२९०५ पटक हेरिएको
प्रकाशित: २०७५ आश्विन ०८ , ११:३४ बजे

निर्मला हत्याकाण्ड : अझै पनि प्रमाण मेटाउने काम रोकिएन

Image

–मानसखण्ड
महेन्द्रनगर, ८ असोज । निर्मला हत्याकाण्डको प्रमाण मेटाउने काम अझै पनि जारी रहेको आशंका उत्पन्न भएको छ । दैनिक मानसखण्डले १ असोजमा होटल ओपेरा अगाडिलगायत महेन्द्रनगर बजारका १६ मध्ये सात क्यामेरा रहस्यमयी तरिकाले निर्मला हत्याकाण्डपछि बिग्रेका समाचार दिएको एक दुई दिनमैं होटल ओपेराको गेटसमेत पूरा कभर गर्न जडित क्यामेरा नै गायब भएको छ । अन्य क्यामेराको अवस्थाबारे नगरपालिका र प्रहरी नै जानकार छैनन् ।

१७ भदौमा होटल गंगोत्री गोल्ड अगाडि जडित क्यामेराले काम गर्न छोडेको भए पनि १ असोजमा समाचार आएपछि क्यामेरा नै गायब भएको छ । सो क्यामेराले होटल ओपेराको मूल गेटको पाँच–पाँच मिटर दायाँ–बायाँ निगरानी गरिरहेको थियो । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कृष्ण्  राज ओझाले नगरमा जडित गायब क्यामेराबारे अनुसन्धान भइरहेको र सीसीटीभी नेटवर्क सुचारु गर्न नगरपालिकालाई पत्र लेखिएको बताए । नगरका १६ क्यामेराको कन्ट्रोल रुम जिल्ला प्रहरी कार्यालयभित्रै रहेको छ ।

१० साउनमा निर्मलाको हत्या हुँदा महेन्द्रनगर बजारभित्रका १६ स्थानमा जडित सीसीटीभी क्यामेराले काम गरिरहेका थिए तर १७ साउनपछि होटल ओपेराबाट उल्टाखाम जाने सबै बाटोमा जडित सात क्यामेराले काम गर्न छोडेका थिए ।

दैनिक मानसखण्डको समाचारपछि क्यामेरा नै गायब हुनु आश्चर्यजनक मानिएको छ । १७ साउनमा काम गर्न छोडेका अन्य क्यामेराका बारेमा  प्रहरीसँग पनि कुनै जानकारी नभएको पाइएको छ ।


महेन्द्रनगर बजारबाट जम्मा दुई किलोमिटरको दूरीमा बलात्कारपछि हत्या हुँदासमेत १० साउनमा प्रहरीले नगरको सीसीटीभी नेटवर्कको डाटा सुरक्षित राखेको थिएन । तर, प्रहरीले सो नेटवर्कको उपयोग भने त्यसपछि पनि गरिरहेको थियो । १५ साउनमा नागरिक समाजका प्रतिनिधिको एक समूहले तत्कालिन एसपी डिल्लीराज विष्टलाई भेटदा उनले अनुसन्धान टोलीले सीसीटीभी नेटवर्कको उपयोग गरेर आन्दोलनको निगरानी गरिरहेको बताएका थिए । आन्दोलनको निगरानी गर्न उपयोग गरिएको नेटवर्कको १० साउनको डाटा सुरक्षित राख्न प्रहरी किन चुक्यो भन्ने प्रश्न अहम बनेको छ ।

१६ प्रहरीको पोलिग्राफ सकियो
निर्मला हत्याकाण्डको अनुसन्धानमा संलग्न १६ प्रहरीको पोलिग्राफ टेस्ट सकिएको छ । प्रहरी प्रधान कार्यालयमा भइरहेको टेस्टमा तत्कालिन प्रहरी प्रमुख एसपी डिल्ली राज विष्ट र कञ्चनपुर प्रहरीका १२ जना तथा सीआइबीका डिएसपी अंगुर जीसीलगायत चारजना रहेका छन् । उनीहरु सबैको पालिग्राफ टेस्ट सकिएको प्रहरी स्रोतले जानकारी दिएको छ ।

पोलिग्राफ टेस्ट हुनेमा डिएसपी ज्ञानबहादुर सेटी, इन्स्पेक्टरहरु जगदिश भट्ट तथा एकेन्द्र खड्का, सई डिकर।देव पन्त र असई रामसिंह धामीलगायत छन् । एसपी विष्ट र डिएसपी जीसीको सबैभन्दा पहिले पोलिग्राफ टेस्ट
गरिएको थियो । टेस्ट भएका अन्य प्रहरीको नाम भने स्रोतले खुलाउन सकेन ।

निर्मला हत्याकाण्डमा सबुदप्रमाण नष्ट गरेको अभियोगमा पाँच प्रहरी अधिकृत निलम्बित छन् । अन्यलाई प्रधान कार्यालय झिकाएर अनुसन्धान चलिरहेको छ ।


About Author
-मानसखण्ड