५३७ पटक हेरिएको
प्रकाशित: २०७६ वैशाख ३० , ०९:२३ बजे

लिलाममा सर्वस्व गुमाएका गरिबसँग कुमारी बैंकको यस्तो दादागिरी !

Image

जग्गा लिलाम भएका ऋणीले माग्दा पनि लिखत दिन आनाकानी । लिलाम प्रक्रियाका कागजात माग्दा अदालत जान धम्की । मालपोतबाट नक्कल सारेर अदालत जाँदै पीडित

–मानसखण्ड
महेन्द्रनगर, ३० वैशाख । ऋणीलाई कुनै जानकारी नदिई कुमारी बैंक लिमिटेडले गत महिना गरेको एक लिलाम प्रक्रिया अझै पनि गोप्य राख्ने कोसिस गरिरहेको छ । केही दिनयता जग्गा लिलाम भएका ऋणीले अदालती कारबाहीका लागि लिलाम सम्बन्धी कागजात मागिरहे पनि बैंकले विभिन्न बाहना गर्दै कागजातको नक्कल समेत दिन आनाकानी गरिरहेको आरोप लागेको छ ।

बैतडीको दशरथ चन्द नगरपालिका–२ देहीमाडौं स्थायी घर भई भीमदत्त नगरपालिका–१० रामटोलमा ६ कट्ठा ३ धुर जग्गा खरिद गरेका नैनसिंह बोहराले चार दिन भइसक्दा पनि बैंकले लिलाम प्रक्रियाका कागजातको नक्कल नदिएको बताएका छन् । ‘म्यानेजरले दि मिल्दैन अदालत गए हुन्छ भने,’ बोहराले भने, ‘वकिल सापले लिलाम सकारेर नामसारी भएको कागज नभएसम्म मुद्दा दर्ता हुन्न भन्नुहुन्छ ।’

दुर्घटनामा परी खुट्टा भाँचिएका बोहरा बैतडीबाट गाडि भाडामा लिएर महेन्द्रनगर आएका छन् । आफूलाई थाहै नदिई जग्गा लिलाम भइसकेकोले अदालत जानका लागि उनी लिलाम भएको प्रमाण खोज्दै महेन्द्रनगरमा भौंतारिरहेका छन् । ‘एक त लिलामको जानकारी दिएन त्यसमाथि अदालत जान रोक्ने गरी लिलामका कागज नै दिन मान्दैन,’ बोहराले भने ।

बोहरालाई कानुनी परामर्श दिइरहेका अधिवक्ता हिक्मतसिंह भण्डारीले बैंक म्यानेजर र केन्द्रीय कार्यालयका पदाधिकारीसित आफूले बाराम्बार अनुरोध गरे पनि बैंकले बोहरालाई अदालत जान सक्ने कागजात दिन आनाकानी गरिरहेको बताए । ‘बैंकको गडबडी लुकाउन कागजातसमेत लुकाउन खोजिंदैछ,’ अधिवक्ता भण्डारीले भने, ‘मालपोतबाट लिखत सारेर अदालत जाने तयारी भइरहेको छ ।’

बैंकको महेन्द्रनगर शाखाका प्रवन्धक खगेन्द्र साउँदले सञ्चारकर्मीहरुसित केही कागज दिएको र अन्य कागज केन्द्रीय कार्यालय र मालपोतमा रहेकाले दिन नसकेको बताए ।

यस्तो छ कुमारी बैंकको रामकहानी
यसअघि कुमारी बैंक लिमिटेडको महेन्द्रनगर शाखाका प्रवन्धक खगेन्द्र साउँद र कर्जा प्रमुख निरज खरेलले लिलाम माफियासँग मिलेमतो गरी धितो लिलामका लागि निर्धारित प्रक्रियामैं जालसाझी गरेर बोहराको जग्गा लिलाम गराएको प्रकाशमा आइसकेको छ । 

बोहराको भीमदत्त नगरपालिका–१० तिलकेनीमा रहेको ६ कट्ठा ३ धुर जग्गा लिलाम गर्दा साउँद र खरेलले आधारभूत प्रक्रिया समेत पूरा नगरेको पीडित पक्षको दावी छ । पीडित बोहराका अनुसार उनको नाममा नेपालभित्र रहेको सो एकमात्र जग्गा लिलाम गर्दा बैंकले उनलाई कुनै सूचना दिएन । कर्जा लिंदा जमानीकर्ता बनेका भीमदत्त नगरपालिका–१५ का धिरेन्द्र चन्दलाई पनि कुनै सूचना नदिइएको चन्दको भनाइ छ ।

बोहराले केही वर्ष पहिले साविकको महाकाली विकास बैंकबाट ११ लाख ५० हजार रुपैयाँ ऋण लिएको र गत वर्ष ५ लाख रुपैयाँ साँवा र त्यसबेलासम्मको व्याज तिरेपछि उनको नाममा ६ लाख ५० हजार कर्जा कायम भएको बताएका छन् । गत असारमा आफूले सो कर्जाको व्याज वापत १ लाख रुपैयाँ पनि तिरेको उनले बताए । महाकाली विकास बैंक कुमारी बैंकमा गाभिएको हो ।

बोहराले तिलकेनीको सो जग्गामा घर बनाएर बसाइ सरेका थिएनन् । उनले त्यो जग्गा आफन्त पर्ने जयबहादुर कार्कीलाई कमाउन दिएका थिए ।

बैंकले गत महिना २६ गते सो जग्गा लिलाम बिक्री गरेको हो । चलनचल्तीको मूल्यमा झण्डै ५० लाख पर्ने सो जग्गा १३ लाख ६५ हजारमा लिलाम सकारिएको थियो । स्रोतका अनुसार सो जग्गा पञ्चेश्वर परियोजनामा कार्यरत पाल्पाका बाबुराम अधिकारीले सकार गरी आफ्नो नाममा लिइसकेका छन् । अधिकारी अहिले महेन्द्रनगरका बैंकमा रहेका खराब कर्जामा रहेका फाइदाका जग्गा लिलाम बोल्ने समूहमा जोडिएर क्रियाशील रहेको पनि स्रोतले बताएको छ । उनी कुमारी बैंकका प्रभावशाली अधिकृतका नातागोतामा पर्ने समेत स्रोतले बताएको छ ।

प्रायः देहीमाडौंमैं बस्ने नैनसिंह बोहरालाई लिलाम प्रक्रिया बारे रितपूर्वकको जानकारी दिन बैंक कर्मचारीहरुले कञ्ज्युस्याई गरेको पनि देखिएको छ । लिलाम भएको जग्गाका अंशियार समेत रहेका ऋणी बोहराका भाइ जगेन्द्र बोहराले बैंकले हुलाकमार्फत् ऋणीको स्थायी ठेगानामा लिखित जानकारी नपठाएको दावी गरे । ऋणी बोहराले आफूले हुलाक वा प्रत्यक्ष रुपमा कुनै पनि जानकारी नपाएको बताए ।

बैंकले धितोको रुपमा रहेको जग्गाका साँधसधियारलाई समेत लिलाम बारे कुनै जानकारी नगराएको पाइएको छ । लिलाम भएको जग्गा कमाउँदै आएका ७७ वर्षीय जयबहादुर कार्कीले लिलाम बारे बैंकले तिलकेनीको रामटोलमा कुनै जानकारी नदिएको बताएका छन् । ‘लिलाम भइसकेपछि सकार्ने पञ्चेश्वरका हाकिम आएपछि मात्रै थाहा भयो,’ कार्कीले भने । लिलाम जग्गासँगै घर भएका सोही टोलका बलदेव वडूले पनि सो जग्गा लिलाम बारे आफूलाई कुनै जानकारी नभएको बताए । त्यस्तै रामटोलमा चिया र किरानाको पसल गर्ने शंकर नाथले पनि लिलाम बारे आफूले नसुनेको बताए ।

ऋणी बोहराको स्थायी ठेगानामा पत्राचार नगरेको बैंकले १० नम्बर वडा कार्यालयलाई पनि लिलाम प्रक्रियाबारे जानकारी नदिएको पाइएको छ । ‘ऋणी सम्पर्कमा नआएपछि वडालाई पत्र काटेर उपस्थित गराइदिन अनुरोध गर्नुपर्ने हो,’ वडाअध्यक्ष प्रमानन्द जोशीले भने, ‘हामीलाई लिलाम प्रक्रियाबारे सुरुमा कुनै जानकारी भएन । लिलाम भइसकेपछि घरबाटो सिफारिस लिन आउँदा थाहा पायौं ।’

अचम्म त के भने, ऋणी बोहरालाई पत्र बुझाउन तिलकेनी जानुपर्ने बैंकका कर्मचारी मटेना गएर नैनसिंह
बोहरा नामका अर्कै व्यक्तिलाई जबर्जस्ती लिलाम सम्बन्धी सूचना थमाएको खुल्न आएको छ ।

बैंक कर्मचारीहरुले नेपाल बैंक लिमिटेडको महेन्द्रनगर शाखामा कार्यालय सहयोगीका रुपमा लामो समय काम गरेर रिटायर भएका नैनसिंह बोहरालाई लिलाम सम्बन्धी सूचना थमाएर फर्किएपछि लिलाम प्रक्रिया पूरा गरिएको बुझिएको छ । चक्कीफाँटा बस्ने बोहराका अनुसार आफूले कुनै पनि बैंकबाट ऋण नलिएको भन्दा पनि बैंकका कर्मचारीले मानेनन् । ‘तपाईकै नामको कर्जा हो भन्दै जबर्जस्ती पत्र थमाएर बुझिलिएको दस्तखत गराए,’ बोहराले भने । तीन पुस्ते भिडाएर हेर्नुस् भन्दा पनि बैंक कर्मचारीले नमानेको बोहराले बताए ।

अर्कोतिर, बैंकका कर्मचारीले जानीजानी लिलाम प्रक्रिया गोप्य राखेको देखिएको छ । सिलबन्दी बोलपत्र खोल्दा रहोबरमा भीमदत्त नगरपालिका वडा नं. १० का प्रतिनिधि नभई बैंकले वडा नं. ४ लाई सोझै पत्र लेखेर प्रतिनिधि पठाइदिन अनुरोध गरेको थियो । सो वडाका सचिव गुरुदेव विकलाई रहोबरमा राखी लिलाम प्रक्रिया टुंग्याइएको छ । महेन्द्रनगरमा शाखा  रहेका बैंकले ४ नं. वडा सचिवलाई नै रहोबरमा राखी लिलाम गराउने गरेका अन्य केही घटना पनि भएका छन् । धितोको जग्गा जिल्लाको जुनसुकै ठाउँको भए पनि भीमदत्तको ४ नम्बर वडा कार्यालयलाई सोझै पत्र लेख्ने र रहोबरमा वडासचिव बिक नै बस्ने गरेका छन् ।

बिकलाई ३ महिना मात्रै ४ नम्बर वडा कार्यालयको सचिवका रुपमा खटाइएको थियो । उनी त्यहाँ आएपछि बैंकहरुले लिलाम गर्ने क्रम पनि बढेको छ ।


About Author
-मानसखण्ड