३५१७ पटक हेरिएको
प्रकाशित: २०७५ आश्विन ०४ , १३:१८ बजे

फेरि उस्तै पारामा उत्रियो कञ्चनपुर प्रहरी !

Image

–मानसखण्ड
महेन्द्रनगर, ४ असोज । निर्मला हत्याकाण्डपछि उत्पन्न परिस्थितिपछि केही सोझिएको कञ्चनपुर प्रहरीले फेरि उल्टासुल्टा काम गर्न थालेको छ । रंगेहात यौनक्रिडाको एक घटनाका पीडितको पक्षबाट पैरवी गरिरहेका एक कानुन व्यवसायीको घरमा पुगेर प्रहरीले तर्साउन खोजेको छ । त्यति मात्रै होइन, प्रहरीले यौन क्रिडारत दुईजनालाई पाँच दिनसम्म गैरन्यायिक हिरासतमा राखेको खुलासा समेत भएको छ ।

गत २८ भदौमा महाकाली सिचाई आयोजना तेस्रो चरणको कार्यालय परिसरमा रहेका आवासगृहमध्येको एउटा क्वार्टरमा राति एक बजे प्रहरीले छापा मारेर सिचाईकै चालक लोकेन्द्र पुनलाई सोही कार्यालयका एक कर्मचारीकी पत्निसँग यौनक्रिडामा लिप्त रहेको अवस्थामा फेला पारेको थियो । प्रहरीले दुबैजनालाई नांगै अवस्थामा फोटो खिचेर हिरासतमा लिएको थियो ।

सार्वजनिक सुरक्षा र नैतिकताविरुद्धको कसुरमा ती कर्मचारीका तर्फबाट पैरवी गरिरहेका अधिवक्ता विनोद भट्टलाई प्रहरीले तर्साउन खोजेको हो । बुधबार साँझ ८ बजे पोशाकमैं अधिवक्ता भट्टको घरमा पुगेको प्रहरीको एक टोलीले ‘त्यो (कर्मचारी) कहाँ छ’ भन्दै सोधपुछ गरेका थिए । पीडित कर्मचारीको बस्ने ठेगाना प्रष्ट हुँदाहुँदै रातको समयमा अधिवक्ता भट्टको घरमा प्रहरी जानुले गम्भीर प्रश्न उब्जाएको छ । यो घटनामा पनि प्रहरीले प्रलोभनमा परेर काम गरेको देखिन्छ । रंगेहात निवस्त्र फेला परेका व्यक्तिको विरुद्ध निवेदन तथा जाहेरी दिने व्यक्तिलाई खोज्दै हिंड्दा प्रहरीको नियतमाथि नै आशंका उत्पन्न भएको छ ।

पीडित कर्मचारीले २८ भदौमैं प्रहरीलाई तत्काल घटना निवेदन दिएका थिए । प्रहरीले पुन र ती कर्मचारीलाई सिचाईकै आवासगृहमा रंगेहात पक्राउ गरी फोटोसमेत खिचेको थियो । भोलि पल्ट २९ भदौमा ती कर्मचारीले रितपूर्वकको जाहेरी नै दिएका थिए । जाहेरीमा प्रमाणका रुपमा प्रहरीले खिचेको फोटासमेत उल्लेख गरिएको थियो ।

पुन र ती महिलालाई प्रहरीले कुनै पनि अदालतमा पेश नगरी २८ भदौदेखि २ असोजसम्म गैरन्यायिक हिरासतमा राखेको बताइएको छ । मंगलबार उनीहरुलाई छोडिएको छ ।

प्रहरीले २९ भदौमा ती कर्मचारीले दिएको जाहेरी समेत परिवर्तन गराएको खुलेको छ । सिचाईंका एक इन्जिनियरको दवावमा जाहेरी परिवर्तन गरी झैझगडाको घटना बनाइएको जानकारी प्राप्त भएको छ ।

अधिवक्ता भट्टले प्रहरीले आफ्नो घर निगरानीमा राखिएको प्रति आपत्ति जनाएका छन् । उनले यो विषयसम्बन्धित निकायमा उठाउने बताए । जिल्लाका प्रहरी प्रमुख एसपी कुबेर कडायतले घटनाबारे बुझेर आवश्यक कदम उठाउने बताए ।


About Author
-मानसखण्ड