९०५ पटक हेरिएको
प्रकाशित: २०७५ आश्विन १७ , १०:५९ बजे

लिज घोटाला : विरोधको झण्डा उठाउँदै युवासंघ

Image

-मदन गिरी
महेन्द्रनगर, १७ असोज । तत्कालिन नेकपा एमालेको जनसंगठन युवा संघ नेपालले महेन्द्रनगर नगर विकास समितिको लिज घोटाला प्रकरणबारे चासो देखाउन थालेको छ । अवैध लिजका नाममा कब्जा गरिएको जग्गामा निर्माण भइरहेका अवैध संरचना भत्काउन युवा संघ कञ्चनपुरले सरोकारवालासँग छलफल सुरु गरेको छ ।

ओहदाको दुरुपयोग गर्दै महेन्द्रगर बजारलाई नै कुरुप बनाउने गरी लिजका नाममा अवैध काम गर्ने र अवैध रुपमा निर्माण भईरहेका सरचनालाई तत्काल हटाउन छलफल सुरु गरिएको युवासंघका जिल्ला अध्यक्ष गणेश चन्दले बताए । उनका अनुसार सोमबारबाट नगर विकास समितिका अध्यक्ष सुरेन्द्र विष्ट, नगर प्रमुख सुरेन्द्र विष्ट र प्रमुख जिल्ला अधिकारीसँग रिजर्भ एरियाका अवैध संरचना हटाउनका लागि छलफल भएको छ । आन्दोलनलाई औपचारिक रुप दिन युवासंघले ज्ञापनपत्र बुझाउने तयारी गरेको चन्दले बताए ।

युवासंघका केन्द्रीय सदस्य रामचन्द्र रेग्मीले अवैद्ध संरचना तत्काल हटाउनु पर्ने माग पूरा नभए युवासंघ सशक्त रुपमा अगाडी बढ्ने बताए । उनले पहिलो चरणमा सम्बन्धित निकायका जिम्मेवार व्यक्तिसँग छलफल गरिएको बताए । नगरको बहुमूल्य जग्गा अतिक्रमण गरी बनेका संरचना भत्काउनु पर्ने उनको माग छ । युवा संघले तत्कालिन नेकपा माओवादी केन्द्रको युवा संगठन वाइसीएलसँग सहकार्य गरी महरा प्रतिवेदन कार्यान्वयका लागि दबाव दिने र अवैध संरचना भत्काउन सशक्त रुपमा आन्दोलन गरिने केन्द्रीय सदस्य रेग्मीको भनाई छ ।


About Author
-मानसखण्ड