२८२५ पटक हेरिएको
प्रकाशित: २०७५ आश्विन ०७ , १०:१३ बजे

लिज घोटाला : कांग्रेसले उछिन्यो, भत्काउनै पर्ने एजेण्डा

Image

– मानसखण्ड
महेन्द्रनगर, ७ असोज । नेपाली कांग्रेस कञ्चनपुरले महेन्द्रनगर नगर विकास समितिको स्वामित्वमा रहेको जमिन अवैधानिक ढंगबाट लिजमा दिएको प्रकरणप्रति आपत्ति जनाउँदै सो जग्गामा बनेका अवैध संरचना भत्काउनुपर्ने माग गरेको छ ।

शुक्रबार महेन्द्रनगरस्थित जिल्ला पार्टी कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरेर कञ्चनपुर कांग्रेसले तत्काल नगर विकास समितिको स्वामित्वमा रहेको जमिन अवैध रुपले लिजमा लिइ निर्माण गरिएका र निर्माणाधिन सबै संरचना भत्काउन स्थानीय सरकारसंग माग गरेको छ । निर्मला हत्याकाण्डको मौका छोपी धमाधम अवैध संरचना निर्माण गरिएको भन्दै कांग्रेसले भीमदत्त नगरपालिकाले रिजर्भ एरियामा बनेका सबै अवैध संरचना तत्काल भत्काउनुपर्ने माग गरेको हो ।

नेपाली कांग्रेस कञ्चनपुरका सभापति हरिप्रसाद बोहराले अवैधानिक संरचना जो सुकैका भएपनि हटाउनुपर्ने बताए पत्रकार सम्भेलनमा बोल्दै सभापति बोहराले लिजका नामका निर्माण भईरहेकासंरचना नभत्काइए आन्दोलन गर्ने चेतावनीसमेत दिए ।

नगर विकासको जमिनलाई हडप्ने जो सुकैलाई पनि कारवाहिको दायरामा ल्याउनु पर्ने बताउँदै बोहराले भने, ‘नेपाली कांगे्रस पार्टीका कार्यकर्ताले अवैध संरचा बनाइरहेका भए पनि तत्काल भत्काउनु पर्छ ।’

नेपाली कांग्रेस गलत प्रवृतिलाई बचाउने पक्षमा नरहेको र निष्पक्ष छानबिन गरि अवैध लिज दिने व्यक्तिलाई कठघरामा उभ्याइनु पर्ने सभापति बोहराको कथन छ । सभापती बोहराले प्रश्न गरे, ‘स्थानीय सरकार निर्माण भई स्थायित्व भएका बेला अतिक्रमण र अवैधानिक संरचना निर्माण रोक्न किन ढिलाइ भइरहेको छ ?’

पत्रकार सम्मेलनमा काँग्रेस नेता यज्ञराज जोशीले महेन्द्रनगर क्षेत्रमा अवैधानिक ढंगबाट सार्वजनिक जमिनमा निर्माण भइरहेका संरचना तत्काल नभत्काइए काँग्रेसलाई सह्य नहुने बताए । उनले अधिकार सम्पन्न स्थानीय सरकारले अवैध रुपमा भइरहेका गतिविधि रोक्ने तर्फ ध्यान नदिनुले आशंका उब्जाएको दावी गरे ।

नेपाली कांगेसका नगर सभापति पदमराज अवस्थीले लिज माफियाले सार्वजनिक सम्पत्तिको दुरुपयोग गरिरहेकाले सरकारले गम्भीर भएर लिज घोटालाको अनुसन्धान गर्नुपर्ने बताए ।

नगर सभापति अवस्थीले स्थानीय सरकारसँग अधिकार भएपनि कार्यान्वयन गर्न नसकेको बताउँदै उनले भने, ‘नगर क्षेत्रको सार्वजनिक जमिनमा धमाधम लिज माफियाले अवैध रुपमा घरहरु निर्माण गरिरहँदा समेत नगरपालिका मूकदर्शक बनेको छ ।’

भीमदत्त नगरपालिकाले भने आफूलाई अधिकार प्राप्त नभएको भन्दै अवैध संरचाना निर्माणमा चासो देखाएको छैन् । स्थानीय तह सञ्चालन सम्बन्धी ऐन कानुनले भने आफ्नो क्षेत्रभित्रको सरकारी जग्गाको संरषणको जिम्मेवारी सम्बन्धित स्थानीय तहलाई दिएको छ । स्थानीय तहले आफ्नो क्षेत्रमा भइरहेका अवैध निर्माण रोक्न सक्ने अधिकार भए पनि भीमदत्त नगरपालिकाले भने नगरको मूल्यवान जग्गामा भइरहेको अतिक्रमण रोक्न कुनै प्रयास गरेको छैन ।

भीमदत्त नगरपालिकाले विभिन्न बाहना गर्दै रिजर्भ एरियाको लिज घोटालाप्रति आँखा चिम्लिए पनि स्थानीय प्रशासनले अवैध निर्माण रोक्ने दायित्व भीमदत्त नगरपालिकाकै भएको जनाएको छ ।

विशेषतः २०६४ पछि गठित नगर विकास समितिका अध्यक्षहरुले खल्तीमा लेटरप्याड बोकेर लिजका नाममा लाभ हाँसिल गरी नगरको बहुमूल्य जग्गा अवैध लिजमा दिएका थिए । तीमध्ये अधिकांश अध्यक्षहरु सत्तारुढ नेकपाका जिल्ला स्तरीय नेता हुन् ।

करार कानुन तथा नगर विकास समितिको नियम विपरीत सार्वजनिक बढाबढ नै नगरी करिब १० अर्ब रुपैयाँ बराबरको जग्गा तत्कालिन अध्यक्षहरुले लिज भन्दै विभिन्न व्यक्तिलाई बाँडेका थिए ।

तत्काल अवैध संरचना भत्काउने तर्फ सम्बन्धित पक्षको ध्यानार्कषण नभए कांग्रेसले आन्दोलनमा उत्रिने चेतावनी समेत दिएको छ ।

नेपाली कांग्रेस कञ्चनपुरका सचिव दिवाकर पाण्डेयले सार्वजनिक जग्गामा अवैध संरचना निर्माण भईरहेकोमा अपत्ति जनाउँदै तत्काल ती संरचना भत्काउनेतर्फ ध्यान नगए कडा आन्दोलन गर्ने चेतावनी दिए ।

लिज प्रकरण छानबिनका लागि गठन गरिएको रणबहादुर महरा संयोजकत्वको उपसमितिले अवैध कामलाई वैध बनाउने प्रतिवेदन तयार बुझाएको कांग्रेसको दावी छ ।

जमिन भाडामा दिँदा नगर विकास समितिले ठेक्का बढाबढ गर्नुपर्ने भएपनि अध्यक्ष र कर्मचारीको मनोमानीमा पहुँचवाला व्यक्तिलाई निर्णयविनै जग्गा वितरण गरिएको थियो । लिजमा दिइएको जग्गाको न नगर विकास समितिमा कुनै अभिलेख छ, न समितिले ती लिज अनुमोदन गरेको अभिलेख नै उपलब्ध छ ।

र्वदलीय बैठकबाट अवैध रुपमा निर्माण भईरहेका संरचनालाई तत्काल रोक्ने निर्णय भएको भए पनि निर्मला हत्याकाण्डको मौका छोपी लिज माफियाले धमाधाम निमार्ण कार्य गरिरहेका छन् । आफ्नो क्षेत्रमा त्यस्तो काम भइरहँदा पनि भीमदत्त नगरपालिकाले भने आफूसँग भएका नगर प्रहरीलाई दरबन्दीभन्दा बाहिरका काममा अल्झाएर राखेको छ ।


About Author
-मानसखण्ड