२३६६ पटक हेरिएको
प्रकाशित: २०७५ फाल्गुण २८ , १२:२६ बजे

निर्मला हत्याकाण्ड : डिल्ली विष्ट र अंगुर जिसीका जमानतकर्ता फस्दै, यस्तो चलिरहेछ जिल्ला अदालतमा

Image

निर्मला हत्याकाण्डको प्रमाण मेटाएको र नक्कली अभियुक्त बनाउन निर्दोषलाई यातना दिएको अभियोगमा हिरासतमा रहेका निलम्बित डिएसपी ज्ञानबहादुर सेटीसहितका अभियुक्तहरुले ‘विशेष थुनुवा’को सुविधा पाइरहेका छन् ।

–मदन गिरी
महेन्द्रनगर, २८ फागुन । ‘सरकारवादी मुद्दाका अभियुक्तको हातमा हथकडी हुनुपर्छ । जतिसुकै धनी वा प्रभावशाली व्यक्ति भए पनि आम थुनुवा सरह नै प्रहरीले व्यवहार गर्नुपर्छ ।’

तर, निर्मला हत्याकाण्डको प्रमाण मेटाएको र निर्दोष व्यक्तिलाई अभियुक्त बनाउन यातना दिएको आरोपमा ‘हिरासत’मा रहेका ६ जना प्रहरीको हकमा भने कञ्चनपुर प्रहरीले कानुनी राज्यमा हरेक अभियुक्तसँग गरिने समान व्यवहारको सिद्धान्त लत्याएको गरेको देखिन्छ ।

अभियुक्तका रुपमा अदालतमा पेश गरिएका निलम्बित डिएसपी ज्ञानबहादुर सेटी, इन्स्पेक्टर एकेन्द्र खड्का, वर्खास्त इन्स्पेक्टर जगदिश भट्टसहितका ६ जनाको न हातमा हतकडी हुन्छ, न प्रहरीले उनीहरुसँग सर्वसाधारण अभियुक्त जस्तो व्यवहार गरिरहेको छ । अदालत ल्याउन लैजान प्रयोग हुने गाडीमा अगाडिको सिटमा बसेका हुन्छन् त्यो गाडीमा रहेका वरिष्ठ । तर, उनीहरुको रवाफ दरबन्दीवाला हाकिमकै जस्तो हुन्छ । मंगलबार अदालतबाट जिल्ला प्रहरी कार्यालय जाने क्रममा गली नम्बर २ मा प्रहरीको एउटा भ्यानको अगाडिको सिटमा बसेका निलम्बित डिएसपी ज्ञानबहादुर सेटीको मुद्रा र उनले चालकलाई दिइरहेको निर्देशन मानसखण्ड सम्वाददाताले नजिकैबाट नियालेको थियो । उनको शैली र व्यवहार आफ्नो कार्यक्षेमा खटिएको डिएसपीकै जस्तो देखिन्थ्यो ।

अभियुक्तहरुलाई जिल्ला प्रहरी कार्यालयभि पनि विशेष व्यवहार भइरहेको स्रोतको कथन छ । अभियुक्तहरुलाई निर्धारित ‘थुनुवा कक्ष’भन्दा अन्तै राखेर खानपिनको व्यवस्था समेत विशेष मिलाईएको स्रोतले बताएको छ ।

सकियो सबैको बयान 
निर्मला हत्याकाण्डमा प्रमाण नक्कली अभियुक्त बनाउन दिलिपसिंह विष्टलाई यातना दिएको र हत्याकाण्डका सबै प्रमाण मेटाएको अभियोगमा फरारबाहेकका सबै ६ जना अभियुक्तको बयान लिने काम सकिएको छ ।

जिल्ला अदालत कञ्चनपुरले बिहीबारबाट सुरु गरेको बयान सोमबार सकेको हो । सरकारी वकील कार्यालय कञ्चनपुरका सहायक जिल्ला न्यायाधिवक्ता मोहनी प्रशाद शर्माले ६ जना अभियुक्तको बयान लिईएको बताए ।

जिल्ला अदालतको प्रारम्भिक आदेशपछि प्रतिवादीको बयान लिईको थियो । कञ्चनपुरका तत्कालिन डिएसपी ज्ञान बहादुर सेठी र प्रहरी निरीक्षक एकेन्द्र बयान लिईएको छ । उनीहरुबाट प्रमाण नष्ट र यातना सम्बन्धी दुबै मुद्दामा बयान लिइएको अदालतले जनाएको छ ।

त्यस्तै नक्कली अभियुक्त बनाउन दिलिप विष्टलाई यातना दिएको मुद्दामा वर्खास्त प्रहरी निरीक्षक जगदीश प्रशाद भट्ट, निलम्बित असई राम बहादुर धामी, सई हरि सिंह धामी र प्रहरी जवान चाँदनी साउदको बयान लिईएको छ ।

प्रमाण नष्ट र याताना दिएको अभियोग लागेका तत्कालिन कञ्चनपुरका प्रहरी प्रमुख एसपी डिल्लीराज विष्ट र सिबिआईका डिएसपी अंगुर जिसीले फरार रहेको अदालतले जनाएको छ । उनीहरुलाई गत साता बिहीबार नै २१ दिनभित्रमा अदालतमा हाजिर हुन आदेश जारी भएको छ ।

थुनछेक बहस सुरु
जिल्ला अदालतको प्रारम्भिक आदेशपछि प्रतिवादीको बयान लिने क्रम सकिएसँगै थुनछेक बहस सुरु भएको छ । जिल्ला अदालत कञ्चनपुरले ६ अभियुक्तको बयानपछि सोमबारबाट थुनछेक बहस सुरु गरेको हो ।

सोमबार सरकारी वकिल कार्यालय कञ्चनपुरको तर्फबाट वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले बहस गरेका हुन् । बहसमा वरिष्ठ अधिवक्ता त्रिपाठीले प्रमाण नष्ट र यातनाको अभियोग लागेका अभियुक्त दोषी भएकोले थुनामा राखेर मुद्दा चलाउनुपर्ने जिकिर गरेका थिए ।

उनले अभियुक्तहरुले निर्मला हत्याकाण्डको अनुसन्धानमा प्रमाण नष्ट गरेको र निर्दोषलाई मानसिक तथा शारिरीक यातना दिएको दावी गरे ।

प्रतिवादीको तर्फबाट मंगलबार बहस हुने जिल्ला अदालतले जनाएको छ । सरकारी वकील कार्यालयको तर्फबाट जिल्ला न्यायाधिवक्ता देवराज भारती, सहायक जिल्ला न्यायाधिवक्ता मोहनी प्रशाद जोशीले बहस गर्ने छन भने प्रतिवादीको तर्फबाट तीन जना अधिवक्ताले बहस गर्ने छन् ।

थुनछेक बहसपछि अदालतले अभियुक्तहरुलाई धरौटीमा छोड्ने वा पुर्पक्षका लागि कारगार पठाउने भन्ने निर्णय गर्नेछ ।

एमिकस क्युरी गठन हुँदै
अदालतले दायर भएका दुबै मुद्दाका केही विशिष्ट पक्षमा परामर्श दिन एमिकस क्युरीका लागि उच्च अदालत बार र जिल्ला अदालत बारलाई गरेको अनुरोध अनुसार एमिकस क्यूरी गठनको काम बुधबारसम्म सकिने देखिएको छ ।

अदालतले एमिकस क्यूरीलाई तीनवटा विषयमा राय दिन सुझाएको छ । मुद्दाको हदम्याद, जाहेरी दिने व्यक्तिहरुको कानुनी हैसियत र अभियुक्तहरुविरुद्ध सोझै मुद्दा चलाइएको विषयमा क्यूरीले सुझाव दिनेछ । क्यूरीको सुझाव सर्वसम्मत भए अदालत सोझै मुद्दामा प्रवेश गर्नेछ भने क्यूरीमैं मत बाझिएमा बहस हुनेछ ।

क्यूरीले मुद्दाको हदम्याद सकिएको वा नसकिएको भन्नेबारेमा छलफल गर्नेछ । १० साउनमा घटना भएको थियो भने २२ फागुनमा मात्रै मुद्दा दर्ता गरिएको छ । त्यसै गरी क्यूरीले निर्मलाकी आमा दुर्गादेवी प्रमाण मेटाएको विषयमा र दिलिपसिंह विष्टका दाजु खडक विष्टले आफ्ना भाईलाई यातना दिएर नक्कली अभियुक्त बनाउन खोजेको विषयमा जाहेरी दिएका थिए । साथै, आठैजना अभियुक्तविरुद्ध मुद्दा दायर गर्दा विभागीय स्वीकृति लिन आवश्यक भए नभएको बारेमा पनि क्यूरीले सुझाउने छ ।

उच्च अदालतले वरिष्ठ अधिवक्ता थानेश्वरप्रसाद भट्टलाई एमिकस क्यूरीका लागि चयन गरेको छ । भट्ट प्रतिष्ठित कानुन व्यवसायी हुन् । उच्च अदालत बारले एमिकस क्यूरीमा पठाएपछि वरिष्ठ अधिवक्ता भट्टले सिंगो समाजलाई ध्यान दिएर न्याय निरुपणमा सदाझैं आफ्नो भूमिका गर्ने विश्वास गरिएको छ ।

जिल्ला बारले भने बुधबार मात्रै एमिकस क्यूरीमा जाने व्यक्तिबारे निर्णय लिने जिल्ला बार एसोसियसनका अध्यक्ष गजेन्द्र रावलले बताए ।

जमानी दिनेहरुलाई पत्र
प्रहरी अनुसनधानका क्रममा सम्पर्कमा आई जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका वर्खास्तीमा परेका एसपी डिल्लीराज विष्ट र डिएसपी अंगुर जिसीलाई जमानत दिएर छुटाउने दुई व्यक्तिलाई प्रहरीले पत्र काटेको छ । जिल्ला प्रहरी कार्यालयले २१ फागुनमैं डिल्लीराज विष्टलाई जिम्मा लिने कञ्चनपुरको बेल्डाँडी गाउँपालिका–५ का कैलाशचन्द्र गिरी र जिसीको जमानत लिने भीमदत्त–६ का जोगेन्द्र खड्कालाई भोलिपल्ट अर्थात् २२ फागुनमा हाजिर गराउन पत्र काटेको थियो । तर एक सात वित्दा पनि गिरी र खड्काले आफूले जमानीमा लिएका व्यक्तिलाई हाजिर नगराएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
विष्ट र जिसी अहिले फरार छन् । उनीहरुलाई अदालतले २१ दिनको म्याद जारी गरी अदालतमा उपस्थित हुन आदेश गरेको छ । उनीहरुलाई उपस्थित गराउने प्रमुख दायित्व जिल्ला प्रहरी कार्यालयको भएको कानुन व्यवसायीहरुको कथन छ । प्रहरीले विष्ट र जिसी फरार रहिरहने अवस्था देखिएमा जमानत दिने गिरी र खड्कालाई हिरासतमा राख्न सक्ने पनि कानुन व्यवसायीहरुले बताएका छन् ।

 


About Author
-मदन गिरी