१८०६ पटक हेरिएको
प्रकाशित: २०७५ फाल्गुण २४ , ०८:०७ बजे

निर्मला हत्याकाण्ड : फरार डिल्ली विष्ट र अंगुर जिसीलाई २१ दिने म्याद जारी

Image

–मदन गिरी
महेन्द्रनगर, २४ फागुन । निर्मला हत्याकाण्डका बेला कञ्चनपुरका प्रहरी प्रमुख रहेका वर्खास्तमा परेका एसपी डिल्लीराज विष्ट र निर्मला हत्याकाण्डको छानविनका लागि नेपाल प्रहरीको केन्द्रीय जाँच ब्यूरो (सिआइबी)को टोलीका प्रमुखका रुपमा खटिएका डिएसपी अंगुर जीसीलाई २१ दिनभित्र अदालतमा उपस्थित हुन जिल्ला अदालतले आदेश जारी गरेको छ ।

साथै, बुधबार सरकारी वकिलको कार्यालयले निर्मला हत्याकाण्डको प्रमाण मेटाउन र निर्दोषलाई यातना दिई अभियुक्त बनाउन भूमिका गरेका आठजना प्रहरीविरुद्ध जिल्ला अदालतमा दायर गरेको मुद्दामा एमिकस क्यूरीको गठनको आदेश पनि अदालतले गरेको छ ।

एमिकस क्यूरी गठन प्रक्रियामा गए पनि अदालतले अभियुक्तहरुको बयान लिने क्रम जारी राखेको छ । अदालतमा दायर मुद्दाका अतिविशिष्ट पक्षबारे बुझ्न एमिकस क्यूरीको गठन गर्ने अदालती परम्परा छ ।

जिल्ला अदालतले जिल्ला अदालत र उच्च अदालतका बार एसोसियसनलाई एमिकस क्यूरीमा रहभागी हुने कानुन व्यवसायीको सूचि माग गरेको छ । ती एसोसियसनले सिफारिस गरेका कानुन व्यवसायीहरुले दिने रायका आधारमा अदालतले कारबाही अगाडि बढाउने छ ।

अदालतले एमिकस क्यूरीलाई तीनवटा विषयमा राय दिन सुझाएको छ । मुद्दाको हदम्याद, जाहेरी दिने व्यक्तिहरुको कानुनी हैसियत र अभियुक्तहरुविरुद्ध सोझै मुद्दा चलाइएको विषयमा क्यूरीले सुझाव दिनेछ । सुझाव सर्वसम्मत भए अदालत सोझै मुद्दामा प्रवेश गर्नेछ भने क्यूरीमैं मत बाझिएमा बहस हुनेछ ।

क्यूरीले मुद्दाको हदम्याद सकिएको वा नसकिएको भन्नेबारेमा छलफल गर्नेछ । १० साउनमा घटना भएको थियो भने २२ फागुनमा मात्रै मुद्दा दर्ता गरिएको छ । त्यसै गरी क्यूरीले निर्मलाकी आमा दुर्गादेवी प्रमाण मेटाएको विषयमा र दिलिपसिंह विष्टका दाजु खड्ग विष्ट आफ्ना भाईलाई यातना दिएको विषयमा जाहेरी दिएका थिए । साथै, आठैजना अभियुक्तविरुद्ध मुद्दा दायर गर्दा विभागीय स्वीकृति लिन आवश्यक भए नभएको बारेमा पनि क्यूरीले सुझाउने छ ।

उच्च अदालत बार र जिल्ला बारले क्यूरीका सदस्यहरुको नामावली आइतबारसम्म अदालतमा पठाउने सम्भावना छ । त्यसपछि क्यूरीको बैठक बस्नेछ । क्यूरीमा मतभेद देखिए खुला इजलासमा सदस्यहरुले आफ्नो राय राख्नेछन् ।

बुधबार सरकारी वकिल कार्यालय कञ्चनपुरले दर्ता गरेको मुद्दामा प्रतिवादीका कानुन व्यवसायीले कानुन अनुसार अभियुक्तहरुको बयान लिन नमिल्ले तर्क गरेपछि अदालतले एमिकस क्यूरी गठन गरेको हो । प्रतिवादीका तर्फबाट बहस गर्ने कानुन व्यवसायीले प्रारम्भिक सुनुवाईमैं मुद्दा खारेजीको माग गरेका थिए ।
तर, जिल्ला अदालत कञ्चनपुरले मुघ्द्दा खारेज नगरी एमिकस क्यूरी गठनको आदेश दिएको छ । अदालतका श्रेस्तेदार हरिकृष्ण अवस्थीले प्रारम्भिक सुनावाईका आधारमा मुद्दालाई खारेज गर्न नमिल्ले भएकोले प्रतिवादीको बयान लिन समेत आदेश जारी गरिएको बताए ।

‘प्रारम्भिक सुनवाईपछि प्रतिवादीका कानुन व्यवसायीको मागभन्दा फरक अदालतले प्रतीवादीको बयान लिने र त्यसपछि मात्रै मुद्दाको भित्री विषयमा प्रवेश गर्ने आदेश जारी गरेको छ’ अवस्थीले भने ।

विष्ट र जिसी फरार घोषित
अभियुक्तमध्येका तत्कालिन एसपी डिल्लीराज विष्ट र डिएसपी अंगुर जिसी दोस्रो दिन पनि अदालतमा उपस्थित भएनन् । उनीहरुलाई प्रहरीले फरार श्रेणीमा राखेको छ ।

अदालतले भने विष्ट र जिसी दुबैजनालाई २१ दिनभित्र अदालतमा उपस्थित हुन आदेश दिएको श्रेस्तेदार अवस्थीले बताए ।

बिहीबार कञ्चनपुरका तत्कालिन डिएसपी ज्ञान बहादुर सेठी र प्रहरी निरीक्षक एकेन्द्र खड्काको बयान लिईएको छ । उनीहरुलाई प्रमाण नष्ट र यातना सम्बन्धी दुई मुद्दामा बयान लिनु पर्ने भएकोले बिहीबार समय अभावले पूरा बयान लिन नसकिएको अदालतले जनाएको छ । उनीहरुसहित अन्य चारजना प्रहरी हिरासतमा छन् ।

सबैको बयानपछि मात्रै थुनछेक बहस सुरु हुने अवस्थीको भनाई छ । बुधबार सरकारी वकिल कार्यलयले प्रमाण नष्ट र याताना सम्बन्धी अभियोगमा कञ्चनपुरका तत्कालिन प्रहरी प्रमुख एसपी डिल्लीराज विष्ट, सिबिआईका डिएसपी अंगुर जिसी, डिएसपी ज्ञान बहादुर सेठी र प्रहरी निरीक्षक एकेन्द्र खड्का, वडा प्रहरी कार्यालयका इन्चार्ज इन्स्पेक्टर जगदिश भट्ट, मुद्दाफाँटका सई हरिसिंह धामी, सालघारी प्रहरी बिटका इन्चार्ज असई रामसिंह धामी र प्रहरी हवल्दार चाँदनी साउदका विरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता गरेको छ ।

 


About Author
-मदन गिरी