१३२६ पटक हेरिएको
प्रकाशित: २०७६ वैशाख २५ , ०८:३९ बजे

कुमारी बैंकले यसरी उठिबास गरायो गरिबको !

Image

धितो लिलाम गर्दा ऋणीलाई समेत जानकारी दिइएन । ऋणीसँग नाम मिल्ने व्यक्तिलाई जबर्जस्ती पत्र बुझाएर जग्गा लिलाम गरियो । लिलाम प्रक्रिया गोप्य राख्न अनेक तिकडम ।

–मानसखण्ड
महेन्द्रनगर, २५ बैशाख । बैंकका कर्मचारीले लिलाम माफियासँग मिलेर एक गरिब परिवारको उठिबास गराएको अर्को घटना सतहमा आएको छ । कुमारी बैंक लिमिटेडको महेन्द्रनगर शाखाका प्रवन्धक खगेन्द्र साउँद र कर्जा प्रमुख निरज खरेलले धितो लिलामका लागि निर्धारित प्रक्रियामा जालसाझी गरी एक गरिब परिवारको उठिबास गराएको आरोप लागेको छ ।

बैतडी जिल्ला दशरथचन्द नगरपालिका देहीमाडौंका नैनसिंह बोहराको भीमदत्त नगरपालिका–१० तिलकेनीमा रहेको ६ कट्ठा ३ धुर जग्गा लिलाम गर्दा साउँद र खरेलले आधारभूत प्रक्रिया समेत पूरा नगरेको पीडित पक्षको दावी छ । पीडित बोहराका अनुसार उनको नाममा नेपालभित्र रहेको सो एकमात्र जग्गा लिलाम गर्दा बैंकले उनलाई कुनै सूचना दिएन । कर्जा लिंदा जमानीकर्ता बनेका भीमदत्त नगरपालिका–१५ का धिरेन्द्र चन्दलाई पनि कुनै सूचना नदिइएको चन्दको भनाइ छ ।

‘काठमाडौंको पत्रिकामा निकालेर लिलाम गरेछ,’ चन्दले भने, ‘बोहरा र म दुबैजना महेन्द्रनगरमा हुँदाहुँदै पनि हामीलाई मौखिक जानकारी पनि दिइएन ।’

बोहराले केही वर्ष पहिले साविकको महाकाली विकास बैंकबाट ११ लाख ५० हजार रुपैयाँ ऋण लिएको र गत वर्ष ५ लाख रुपैयाँ साँवा र त्यसबेलासम्मको व्याज तिरेपछि उनको नाममा ६ लाख ५० हजार कर्जा कायम भएको बताएका छन् । गत असारमा आफूले सो कर्जाको व्याज वापत १ लाख रुपैयाँ पनि तिरेको उनले बताए ।

‘त्यति ठूलो रकम बुझाइसकेको ऋणीलाई जग्गा लिलाम गर्दा कुनै जानकारी दिइएन,’ दुर्घटनामा परी दुबै खुट्टा भाँचिएपछि हाल धनगढीमा उपचार गराइरहेका बोहराले मानसखण्डसँग फोनमा भने, ‘मेरो त उठिबास नै हुने भयो ।’

बोहराले तिलकेनीको सो जग्गामा घर बनाएर बसाइसरेका छैनन् । उनले त्यो जग्गा आफन्त पर्ने जयबहादुर कार्कीलाई कमाउन दिएका छन् । ‘अब घर बनाउने सोच्दै थिएँ,’ बोहराले भने, ‘सपना सबै हुरीले उडायो ।’

बैंकले गत महिना २६ गते सो जग्गा लिलाम बिक्री गरेको छ । चलनचल्तीको मूल्यमा झण्डै ५० लाख पर्ने सो जग्गा १३ लाख ६५ हजारमा लिलाम सकारिएको जानकारी पाइएको छ । दैनिक मानसखण्डले यसबारेमा सोध्दा बैंकका कर्मचारीले जानकारी दिन नसकिने बताए । स्रोतका अनुसार सो जग्गा पञ्चेश्वर परियोजनामा कार्यरत पाल्पाका बाबुराम अधिकारीले सकार गरी आफ्नो नाममा लिइसकेका छन् । अधिकारी अहिले महेन्द्रनगरका बैंकमा रहेका खराब कर्जामा रहेका फाइदाका जग्गा लिलाम बोल्ने समूहमा जोडिएर क्रियाशील रहेको पनि स्रोतले बताएको छ । उनी कुमारी बैंकका प्रभावशाली अधिकृतका नातागोतामा पर्ने समेत स्रोतले बताएको छ ।

प्रायः देहीमाडौंमैं बस्ने नैनसिंह बोहरालाई लिलाम प्रक्रिया बारे रितपूर्वकको जानकारी दिन बैंक कर्मचारीहरुले कञ्ज्युस्याई गरेको पनि देखिएको छ । लिलाम भएको जग्गाका अंशियार समेत रहेका ऋणी बोहराका भाइ जगेन्द्र बोहराले बैंकले हुलाकमार्फत् ऋणीको स्थायी ठेगानामा लिखित जानकारी नपठाएको दावी गरे । ऋणी बोहराले आफूले हुलाक वा प्रत्यक्ष रुपमा कुनै पनि जानकारी नपाएको बताए ।

बैंकले धितोको रुपमा रहेको जग्गाका साँधसधियारलाई समेत लिलाम बारे कुनै जानकारी नगराएको पाइएको छ । लिलाम भएको जग्गा कमाउँदै आएका ७७ वर्षीय जयबहादुर कार्कीले लिलाम बारे बैंकले तिलकेनीको रामटोलमा कुनै जानकारी नदिएको बताए । ‘लिलाम भइसकेपछि सकार्ने पञ्चेश्वरका हाकिम आएपछि मात्रै थाहा भयो,’ कार्कीले भने । लिलाम जग्गासँगै घर भएका सोही टोलका बलदेव वडूले पनि सो जग्गा लिलाम बारे आफूलाई कुनै जानकारी नभएको बताए । त्यस्तै रामटोलमा चिया र किरानाको पसल गर्ने शंकर नाथले पनि लिलाम बारे आफूले नसुनेको बताए ।

ऋणी बोहराको स्थायी ठेगानामा पत्राचार नगरेको बैंकले १० नम्बर वडा कार्यालयलाई पनि लिलाम प्रक्रियाबारे जानकारी नदिएको पाइएको छ । ‘ऋणी सम्पर्कमा नआएपछि वडालाई पत्र काटेर उपस्थित गराइदिन अनुरोध गर्नुपर्ने हो,’ वडाअध्यक्ष प्रमानन्द जोशीले भने, ‘हामीलाई लिलाम प्रक्रियाबारे सुरुमा कुनै जानकारी भएन । लिलाम भइसकेपछि घरबाटो सिफारिस लिन आउँदा थाहा पायौं ।’

फर्जी ऋणी खडा गरियो
दैनिक मानसखण्डले यस प्रकरणमा अनुसन्धान गर्ने क्रममा कुमारी बैंकका प्रवन्धक र कर्जा प्रमुखले जालसाझपूर्ण तरिकाले काम गरेको पाइएको छ । ऋणी बोहरालाई पत्र बुझाउन तिलकेनी जानुपर्ने बैंकका कर्मचारी मटेना गएर नैनसिंह बोहरा नामका अर्कै व्यक्तिलाई जबर्जस्ती लिलाम सम्बन्धी सूचना थमाएको खुल्न आएको छ ।

बैंक कर्मचारीहरुले नेपाल बैंक लिमिटेडको महेन्द्रनगर शाखामा कार्यालय सहयोगीका रुपमा लामो समय काम गरेर रिटायर भएका नैनसिंह बोहरालाई लिलाम सम्बन्धी सूचना थमाएर फर्किएपछि लिलाम प्रक्रिया पूरा गरिएको बुझिएको छ । चक्कीफाँटा बस्ने बोहराका अनुसार आफूले कुनै पनि बैंकबाट ऋण नलिएको भन्दा पनि बैंकका कर्मचारीले मानेनन् । ‘तपाईकै नामको कर्जा हो भन्दै जबर्जस्ती पत्र थमाएर बुझिलिएको दस्तखत गराए,’ बोहराले भने । तीन पुस्ते भिडाएर हेर्नुस् भन्दा पनि बैंक कर्मचारीले नमानेको बोहराले बताए ।

बैंकका कर्मचारीको बलमिच्याईबाट बोहराकी पत्नि पनि क्रुद्ध छिन् । उनले मानसखण्डसँग भनिन्, ‘कसरी लिलाम गर्दा रहेछन् हेरौला ।’ नेपाल बैंकबाट अवकास प्राप्त बोहरा र ऋणी बोहराको जग्गा करिब ३ किलोमिटर टाढा पर्छ । दुबैजनाको चिनजान पनि छैन, पहाडघर पनि फरक फरक जिल्ला हो ।

लिलाम प्रक्रिया गोप्य राख्ने प्रयास
बैंकका कर्मचारीले जानीजानी लिलाम प्रक्रिया गोप्य राखेको देखिएको छ । सिलबन्दी बोलपत्र खोल्दा रहोबरमा भीमदत्त नगरपालिका वडा नं. १० का प्रतिनिधि नभई बैंकले वडा नं. ४ लाई सोझै पत्र लेखेर प्रतिनिधि पठाइदिन अनुरोध गरेको थियो । सो वडाका सचिव गुरुदेव विकलाई रहोबरमा राखी लिलाम प्रक्रिया टुंग्याइएको छ । महेन्द्रनगरमा शाखा रहेका बैंकले ४ नं. वडा सचिवलाई नै रहोबरमा राखी लिलाम गराउने गरेका अन्य केही घटना पनि भएका छन् । धितोको जग्गा जिल्लाको जुनसुकै ठाउँको भए पनि भीमदत्तको ४ नम्बर वडा कार्यालयलाई सोझै पत्र लेख्ने र रहोबरमा वडासचिव बिक नै बस्ने गरेका छन् ।

बिकलाई ३ महिना मात्रै ४ नम्बर वडा कार्यालयको सचिवका रुपमा खटाइएको थियो । उनी त्यहाँ आएपछि बैंकहरुले लिलाम गर्ने क्रम पनि बढेको छ ।

थोरै साँवाब्याजमा धितो रहेका करोडौंका आकर्षक जग्गा हत्याउने गिरोह नै सक्रिय रहेको संकेत पाइएको छ । यो गिरोहले बैंकका कर्मचारी र रहोबरमा बस्ने व्यक्तिहरुलाई प्रभावमा पारी लिलाम प्रक्रिया अपारदर्शी बनाउने गरेको जानकारी पनि प्राप्त भएको छ ।

सूचना लुकाउन ठूलै कसरत
कुमारी बैंकको मुख्य कार्यालयले समेत यस प्रकरणबारे सूचना प्रवाह गर्न कञ्जुस्याईं गरिरहेको छ । महेन्द्रनगर शाखाले सोझै यसबारे कुनै पनि जानकारी दिन नमिल्ने बताएपछि दैनिक मानसखण्डले यस प्रकरणसँग सम्बन्धित सूचना प्राप्त गर्न बैंकको केन्द्रीय कार्यालयमा इमेलमार्फत पत्राचार गरेपनि ४ दिन बितिसक्दा समेत कुनै जवाफ पाइएको छैन ।

बैंकको आधिकारिक वेभसाइटमा उल्लेखित सूचना अधिकारी राजेश श्रेष्ठको कार्यकक्षको फोनमा सम्पर्क गर्दा लगातार ३ दिन सो फोन उठेन । केन्द्रीय कार्यालयको फोनमा सम्पर्क गर्दा समेत सूचना प्रवाह गर्ने अन्य अधिकारीसँग भेट हुन सकेन ।

दैनिक मानसखण्डले बैंकको केन्द्रीय कार्यालयको गुनासो सुन्ने अधिकारीलाई समेत इमेलमार्फत् जानकारी माग्दा यो समाचार तयार पारुञ्जेल कुनै प्रतिक्रिया प्राप्त भएको छैन ।

बैंकिङ अपराध ठहर्ने सम्भावना
ऋणीलाई समेत जानकारी नदिई, नाम मिल्ने व्यक्तिलाई जबर्जस्ती ऋणी बनाएर गरिएको लिलाम गैरकानुनी हुने कानुन व्यवासायीहरुले बताएका छन् । अधिवक्ता हिक्मतसिंह भण्डारीका अनुसार कसैको उठिबास नै हुने गरी बदनियतपूर्ण तरिकाले लिलाम गरेको देखिएको हुनाले बैंकका प्रवन्धक र कर्जा प्रमुखलाई बैंकिङ कसुरमा सजाय हुन सक्छ । अधिवक्ता भण्डारीले ऋणीलाई आफ्नो जग्गा लिलाम हुने बारे जानकारी नभएको अवस्थामा अदालतले लिलाम प्रक्रिया रद्द गरी गैरकानुनी काम गर्ने कर्मचारीलाई कैद गर्नसक्ने बताए ।

ऋणी बोहराको महेन्द्रनगरमा बसोबास नभएको हुँदा नागरिकतामा उल्लेखित स्थायी ठेगानामा पत्राचार गर्नुपर्ने र सो ठेगानामा पनि ऋणी नभेटिए धितोवाला जग्गा रहेको वडा कार्यालयमा पत्र लेखी ऋणीलाई उपस्थित गराइदिन वा सूचना पुर्‍याइदिन अनुरोध गर्नुपर्ने आधारभूत नियमलाई समेत बैंकले उल्लंघन गरेको कानुन व्यवसायीहरु बताउँछन् ।


About Author
-मानसखण्ड