१५५३ पटक हेरिएको
प्रकाशित: २०७५ मंसिर १८ , ०६:०६ बजे

डा. केसीको अनसन नजिकिंदा महेन्द्रनगरमा पुलिस आतंक सुरु

Image

–मानसखण्ड
महेन्द्रनगर, १८ मंसिर । निर्मलाको बलात्कारी–हत्यारा संरक्षणमा लागेको आरोप बढ्दै गइरहेका बेला सरकारले देशभर प्रहरी परिचालन गरेर पोष्टर च्यात्ने काम गरिरहेको छ । यता, कञ्चनपुरमा फेरि आन्दोलन नउठोस् भनेर प्रहरी आतंक सिर्जना गर्ने कोसिस भइरहेको छ । प्रहरीले सामान्य पेशागत मर्यादालाई समेत पालन नगरेर प्रतिष्ठित नागरिकहरुलाई अपशब्द प्रयोग गर्दै त्रास फैलाउन थालेको छ ।

खासगरी प्रहरीले अनिर्मला हत्याकाण्डविरोधी आन्दोलनका पक्षधरहरुलाई तर्साउन विभिन्न हर्कत गर्न थालेको छ । सत्याग्रही डा. गोविन्द केसीको आमरण अनसन नजिकिंदै गर्दा प्रहरीले महेन्द्रनगरमा त्रासपूर्ण वातावरण बनाउन खोजिरहेको अनुभव गर्न थालिएको छ ।

प्रहरीले नगरका विभिन्न ठाउँमा आन्दोलनसँग जोडेर नागरिकहरुलाई अपशब्द प्रयोग गर्दै दुव्र्यवहार गरिरहेको गुनासो बढ्दै गइरहेका बेला आइतबार साँझ मुख्यबजार क्षेत्रमैं नागरिक अधिकार र व्यक्तिको सम्मानको ठाडो उल्लंघन हुने गरी प्रहरीले गल्ली नम्बर ५ का एक व्यवसायीमाथि अभद्र व्यवहार गरेको छ । नयाँ नेपाल चाउमिन सेन्टरका सञ्चालक हेमराज जोशीमाथि गरिएको दुव्र्यवहारले पुलिस राज लाद्न खोजेको आभाष भएको छ ।

यस्तो ताण्डव देखायो प्रहरीले
आइतबार साँझ करिब ७ बजे । गल्ली नम्बर ५ को भीडभाड कम भइसेको छ । बजारमा ठेला गुडाएर जिविकोपार्जन गर्ने व्यवसायी डेरातर्फ फर्किरहेका छन् । हेमराज जोशी आफ्ना ग्राहकलाई चिया, चाउमिन बनाउन व्यस्त छन् । उनकी श्रीमति काउण्टरमा छिन् ।

हेमराजले अनार बेच्दै गरेको एउटा ठेला देखेपछि कराएर ‘ए अनार वाला’ भने । आफ्नो साइडमा हिंडिरहेको ठेला रोकियो । हेमराजले अनारको भाउ सोधे । भाउ चित्त बुझेपछि उनले आफूलाई फुर्सद नभएको हुँदा एक किलो अनार पु¥याएर पैसा लैजान भने । अनार वालाले ठेला झन् साइड गरेर एक किलो अनार तौलियो र पु¥याउन सडक पारी गयो । हेमराज अनारवालालाई पैसा दिन भान्साबाट काउण्टरतिर गए ।

त्यत्तिकैमा वडा प्रहरीको गस्ती भ्यान आयो । त्यसमा सवार प्रहरीले ‘यो ठेला यहाँ उभ्याएको’ भन्दै हल्ला गर्न थाले । प्रहरीको हल्ला सुनेपछि अनारवाला पैसा नलिई ठेलामा गए । उनलाई प्रहरीले समात्यो र ढकतराजुसहित गाडीमा हाल्न खोज्यो । प्रहरीले तान्दै गर्दा अनुनयको भावसहित अनारवालाले आफूलाई छुटाइदिन हेमराजलाई आग्रह गरे । अचम्म परेका हेमराज अक्कबक्क परे । त्यहीबीच उनकी श्रमतिले एकपटक प्रहरीलाई अनुरोध गर्न भनिन् । हेमराज सडकतिर फर्केको आफ्नो भान्साबाट निस्केर प्रहरी भ्यान नजिक गए । उनले प्रहरीलाई भने, ‘सर दुई मिनेट मात्रै रोकिएको थियो ।’ हेमराजले बोलेपछि अगाडिको सिटमा बसेका एकजना प्रहरी नायब निरीक्षक (सई)ले आमाचकारी गाली गर्दै हेमराजलाई भने, ‘तँ को होस् ? निर्मलाका लागि आन्दोलन गर्ने तँ ज्यादा बोल्ने ?’ ती सईले बाराम्बार हेमराजलाई अपशब्द बोलिरहेका थिए । उले रक्सी पिएजस्तो देखिन्थ्यो । उनले पटक–पटक, ‘तिमी महेन्द्रनगरवासी निर्मला–निर्मला भन्ने, आन्दोलन गर्ने ?’ भन्दै पटक–पटक आमाचकारी दोहर्‍याए ।

प्रहरीको अचाक्लीपछि एसबीआई बैंक नजिकका व्यापारी र त्यो क्षेत्रमा रहेका अन्य मानिस जम्मा हुन थाले । प्रहरी टोलीले निर्मलाको नाम जोडेर आमाचाक्ली गाली गरिरहेको थियो । सई आफै गाडीबाट उत्रेर हेमराजलाई गाडीतिर तानिरहेका थिए । त्यत्तिकैमा भेला भएका मान्छेले प्रहरीविरुद्ध आवाज निकाल्न थाले । केही समय त प्रहरी टोली दादागिरी गरिरह्यो । मान्छे जम्मा हुँदै गएपछि भने प्रहरी आत्मरक्षाको अवस्थामा पुग्यो । र, अनारवालालाई समेत छोडेर पुलिस गाडी हुँईकियो ।

ज्याकेट लगाएका हुँदा ती सई र अन्य प्रहरीको नाम खुल्न सकेन तर गाडी भने वडा प्रहरीकै थियो । केही प्रत्यक्षदर्शीले सईको थर साउँद भएको बताएका छन् ।

किन यस्तो गर्‍यो प्रहरीले ?
हेमराज महेन्द्रनगरका प्रतिष्ठित व्यवसायी मात्रै होइनन् जनआन्दोलनका घाइते पनि हुन् । उनको चाउमिन सेन्टर यहाँको एक लोकप्रिय भेटघाट स्थल पनि हो । महेन्द्रनगरका बुद्धिजीवि, राजनीतिकर्मी र पत्रत्रकारहरुको भेटघाटस्थलका रुपमा यो पसल प्रख्यात छ ।

हेमराज निर्मला हत्याकाण्ड विरुद्धको आन्दोलनमा अग्रपंक्तिका व्यक्ति हुन् । उनको पसल बिहान ६ बजेदेखि साँझ ८ बजेसम्म व्यस्त रहन्छ । निर्मला हत्याकाण्ड विरोधी आन्दोलनका अगुवाहरुको भेटघाट थलो हेमराजको पसलमा प्रहरीको निगरानी समेत थियो ।

आइतबार बिहान मात्रै हेमराजको पसलमा एकजाले एक रहस्य खोले । गत साता डडेल्धुरा जाँदा हेमराजले चार दिन पसल बन्द गरेका थिए । त्यसबीच बिहानै उनको पसलमा आउनेमध्ये एक व्यक्ति जिल्ला प्रहरी कार्यालय नजिकको एक चिया पसलमा पुगे । त्यहाँ उपस्थित केही प्रहरीले ती व्यक्तिलाई चिनेर भने, ‘नयाँ नेपाल चाउमिन सेन्टरमा नबस्नु होला, हामीले सीसीटीभी क्यामेराबाट हेरिरहेका छौं ।’

आइतबार बिहान करिब १२ जनाको उपस्थितिबीच ती व्यक्तिले आफूलाई भनिएको कुरा सुनाएपछि हेमराजको पसल निगरानीमा रहेको चर्चा भएको थियो । र, साँझ प्रहरीले योजनावद्ध झैं लाग्ने शैलीमा हेमराजमाथि दुव्र्यवहार गर्‍यो ।

वडा प्रहरीले यसअघि पनि विभिन्न स्थानमा निर्मला हत्याकाण्डलाई जोडेर नागरिकप्रति दुव्र्यवहार गरिरहेको समाचार आइरहेका थिए । तर, पीडितहरु नखुल्दा सबै घटना चर्चाबाहिर थिए । हेमराजले भने प्रहरीको यो ज्यादतीविरुद्ध आवाज उठाउने साहस गरेका छन् । उनी सञ्चारमाध्यम र मानवअधिकारकर्मी माझ खुलेर आएका छन् । कञ्चनपुर उद्योग वाणिज्य संघमा पनि उनले घटनाको लिखित जानकारी गराएका छन् ।

हेमराज निर्मला हत्याकाण्ड विरोधी आन्दोलनका प्रखर समर्थक रहेको र उनको पसलमा आन्दोलनकारीहरुको जमघट हुने भएकाले प्रहरीले आगामी आन्दोलन दबाउन हेमराजलाई तर्साउने दुष्प्रयास गरेको अनुभव गरिएको छ ।

सत्याग्रही डा. गोविन्द केसीको अनसन नजिकिंदै गर्दा र जिल्ला प्रशासन कार्यालय अगाडिको धर्नाप्रति जनताको समर्थन बढ्दै जाँदा फेरि आन्दोलन चर्कने देखेर सरकारले पुलिस आतंक मच्चाउन खोजेको देखिन्छ ।

तर, महेन्द्रनगरको नागरिक समाज अत्यन्त जागरुक भएको हुँदा हेमराजमाथि गरिएको दुव्र्यवहार प्रहरीका लागि महंगो सावित हुने अनुमान गरिएको छ ।

नागरिक अधिकार र सम्मानमा आक्रमण
हेमराजप्रति प्रहरीको दुव्र्यवहारले नेपाल प्रहरी नागरिक अधिकार र नागरिकको प्रतिष्ठाप्रति संवेदनशील छैन भन्ने देखिन्छ । कानुनले अवांछनीय करार दिएका बाहेकका काम गर्न पाउने नागरिक अधिकारको अपहेलना गर्दै प्रहरीले महेन्द्रनगरवासीमा त्रास फैलाउन खोजेको छ, नागरिकको वैयक्तिक सम्मानमा धावा बोलेको छ । साँझ ७ बजेको खाली सडकको छेउमा उभिएको ठेलाको बाहना बनाएर हेमराजमाथि प्रहरीले गरेको आक्रमण सिंगो महेन्द्रनगरवासीमाथिको आक्रमण हो । दुव्र्यवहार गर्ने प्रहरीले निर्मला प्रकरण जोडेर बकेको गाली झन् गम्भीर हो ।

सोमबार बिहान हेमराजले प्रहरी ज्यादतीविरुद्ध बोल्न थालेपछि मिडिया र मानवअधिकारकर्मीको ध्यान त्यता तानिएको छ । तर, आगामी निर्वाचनबाट यहाँका उद्योगी व्यापारीको नेता बन्न चाहनेहरुमा भने खासै चिन्ता देखिएको छैन ।

काइते उद्योग वाणिज्य संघ
कञ्चनपुर उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि अबका तीन साताभित्र निर्वाचन हुँदैछ । निर्वाचनमा आफूलाई उद्यमी–व्यवसायीको पक्षधर भन्ने दर्जनौं व्यक्ति विभिन्न पदमा लड्दैछन् । तर, हेमराजमाथि भएको दुव्र्यवहारविरुद्ध यो समाचार तयारपारुञ्जेल एकजनाले पनि कुनै अभिव्यक्ति सार्वजनिक गरेका छैन ।

हेमराजले उद्योग वाणिज्य संघमा लिखित जानकारी गराएपछि संघले औपचारिकताका लागि विज्ञप्ति जारी गरेको छ तर सो विज्ञप्ति अत्यन्त काइते पाराको छ । एकजना व्यवासयीमाथि सम्झाँझै विना कसुर प्रहरीले अमर्यादित व्यवहार गरे पनि संघले त्यसलाई चिन्ताको विषय मानेको देखिंदैन । विज्ञप्ति हेर्दा संघ प्रहरीसँग डराएको जस्तो देखिन्छ ।

केही स्थानीय सचेत व्यक्तिले संघका पदाधिकारीलाई नागरिक अधिकार र व्यक्तिको आत्मसम्मानमा प्रहरीले गरेको आक्रमणलाई गम्भीर रुपमा लिन अनुरोध गरे पनि संघका पदाधिकारीले झारा टार्ने विज्ञप्ति जारी गरेर औपचारिकता पूरा गरेका छन् ।

हेमराज साना व्यवसायी भएकाले उनीमाथिको दुव्र्यवहारलाई ठूला व्यवसायीको कब्जामा रहेको वाणिज्य संघले महत्व नदिएको टिप्पणी गरिंदैछ ।

मुखले भने क्रान्ति
विज्ञप्तिमा चुईक्क नबोलेको उद्योग वाणिज्य संघका पदाधिकारी भने मुखले त्रक्रान्ति नै गरिदिने अभिव्यक्ति दिइरहेका छन् । महासचिव दिपेन्द्र साउँदले काइते विज्ञप्तिमा हस्ताक्षर गरेका छन् तर मुखले उनी दुव्र्यवहार गर्ने प्रहरीलाई कारबाही नगरे आन्दोलन हुने बताउँछन् । आन्दोलन कस्तो हुने भन्ने आफूलाई थाहा नभएको उनले मानसखण्डलाई बताएका छन् ।

आसन्न निर्वाचनमा विभिन्न पदका दावेदारहरुलाई हेमराजमाथिको दुव्र्यवहार बारे जानकारी गराइए पनि उनीहरुले कुनै मतलब राखेका छैनन् ।


About Author
-मानसखण्ड