३६९० पटक हेरिएको
प्रकाशित: २०७५ फाल्गुण २८ , १२:३३ बजे

निर्मला पन्तकी आमा दुर्गादेवीको अर्को ड्रामा : लोभले कि त्रासले ?

Image

–मानसखण्ड
महेन्द्रनगर, २८ फागुन । नाटकीय ढंगले निर्मला पन्तकी आमा दुर्गादेवीले जिल्ला अदालत कञ्चनपुरमा प्रमाण मेटाएको अभियोग लागेका आठ प्रहरीको बचाउका लागि निवेदन दिएकी छन् । ३ पुसमा दुर्गादेवी स्वयं उपस्थित भएर जिल्ला प्रहरी कार्यालयमा तत्कालिन एसपी डिल्लीराज विष्टसहितका आठ प्रहरीविरुद्ध प्रमाण मेटाएको जाहेरी दिएकी थिइन् ।

तर, ती आठजनाविरुद्ध सरकारी वकिलले अदालतमा मुद्दा दायर गरेकै दिन दुर्गाले उनीहरुलाई कारबाही नगर्न अदालतमा निवेदन दिएकी छन् ।

दुर्गाको यो कदम आश्चर्यजनक मानिएको छ । पत्रकार, नागरिक समाजका अगुवा र अधिकारकर्मीको उपस्थितिमा जाहेरीमा दस्तखत गरेकी दुर्गा पछाडि हटेपछि विभिन्न आशंका उत्पन्न भएका छन् । उनलाई त्रासमा पारिएको परिवारका सदस्यको भनाई छ । केही पारिवारिक सदस्यले उनलाई प्रलोभनमा पारिएको पनि दावी गरेका छन् । दुर्गादेवीले जाहेरीमा दस्तखत गर्दाका फोटो तथा भिडियो समाचारमाध्यममा आएका थिए । जाहेरी दिएपछि उनले विभिन्न मिडियामा आफूले ठीक कदम उठाएको भन्दै अन्तवार्ता समेत दिएकी थिइन् ।

आश्चर्य त के भने अहिले आएर दुर्गादेवीले दिलिपसिंह विष्ट नै वास्तविक दोषी भएको भन्न थालेकी छन् । दिलिपसिंह विष्टलाई प्रहरीले सार्वजनिक गरेपछि विभिन्न मिडियामा उनले निर्दोषलाई फसाउन खोजिएको भन्दै प्रतिक्रिया दिएकी थिइन् । उनका अभिव्यक्ति गुगल र यूट्यूबमा पनि हेर्न र सुन्न सकिन्छन् ।

दुर्गादेवीमा अचानक आएको परिवर्तनलाई अर्थपूर्ण रुपमा हेरिएको छ । उसो त निर्मलाको अन्तिम संस्कार गर्दा र जिल्ला प्रशासन कार्यालय अगाडिको धर्ना जारी रहँदा पनि उनी विवादमा आएकी थिइन् ।

गत साउन ११ गते बलत्कार पछि हत्या गरिएको अबस्थामा उल्टाखामको उखुबारीमा मृत अबस्थामा फेला परेकी निर्मलाको ८ महिना पुग्न लाग्दा समेत हत्यारा वाहिर आउन सकेको छ्रैन्  ।

दैनिक मानसखण्डसँगको कुराकानी दुर्गादेवीले दिलिपसिंह विष्ट नै हत्यारा भएको दावी गरेकी छन् । उनले आफूलाई जाहेरी दिन उक्साइएको भन्दै अदालतमा थुनछेक बहस खेपिरहेका आठ प्रहरीहरु निर्दोष रहेका पनि बताएकी छन् ।

दुर्गादेवीले अदालतमा दिएको निवेदन र फेरेको बोलीले आठजना अभियुक्तहरुलाई नै समस्या पर्ने देखिएको छ । साथै, दुर्गाले त्रास वा लोभ के कारणले पछाडि हटेकी हुन् भन्ने प्रश्नमा पनि अदालतमा बहस हुन सक्ने देखिएको छ । जाहेरी दिएको झण्डै तीन महिनापछि अभियुक्तहरुविरुद्ध मुद्दा दायर भएपछि दुर्गादेवीले अदालतमा निवदेन दिनु र पहिले आफैले निर्दोष भनेका दिलिप विष्टलाई अहिले दोषी भन्नुमा रहस्य रहेको अनुमान गरिंदैछ ।

निर्मलाका बुवा यज्ञराज पन्तले भने दुर्गाको नियत ठीक नभएको बताएका छन् । उनले दुर्गाको व्यवहारबाट आफूसमेत आश्चर्यचकित भएको बताए । त्रास वा लोभ के कारणले दुर्गा पछाडि हटेर आफैले दोषी भनेकालाई निर्दोष र निर्दोष भनेकालाई दोषी भनिरहेकी छन् भन्ने विषयमा आफूले पनि अध्ययन गरिरहेको यज्ञराजले बताए ।

 


About Author
-मानसखण्ड