३३०९ पटक हेरिएको
प्रकाशित: २०७५ आश्विन १७ , १०:५१ बजे

निर्मला हत्याकाण्ड, गोदावरी प्रकरण र अर्धभूमिगत गिरोह

Image

खेम भण्डारी
सुदूरपश्चिमका दुई घटना अहिले राष्ट्रिय–अन्तर्राष्ट्रिय चर्चाका विषय बनेका छन् । पहिलो, निर्मला हत्याकाण्ड र दोस्रो गोदावरीको वनलाई प्रदेश राजधानी तोक्ने प्रदेशसभाको निर्णय । यी दुई प्रसंगबीच अनेक भिन्नता छन् र केही समानता ।

निर्मला हत्याकाण्ड संगीन समाजिक अपराध भएकाले मात्रै चर्चामा आएको होइन । यो घटनाको अनुसन्धानमा प्रहरीले जुन शैली तथा रवैया देखायो र सिंगो राज्य व्यवस्था नै यो घटनामा जसरी निरिह बन्यो त्यसकारण यो चर्चामा आएको हो ।

प्रदेश राजधानी गोदावरीमा तोकिएकै हुनाले मात्रै विवाद सुरु भएको होइन । राजधानी तोक्ने काममा जुन अपारदर्शिता अपनाइयो र लुकाउँदा–लुकाउँदै पनि गोदावरीमैं राजधानी तोक्नुका पछाडि रहेको जुन नियत उदांगो भयो त्यसकारण त्यो चर्चामा आएको हो ।

निर्मला हत्याकाण्ड र गोदावरीलाई राजधानी तोक्ने निर्णयका तमाम भिन्नतालाई यहाँ उल्लेख गर्न सम्भव र आवश्यक छैन । ती दुई प्रकरणबीचको एउटा समानतालाई भने उल्लेख गर्नैपर्ने हुन्छ । निर्मला हत्याकाण्डमा सुरुदेखि नै निलम्बित एसपी डिल्लीराज विष्टको पक्षपोषण गर्ने र गोदावरीलाई राजधानी बनाउन भित्री चलखेल गर्ने गिरोह एउटै हो । यो अर्धभूमिगत गिरोह हो । सत्ताको आडमा यो गिरोह अपराध गर्छ र अपराधको आडमा यो गिरोह राजनीति गर्छ । यो गिरोह सुकिला कपडामा हिंड्छ र आफूलाई जनताको सच्चा सेवक दावी गर्छ । तर, भित्रभित्रै यो गिरोहलाई द्रब्यमोह यति धेरै छ कि जस्तोसुकै काममा पनि हात हाल्न पछाडि पर्दैन । यो गिरोह जसको उद्धार गर्न पुग्छ त्यसलाई बर्बाद गरेर आफू भने मालामाल बन्छ ।

त्यो अर्धभूमिगत गिरोह निहित स्वार्थका लागि जस्तोसुकै सम्झौतामा उत्रन सक्छ । र, त्यसले वडादेखि केन्द्रसम्मको आफ्नो सञ्जाल प्रयोग गरेर जस्तासुकै काम पनि गर्नसक्छ । त्यही गिरोहका कारण निर्मला हत्याकाण्ड गिजोलिएको हो भने तोकिएको राजधानी विवादास्पद बन्न पुगेको हो ।

प्रदेशको राजधानीका लागि दुई भौगोलिक विन्दु मात्रै विकल्प हुन । एक, डडेल्धुरा र अर्को अत्तरिया । अत्तरिया आफैमा गोदावरी हो र तेघरीतिर राजधानी हुनु आपत्तिको विषय होइन । पुराना आशंकालाई सत्य सावित गर्ने किसिमले चारकिल्ला तोकिएपछि आपत्ति सतहमा आएको हो ।

अस्थायी राजधानी तोक्नुअघि नै त्यो गिरोहको चलखेल प्रकाशमा आइसकेको थियो । ठूला नेताका केही थान भाइहरु मिलेर पोखरामा एउटा रियल स्टेट कम्पनी खोलेका छन् । उनीहरुले सम्भावित राजधानीहरुमा ठूलो क्षेत्रफलको जग्गा पहिले किने र त्यसपछि मात्रै अस्थायी राजधानी तोकियो । तर, दाङमा भने अस्थायी राजधानी तोकिएन । त्यो कम्पनीले कैलालीको हरैया लालपुरमा ३६ बिगाहा र डडेल्धुरा राजमार्गमा १८ विगाह जग्गा किन्यो सस्तोमा । यो समाचार एक प्रमुख अखबारमा समेत प्रकाशित भएको थियो । अस्थायी राजधानी धनगढी तोकिए पनि त्यो कम्पनीले प्रदेशसभा निर्वाचनपछि अत्तरिया क्षेत्रमैं राजधानी बनाउन सुरुदेखि नै योजना बनाइरहेको थियो । र, सफलता पनि पायो ।

अत्तरिया क्षेत्रमा राजधानी बनाउन जग्गा अधिग्रहण गर्ने वा खरिद गर्ने निर्णय गरेमा त्यो कम्पनीको स्वार्थ पूरा गरिएको आरोप लाग्न सक्ने भएको हुनाले गोदावरीको जंगललाई प्रस्तावित गरिएको हो ।

अन्तर्राष्ट्रिय सम्पदा मानिएको चुरेको फेदैफेद एसियाटिक बायो करिडोर निर्माण गर्ने दीर्घकालिन योजना चलिरहेको र त्यहाँ सहर बसाउन सम्भव नभएको थाहा हुँदाहुँदै पनि गोदावरीको जंगलमा राजधानी बसाउने निर्णय गरियो । भएका बस्तीसमेत उठाएर भारतको जिम कार्बेट र चितवन निकुञ्जसम्म करिडोर बनाउन दुई दशक र अर्बौ रुपैयाँ खर्च भइसकेको छ । पश्चिम तराई भूपरिधि कार्यक्रमले विभिन्न सहायक करिडोर निर्माण गरिरहेको सबैलाई थाहा छ । बाँके राष्ट्रिय निकुञ्ज त्यो करिडोर बनाउने प्रयासमध्येको एक हो । र, पूर्वपश्चिम राजमार्गलाई दक्षिणतिर सार्ने योजनामा समेत काम भइरहेको सबैलाई थाहा छ ।

विश्ववन्यजन्तु कोष र वन मन्त्रालयले कुनै पनि हालतमा गोदावरीमा राजधानी बनाउन दिंदैनन् र त्यसपछि निजी जग्गा नै विकल्प हुने पूर्वानुमानका साथ काम भएको आशंका न्यायोचित हो किनभने राजधानी र प्रदेशको नाम तोक्ने प्रक्रियामा जनस्तरमा न कुनै बहस चलाइयो, न प्रदेशसभामा नै धनिभूत छलफल । समितिको सिफारिसलाई बहसको औपचारिकता निभाएर पारित गरिएको हो ।

समितिमा सीमित प्रदेशसभा सदस्य थिए । प्रदेशसभामा प्रस्तावका पक्षमा सत्तारुढ दलका सदस्यहरुले ताली मात्रै बजाए । हिजो आफ्नै जिल्लामा राजधानी बनाउने कसम खाएर जितेकाहरु पनि चुपचाप रहे । यसबाट राजधानी गोदावरीमा बनाउने कसिलो कसरत भएको थियो र त्यो कसरत प्रदेशसभाभन्दा बाहिर भएको थियो भन्ने बुझ्न गाह्रो छैन ।

भूमाफियासँगको उपरोक्त साँठगाँठलाई कोरा कल्पना मान्ने हो भने पनि गोदावरीको जंगल काटेर राजधानी बसाउने सोच अनौठो देखिन्छ । राष्ट्रपति चुरे संरक्षण कार्यक्रम चलिरहेको पृष्ठभूमिसमेत नहेरेर निर्णय गरिएको छ । चुरे विकासशील पहाड हो र त्यसको संरक्षण राज्यको मुख्य कार्यभार हो । दूरदर्शी नेतृत्वले भावी पुस्ता हेर्छ, दीगो विकासलाई ध्यानमा राख्छ । पर्यावरणमाथि नै खेलबाड गर्ने राजनीतिक नेतृत्व परिपक्व होइन । तर, प्रदेशसभाले हास्यास्पद तरिकाले चुरेको फेदलाई राजधानी बनाउने लहड देखायो । बुट्यानलाई जंगल नमान्ने विचित्रको मानसिकता पनि देखियो र विज्ञानसम्मत तर्कहरुलाई हासोमा उडाउने मानसिक दरिद्रता पनि प्रदर्शन गरियो ।

पर्यावरण संरक्षणको मुद्दा अर्थहिन हो भन्ने बुझ भएको राजनीतिक नेतृत्व पनि यो प्रकरणमा देखियो । आश्चर्य त के भने आफूलाई भविष्यको प्रधानमन्त्री भनेर दावी गर्ने नेताले समेत वन–जंगल, हात्ती–वाघको चिन्ता गर्नु व्यर्थ हो भन्ने आशयका अन्तर्वार्ता दिइरहेका छन् । चुरेको फेदको पर्यावरणीय महत्व नै नबुझेका नेताहरुले यो देशको कायापलट गर्नसक्छन् भन्ने कसरी विश्वास गर्ने ? आफ्नो स्वार्थपूर्ण निर्णयलाई कुतर्कको जामा पहिराएर भावी सन्ततीका लागि बस्न समेत दुष्कर पारिदिने यो चेत अत्यन्त घटिया स्तरको चिन्तनको उपज हो ।

तेघरीमा कहिले बाघ देखिएको थियो ? शुक्लाफाँटाको बाघ र लालझाडीको हात्ती के राजमार्ग भएर तेघरी जाने हुन ? जस्ता मुढेप्रश्न सोध्नेहरुको बौद्धिकस्तरको मापन गर्नै पर्दैन । हिजोका दिनमा भएका गल्ती सक्दो हदसम्म सच्याउनका लागि दुई दशकदेखि वृहत योजनामा काम भइरहेको समेत थाहा नपाउनेहरुबाट सबल र कुशल नेतृत्वको आस गर्नै सकिन्न ।

उसै त जलवायू परिवर्तनले धरापमा परेको छ चुरे । चुरेको क्षयीकरणले सिंगो विश्वको वातावरणीय चक्र नै खल्बलिने खतरा छ । चुरेलाई प्राकृत स्थिरतामा राख्न सकिएन भने नेपाललाई सबैभन्दा ठूलो क्षति हुने विश्वका सबै पर्यावरण वैज्ञानिकहरुको मत हो । चुरे खिइयो वा वन विनासको चपेटामा प¥यो भने तराई मरुभूमिमा परिणत हुनसक्ने खतरा छ । केही हजार हेक्टर त हो नि भन्ने बकम्फुसे तर्कवालाहरुले के बुझ्नुपर्छ भने सवाल क्षेत्रफलको होइन, सवाल बुझाई, प्रतिवद्धता र नियतको हो ।

चुरे विनास गरेर, जैविक मार्गलाई सधैंभरिका लागि अवरुद्ध गरेर राजधानी सहर खडा गर्नसक्ने बहुमत प्रदेश सरकारसँग छ । जनताले दिएको त्यो बहुमत विनासका पक्षमा होइन, दीगो विकासका पक्षमा हो । दम्भ, अहंकार र स्वार्थको आडमा जनताले दिएको त्यो शक्तिको दुरुपयोग गरियो भने अहिले शक्तिमा रहेकाहरु कालान्तरमा कलंकको टीका लगाएर यही समाजमा घुमिरहेका देखिनेछन् ।


About Author
-खेम भण्डारी