५३०५ पटक हेरिएको
प्रकाशित: २०७५ भाद्र २४ , १२:०५ बजे

निर्मला हत्याकाण्ड : प्रधानमन्त्रीलाई झुठो बोलाउने को ?

Image

राष्ट्रियताको पक्षमा सतिसालझै उभिएर नयाँ नेपालको मौलिक सपनाका सूत्राधार केपी शर्मा ओलीको सत्तारोहणपछि मुलुकले अग्रगमनको दिशामा फड्को मार्ने आशा गरिएको थियो । प्रधानमन्त्री ओलीको सतत् संघर्ष र जनताबीच बसेर उहाँले संग्रह गर्नुभएको अपार अनुभवले उहाँ दिग्भ्रमित गर्न खोज्ने तत्वहरुको प्रभावबाट मुक्त हुनुहुनेछ भन्ने ठूलो आशा थियो । पहिलो प्रधानमन्त्रित्वकालमा उहाँले देखाउनुभएको सुझबुझले त्यो आशावाद यथार्थमा परिणत हुन्छ भन्नेमा यो पंक्तिकार समेत विश्वस्त थियो । तर, निर्मला हत्याकाण्डपछिको घटना विकासका क्रममा उहाँको कण्ठबाट निस्केका अनपेक्षित शब्दले आशाका सबै पालुवामा तुसारापात भएको छ ।

गत बुधबार नेपाल टेलिभिजनको ‘जनतासँग प्रधानमन्त्री’ कार्यक्रमको उत्तरार्धमा प्रधानमन्त्री ओलीले निर्मला हत्याकाण्ड सम्बन्धमा बोल्नुभएका केही पंक्तिले सिंगो देशलाई झस्काइदियो । नितान्त मनोगत तथ्यहरु उहाँको कण्ठबाट अभिव्यक्त भए । देशको प्रधानमन्त्रीले राष्ट्रकै अतिसम्वेदशील बनिसकेको मुद्दामा हुँदै नभएका केही घटनाबारे बोलेपछि महेन्द्रनगर र प्रदेश–७ स्तब्ध मात्रै भएनन् यहाँका जनताले अपमानित समेत महसुस गरेका छन् । अपमानको यो अनुभूतिले कतै आक्रोश त कतै क्षुब्धता पैदा गरेको छ ।

निर्मला हत्याकाण्ड मानवताको निधारमा लागेको नयाँ कलंक हो । सुरुदेखि नै यो कलंक मेटाउन प्रयासरत महेन्द्रनगरवासीको एकसूत्रीय माग रहिआयो – निर्मलाको हत्यारा पक्राउ पर्नुपर्छ । प्रहरीको आश्चर्यजनक रवैयाले गर्दा विस्तारै जनाक्रोश बढ्दै गयो । र, केही अपवादबाहेक सिंगो समाज एकजुट भएर प्रहरीको शंकास्पद व्यवहारविरुद्ध उत्रियो । महेन्द्रनगरवासीको यो साहसलाई राष्ट्रले नै सम्मान गरिरहेको छ भन्ने विश्वास त्यतिबेला भ्रममा बदलियो जब देशकै प्रधानमन्त्रीका शब्दले अपमानबोध भयो ।

प्रधानमन्त्रीका कण्ठबाट ती शब्द र वाक्य कसरी निस्किए भन्ने प्रश्नको उत्तर कसैले नदिए पनि जनताले पाइसकेका छन् । महेन्द्रनगर र धनगढीका सडक, गल्ली, चियापसलमा एकथरि मान्छेले धेरै पहिलेदेखि त्यस्तो भन्दै आएका थिए । गृहमन्त्रालयको किचेन क्याबिनेटबाट पनि ती वाक्य बाहिरिएकै हुन् । एसपी डिल्लीराज विष्टको पक्षमा घुँडा धसेर लागेको त्यो जत्था प्रधानमन्त्रीको कण्ठसम्मै पुगेछ । विवेक र दृढताका प्रतिमूर्ति मानिनुभएका केपी ओलीको कण्ठैसम्म पुगेर निर्मलाका लागि न्याय माग गर्दै सुरक्षित र सुशासित समाजको आकांक्षा अभिव्यक्त गरिरहेका महेन्द्रनगरवासीको अपमान हुने शब्द प्रधानमन्त्रीकै ओठबाट फुस्काउन सफल त्यो जत्थामा प्रधानमन्त्री वरिपरीकै केही पाखण्डीहरु मिसिएको अनुमान गर्न गाह्रो छैन ।

हो, प्रारम्भमा निर्मला हत्याकाण्डलाई राजनीतिक रंग दिने कोसिस भएकै हो । त्यो दुष्प्रयासको घनघोर विरोध भएपछि पानी धमिल्याएर माछा मार्न खोज्नेहरु पछाडि हटे र शान्तिपूर्ण आन्दोलन थालियो । तर, प्रहरीले बलात्कारी हत्यारा बचाउने प्रपञ्च गर्दै जाँदा जनमत क्रुद्ध बन्दै गयो । दिलिप विष्टको गिरफ्तारीपछि भने त्यो क्रोध सडकमैं छताछुल्ल भएको हो ।

७ भदौ साँझसम्मको आन्दोलन जनआन्दोलन थियो । त्यसदिन प्रधानमन्त्री स्वयंको पहलमा सीडीओ, एसपी र डिएसपीलाई विभागमा तान्ने र उच्चस्तरीय छानविन समिति गठन गरिएपछि महेन्द्रनगरमा प्रधानमन्त्रीको जयजयकार भएकै हो । हो, ८ भदौमा फेरि पानी धमिल्याएर माछा मार्ने तत्व सक्रिय हुँदा सनी खुनाको ज्यान गएको हो । भडकाउवादीहरुको सर्वत्र विरोध भयो र अन्ततः उनीहरु पछाडि हटे ।

फोहरी खेल खेल्नेका विरुद्ध पनि महेन्द्रनगरवासी एकजुट नै थिए । ५ भदौदेखि ७ गतेसम्मको आन्दोलन जनताको व्यापक सहभागिताको आन्दोलन थियो । त्यसको सम्मान प्रधानमन्त्री स्वयंले गर्नुभएको हो । तर, गत बुधबार प्रधानमन्त्रीको कण्ठबाट आफैले दिएको त्यो सम्मान फिर्ता लैजाने काम भयो ।

निर्मलाको शव भीमदत्तका मेयरको घरमा लगियो, आँगनमा राखियो भन्ने गलत सूचना प्रधानमन्त्रीलाई दिनु र प्रधानमन्त्रीले अर्को स्रोतबाट पुष्टि नगरेरै बोल्नुको सोझो अर्थ छ – त्यो सूचना उहाँका विश्वासपात्रले नै दिएका हुन् । सिंगो घटनाक्रममा मेयरको घरमा तोडफोड अवश्य भएको हो तर शव नै मेयरको घरमा लगिएको होइन । पोष्टमार्टमपछि शवलाई कडा सुरक्षाका साथ अस्पतालमा राखिएको थियो र लगभग कफ्र्यूको वातावरणमा एकाविहानै दाहसंस्कार गरिएको हो । यस्तो भ्रामक सूचना पुर्‍याउनेहरुको घेरामा प्रधानमन्त्री पर्नु दुर्भाग्यबोहक अरु के हुन सक्छ ?

प्रधानमन्त्रीले उच्चस्तरीय छानविन समितिलाई कामै गर्न नदिइएको भन्नुभएको छ तर शुक्रबार छानविन समितिले नै महेन्द्रनगरवासीले छानविनका लागि अत्यन्त अनुकूल वातावरण बनाएको र पूर्ण सहयोग गरेको पत्रकार सम्मेलनमार्फत् सार्वजनिक गर्‍यो । सिंगो महेन्द्रनगरले छानविन समितिलाई सहयोग गरेको हो । जनताले आफूसँग भएका सूचना दिएका छन्, वातावरण नबिग्रियोस् भन्नेमा सचततापूर्वक काम गरेका हुन् । तर, प्रधानमन्त्रीलाई गुमराह गरियो । केपी ओलीजस्तो व्यक्तित्व कसरी यो भ्रमजालमा पर्नुभयो रु ठूलै आश्चर्यको विषय हो ।

बम दिदीबहिनीको बारेमा प्रधानमन्त्रीले खर्चनुभएका शब्द उहाँका आफ्ना होइनन् भन्ने ठोकुवा गर्न सकिन्छ । यहाँको एक जत्थाले बोल्ने गरेका ती शब्द गृहमन्त्रीको निजी सचिवालयबाट गुञ्जनुलाई स्वाभाविक मानिएको थियो तर बालुवाटारबाटै गुञ्जायमान हुनु आश्चर्यजनक हो । ३२ दिनसम्म प्रहरीले बम दिदीबहिनीलाई देख्दै देखेन, जबकी निर्मला अन्तिम पटक उनीहरुकै घरमा जीवित देखिएकी थिइन् । ती दिदीबहिनीलाई अनुसन्धानको घेरामा ल्याउनुपर्छ भन्ने माग जनमानसको थियो । ती दिदीबहिनी नै दोषी हुन् भनेर कसैले दावी गरेको छैन । हो, आन्दोलनका क्रममा भीडले आक्रोशमा उनीहरुमाथि दोष थोपरेको हो ।

जीवन घर्तिमगर, चक्रेदेव वडू र दीपक नेगीको नामसमेत उच्चारण नगरेर प्रधानमन्त्रीले बम दिदीबिहिनीप्रति जुन सहानुभूति देखाउनुभयो त्यसले उहाँलाई भ्रमजालमा पार्नेहरुले भव्य सफलता पाएको बुझ्न गाह्रो छैन । वास्तविक हत्यारासम्म पुग्ने सबै बाटो बन्द गर्ने प्रयासमा लागेकाहरुकै शब्द र शैली प्रधानमन्त्रीका मुखारविन्दबाट प्रष्फुठित भए । यसबाट प्रधानमन्त्रीको सल्लाहकारवृत्त वा किचेन क्याबिनेटमा खतरनाक तत्वहरुको घुसपैठ भएको संकेत प्राप्त भएको छ ।

आफूले भनेजस्तो नभए टीकापुर मञ्चन हुने भनी सामाजिक सञ्जालमार्फत् धम्क्यउने कोसिस भइरहेको प्रधानमन्त्रीको अभिव्यक्ति त झन् निराशापूर्ण छ । कहिंकतै कसैले लेखेको भए त्यसलाई प्रधानमन्त्रीले नै इस्यू बनाउनु शोभनीय हुँदै होइन । केही स्टाटसका स्क्रिन सट देखाएर तिनको सन्दर्भ अपव्याख्या गरिएको प्रष्ट छ । त्यस्तो अपव्याख्याप्रति आँखा चिम्लेर प्रधानमन्त्रीले पत्याउनु पनि गजबकै कुरा हो ।

दुईतिहाईको सरकार छ तर प्रधानमन्त्रीको लोकप्रियताको ग्राफ ओरालो लागिरहेको छ । दूरदराजमा बस्ने पंक्तिकारजस्ता व्यक्तिलाई केपी ओलीजस्तो व्यक्तिको यो ओरालोयात्रा रहस्यको विषय बनिरहेको थियो । भिजन, मिसन र कमिटमेन्ट पर्याप्त छ तर वातावरण किन बनिरहेको छैन भन्ने प्रश्नले घोच्ने गरेको थियो । योग्य र सक्षम व्यक्ति पनि उहाँसँग छन् तर उहाँको रथ किन अगाडि बढ्न सकिरहेको छैन भन्ने जिज्ञासाले पनि सताइरहेको थियो । तर, निर्मला हत्याकाण्डका क्रममा भने ती सबै प्रश्न, पीडा र जिज्ञासाको एकमुष्ठ जवाफ पाइएको छ ।

प्रधानमन्त्रीले टेलिभिजन कार्यकक्रममा निर्मला हत्याकाण्डबारे धाराप्रवाह वर्णन गर्नुभएको छ । यसबाट उहाँले पर्याप्त अध्ययन र तयारी गर्नुभएको प्रष्ट हुन्छ । तथ्यहरु जेजस्ता प्रस्तुत गरिए पनि प्रधानमन्त्रीले निर्मला हत्याकाण्डलाई अत्यन्त गम्भीर घटनाको रुपमा लिनुभएको देखिन्छ । उहाँले संकलन गर्नुभएका जानकारी र अनुभूत गर्नुभएको संवेदनशीलता भने असत्यको जगमा उभिएको छ । यसबाट आफूलाई अपडेट गर्न प्रधानमन्त्रीले जुन च्यानल उपयोग गर्नुभयो त्यो च्यानलले नै उहाँलाई खाल्डोमा जाकिदिएको प्रष्ट हुन्छ । घटनासँग प्रधानमन्त्रीको स्वार्थ जोडिएको छैन तर जसको स्वार्थ जोडिएके छ उसैको भरमा उहाँ पर्नुभएको लुकाएर लुक्दैन ।

निर्मला हत्याकाण्ड जस्तै हरेक प्रकरण, मुद्दा र समस्यामा प्रधानमन्त्रीलाई गुमराह पार्न खोजिएकै हुनाले दुई पाइलटले हाँकेको दुईतिहाईको बोइङले किन सन्तुलन गुमाउँदै छ भन्ने अब प्रष्ट भएको छ । प्रधानमन्त्री जजसबाट घेरिनुभएको छ तीमध्ये केही व्यक्ति दुईतिहाईको जहाजका लागि मुसाको भूमिका गरिरहेका छन् भन्न संकोच मान्नुपर्ने अवस्था अब रहेन । इतिहासकै शक्तिशाली सरकार किन लडखडाएर हिंडिरहेको छ भन्ने बुझ्न पनि अब कठीन छैन । प्रधानमन्त्रीलाई घेरेर बसेको त्यो जत्थाकै कारण विशाल पार्टीको जागरुक कार्यकर्तापंक्ति संगीन अवस्थामा पनि सरकार, पार्टी र प्रधानमन्त्रीको प्रतिरक्षामा उत्रन आनाकानी किन गरिरहेको रहेछ भन्ने प्रश्नको उत्तर पनि व्यक्ति–व्यक्तिले पाइसकेको छ ।

सम्वृद्धिको नारा र आफ्नो प्रधानमन्त्रित्वकाललाई कालजयी बनाउने प्रधानमन्त्रीको अठोट अब अठोटमैं सीमति रहन्छ कि भन्ने चिन्ता पैदा भएको छ । विचौलिया खालका केही अक्षम मान्छेका कारण उहाँ नजिक रहेका इमान्दार, प्रतिवद्ध र समर्पित व्यक्तिहरु पनि फिक्का हुन थालेका जस्तो देखिन्छ । नेपाल टेलिभिजनलाई त्यो अन्तवार्ता दिनुअघि उहाँले प्रेस सहयोगीहरुको राय लिनुभए जस्तो लाग्दैन । निर्मला हत्याकाण्डबारे धारणा बनाउन उहाँले भरपर्दो च्यानल प्रयोग गर्नुभएको पनि देखिएन । सरकारी च्यानल मात्रै प्रयोग गरिएको भए पनि आज देशको प्रधानमन्त्रीका ओठबाट झुटको पोको निस्केको आरोप लाग्ने थिए । सम्वृद्ध प्रजातन्त्रमा भए अहिलेसम्म उहाँले राजिनामा गरिसक्नुपर्ने थियो तर अहिलेसम्म क्षमायाचनाको एक शब्द पनि सुनिएको छैन । ठोकुवा गर्न सकिन्छ – अहिले पनि उहाँ त्यही छलछामी विचौलियावृत्तकै प्रभावमा हुनुहुन्छ ।

जानकारी लिने र धारणा बनाउने व्यवस्थित पद्दतिको विकास गरिएन भने प्रधानमन्त्री ओलीका लागि अबका दिन झन् कठीन हुनेछन् । उहाँ नजिक रहेका योग्य र इमान्दार व्यक्ति ओझेलमा पर्न थालेपछि जागिरे मात्रै हुन थालेका छन् । टपक्क टिपेर धुरीमा पुर्‍याइएकाहरुको चुरीफुरी बढेको बढ्यै छ । प्रधानमन्त्रीकै छविमा आँच पुर्‍याउनेहरुको हालीमुहाली घटेको छैन । यस्तो पाराले सम्वृद्धिका सबै सपना पानीका फोका सावित हुने निश्चित छ ।


About Author
-खेम भण्डारी