१५७७ पटक हेरिएको
प्रकाशित: २०७५ मंसिर २५ , ०८:१९ बजे

प्रदीप र विशाललाई फसाउन प्रहरीले सुनाउँदैछ यस्तो कथा !

Image

–मानसखण्ड
महेन्द्रनगर, २५ मंसिर । निर्मलाको बलात्कार र हत्यामा संलग्न भनी हिरासतमा लिइएका प्रंदीप रावल र विशाल चौधरी निर्दोष हुन सक्ने देखिएपछि प्रहरीले अचम्मै लाग्ने कथा बुनिरहेको छ । त्यो कथाले धुजाधुजा भएको प्रहरीको विश्वसनीयता अबका दिनमा चकनाचुर हुने जोखिम पनि बढेको छ ।

कञ्चनपुर प्रहरीले निर्मलाको हत्या भएको १० साउन बिहान गरिब १० बजे कुखुरा चोरीमा पक्राउ परेका प्रदीपलाई एक घण्टामैं छोडिएको दावी गरिरहेको छ । आश्चर्यको कुरा त के भने कञ्चनपुरका प्रहरी प्रमुख एसपी कुबेर कडायत र डिएसपी कृष्ण ओझाले प्रमाणविनै त्यस्तो दावी गरिरहेका छन् ।

निर्मला हत्याकाण्डको एक महिनापछि कञ्चनपुर आएका कडायत र ओझाले अभिलेख नै नभएको विषयमा देखाएको आत्मविश्वासले आशंका झन् बढाएको छ । ‘तत्कालिन कार्यरत साथीहरुलाई सोधेर थाहा पाएका हौं,’ डिएसपी ओझा भन्छन् । उनको यो भनाई हचुवा खालको हो ।

९ साउनमा कुखुरा चोरेको आरोपमा १० साउन बिहान करिब १० बजे प्रहरी हिरासतमा पुगेका प्रदीप रावललाई निर्मलाको बलात्कारी–हत्यारा सावित गर्न प्रहरीले आफै फस्ने कथा बुनिरहेको पाइएको छ । निर्मलाको हत्या हुनुभन्दा करिब ६ घण्टा अगाडि प्रदीपलाई वडा प्रहरी कार्यालयको टोलीले कुटपिट गर्दै नियन्त्रणमा लिएको भगतपुरका प्रत्यक्षदर्शीहरु बताउँछन् । तर, रिहा गरिएको कागज गायब छ । प्रदीपको परिवारका अनुसार १२ गते मात्रै उनी प्रहरी हिरासतबाट मुक्त भएका थिए ।

तर, कञ्चनपुर प्रहरी भने प्रदीपले आफू कुखुरा चोरीमा संलग्न नभएको बताएपछि उनलाई एक घण्टामैं छोडिएको बताइरहेको छ । कुखुरा मालिक पाले चौधरीले नामै किटेर पक्राउ परेका प्रदीपले ‘म होइन’ भन्दैमा प्रहरी छोडेको भन्ने तर्क हास्यास्पद देखिन्छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी कृष्णराज ओझा १० साउन बिहान करिब १० बजे प्रदीपलाई भगतपुरबाट पक्राउ गरी एक घण्टामैं छोडिएको बताउँछन् । डिएसपी ओझा निर्धक्क भएर विना कुनै कागजी प्रमाण कसरी यस्तो बोल्दैछन् भन्ने प्रश्न खडा भएको छ ।

१० साउनमा प्रदीपलाई प्रहरीले भगतपुरबाट कुट्दै पक्राउ गरेको प्रमाण मेटाउन नसके पनि तत्काल रिहा गरिएको प्रमाण प्रहरीले दिन सकेको छैन । त्यतिबेला सालघारी बिटका इन्चार्ज रामसिंह धामी निलम्बित छन् भने अरु सबै प्रहरीको सरुवा भइसकेको छ ।

१० साउनमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुर, महेन्द्रनगर वडा प्रहरी कार्यालयमा कार्यरत सबै प्रहरीको समेत सरुवा भइसकेको छ । लिखित दस्तावेज नै नभएको र तत्काल कार्यरत सबै प्रहरी सरुवा भइगएको अवस्थामा पनि डिएसपी ओझा अत्यन्त आत्मविश्वासका साथ प्रदीपलाई एक घण्टामैं छोडिएको दावी गर्छन् । प्रमाणविनाको उनको दावीले प्रहरी संगठनलाई नै समस्या पर्ने देखिन्छ ।

प्रदीपले चोरीमा विशाल चौधरीको पनि संलग्नता रहेको बताएपछि त्यही दिन करिब ४ बजे प्रहरीले विशाललाई उनकै घरबाट पक्राउ गरेको थियो । विशालकी आमा समर्तीका अनुसार दिनभरि उनी घरमैं थिए । त्यही दिन दिउँसो करिब ३ बजे निर्मलाको हत्या भएको पोष्टमार्टम रिपोर्टमा उल्लेख छ ।

प्रदीपले आफू चोरीमा संलग्न नरहेको भनेकै कारण उनलाई छोडिएको ओझाको कथन छ । ओझाका अनुसार प्रदीपले नाम मुछेका विशाल भने एकरात हिरासतमा रहेर अर्को दिन जरिवाना उल्लेखित कागजमा बुवा बीरबहादुर चौधरीले जमानी हाजिरीमा छोडिएका हुन् । विशाल १२ साउनमा पनि वडा प्रहरीमा गएर हाजिरी गरेका थिए । उनले आफू कुखुरा चोरीमा संलग्न नरहेको दावी गर्दासमेत प्रहरीले तारेखमा राखेको आमा सर्मतीको कथन छ ।

कुखुरा मालिकले मुख्य आरोपी बनाएका प्रदीप सार्वजनिक स्थलबाट कुटपिट गर्दै पक्राउ गरेर पनि रहोबरविना छोडिए भने विशाल एकरात थुनामा बसेर जरिवानासहितको लम्बाचौडा कागज गरी रिहा भए । प्रहरीको यो पटकथा अविश्वसनीय छ ।

विशाल चौधरीकी आमा सर्मतीका अनुसार ११ साउनमा विशाललाई छुटाउन आफूहरु वडा प्रहरीमा पुग्दा प्रदीप हिरासतमैं थिए । प्रदीपको रहोबर बस्ने व्यक्ति नभएको भन्दै उनलाई नछाडिएको सर्मतीको कथन छ ।

प्रदीपलाई छोडेको प्रमाण प्रहरीसँग छैन । यस्तो अवस्थामा डिएसपी ओझाले प्रदीपलाई एक घण्टामैं छोडिएको भनेर ठोकुवा गर्नु पनि शंकास्पद देखिन्छ । दस्तावेज नै नभएको प्रकरणमा जिल्ला प्रहरी कार्यालयले किन र कसरी ठोकुवा गरिरहेको छ भन्ने कौतुहलको विषय बनेको छ ।

अर्कातिर, कुखुरा मालिकले मुख्य चोर भनेर किटान गरेका प्रदीपलाई एक घण्टामैं रहोबरविना छोड्ने र प्रदीपले चोरीमा संगल्न भनी औल्याएका विशाललाई थुनवा पूर्जीदेखि रहोबरमा छोडेको कागज सुरक्षित राख्न्नु पनि आश्चर्यजनक मानिएको छ ।

सार्वजनिकस्थलबाट कुट्दै पक्राउ गरिएका व्यक्तिलाई छोड्दा प्रहरीले रहोबर नमाग्नु पनि आश्चर्यकै विषय हो ।
प्रदीपका काका बलबहादुर रावलका अनुसार हिरासतबाट छुटेर प्रदीप सोझै उनको नास्तापसलमा पुगेका थिए ।
एसपी कुबेर कडायत र डिएसपी ओझाले मिडियामा प्रदीपलाई एक घण्टामैं छोडिएको भन्दै बोलिरहेका छन् । ‘प्रदीप कति बजे छुटृ भन्नेबारे पछि सोधपुछ गरेर थाहा पाएका हौं,’ डिएसपी ओझा भन्छन् । उनले कोसँग सोधपुछ गरेको भन्नेबारे बताउन चाहेन्न् ।

१० साउनमा सालघारी विट, वडा प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालमा कार्यरत एकजना पनि प्रहरी अहिले कार्यरत नभएको अबस्थामा एसपी कडायत र डिएसपी ओझाको आत्मविश्वासपूर्ण अभिव्यक्तिले उनीहरु संकटमा पर्ने देखिएको छ । प्रमाणविना उनीहरुले प्रदीपलाई एक घण्टामैं छोडिएको दावी गरिरहेका छन् जुन आगामी दिनमा उनीहरुकै लागि समस्याको विषय बन्न सक्छ ।

प्रदीपलाई प्रहरीले पक्राउ गर्दा भगतपुरचोकमा दर्जनौं स्थानीय वासिन्दा थिए तर छोड्दा प्रहरीले कुनै अभिलेख राखेन । तर, एसपी कडायत र डिएसपी ओझा आफैले देखेको जसरी एक घण्टामैं प्रदीपलाई छोडिएको बताइरहेका छन् । निर्मला हत्याकाण्डको जटिलता बढ्दै गए उनीहरु दुबैलाई व्यक्तिगत रुपमा समस्या पर्न सक्छ ।

 


About Author
-मानसखण्ड