७०८९ पटक हेरिएको
प्रकाशित: २०७५ आश्विन १७ , १०:४८ बजे

लिज माफिया र मेयरको यस्तो साँठगाँठ !

Image

–मानसखण्ड
महेन्द्रनगर, १७ असोज । केही दिनअघि तामझामका साथ रिजर्भ एरिया पगेका भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टले अवैध संरचना निर्माण रोक्न आग्रह गरे पनि लिज माफियाले उनलाई हाँसेर उडाइदिएको थियो । त्यसको केही दिनपछि सोमबार अर्थात् १५ असोजमा त्यही ठाउँमा पुगेर फर्कंदा लिज माफियाले मेयर विष्टलाई धन्यवाद दिएको छ ।

रिजर्भ एरियामा ठूलै कम्पाउण्ड घेरेर बसेका मेयर विष्टलाई सोमबार लिज माफियाले धन्यवादसहित फर्काउनुको कारण छ । धन्यवाद त्यसै पाइदैन, त्यसका लागि धन्यवाद दिनेले केही पाएको हुनुपर्छ । लिज माफियाको धन्यवाद पाउनका लागि मेयर विष्टले लिज माफियालाई शुद्ध वचन दिएका थिए । उनले त्यस्तो वचन दिए जसबाट लिज माफिया उनका प्रशंसक नै बने ।

घटना विवरण अनुसार सोमबार दिउँसो मेयर विष्ट होटल ओपेरा पछाडि एकजना लिज माफियाले बनाइरहेको संरचना पुगे । सेतो गाडीमा आधा दर्जन आसेपासेसहित पुगेका उनले एकजना लिनमाफियासँग भलाकुसारी गरे ।

भलाकुसारीमा मेयर विष्टले ती लिज माफियालाई भने, ‘चिन्ता नगर्नुस्, हतार पनि नगर्नुस् । प्रक्रिया मिलाएर यो संरचना तपाईकै हुने छ । धेरै हतार गरेर मलाई समस्यामा नपार्नुहोला । विस्तारै बनाउनुस् ।’

लिज माफियासँग मेयर विष्टको यो कुराकानी दैनिक मानसखण्डकै पत्रकारले सुनिरहेका थिए । मेयर विष्टलाई मानसखण्ड पत्रकार त्यहाँ उपस्थित रहेको सुइकोसमेत थिएन । जब उनी लिज माफियासँग कुरा गरेर कोल्टे फर्के, मानसखण्ड प्रतिनिधिलाई देखे । र, उनको अनुहारको रंग त्यतिबेला हेर्न लायक थियो किनभने उनले ती पत्रकारलाई चिनेका छन् ।

मेयर विष्ट स्वयंले रिजर्भ एरियाको करिब ६ कट्ठा जग्गा कब्जामा लिएका छन् । आफ्नो पुख्र्यौली सम्पत्तिसँग जोडिएको रिजर्भ एरियामा उनले घेरबारसमेत गरेका छन् । त्यसबोहक उनले भित्रि रुपमा अरु क्षेत्रफल पनि ओगटेको आशंका छ । लिज प्रकरणबारे मिडियामा समाचार आइरहे पनि मेयर विष्टले अवैध संरचना भत्काउन शासकीय अधिकार प्रयोग गर्नेतर्फ ध्यान दिएका छैनन् ।

मेयर विष्टको निजी स्वार्थ जोडिएकै हुनाले रिजर्भ एरियामा मनोमानी बढिरहेको गुनासोले व्यापकता पाएको छ । मेयर हुनुभन्दा पहिले तत्कालिन नेकपा एमालेको जिल्ला सचिवका हैसियतले उनले रिजर्भ एरियामा चलखेल गरेको आरोप लाग्दै आएको छ ।

सोमबारको प्रसंगमा मेयर विष्टसँग औपचारिक भर्सन लिन खोज्दा उनले आफूमाथिको आरोप गलत भएको बताए । आफूले लिज माफियालाई संरक्षण हुने खालको कुनै काम नगरेको दावी गर्दै उनले भने, ‘मैले लिज माफियालाई प्रोत्साहित गरेको प्रमाण कसैसित छ भने म सजाय भोग्न तयार छु ।’


About Author
-मानसखण्ड