४४६४ पटक हेरिएको
प्रकाशित: २०७५ आश्विन ०२ , १२:३१ बजे

निर्मला हत्याकाण्डको मौका, लिज माफियालाई चौका

Image

– मदन गिरी
महेन्द्रनगर, २ असोज । निर्मला हत्याकाण्डका कारण देशनै आन्दोलित रहेका बेला महेन्द्रनगरका लिज माफिया भने आफ्नो दुनो सोझ्याउन लागिपरेका छन् । आन्दोलनका कारण जिल्लाका प्रशासनिक तथा सुरक्षा निकाय शान्ति सुरक्षाका लागि व्यस्त रहेका बेला रिजर्भ एरियामा अवैध लिज लिएका केही व्यक्तिहरु भने मौका फाइदा उठाएर पक्की संरचना निर्माणमा जुटेका छन् ।

अर्कोतिर मासिक लाखौं रुपैयाँ तलब दिएर नगर प्रहरी पालेको भीमदत्त नगरपालिका भने आफ्नो दायित्वमा पर्ने काम अरुको टाउकोमा थुपारेर लिज माफियाका पक्षमा देखिएको छ । अवैध निर्माण रोक्ने पहिलो जिम्मेवारी नगरपालिकाकै भए पनि अहिलेसम्म नगरपालिकाले रिजर्भ एरियामा भइरहेको अवैध निर्माण बुझ्नका लागि समेत नगर प्रहरी खटाएको छैन ।

स्थानीय प्रशासनले सर्वदलीय सहमतिका आधारमा सो क्षेत्रलगायत लिजका नाममा लिइएका महेन्द्रनगर नगर विकास समितिको जग्गामा संरचना निर्माणमा रोक लगाएको छ । तर, सबैको ध्यान निर्मला हत्याकाण्डतर्फ भएका बेला केही अधुरा संरचना पूरा गर्न लागिएको छ भने केही नयाँ संरचनाको निर्माण पनि थालिएको छ । ती सबै संरचना नगरपालिकाबाट नक्सा पास नै नगरी बनाउन लागिएका हुन् ।

सुरुदेखि नै भीमदत्त नगरपालिकाले रिजर्भ क्षेत्रको अवैध संरचना निर्माणतर्फ चासो दिएको छैन । अवैध संरचना लगायतका काम हेर्न दुई दर्जनभन्दा बढीको संख्यामा नगर प्रहरी भए पनि तिनलाई दरबन्दीभन्दा फरक काममा अल्झाएर अवैध निर्माण गर्नेलाई सजिलो पारिएको छ ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका केही नेता नगर विकास समितिको अध्यक्ष हुँदा अवैध रुपमा लिजका नाममा करिब १० अर्व रुपैर्याँको जग्गा वितरण गरिएको थियो । त्यस सम्बन्धमा गठित छानविन उपसमितिले प्रतिवेदन बुझाएको आठ महिना भइसक्दा पनि सार्वजनिक गरिएको छैन । लिज घोटालाबारे भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्ट तथा प्रदेशसभा र प्रतिनिधिसभाका सदस्यहरु पनि उदाशिीन रहेको आरोप लाग्दै आएको छ । उनीहरुमध्ये केहीको लिज घोटालामा स्वार्थ जोडिएको आरोप पनि छ ।

नगरक्षेत्रमा ठूलोस्तरमा अवैध संरचना निर्माण भइरहेको सञ्चारमाध्यमले प्राथमिकता साथ सार्वजनिक गरिरहेका भए पनि भीमदत्त नगरपालिकाले रोक्ने प्रयाससमेत नगर्नु अर्थपूर्ण मानिएको छ । नगरपालिकाको उदाशिनता बढ्दै गएपछि मेयर विष्ट र नेकपाका केही नेताहरुको आलोचना पनि बढ्दै गएको छ ।

निर्मला हत्याकाण्डपछि उत्पन्न परिस्थितिको फाइदा उठाउँदै पुरानो बसपार्क क्षेत्रमा अधुरा भवनको निर्माण सकेर व्यवसाय नै सुरु गरिएको छ । अन्य कतिपय संरचना पूरा गर्न काम चलिरहेको छ । अन्य क्षेत्रमा पनि रोकिएका संरचना रातारात निर्माण हुँदैछन् । होटल ओपेरा पछाडि त नयाँ जग खनेरै पिलर उठाउने तयारी भईरहेको छ ।

भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले लिज माफियाले आन्दोलनको भरपुर फाईदा उठाएको स्वीकारे । उनले निर्मला हत्याकाण्डले सबै क्षेत्र अस्तव्यस्त भएको मौकामा नगर विकासको जमिनमा अवैध संरचना निर्माण भईरहेको प्रति आपत्ति समेत जनाए । उनले भने, ‘नगरपालिकाभित्र नक्सापास नगरी संरचना बनाउन मिल्दैन, नक्सा पास नै नगराई भईरहेको भवन निर्माण कार्यमा हाम्रो विमति छ ।’ नगर प्रहरी परिचालन गरेर त्यस्ता निर्माण नरोकेको बारेमा उनले केही बताएनन् । उनले प्रमुख जिल्ला अधिकारीलाई मौखिक रुपमा जानकारी गराएको बताए ।

तर, प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले अवैध संरचना निर्माण रोक्ने, भत्काउनलगायतका काम नगरपालिकाको भएको बताए । ‘आफ्नो क्षेत्रमा भईरहेको अवैध संरचना निर्माण रोक्ने पहिलो दायित्व नगरपालिकाको हो, नगर प्रहरी र नगरपालिकाको जनशक्ति परिचालन गरेर पनि नरोकिए हामीले हेर्ने हो’, प्रजिअ अधिकारीले भने ।


About Author
-मदन गिरी