२६४२ पटक हेरिएको
प्रकाशित: २०७६ वैशाख २३ , ११:०९ बजे

भित्रभित्रै लिलाम माफिया सक्रिय : कृषि विकास बैंकका म्यानेजरको यस्तो चर्तिकला !

Image

बैंकका कर्मचारीको मिलेमतोमा लिलाम माफियाद्वारा पिपरैयाका एक गरिब परिवारको उठिबास । १ करोड ७५ लाखको सम्पत्ति ९ लाख ८८ हजारमा लिलाम । लिलाम प्रक्रिया अत्यन्तै गोप्य । कृषि विकास बैंकका म्यानेजरको भूमिका शंकास्पद ।

–मानसखण्ड
महेन्द्रनगर, २३ वैशाख । कृषि विकास बैंक महेन्द्रनगर शाखाका प्रवन्धक शिवप्रसाद बास्तोलाको मिलेमतोमा आफ्नो संयुक्त परिवारको उठिबास हुन लागेको पीडितहरुले दावी गरेको छन् ।

भीमदत्त नगरपालिका–१३ पिपरैयाका मोहनप्रसाद भट्ट, भीमप्रसाद भट्ट र टेक भट्टले आफ्ना कान्छा भाई हर्षराज भट्टको नाममा रहेको ७ कट्ठा १३ धुर जग्गा लिलाम गर्दा प्रवन्धक बास्तोलाले प्रक्रिया मिचेर अपारदर्शी तरिकाले काम गरेको आरोप लगाएका छन् । पाँच भाईको अंश लाग्ने उक्त जग्गा धितो राखी कर्जा दिंदा आफूहरुको मञ्जुरी नलिएको उनीहरुले दैनिक मानसखण्डलाई बताएका छन् । उनीहरुले आफूहरुको अंश लाग्ने सो जग्गा लिलाम गर्दा समेत कुनै जानकारी नदिई लिलाम गरिएको दावी गरेका छन् ।

प्रवन्धक बास्तोलाले लिलाम प्रक्रिया अत्यन्त गोप्य राखेको पनि भट्ट दाजुभाइहरुको आरोप छ । ‘वडा कार्यालयलाई समेत लिलाम प्रक्रियामा सहभागी गराइएन, घरमैं भएका हामी अंशियारलाई पनि सुइको दिइएन ।’ प्रवन्धक बास्तोलाले भने बैंकको कार्यविधिमा स्थानीय तहलाई लिलाम प्रक्रियामा सहभागी गराउने बारे कुनै उल्लेख नभएको बताए । उनको यो कथन लिलाम प्रक्रिया गुपचुप राख्ने बाहना मात्रै देखिन्छ । एक गरिब परिवारको उठिबास हुने गरी लिलाम गर्दा कार्यविधिभन्दा बाहिर गएर स्थानीय तहका जनप्रतिनिधिलाई रहोबरमा राख्दा अपराध नहुने बताउँछन् अधिवक्ता हिक्मतसिंह भण्डारी ।

अधिवक्ता भण्डारीका अनुसार कृषि विकास बैंकको कार्यविधिमा स्थानीय तहका प्रतिनिधि नराख्ने भन्ने लेखिएको छ भने त्यो कार्यविधि गैरकानुनी हो । स्थानीय तहका प्रतिनिधि बारे कार्यविधि केही बोलेको छैन भने म्यानेजरलाई प्रतिनिधि बोलाउन कुनै बाधा नपर्ने उनको भनाई छ । लिलाम प्रक्रियालाई गोप्य राख्न नै स्थानीय तहबाट प्रतिनिधि नबोलाइएको अधिवक्ता भण्डारीको बुझाई छ ।

हर्षराज भट्टको नाममा रहेको सो जग्गा झोलुंगे पुल जाने पीच सडकसँग जोडिएको छ । चलनचल्तीको मूल्यमा करिब १ करोड ५० लाख रुपैयाँको जग्गा र त्यसमा बनेको २५ लाखको घर बैंकले ८ वैशाखमा ९ लाख ८५ हजार रुपैयाँमा लिलाम बिक्री गरिदिएको छ । हर्षराजले केही वर्ष पहिले १ लाख ८० हजार रुपैयाँ कर्जा लिई तिरेका थिएनन् । लिलाम हुने मितिसम्म आफ्नो नाममा करिब ६ लाख रुपैयाँ बक्यौता रहेको उनी बताउँछन् ।

बेदकोट नगरपालिका–१ का उद्धवबहादुर बोहराले सो जग्गा लिलाम सकारेका छन् । प्राप्त गरेका छन् । तर, अहिलेसम्म मालपोत कार्यालयबाट बोहराको नाममा जग्गा पास भइसकेको छैन ।

लिलाम बढाबढमा शुक्लाफाँटा नगरपालिका–२ का प्रकाश दत्त भट्ट र शुक्लाफाँटा–१२ का राजेन्द्र डुंगाल पनि सहभागी भएका थिए । बोहराले तीनैजनामध्ये सबैभन्दा धेरै रकम बोली लगाएका थिए ।

भट्ट दाजुभाईहरुले भने लिलाम प्रक्रिया नियोजित भएको दावी गरेका छन् । लिलाम बोल्न तीनजना मात्रै अगाडि आए पनि उनीहरुका पछाडि गिरोह नै रहेको उनीहरुको भनाई छ ।

जग्गा लिलाम भइसकेको १० दिनपछि मात्रै आफूहरुले थाहा पाएको भट्ट दाजुभाइहरुको भनाई छ । ‘थाहा पाएपछि बैंकमा गयौं तर म्यानेजरले अब केही गर्न सकिन्न भनेर फर्काई दिए,’ मोहनप्रसादले भने, ‘त्यसपछि लिलाम बोल्ने बोहरालाई भेट्दा उनले आफ्नो ठूलो समूह भएकाले आफू एक्लैले निर्णय दिन नसक्ने बताए ।’ भट्ट दाजुभाईका तर्फबाट लिलाम बोल्ने बोहरा र उनको समूहसँग कुरा गर्न एक समूह झलारी गयो । पाँच घण्टाको छलफलका क्रममा २० लाख रुपैयाँ दिए मात्रै आफूहरुले सो जग्गामा दावी छोड्ने लिलाम सकार्ने समूहले बताएको कुुरा मिलाउन झलारी पुगेका महेन्द्रनगरका एक व्यवसायीले जानकारी दिए ।

लिलाम बोल्ने समूहले दुई हप्तामैं ११ लाख रुपैयाँ फाइदा लिन खोजेको देखिएको छ । पीडित पक्षले त्यति ठूलो रकम दिन नसक्ने बताएपछि अहिले सो समूह र पीडित पक्षबीच सम्वाद रोकिएको छ ।

म्यानेजर बास्तोलाको मिलेमतो प्रष्ट
लिलाम प्रक्रियामा शाखा प्रवन्धक शिवप्रसाद बास्तोलाको भूमिका शंकास्पद रहेको भन्ने भट्ट दाजुभाईको आरोपलाई आइतबार बल मिलेको छ । बोहराको नाममा नामसारी हुनका लागि १३ नं। वडा कार्यालयले आवश्यक सिफारिस दिइसकेको छैन भने मालपोत कार्यालयबाट सो जग्गा पास पनि भईसकेको छैन । यस्तो अवस्थामा लिलाम बोलिएको सो जग्गाका बैधानिक अंशियार रहेका तर कर्जा प्रवाहदेखि लिलाम प्रक्रियासम्म कुनै जानकारी भट्ट दाजुभाईले आइतबार आफ्नो भाईको नाममा रहेको साँवा ब्याज र हर्जाना समेतको रकम एकमुष्ट तिरिदिने भन्दै रकम बुझ्न बै।कलाई निवेदन दिने प्रयास गरेका थिए ।

तर, प्रवन्धक बास्तोलाले सो निवेदन बुझ्न मानेनन् । दैनिक मानसखण्डका प्रतिनिधि समेतको उपस्थितिमा भट्ट दाजुभाईले ‘हामी अहिले नै तिर्छौं’ भन्दा बास्तोलाले रकम बुझ्न नसक्ने बताए । उनले निवेदन समेत बुझ्न अस्वीकार गरे । निवेदन बुझ्न नसकिने कारण सहित दरपीठ गरिदिन अनुरोध गर्दा समेत बास्तोलाले दरपीठ गर्न मानेनन् । बास्तोलाले कानुनको कुन प्रक्रिया अनुसार सो निवेदन बुझ्न र त्यसमाथि कारबाही गर्न नसकिने हो प्रष्ट खुलाई दरपीठ समेत गर्न नमानेपछि लिलाम प्रक्रियामा उनको शंकास्पद भूमिका रहेको भट्ट दाजुभाईको आरोपलाई बल मिलेको छ ।

म्यानेजर बास्तोलाले निवेदन दरपीठ गर्न समेत नमान्दा प्रमुख जिल्ला अधिकारीलाई तत्काल आवश्यक निर्देशन दिन लिखित अनुरोध गर्दै भट्ट दाजुभाइले हुलाकमार्फत् सो पत्र बैंकलाई पठाएका छन् ।

अधिवक्त हिक्मतसिंह भण्डारीका अनुसार मालपोतबाट नामसारी हुनुअघि ऋणी वा अंशियारले एकमुष्ट कर्जा रकम तिर्न चाहे बैंकले नामसारी प्रक्रिया रोकेर रकम बुझ्नुपर्ने बताए । उनले यस सम्बन्धमा विभिन्न नजिरहरु स्थापित भइसकेको भन्दै दरपीठ नै गर्न नमान्ने शाखा प्रवन्धक कानुनी कारबाहीका भागी हुन सक्ने बताए ।

यसरी गरिन्छ उठिबास
बैंकमा रहेका विभिन्न खराब कर्जाका बहुमूल्य धितो कब्जा गर्न महेन्द्रनगरमा पनि नयाँ लिलाम माफिया गिरोह सक्रिय रहेको संकेत पाइएको छ । गिरोहमा केही जग्गा दलाल, राजनीतिक दलसँग निकट व्यक्ति, स्थानीय तहका कर्मचारी र बैंकका म्यानेजर तथा अन्य कर्मचारी रहेको प्रारम्भिक संकेत पाइएको छ । यो सञ्जालमा देशभरकै माफिया जोडिएको पनि संकेत पाइन थालेका छन् ।

विशेष गरी विगत ३ महिनायता विभिन्न बैंकले लिलाम गर्ने क्रम बढाएका छन् । थोरै रकमका कर्जामा रहेका करोडौंका धितो जग्गा लिलाम हुन थालेका छन् । अहिलेसम्म दैनिक मानसखण्डलाई त्यस्ता आधा दर्जन लिलाम प्रक्रिया बारे सूचना प्राप्त भएको छ । ती सूचनामा दैनिक मानसखण्डले अनुसन्धान गरिरहेको छ ।

कतिपय लिलामका घटनामा बैंकहरुले ऋणीलाई समेत जानकारी नदिने गरेको पाइएको छ भने अधिकांश लिलाम प्रक्रिया अंशियारहरुलाई अध्यारोमा राखेर पूरा गरिएका सूचना प्राप्त भएका छन् ।

राष्ट्रियस्तरका पत्रपत्रिकामा लिलाम सम्बन्धी सूचना प्रकाशन भइसकेपछिको सम्पूर्ण प्रक्रिया अतिगोप्य तरिकाले पूरा हुने गरेको छ । बैंकका कर्मचारीहरु नै प्रक्रियाबारे अनभिज्ञ रहने बातावरणमा लिलाम पूरा गरेको पनि पाइएको छ ।

बैंकहरु आफैले लिलाम माफियासँगको मिलेमतोमा ३ जना बोलपत्रदाता खडा गर्ने र लिलाम प्रक्रियाबारे ऋणीलाई समेत थाहा नदिने गरेका छन् । कर्जा प्रवाह गर्दा जमानतमा बसेका व्यक्तिलाई समेत लिलाम प्रक्रियाको सूचना नदिने परम्परा बनेको छ ।

लिलामका केही प्रक्रियामा स्थानीय तहका प्रतिनिधि नै नराखेको पाइएको छ भने केही बैंकले कञ्चनपुरको जुनसुकै ठाउँको धितो लिलाम गर्दा पनि भीमदत्त नगरपालिकाको वडा नं। ४ कार्यालयलाई प्रतिनिधि पठाइदिन सोझै पत्राचार गर्ने गरेका छन् । ४ नं। वडा कार्यालयका सचिव ३ महिना पहिले मात्रै फेरिएका छन् । हिरासिंह ठकुराठीको ठाउँमा गुरुदेव बिकलाई अहिले सचिव तोकिएको छ । बिकले भीमदत्तकै अन्य वडा, जिल्लाका अन्य गाउँपालिका र नगरपालिकाका धितो लिलाम हुने प्रक्रियामा स्थानीय सरकारका तर्फबाट रहोबर बस्ने काम गरिरहेका छन् ।

सबै लिलाम प्रक्रियामा प्रहरी, मालपोत र नापीबाट खटाइने प्रतिनिधि पनि प्रायः एउटै व्यक्ति रहने गरेको बुझिएको छ । बैंकहरुले ऋणीसँग नाम मिल्ने गैरऋणी व्यक्तिलाई जबर्जस्ती लिलामको अन्तिम चिठी बुझाएर धितो लिलाम गरिदिएका घटना पनि सतहमा आएका छन् ।

अत्यन्त सुनियोजित तरिकाले बैंक कर्मचारी र माफियाको मिलेमतोमा गरिने लिलामको कबोल अंक आश्चर्यजनक रुपमा न्यूनतम रहने गरेका छन् । भीनपा–१३ पिपरैयाका हर्षराज भट्टको घटनामा जस्तै चलनचल्तीको मूल्यमा करोडौं पर्ने जेथा ऋणीले तिर्नुपर्ने रकमभन्दा २–४ लाख रुपैयाँ मात्रै धेरै रहने गरेका छन् ।
दैनिक मानसखण्डले कञ्चनपुरमा सुरु भएको लिलाम माफियाको नयाँ सरगर्मी बारे श्रृंखलावद्ध रुपमा समाचार प्रकाशन गर्न अनुसन्धान जारी राखेको छ ।


About Author
-मानसखण्ड