६०९० पटक हेरिएको
प्रकाशित: २०७५ आश्विन ०१ , १२:५२ बजे

यो प्रमाण पनि नष्ट गरियो एसपी विष्टको कार्यकालमा !

Image

–मानसखण्ड
महेन्द्रनगर, १ असोज । निर्मला हत्याकाण्डमा अनुसन्धानका लागि महत्वपूर्ण बन्न सक्ने महेन्द्रनगर बजारक्षेत्रका सीसीटीभी क्यामेराको डाटा प्रहरीले नै नष्ट गरेको हुनसक्ने संकेत प्राप्त भएको छ ।

१० साउनमा निर्मलाको हत्या हुँदा महेन्द्रनगर बजारभित्रका १६ स्थानमा जडित सीसीटीभी क्यामेराले काम गरिरहेका भए पनि प्रहरीले १० साउन आसपासको डाटा सुरक्षित नराखेको पाइएको छ । सो डाटा अति महत्वपूर्ण हुन सक्ने भए पनि जिल्ला प्रहरी कार्यालयबाटै मेटाइएको हुन सक्ने देखिएको छ ।

१५ साउनमा आफूलाई भेट्न आएको नागरिक समाजको एक टोलीसँग तत्कालिन प्रहरी प्रमुख निलम्बित एसपी डिल्लीराज विष्टले नगरका सीसीटीभी क्यामेराबाट आन्दोलनको निगरानी भइरहेको बताएका थिए ।

करिब २५ जनाको समूहसमक्ष बोल्दै एसपी विष्टले आन्दोलन अराजक हुन नदिनसीसीटीभी क्यामेराको उपयोग भइरहेको आशय व्यक्त गरेका नागरिक समाजका संयोजक भवराज रेग्मीले बताएका छन् । एसपी विष्टको सो अभिव्यक्तिले प्रहरी सीसीटीभी क्यामेराको महत्वबारे सचेत थियो भन्ने बुझिन्छ ।

तर, निर्मलाको हत्या भएको दिन र त्यसको आसपासको डाटा नै सुरक्षित नगर्नुले प्रहरीले नै सो डाटामा नष्ट गरेको शंका गर्न सकिने ठाउँ मिलेको छ । डाटा सुरक्षित गरिएको भए एसपी विष्टका छोरा किरण विष्टसँग सो दिन ओपेरा होटलमा कोको थिए भन्ने थाहा पाउन सकिने थियो ।

नगरपालिकाले निर्मलाहत्याकाण्डको करिब दुई महिना अगाडि बजारक्षेत्रमा जडान गरेका १६ मध्ये सात क्यामेरा साउन १७ गतेपछि काम नलाग्ने अवस्थामा आउनुले हत्याकाण्ड योजनावद्ध भएको दावीलाई बल मिलेको छ । बन्द भएका ती क्यामेरा होटल ओपरा र निर्मलाको शव पाइएको स्थल जाने बाटोमा जडित रहेको बताइएको छ ।

निर्मलाको हत्या भएको एक साता पछिसम्म चलिरहेको होटल ओपेरा अगाडिको क्यामेरासहित केही अन्य महत्वपूर्ण स्थानका क्यामेरा अचानक अहिले बिग्रेका छन् । प्रहरीका अनुसार होटल ओपेराको गेट सहितको क्षेत्रलाई फोकस गरिएको क्यामेरा १७ साउनपछि बेकामे भएको छ । सो क्यामेराले ओपराको मूलगेटको पाँच–पाँच मिटर दायाँ–बार्या फोकस गरेको पनि प्रहरीको भनाई छ ।

१० साउनमा एसपी विष्टका छोरा किरण विष्टले आफ्नो जन्मदिनको अवसरमा साथीहरुसहित फोटोसुट गरेको भनिएको होटल ओपेराको सीसीटीभी क्यामेराको हार्डडिस्कको क्षमता १५ दिनसम्म मात्रै भएकोले अनुसन्धान त्यता सोझिउञ्जेल त्यसदिनको रेकर्ड मेटिएको थियो ।

बलात्कारपछि हत्याको घटना हुँदासमेत प्रहरीले १० र ११ साउनका दिन नगरका सीसीटीभी क्यामेराको फुटेज सुरक्षित नराख्नु तर आन्दोलनको निगरानीका लागि उपयोग गरिनुले आशंका जन्माएको हो ।

नगरपालिकाले झण्डै २० लाख रुपैयाँको लागतमा बजारक्षेत्रमा १६ क्यामेरा जडान गरेको छ । ती क्यामेरालाई रातको समयमा पनि काम गर्नसक्ने अर्थात् ‘नाइटभिजन क्यामेरा’ बताइएको थियो । क्यामेरा जडान गर्ने ठेक्का पाएको उग्रतारा ट्रेडर्सले जिल्ला प्रहरी कार्यालयमा नियन्त्रण कक्ष राखिएको सो नेटर्कको स्टोरेज क्षमता ६ टीबी भएको बताएको छ । सो क्षमताको हार्डडिस्कमा झण्डै ३० दिनको डाटा सुरक्षित रहने उग्रताराले बताए पनि एसपी कडायतले १३ दिनको डाटा मात्रै सुरक्षित हुने बताए ।

एसपी विष्टका छोरा किरण विष्टले १० साउनका दिन परेको आफ्नो जन्मदिनको अवसरमा साथीहरुसहित होटेल ओपेरामा फोटोसुट गरेको बयान दिएपछि ओपेराको सीसीटीभी फुटेज खोजिएको थियो तर उच्चस्तरीय समिति भदौ ८ मा महेन्द्रनगर आउँदा स्त्यसदिनको त्यो फुटेज स्वतः मेटिएको थियो ।

होटेल ओपराले सो दिन किरणसँगै अन्य दुई युवक र तीन युवती होटलमा आएको जानकारी प्रहरीलाई उपलब्ध गराएको छ । निर्मलाका आमा–बुवाले तीनमध्ये एक आफ्नी छोरी निर्मला भएको आशंका गरेका छन् । तर, किरणले निर्मलालाई आफूले नचिनेको बताएका छन् । नगरपालिकाको सीसीटीभी नेटवर्कको डाटा सुरक्षित राखेको भए अनुसन्धानमा उपयोगी हुने थियो ।

होटल ओपेरा–उल्टाखाम जाने सब्जीमण्डी र मदनचोक दुबैतर्फका क्यामेरा १७ साउन पनि नचलेका स्रोतको भनाइ छ । मेनरोडका क्यामेरा पनि बेकामे अवस्थामा रहेको बताइएको छ । अन्यक्षेत्रका क्यामेराले भने अहिले पनि काम गरिरहेका छन् ।

१० साउनपछि एकैचोटी ती क्यामेरा कसरी बिग्रे, बलात्कारपछि हत्याको घटना हुँदा पनि प्रहरीले नगरको फुटेज किन सुरक्षित राखेन, सीआइबी डिएसपी अंगुर जीसी र उच्चस्तरीय छानविन समितको ध्यान नगरको सीसीटीभी नेटवर्कतर्फ किन गएन भन्ने प्रश्न महत्वपूर्ण बनेको छ । डिएसपी जीसीको टोली घटनाको चौथो दिन महेन्द्रनगर पुगेको थियो ।


About Author
-मानसखण्ड