५४५९ पटक हेरिएको
प्रकाशित: २०७५ आश्विन १० , १०:१७ बजे

निर्मला हत्याकाण्ड : एसपी विष्टकै वरिपरी घुम्यो कहानी !

Image

काठमाडौँ, १० असोज । निर्मला हत्याकाण्डबारे छानबिन गर्न बनेको समितिले गृहमन्त्रीलाई प्रतिवेदन बुझाएको छ । समितिको सिफारिस अनुसार एसपी डिल्लीराज विष्ट हिरासतमा जाने सम्भावना बढेको छ । उच्चस्तरीय समिति स्रोतका अनुसार एसपी विष्टकै वरिपरी हत्याकाण्डको कहानी घुमेकाले प्रतिवेदनले उनलाई हिरासतमा लिएर अनुसन्धान सुरु गर्नुपर्ने सिफारिस गरिएको बताएको छ । गत साउन १० गते बलात्कारपछि हत्या भएकी १३ वर्षीया बालिका पन्तको हत्याबारे छानबिन गर्न बनेको हरिप्रसाद मैनालीको संयोजकत्वको टोलीले आज गृहमन्त्री रामबहादुर थापालाई प्रतिवेदन बुझाएको हो ।

प्रतिवेदनले हत्याकाण्डमा प्रहरीले चरम लापरवाही गरेको भन्दै तत्कालिन प्रहरी प्रमुख तथा निलम्बित एसपी डिल्लीराज विष्टलाई कारबाहीको सिफारिस गरेको स्रोतको दावी छ । स्रोतका अनुसार समितिले एसपी विष्टमाथि गम्भीर आरोप समेत लगाएको छ । प्रतिवेदनले हत्यारा किटान नगरे पनि हत्याकाण्डको सन्दर्भमा दृश्यमा सबै पात्रहरुका बारे उल्लेख गरेको बताइएको छ । एसपी विष्टबाटै अनुसन्धान सुरु गर्नुपर्ने समितिको सिफारिस रहेको स्रोतको कथन छ ।

अनुसन्धानमा खटिएको प्रहरीको भूमिका शङ्कास्पद देखिएको र अनुसन्धान अगाडि नबढेपछि गृह मन्त्रालयले भदौ ७ गते मैनालीको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो ।

समितिले यसअघि भदौ ३० गते गृहमन्त्रीसमक्ष प्रारम्भिक प्रतिवेदन बुझाएको थियो । प्रारम्भिक प्रतिवेदनमा प्रहरीको भूमिका कमजोर रहेको भेटिएपछि गृह मन्त्रालयले अनुसन्धानमा खटिएका प्रहरीलाई निलम्बन गरेको थियो । समितिले प्रतिवेदनमा घटनाको वस्तुस्थिति, स्थानीयवासीको भनाइ, प्रहरी अनुसन्धानमा भएका कमीकमजोरीलाई समावेश गरेको छ । प्रतिवेदन बुझ्दै गृहमन्त्री थापाले प्रतिवेदनको कार्यान्वयन गरी दोषीलाई कारवाहीको दायरामा ल्याउने स्पष्ट पारे ।

छानबिन समितिका सदस्य बिरेन्द्र केसीले आफूले घटनाको बारेमा थाहा पाएको सम्पूर्ण जानकारी प्रतिवेदनमा समेटीएको बताए । उनले प्रतिवेदनमा अनुसन्धानका क्रममा प्रहरी अधिकृतबाट भएको लापवरवाही देखि विभिन्न स्रोतबाट सूचना संकलन गरि सरकारलाई बुझाएको बताए ।

गृहमन्त्रालयले प्रतिवेदनलाई अत्यन्त गोप्य राखेको छ । मन्त्रालयले अध्ययन गरिरहेको भनिएको प्रतिवेदन सार्वजनिक गर्न विभिन्न क्षेत्रबाट आवाज पनि उठ्न थालेको छ । सो प्रतिवेदन धेरै समय गोप्य राख्न खोजिए महेन्द्रनगरमा फेरि आन्दोलन उठ्न सक्ने अनुमान गरिएको छ ।

एसपी विष्टमाथि हत्याकाण्डको अनुसन्धानलाई अस्वाभाविक तरिकाले प्रभावित गर्नेदेखि प्रक्रियागत त्रुटि हुने गरी प्रहरी परिचालन गरेको आरोप पनि लगाइएको स्रोतको भनाई छ । प्रमाण नष्ट गर्ने र हत्याका सूत्र (दिदीबहिनी)लाई संरक्षण दिनेसम्मका काम एसपी विष्टले गरेको आरोप समेत प्रतिवेदनमा उल्लेख गरिएको बताइएको छ ।

एसपी विष्टमाथि भदौ ७ र ८ मा भएका गोलीकाण्डको दायित्व पनि थोपरिएको स्रोतको दावी छ । अवस्था नभए पनि गोली चलाइएको प्रतिवेदनको निष्कर्ष रहेको बताइएको छ ।


About Author
-मानसखण्ड