कर्मचारी छन् । उनीहरुमध्ये ४ जना ब्रम्हदेव र गड्डाचौकीमा खटिएका छन् । बाँकी ३६ जना महेन्द्रनगर बजारकै फोहर व्यवस्थापन गर्नका लागि भनेर तलब खाइरहेका छन् । ‘३–३ महिनाको कार्यतालिका बनाएर उनीहरुलाई सडकको धुलो बढारेर संकलन गरी अन्यत्र फाल्ने काममा लगाएको भए नगरवासीको स्वास्थ्य र सडक दुबैका लागि राम्रो हुने थियो,’ सरसफाईका लागि स्थानीय अभियन्ता मदन चन्दले भने ।

नगरपालिकाको फोहर व्यवस्थापन शाखाका प्रमुख पुष्पराज भट्टले फोहर व्यवस्थापनका लागि नगरपालिकाले २ करोड रुपैयाँको वार्षिक बजेट छुट्याएको छ जसमा कर्मचारीको तलब समावेश छैन । ४० जना कर्मचारी मध्ये केहीलाई फोहर संकलन गर्ने गाडीमा खटाइएको छ भने अरुलाई अन्य काममा लगाइएको नगरपालिकाले जनाएको छ ।

अर्कोतिर, नगरपालिकाले फोहर संकलनवापत नगरवासीबाट कर भने असुल गरिरहेको छ । फोहर संकलन गर्ने गाडी घुमाइने क्षत्रका घरधनीबाट मासिक २ सय रुपैयाँका दरले सरसफाई शुल्क असुलिने गरेको भट्टले  बताए । सडकमा झाडु समेत नगलाउने नगरपालिकाले औपचारिक कार्यक्रममा भने जोड दिएको छ । शाखा प्रमुख भ¥का अनुसार अहिलेसम्म नगरपालिकाले २५ वटा औपचारिक कार्यक्रम गरेको छ ।

सडकको धुलो मानव स्वास्थ्यका लागि हानीकारक हुन्छ । देशका अन्य नगरपालिकाले धुलो हटाउन ब्रुमर मसिन नै खरिद गरिरहेका भए पनि भीमदत्त नगरपालिकाले उपलब्ध कर्मचारी समेत उपयोग गरिरहेको छैन ।


About Author
-मानसखण्ड