८६३९ पटक हेरिएको
प्रकाशित: २०७५ भाद्र २७ , १०:४० बजे

निर्मलाको हत्यारा कठघरा नजिक !

Image

– मानसखण्ड
महेन्द्रनगर, २७ भदौ । निर्मलाको बलात्कार र हत्याको अभियोग लगाइएका दिलिपसिंह विष्ट हिरासतमुक्त भएका छन् । नेपाल प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालाले विष्टको डिएनए निर्मलाको योनीमा भेटिएको डिएनएसँग नमिलेको प्रतिवेदन दिएपछि उनलाई मंगलबार प्रहरीले जमानतमा रिहा गरेको हो ।

साथै, प्रहरीले सार्वजनिक अपराधको अभियोग लगाएर डिएनए टेस्टका लागि रगत पठाइएका चक्रदेव वडूको डिएनए पनि नमिलेको खबर प्राप्त भएको छ । दिलिप विष्टसँगै बम दिदीबहिनी पनि मंगलबार नै थुनामुक्त भएका छन् ।

रोशनी बमलाई सामान्य जमानत र बबिता मबलाई ३० हजार रुपैयाँ धरौटी लिएर जिल्ला  सरकारी वकिल कार्यालयबाटै थुनामुक्त गरिएको हो । अनुसन्धान डिएनए परीक्षणतर्फ सोझिएको हुनाले बम दिदीबहिनी रिहा भएका हुन् ।

‘बम दिदीबहिनीलाई उनका बुबाको जिम्मा र दिलीपलाई उनका दाजुको जिम्मा लगाएका छौँ,’ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक कृष्णराज ओझाले बताए । बिष्टलाई दोषी ठहर गर्दै सार्वजनिक गरेपछि मानसिक सन्तुलन गुमाएको व्यक्तिलाई दोषी देखाइएको भन्दै आन्दोलन भएको थियो । आन्दोलनका क्रममा १४ वर्षीय सनी खुना सहीद भएका थिए ।

डिएनए म्याच नभएपछि दिलिपसिंह विष्टलाई साधारण तारेखमा छाडिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक कुवेर कडायतले बताए । हत्याको अनुसन्धान भने जारी रहेको उनले बताए ।

सोझियो अनुसन्धान एसपी डिल्लीराज विष्ट र सीआइबी डिएसपी अंगुर जीसीका कारण बल्झिएको अनुसन्धान डिएनए परीक्षणपछि सोझिएको छ । प्रहरीले नै कतिपय प्रमाण मेटाएको अवस्थामा निर्मलाको योनीमा रहेको भजाइनल स्वाब (योनीबाट संकलन गरिने एक किसिमको तरल पदार्थ जसमा बलात्कारीको बीर्य रहन्छ) सुरक्षित रहेको पाइएको छ । प्रयोगशालाले सो स्वाबबाट डिएनएको सिक्वेन्स तयार पार्न पनि सफलता प्राप्त गरेको छ । सो सिक्वेन्स कहिल्यै नष्ट हुँदैन ।

बलात्कारीको डिएनए सिक्वेन्सको पहिचान भइसकेपछि हत्याराको पहिचान पनि नजिकिएको छ । अबको अनुसन्धान शंकास्पद व्यक्तिको डिएनएलाई प्रयोगशालाले तयार पारेको सिक्वेन्ससँग भिडाउनमा केन्द्रीत हुनेछ । यसका लागि प्रहरीको अनुसन्धान टोलीले शंकास्पद व्यक्तिको रगतको नमुना संकलन गर्ने काम सुरु गर्ने अपेक्षा गरिएको छ ।

क–कसको रगतको नमुना लिइन्छ ?
भदौ ५ देखि ७ गतेसम्म चलेको जनताको आन्दोलनका क्रममा ‘बलात्कारी’ भन्दै केही व्यक्तिको नामसहित नारावाजी गरिएको थियो । साथै, सञ्चारमाध्यममा पनि केही व्यक्तिलाई इंगित गरिएको थियो । प्रहरीलेका सामु ती व्यक्तिको रगतका नमुना संकलन गरेर प्रयोगशालामा पठाउनुको विकल्प छैन ।

आन्दोलनका क्रममा जनताले एसपी डिल्ली राज विष्ट र भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टलाई बलात्कारी भन्दै नारबाजी गरेका थिए । कतिपयले उनीहरु नै बलात्कारी भएको सार्वजनिक दावी पनि गरेका थिए । प्रतिष्ठित पोर्टल अनलाइनखबर डट कमले एसपी विष्टका छोरा किरण विष्ट र मेयर सुरेन्द्र विष्टका ‘भतिजा’ हत्याकाण्डमा सामेल भएको समाचार भदौ ८ मा प्रकाशित गरेको थियो । त्यसबाहेक अंगुर जीसी र अनुसन्धानमा खटिएका प्रहरीलाई पनि प्रदर्शनकारीले बलात्कारी आरोप लगाएका थिए ।

आन्दोलनकारीले बलात्कारी भन्दै नारावाजी गरेका बाहेक व्यक्तिको पनि रगतको नमुना जाँच हुने देखिन्छ । किरण विष्ट र आयुस विष्टको बयानबाट अगाडि आएका राजन बुढाऐर सहितका व्यक्तिको समेत डिएनए परीक्षण गरिने सम्भावना रहेको छ ।

अनुसन्धानका लागि बाटो सहज भएपछि प्रहरीले डिएनए परीक्षणबाहेक अनुसन्धानका अरु उपाय अवलम्बन गर्नु नपर्ने देखिएको छ ।

एक दर्जन बर्खास्त हुने सम्भावना
निर्मला हत्याकाण्डको अनुसन्धानमा संलग्न जिल्ला प्रहरी कार्यालय र सीआइबीका कम्तीमा एक दर्जन प्रहरीकर्मी बर्खास्त हुने सम्भावना बढेको छ । उनीहरुलाई हिरासतमा लिएर थप अनुसन्धान गर्न गृहमन्त्रालयले तयारी गरेको स्रोतको भनाई छ ।

मंगलबार गृहमन्त्रालयमा बसेको उच्च
अधिकारीको बैठकको निर्णय सार्वजनिक नभए पनि एसपी विष्ट र डिएसपी अंगुर जीसीसहित उनीहरुमातहतका प्रहरी कारबाहीमा पर्ने निश्चित जस्तै भएको स्रोतको भनाई छ ।

कालो सारीमा तीज मनाइने
निर्मला हत्याकाण्डको विरोधमा सतत रुपमा सक्रिय आमा समूहले बुधबार स्थानीय मदनचोकमा कालो सारी पहिरिएर तीज मनाउने भएका छन् । समूहकी अगुवा हेलेन श्रेष्ठका अनुसार बिहान ११ बजेबाट कालो सारी पहिरिएका आमाहरु मदनचोकमा भेला हुने छन् । उनका अनुसार आमाहरुले वास्तविक अभियुक्त पहिचान गर्न आन्दोलनका क्रममा हत्यारा भन्दै नाम आएका र त्यसपछि सञ्चारमाध्यमले नाम प्रकाशमा ल्याएका व्यक्तिको डिएनए परीक्षण गर्न दवाव दिइने छ । साथै अनुसन्धानमा संलग्न सबै प्रहरीको समेत डिएनए परीक्षणका लागि दवाव सिर्जना गर्ने उद्देश्यले कालो सारीमा तीज मनाउन लागिएको हो ।

फेरि आन्दोलन सुरु हुन सक्ने
डिएनए परीक्षणबाटै निर्मलाको बलात्कारी हत्यारा पत्ता लाग्ने भएपछि महेन्द्रनगरवासीले एसपी विष्ट र अनुसन्धानमा संलग्न सबै प्रहरी तथा सञ्चारमाध्यममा नाम आएका व्यक्तिको डिएनए परीक्षणका लागि दवावमूलक आन्दोलन थाल्ने भित्री तयारी भइरहेको बुझिएको छ । शान्तिपूर्ण रुपमा आन्दोलन गर्न महिला, विद्यार्थी र युवाले ठाउँ–ठाउँमा छलफल थालेका समाचार पनि प्राप्त भएको छ । प्रहरीले तत्काल
रगतका नमुना संकलन नगरे आन्दोलन सतहमैं आउने सम्भावना छ ।


About Author
-मानसखण्ड