३३३९ पटक हेरिएको
प्रकाशित: २०७५ आश्विन १६ , १३:०० बजे

कहाँ हराए कञ्चनपुरका सांसद ?

Image

मदन गिरी
महेन्द्रनगर, १६ असोज । सरकारले कञ्चनपुरका तीन मूख्य सडक आयोजनाका लागि चालू आर्थिक वर्षमा बजेट विनियोजनगर्न बिर्सिएको खुलासा भएको छ । बजेट नहुँदा ती जिल्लस्तरीय योजना नगरिँदा अलपत्र परेका छन् । जिल्लाकै महत्वपूर्ण सडक योजनामा कुनै बजेट विनियोजन नगरिएको जिल्ला सडक डिभिजन कार्यालयले जनाएको छ ।

सडक डिभिजन कार्यालय कञ्चनपुरका प्रमुख लक्ष्मीदत्त भट्टले २०७३ सालदेखि निर्माणधिन रहेका तीनवटा सडक योजनामा बजेट विनियोजन नभएको बताए । उनका अनुसार कलवापुर बेलौरी सडक, दैजी जोगबुढा बुडर सडक र मालुबेला गुलरिया रैकवार विचुवा धनगढी सडक आयोजनामा बजेट विनियोजन गरिएको छैन् ।

जिल्लाकै महत्वपूर्ण ती निर्माणधिन सडक आयोजनाको चालु आर्थिक वर्षमा बजेट विनियोजन नहुँदा निर्माण कार्य ठप्प रहेको डिभिजन प्रमुख भट्टको भनाई छ । १७ किलोमिटर लामो कलुवापुर–बेलौरी सडक आयोजनाको गत आर्थिक वर्षसम्ममा २५ प्रतिशत मात्रै भौतिक प्रगति भएको छ । १९ करोड ११ लाख ७४ हजार रुपैयाँमा सन्तोषी–थेगीम जेभीसँग ठेक्का सम्झौता भएकोमा गत आर्थिक वर्षसम्ममा चार करोड ४४ लाख ५८ हजार रुपैयाँ खर्च भएको डिभिजन प्रमुख भट्टले बताए ।

यस्तै १६ किलोमिटर दैजी जोगबुढा बुँडर सडक आयोजनाको ३० प्रतिशत निर्माण कार्य सम्पन्न भएको छ । नागार्जुन कन्सट्रक्सनसँग १९ करोड ४१ लाख ७४ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको उक्त सडक आयोजनका लागि आर्थिक वर्ष २०७४/७५ सम्ममा चार करोड ७१ लाख ६२ हजार रुपयाँ खर्च भईसकेको छ ।

त्यस्तै मालुवेला गुलरिया रैकवारविचुवा धनगढी सडक आयोजना पनि बजेट विनियोजन नहुँदाँ निर्माण कार्य अलपत्र परेको छ । २३ किलोमिटर लामो उक्त सडक आयोजनाको ४५ प्रतिशत निर्माण कार्य सम्पन्न भईसकेको डिभिजन प्रमुख भट्टले बताए । उनका अनुसार १९ करोड ३८ लाख १२ हजार नौ हजार रुपैयाँमा स्वच्छन्द निर्माण सेवासँग ठेक्का सम्झौता भएको उक्त आयोजनामा नौ करोड ३७ लाख २३ हजार बजेट खर्च भईसकेको छ ।

निर्माधिन उक्त सडक आयोजनाको ट¥याक खोल्ने, स्ट्रकचर निर्माण गर्ने कार्य सकिएको बताउँदै डिभिजन प्रमुख भट्टले भने, ‘सडक निर्माण तीब्र रुपमा भईरहेको थियो, चालु आर्थिक वर्ष यी योजनाका लागि विभागले बजेट विनियोजन गरेको छैन्, न कुनै किसिमको अख्तियारी छ ।’

बजेट विनियोजन नगरिँदा निर्माणाधिन योजना अलपत्र परेको डिभिजन प्रमुख भट्टको भनाई छ । साथै बजेट विनियोजनका लागि सडक विभागसँग जोडदार माग गरिरहेको भएपनि त्यसको सुनवाई नभएको उनले गुनासो गरे । २०७३ जेठ मसान्तबाट सुरु तीन वटै आयोजना २०७६ जेठसम्ममा निर्माण कार्य सम्पन्न गरिसक्ने लक्ष्य रहेको छ ।


About Author
-मदन गिरी