६४८ पटक हेरिएको
प्रकाशित: २०७६ जेष्ठ २२ , २०:३९ बजे

लिलाम माफियासँग मिलेमतो गरेको मुद्दा दायर : कुमारी बैंकलाई कारण देखाउ आदेश

Image

–मानसखण्ड
महेन्द्रनगर, २२ जेठ । उच्च अदालतले कुमारी बैंक लिमिटेडका नाममा कारण देखाउ आदेश जारी गरेको छ । दशरथ चन्द नगरपालिका बैतडी बस्ने नैनसिंह बोहराले दायर गरेको उत्प्रेषण मिश्रित परमादेशको रिटमा उच्च अदालतको महेन्द्रनगर इजलासले सो आदेश जारी गरेको हो ।

अदालतले बोहराको नाममा रहेको र बैंकले लिलाम बिक्री गरिसकेको भीमदत्त नगरपालिका–१० को ६ कट्ठा जग्गाको बेचविखन रोक्न जिल्ला मालपोत कार्यालयलाई समेत आदेश गरेको अधिवक्ता हिक्मतसिंह भण्डारीले बताए । उनले अदालतले कुमारी बैंक, महेन्द्रनगर शाखाका प्रवन्धक खगेन्द्र साउँद, कर्जा प्रमुख निरज खरेल, भीनपा–४ का वडा सचिव गुरुदेव विक तथा मालपोत, जिल्ला प्रशासन, प्रहरीका प्रतिनिधिका नामा कारण देखाउ आदेश जारी गरेको हो ।

बोहराले आफूलाई सूचना नै नदिई बैंकले धितो लिलाम गरेको भन्दै सो प्रक्रिया बदर गरी जग्गा फिर्ता पाउन रिट
गरेका थिए । अदालतले प्रतिवादीहरुलाई १५ दिने म्याद दिएर अल्पकालिन अन्तरिम आदेश जारी गरेको हो । २७ जेठमा अदालतले अल्पकालिन आदेश बारे पेशी तोकेको अधिवक्ता भण्डारीले बताए ।

भएको के हो ?
बैतडी जिल्ला दशरथचन्द नगरपालिका देहीमाडौंका नैनसिंह बोहराको भीमदत्त नगरपालिका–१० तिलकेनीमा रहेको ६ कट्ठा ३ धुर जग्गा लिलाम गर्दा शाखा प्रवन्त्रक साउँद र कर्जा प्रमुख खरेलले आधारभूत प्रक्रिया समेत पूरा नगरेको पीडित पक्षको दावी छ । पीडित बोहराका अनुसार उनको नाममा रहेको सो जग्गा लिलाम गर्दा बैंकले उनलाई कुनै सूचना दिएन । कर्जा लिंदा जमानीकर्ता बनेका भीमदत्त नगरपालिका–१५ का धिरेन्द्र चन्दलाई पनि कुनै सूचना नदिइएको चन्दको भनाइ छ ।

‘काठमाडौंको पत्रिकामा निकालेर लिलाम गरेछ,’ चन्दले भने, ‘बोहरा र म दुबैजना महेन्द्रनगरमा हुँदाहुँदै पनि हामीलाई मौखिक जानकारी पनि दिइएन ।’

बोहराले केही वर्ष पहिले साविकको महाकाली विकास बैंकबाट ११ लाख ५० हजार रुपैयाँ ऋण लिएको र गत वर्ष ५ लाख रुपैयाँ साँवा र त्यसबेलासम्मको व्याज तिरेपछि उनको नाममा ६ लाख ५० हजार कर्जा कायम भएको बताएका छन् । गत असारमा आफूले सो कर्जाको व्याज वापत १ लाख रुपैयाँ पनि तिरेको उनले बताए । महाकाली विकास बैंक कुमारी बैंकमा गाभिएको हो ।

‘त्यति ठूलो रकम बुझाइसकेको ऋणीलाई जग्गा लिलाम गर्दा कुनै जानकारी दिइएन,’ दुर्घटनामा परी दुबै खुट्टा भाँचिएपछि हाल धनगढीमा उपचार गराइरहेका बोहराले मानसखण्डसँग फोनमा भने, ‘मेरो त उठिबास नै हुने भयो ।’

बोहराले तिलकेनीको सो जग्गामा घर बनाएर बसाइ सरेका थिएनन् । उनले त्यो जग्गा आफन्त पर्ने जयबहादुर कार्कीलाई कमाउन दिएका थिए । बैंकले गत महिना २६ गते सो जग्गा लिलाम बिक्री गरेको छ । चलनचल्तीको मूल्यमा झण्डै ५० लाख पर्ने सो जग्गा १३ लाख ६५ हजारमा लिलाम सकारिएको जानकारी पाइएको छ । सो जग्गा पञ्चेश्वर परियोजनामा कार्यरत पाल्पाका बाबुराम अधिकारीले सकार गरी आफ्नो नाममा लिइसकेका छन् ।

प्रायः देहीमाडौंमैं बस्ने नैनसिंह बोहरालाई लिलाम प्रक्रिया बारे रितपूर्वकको जानकारी दिन बैंक कर्मचारीहरुले कञ्ज्युस्याई गरेको पनि देखिएको छ । लिलाम भएको जग्गाका अंशियार समेत रहेका ऋणी बोहराका भाइ जगेन्द्र बोहराले बैंकले हुलाकमार्फत् ऋणीको स्थायी ठेगानामा लिखित जानकारी नपठाएको दावी गरे । ऋणी बोहराले आफूले हुलाक वा प्रत्यक्ष रुपमा कुनै पनि जानकारी नपाएको बताए ।

बैंकले धितोको रुपमा रहेको जग्गाका साँधसधियारलाई समेत लिलाम बारे कुनै जानकारी नगराएको पाइएको छ । लिलाम भएको जग्गा कमाउँदै आएका ७७ वर्षीय जयबहादुर कार्कीले लिलाम बारे बैंकले तिलकेनीको रामटोलमा कुनै जानकारी नदिएको बताए । ‘लिलाम भइसकेपछि सकार्ने पञ्चेश्वरका हाकिम आएपछि मात्रै थाहा भयो,’ कार्कीले भने । लिलाम जग्गासँगै घर भएका सोही टोलका बलदेव वडूले पनि सो जग्गा लिलाम बारे आफूलाई कुनै जानकारी नभएको बताए । त्यस्तै रामटोलमा चिया र किरानाको पसल गर्ने शंकर नाथले पनि लिलाम बारे आफूले नसुनेको बताए ।

ऋणी बोहराको स्थायी ठेगानामा पत्राचार नगरेको बैंकले १० नम्बर वडा कार्यालयलाई पनि लिलाम प्रक्रियाबारे जानकारी नदिएको पाइएको छ । ‘ऋणी सम्पर्कमा नआएपछि वडालाई पत्र काटेर उपस्थित गराइदिन अनुरोध गर्नुपर्ने हो,’ वडाअध्यक्ष प्रमानन्द जोशीले भने, ‘हामीलाई लिलाम प्रक्रियाबारे सुरुमा कुनै जानकारी भएन । लिलाम भइसकेपछि घरबाटो सिफारिस लिन आउँदा थाहा पायौं ।

फर्जी ऋणी खडा गरियो
दैनिक मानसखण्डले यस प्रकरणमा अनुसन्धान गर्ने क्रममा कुमारी बैंकका प्रवन्धक र कर्जा प्रमुखले जालसाझपूर्ण तरिकाले काम गरेको पाइएको छ । ऋणी बोहरालाई पत्र बुझाउन तिलकेनी जानुपर्ने बैंकका कर्मचारी मटेना गएर नैनसिंह बोहरा नामका अर्कै व्यक्तिलाई जबर्जस्ती लिलाम सम्बन्धी सूचना थमाएको खुल्न आएको छ ।

बैंक कर्मचारीहरुले नेपाल बैंक लिमिटेडको महेन्द्रनगर शाखामा कार्यालय सहयोगीका रुपमा लामो समय काम गरेर रिटायर भएका नैनसिंह बोहरालाई लिलाम सम्बन्धी सूचना थमाएर फर्किएपछि लिलाम प्रक्रिया पूरा गरिएको बुझिएको छ । चक्कीफाँटा बस्ने बोहराका अनुसार आफूले कुनै पनि बैंकबाट ऋण नलिएको भन्दा पनि बैंकका कर्मचारीले मानेनन् । ‘तपाईकै नामको कर्जा हो भन्दै जबर्जस्ती पत्र थमाएर बुझिलिएको दस्तखत गराए,’ बोहराले भने । तीन पुस्ते भिडाएर हेर्नुस् भन्दा पनि बैंक कर्मचारीले नमानेको बोहराले बताए ।

बैंकका कर्मचारीको बलमिच्याईबाट बोहराकी पत्नि पनि क्रुद्ध छिन् । उनले मानसखण्डसँग भनिन्, ‘कसरी लिलाम गर्दा रहेछन् हेरौला ।’ नेपाल बैंकबाट अवकास प्राप्त बोहरा र ऋणी बोहराको जग्गा करिब ३ किलोमिटर टाढा पर्छ । दुबैजनाको चिनजान पनि छैन, पहाडघर पनि फरक फरक जिल्ला हो ।

लिलाम प्रक्रिया गोप्य राख्ने प्रयास
बैंकका कर्मचारीले जानीजानी लिलाम प्रक्रिया गोप्य राखेको देखिएको छ । सिलबन्दी बोलपत्र खोल्दा रहोबरमा भीमदत्त नगरपालिका वडा नं. १० का प्रतिनिधि नभई बैंकले वडा नं. ४ लाई सोझै पत्र लेखेर प्रतिनिधि पठाइदिन
अनुरोध गरेको थियो । सो वडाका सचिव गुरुदेव विकलाई रहोबरमा राखी लिलाम प्रक्रिया टुंग्याइएको छ ।

महेन्द्रनगरमा शाखा रहेका बैंकले ४ नं. वडा सचिवलाई नै रहोबरमा राखी लिलाम गराउने गरेका अन्य केही घटना पनि भएका छन् । धितोको जग्गा जिल्लाको जुनसुकै ठाउँको भए पनि भीमदत्तको ४ नम्बर वडा कार्यालयलाई सोझै पत्र लेख्ने र रहोबरमा वडासचिव बिक नै बस्ने गरेका थिए ।

बिकलाई ४ महिना पहिले मात्रै ४ नम्बर वडा कार्यालयको सचिवका रुपमा खटाइएको थियो । उनी त्यहाँ आएपछि बैंकहरुले लिलाम गर्ने क्रम पनि बढेको छ ।

थोरै साँवाब्याजमा धितो रहेका करोडौंका आकर्षक जग्गा हत्याउने गिरोह नै सक्रिय रहेको संकेत पाइएको छ । यो गिरोहले बैंकका कर्मचारी र रहोबरमा बस्ने व्यक्तिहरुलाई प्रभावमा पारी लिलाम प्रक्रिया अपारदर्शी बनाउने गरेको जानकारी पनि प्राप्त भएको छ ।


About Author
-मानसखण्ड