२१२८ पटक हेरिएको
प्रकाशित: २०७५ फाल्गुण २९ , १२:२७ बजे

एकै पटक निर्मला हत्याकाण्ड र लिज घोटालामा छलाङ

Image

निर्मला हत्यकाण्डको राप झन् बढिरहेको छ । महेन्द्रनगरबाट उठेको जनआक्रोशले संसारकै ध्यान खिचेपछि यो
प्रकरण अन्तर्राष्ट्रिय रुपमैं नेपालको निधारमा कलंकजस्तो बनेको छ । अर्कोतिर, महेन्द्रनगर मात्रै नभई सिंगो सुदूरपश्चिमका लागि महत्व राख्ने लिज घोटाला पनि अब राष्ट्रिय मुद्दाका रुपमा विकसित भएको छ । यी दुई प्रकरण स्वभाव र प्रकृतिले फरक–फरक भए पनि महेन्द्रनगर नै यिनको उदगम भएकाले सुदूरपश्चिमका लागि दूरगामी प्रभावका घटना मानिने छन् ।

निर्मला हत्याकाण्ड र लिज घोटामा धेरै कम समानता छन् । महेन्द्रनगर उदगम हुनुबाहेक यी दुई प्रकरणको अर्को समानता हो : यी दुबै प्रकरण दबाउन राज्यका प्रभावशाली अंगहरु क्रियाशील छन् र जनमतको चर्को दवावका कारण  राज्यका ती अंग यी दुबै घटनालाई दबाउन नसक्ने अवस्थामा पुगेका छन् । कञ्चनपुरको सजग नागरिक समाजको अनवरत दवाव र सतर्क मिडियाको सतत संघर्षपछि आजको दिनसम्म आइपुग्दा यी दुबै प्रकरण दबाउने–लुकाउने अनेकन प्रयासका बावजुद आमचासो र समाचारका मुख्य विषय बनिरहेका छन् ।

दबाउनै नसकिएको निर्मला हत्याकाण्ड
निर्मला हत्याकाण्डको सात महिना बितिसके पनि प्रहरी अझै अनुसन्धानमैं छ । यो स्वाभाविक पनि हो किनभने अपराधका धेरै घटनामा लामो अनुसन्धान हुन्छ । तर, यस  प्रकरणमा सरकार नै वास्तविक अपराधी खोज्न इच्छुक नभएको जस्तो देखिन आएकोले प्रहरीको ‘अनुसन्धान जारी छ’ थेगो बाहजनाबाजी मात्रै हो कि भन्ने आशंका बलियो हुँदै गएको छ । सरकार पक्षका नेता, कार्यकर्ता र बुद्धिजीविहरुका अभिव्यक्तिहरुमा देखिने अस्वाभाविकताले पनि यस काण्डमा सत्तारुढ दलको एउटा ठूलो हिस्सा अपराधी बचाउन लागेको भन्ने महसुस सर्वत्र गरिएकै हो ।

तर, पछिल्लो समय अनपेक्षित रुपमा सरकारले केही राम्रा संकेत दिएको छ । निर्मलाकी आमा दुर्गादेवी र दिलिप विष्टका दाजु खडक विष्टको जाहेरीका आधारमा प्रहरीले हत्याकाण्डका बेला कञ्चनपुरमा कार्यरत आठजना प्रहरी अधिकारीहरु विरुद्ध प्रमाण मेटाएको र नक्कली अभियुक्त खडा गर्न यातना दिएको अभियोगमा मुद्दा चलाएको छ । दुर्गादेवी र खडक विष्टको जाहेरी पनि रद्दीमा फालिने आशंका बढ्दै गएको र निर्मला हत्याकाण्ड सामसुम पारिएको निष्कर्षमा जनमानस पुग्दै गरेको बेला सरकारले आशाका केही किरण देखाएको छ ।

तत्कालिन एसपी डिल्लीराज विष्टसहितका आठ प्रहरीविरुद्धका दुई मुद्दामा अदालती प्रक्रिया सुरु भइसकेको छ । तर, केही अनौठा घटना पनि भएका छन् । निर्मलाकी आमा दुर्गादेवीले मुद्दा दायर भएपछि अदालतमा एक ठाडो निवेदन दिई आफ्नो जाहेरी फिर्ता लिएको र आफूले प्रमाण नष्टको आरोपमा पोलेकाहरुलाई उन्मुक्ति दिन अनुरोध गरेको खबर बाहिरिएको छ । यो निर्मला हत्याकाण्डमा आश्चर्यजनक मोड हो । ३ पुसमा दुर्गादेवीले नागरिक समाज, पत्रकार र अधिकारकर्मीकै अगाडि दस्तखत गरेर जाहेरी बुझाएकी हुन् । उनी र खडक विष्टले दस्तखत गरिरहेका फोटो र भिडियो सुरक्षित छन् । तर, अहिले आएर उनले अदालतमा निवदेन दिइन् ।

दुर्गादेवीको यो कदमले विभिन्न आशंका उत्पन्न गराएको छ । किन उनी पछाडि हटिन् भन्ने प्रश्नको उत्तर खोज्न जरुरी छ । कि उनलाई डरत्रासमा पारियो कि प्रलोभनमा । होइन भने छोरीको बलात्कार र हत्याका प्रमाण मेटाउनेहरुका विरुद्ध कुनै आमा यसरी नरम कसरी हुनसक्छे ?

दुर्गादेवीको पछि हटाईको अनुसन्धान आवश्यक छ । उनी अचानक किन पछाडि हटिन् भन्ने प्रश्नको जवाफ खोज्न सके हत्याकाण्डका धेरै अस्पष्ट पाटाहरु छर्लङ्ग हुनेछन् ।

दुर्गादेवीको अप्रत्यासित कदमसँगै अहिले आएर निर्मला हत्याकाण्डले फेरि चर्चा र महत्व पाएको छ । सरकारले दुई जाहेरीका आधारमा मुद्दा चलाउनु अहिलेका लागि ठूलो उपलब्धि हो । चाहिने सबै प्रमाण कि नष्ट गरिएका छन् कि छेडछाड गरेर विकृत बनाइएका छन् ।

यस्तोमा खास अपराधी च्याप्पै समात्न सकिने अवस्था नभएको बेला सरकारले दुर्गादेवी र खडक विष्टको जाहेरीमा अनुसन्धान गरेर नै अदालतमा मुद्दा दायर गरेको हो । सरकारको यो कदमले उसमाथि हत्यारा संरक्षण गरेको आरोपलाई केही मत्थर पारेको छ ।

अदालतमा चलिरहेका दुई मुद्दाले निर्मला हत्याकाण्डको कथित रहस्य समाधान गर्छन् अर्थात् अपराधी नै समातिन्छ भन्ने आशा गर्नु व्यर्थ हो । तर, ती दुई मुद्दाबाट केही सत्य स्थापित भएका छन् र सरकारले पनि ती सत्य स्वीकारेको छ ।

दुर्गादेवी र खडक विष्टको जाहेरीमा प्रहरीले झण्डै ३ महिना लगाएर अनुसन्धान गरेको हो । अनुसन्धानपछि नै सरकारले अदालतमा मुद्दा दायर गरेको हो । यसको अर्थ हो, प्रमाण मेटाउन डिल्ली विष्ट सहितका चार प्रहरी र दिलिपसिंह विष्टलाई नक्कली अभियुक्त बनाउन आठ प्रहरीको संलग्नता थियो भन्ने अनुसन्धानबाट खुलेको हो । अन्यथा सरकारले मुद्दा दर्ता गर्ने कुरै हुँदैन ।

हत्याकाण्डलाई दबाउन र थन्काउन गरिएका तमाम प्रयासका वावजुद निर्मला हत्याकाण्डले अदालतमा प्रवेश पाएको छ । हत्यारा तत्काल पक्राउ नपरे पनि उसको खोजी जारी छ भन्ने अहिलेको अदालती प्रक्रियाको सन्देश पनि हो ।

अर्कोतिर, तत्कालिन एसपी विष्ट र उनको टिमले निर्मला हत्यकाण्डमा लाजसरम पचाएर जुन लापरवाही गरेको थियो त्यो दण्डनीय नै हो । प्रमाण मेटाउने काममा प्रहरी नै संलग्न थियो र त्यसका लागि विष्ट र उनको टिम दण्डित हुनु अपरिहार्य थियो । अदालतमा मुद्दा प्रवेश गरिसकेपछि उनीहरुले दण्ड पाउनेमा विश्वास गर्नैपर्छ ।

थाम्नै नसकिने जनदवावले लिजकाण्ड पनि समाधान तर्फ
लिज घोटालाका खास अपराधीतर्फ ध्यान गएन । 
अन्ततः नेपाल सरकारले महेन्द्रनगर नगर विकास समितिको जग्गामा विभिन्न बाहनामा बनाइएका संरचना भत्काउने निर्णय गरेको छ । यो महत्वपूर्ण उपलब्धि हो । कार्यान्वयनमा अझै पनि ढिलासुस्ती र आनाकानी हुने निश्चित छ तर जनदवावका अगाडि कार्यान्वयनका लागि जिम्मेवार निकायले घुँडा टेक्नेछन् ।

सरकारले अवैध संरचना भत्काउने र गैरकानुनी लालपूर्जा बदर गर्ने निर्णय गर्नु प्रशंसनीय हो । तर, जसले अवैध लिजमा दिने काम ग¥यो, जसले अवैध लालपूर्जा जारी  गरायो, उनीहरुलाई कारबाही गर्नेतर्फ सरकार मौन देखिएको छ । सरकारको यो शैली धेरै आश्चर्यजनक पनि होइन किनभने अवैध लिज र गैरकानुनी लालपूर्जा वितरण गर्नेहरु सत्तारुढ दलका जिल्लास्तरीय नेता नै हुन् । आफ्ना कार्यकर्ताले जस्तोसुकै अपराध गरेपनि बचाउनुपर्छ भन्ने नेपाली राजनीतिको मूलमन्त्र केपी ओलीको सरकारले पनि नछोड्नु खासै आश्चर्यजनक होइन ।

तर, नगर विकासका पाँच जना तत्कालिन अध्यक्ष र केही कर्मचारीले सयौं व्यक्तिबाट करोडौं रकम असुलेर लिजमा जग्गा दिने र गैरकानुनी लालपूर्जा जारी गर्ने काम गरकै हुन् । अहिले जसजसका संरचना भत्किने पर्खाईमा छन् उनीहरुमध्ये धेरैले आफूले पाउन लागेको लिजको जग्गा अवैध हुने कल्पना पनि गरेका थिएनन् । तर, लिजमा दिने अध्यक्षहरुलाई भने खल्तीबाट छाप झिकेर दस्तखत ठोक्दा अवैध लिज गर्दैछु भन्ने थाहा थियो ।

अवैध संरचना भत्काइनुपर्छ, गैरकानुनी लालपूर्जा बदर हुनुपर्छ । सँगसँगै त्यस्ता लिज दिने र लालपूर्जा जारी
गराउनेहरुलाई पनि कार।बाहीको दायरामा ल्याउनुपर्छ । अहिलेको सरकारले आफ्ना कार्यकर्ता बचाउन अझै केही समय तिकडम गर्नेछ र सत्तारुढ दलले पनि हरसम्भव प्रयास गर्नेछ ।

तर, अब लिज घोटाला अपराध नै घोषित भइसकेको हुनाले खास अपराधीले धेरै दिन उन्मुक्ति पाउने सम्भावना शून्य छ ।

 


About Author
-खेम भण्डारी