६५९४ पटक हेरिएको
प्रकाशित: २०७५ भाद्र १९ , १२:२४ बजे

निर्मला हत्याकाण्ड : महेन्द्रनगरमा गहन अनुसन्धान तर काठमाडौंमा भित्री चलखेल

Image

–मानसखण्ड
महेन्द्रनगर, १९ भदौ । ‘शून्यबाट सुरु’ भनिएको निर्मला हत्याकाण्डको महेन्द्रनगरमा गहन अनुसन्धान चलिरहेको  छ । तर, काठमाडौंमा भने चलखेलको संकेत प्राप्त भएको छ ।

गत साउन १० गते भीमदत्त नगरपालिका–२ उल्टाखामकी निर्मला पन्तको बलात्कारपछिको हत्यामा प्रहरी र सीआइबीले नक्कली अभियुक्त खडा गरी वास्तविक अपराधीलाई उन्मुक्ति दिन लागेको देखिएपछि भदौको पहिलो साता भएको आन्दोलनपछि गठित उच्चस्तरीय छानविन समिति मातहत अनुसन्धान भइरहेको छ । अनुसन्धान कार्यलाई प्रभावकारी बनाउन एसएसपीको नेतृत्वमा आइतबारदेखि सीआइबीको नयाँ टोलीले पनि काम थालेको छ ।

उच्चस्तरीय समितिका संयोजक सहसचिव हरिप्रसाद मैनालीले कञ्चनपुर प्रहरीको सहयोगमा गहन अनुसन्धान भइरहेको बताएका छन् । नागरिक समाजका केही सदस्यसँगको भेटमा उनले अनुसन्धानलाई प्रभावकारी बनाउन स्थानीय वासिन्दाको सहयोग आवश्यक रहेको पनि बताए ।

उच्चस्तरीय समिति आफैले शंकास्पद तथा अन्य व्यक्तिलाई केरकार गर्न सक्ने भएकाले कञ्चनपुर प्रहरीले नै अनुसन्धान अगाडि बढाइरहेको बताइएको छ । मैनालीले उच्चस्तरीय समितिको निर्देशनमा प्रहरीले सन्तोषजनक काम गरिरहेको बताए । आन्दोलन उत्कर्षमा पुगेपछि ७ भदौमा सरकारले कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी, एसपी, डिएसपी र एकजना प्रहरी निरीक्षकलाई केन्द्रमा तानेर उनीहरुको ठाउँमा नयाँ अधिकारी पठाएको थियो ।

अनुसन्धान कुन चरणमा छ र अहिलेसम्म कस्तो सफलता पाइयो भन्ने जानकारी भने दिइएको छैन । स्रोतहरुबाट उपलब्ध जानकारीका अनुसार कञ्चनपुर प्रहरी र उच्च स्तरीय छानविन समितिले गम्भीर रुपमा काम गरिरहेको देखिन्छ ।

एसपी विष्टका छोरा र मेयरका भतिजा निगरानीमा
स्रोतका अनुसार निर्मला हत्याकाण्डसँग जोडिएका सबै नाममाथि अनुसन्धान जारी रहेको छ । प्रहरीले ती सबैलाई पक्राउ गरी सोधपुछ गर्ने क्रम चलिरहे पनि यसबारे आधिकारिक सूचना सार्वजनिक गरिएको छैन ।

८ भदौमा अनलाइन खबर डट कमले एसपी डिल्ली राज विष्ट र भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टका भतिजा हत्याकाण्डमा संलग्न रहेको समाचार प्रकाशित गरेपछि प्रहरीले उनीहरुलाई समेत अनुसन्धानको
दायरामा लिएको स्रोतको भनाई छ ।

एसपी विष्टका छोरा किरण विष्ट र मेयर विष्टका भतिजा आयुस विष्ट प्रहरीको निगरानीमा रहेको बताइएको छ । उनीहरुसँग सोधपुछ भइरहेको प्रहरी स्रोतको भनाई छ ।

प्रहरीले किरण विष्टको जन्मदिन समारोहमा सामेल भनिएका तीन युवाको पहिचान गरी सोधपुछका लागि
निगरानीमा राखेको बताइएको छ । एक युवक र दुई युवतीको नाम खुलेसँगै उनीहरुलाई छुट्टाछुट्टै पक्राउ गरी सोधपुछ गरिएको समेत थाहा भएको छ ।

किरणमाथि गहिरो अनुसन्धान हुँदै
७ भदौ साँझसम्म कसैले पनि आशंका नगरेका किरण विष्ट र मेयर विष्टका ‘भतिजा’ को ८ भदौमा अचानक नाम आएपछि उनीहरुतर्फ सोझिएको अनुसन्धान गहिराईमा पुग्न थालेको प्रहरी स्रोतको दावी छ । १० साउनमा किरणको जन्मदिन परेको र उनले महेन्द्रनगरमैं आफ्नो जन्मदिन मनाएको उनकै हस्ताक्षरमा लिखित भनिएको एक पत्रमा उल्लेख छ । सो पत्र सामाजिक सञ्जालमा भाइरल बनेको छ । १० साउनमैं निर्मलाको बलात्कारपछि हत्या भएको थियो ।

सो पत्रको आधिकारिता बारे पनि प्रहरीले छानविन गरिरहेको बताइएको छ । किरणले आफ्नै घरमा जन्मदिन मनाएको र भोलिपल्ट स्थानीय ओपरा होटलमा फोटोसुट गरेको उनको हस्तलिखित भनिएको सो पत्रमा उल्लेख छ । उनले बम दिदीबहिनी र मेयरका कुनै पनि भतिजालाई आफूले नचिनेको दावी समेत सो पत्रमा उल्लेख गरेका
छन् ।

प्रहरीले पत्र र त्यसको लेखनशैली, उल्लेख गरिएका तथ्य र दावीमा समेत शंका गरिरहेको छ । किरणले पत्रमा आफ्नो नामसमेत उल्लेख गरेका छैनन् । सो पत्र अत्यन्त ध्यान दिएर लेखिएको स्रोतको भनाई छ ।

प्रहरीले किरणको दावीअनुसार जन्मदिन समारोह र होटल ओपेराको फोटोसुट बारेमा अनुसन्धान गरिरहेको छ । उच्चस्तरीय समितिको प्रत्यक्ष निर्देशनमा किरण, बम दिदीबहिनी र मेयरका भतिजाबीचको सम्बन्ध बारे पनि जानकारी संकलन गर्ने काम भइरहेको बताइएको छ ।

एसपी विष्टबारे सूचना संकलन हुँदै
निर्मला हत्याकाण्डको वास्तविकता दवाउन पदाधिकार तथा व्यक्तिगत प्रभावको दुरुपयोग गरेको आरोप लागेका निलम्बित एसपी डिल्लीराज विष्टको पृष्ठभूमि पत्ता लगाउन पनि अनुसन्धान सुरु भएको एक उच्च प्रशासकले बताएका छन् ।

एसपी विष्ट विभिन्न समयमा सरुवा भइगएका दार्चुला, बैतडी, जोगबडा र डोटीमा उनको व्यक्तिगत व्यवहार बारे अनुसन्धान भइरहेको ती प्रशासकले बताए । उनी बारे जानकारी बाहिर ल्याउन विष्टलाई चिन्नेहरुलाई समेत ती प्रशासकले अनुरोध गरेका छन् ।

कञ्चनपुरमा प्रहरी प्रमुख भएर आएपछि एसपी विष्टको कार्यकालमा भएका शिवराज राना र नैनराम सार्कीको हत्या प्रकरण बारे पनि छानविन भइरहेको बताइएको छ । ती दुई प्रकरणमा एसपी विष्टले गरेको शंकास्पद भूमिका बारे छानविन गरी उनीमाथि कारबाहीका लागि प्रमाण संकलन गरिने ती प्रशासकको भनाई छ ।

एसपी विष्टको महिला प्रहरीकर्मीसँगको व्यवहार तथा उनीहरुलाई खटाइने ड्यूटीका बारे पनि प्रश्न गर्न थालिएपछि त्यसबारेमा पनि जानकारी संकलन गर्न लागिएको उच्च स्तरीय समिति स्रोतले बताएको छ ।

केही नयाँ तथ्य फेला परे
अनुसन्धानका क्रममा उच्चस्तरीय समिति र कञ्चनपुर प्रहरीले फेला पारेका केही नयाँ तथ्य दैनिक मानसखण्डको जानकारीमा आएका छन् । अत्यन्त गोप्य राखिएको अनुसन्धानका क्रममा फेला परेका ती तथ्य मानसखण्डलाई अनुसन्धानमा संलग्न स्रोतहरुबाट प्राप्त भएका हुन् । ४ भदौ बिहान प्रहरीले दिलिप विष्टको घरबाट च्यातेर ल्याएको कमिजको टुक्रालाई विधि विज्ञान प्रयोगशालाले अस्वीकार गरिदिएको बताइएको छ । सो टुक्रा घटना भएको धेरैपछि पठाइएको भन्दै प्रयोगशालाले अस्वीकार गरेको अनुमान छ ।

सीआइबी डिएसपी अंगुर जीसीको अनुसन्धानले बबिता बमको नाममा नेपाल टेलिकमका तीनवटा मात्रै सीम रहेको देखाए पनि थप दुई सीम पनि पाइएका छन् । एनसेलका सीमको पनि खोजिरहेको बताइएको छ ।

किरण विष्टले फोटोसुट गरेको भनिएको ओपेरा होटलको सीसी क्यामेराको अभिलेख मेटिएको पाइएको छ । होटल व्यवस्थापनले १५ दिनको मात्रै अभिलेख रहने र बाँकी सबै मेटिने गरी प्रोग्राम गरिएको जानकारी दिएको उच्चस्तरीय समितिका एक सदस्यले बताए । उनले होटलका म्यानेजरले आफ्ना भनाई फेरेको हुँदा त्यसबारेमा अनुसन्धान जारी रहेको बताए । हार्डडिस्क अध्ययन भइरहेको छ ।

किरण विष्टको जन्मदिन बारे पनि अनुसन्धान थालिएको प्रहरी स्रोतको भनाई छ । जन्मदिन समारोहबारे ठाउँ, समय र बोलाइएका सबै व्यक्तिबारे जानकारी लिने काम भइरहे पनि उनको फेसबुक अकाउण्टमा जन्म दिनबारे एउटा मात्रै पोष्ट देखिनु, कुनै पनि फोटो नहुनु र साथीहरुले पठाएका शुभकामना समेत नभेटिनुलाई अनुसन्धानमा संलग्न अधिकारीहरुले आश्चर्यका रुपमा लिएका छन् ।

सीआईबी डिएसपी अंगुर जिसीले रोशनी र बबितालाई औपचारिक रुपमा पक्राउ गरेर सरकारी वकिल कार्यालयमा बयान नलिंदै पोलिग्राफ टेस्ट लिएको पाइएको छ । अभियोग नै नलगाई त्यो परीक्षण गर्न नपाइने भए पनि जीसीले उल्लंघन गरेको पाइएको जानकारी प्राप्त भएको छ ।

बम दिदीबहिनीको ठाडो इन्कारी
हिरासतमा रहेका रोशनी बम र बबिता बमले निर्मला हत्याकाण्डमा आफ्नो संलग्नता बारे ठाडै अस्वीकार गरेका छन् । उनीहरुले निर्मला १० साउनमा आफ्नो घर आएको र करिब २ बजे दिउँसो अम्बा टिपेर फर्केको आफ्नो पुरानो दावी बयानका क्रममा दोह¥याएका बताइएको छ ।

सरकारी वकिल कार्यालयमा बयान सकिएपछि उनीहरुलाई थप अनुसन्धानका लागि पोलिग्राफ टेस्ट गरिने तथा सीआइबीको नयाँ टोलीले पनि सोधपुछ गर्ने तयारी भइरहेको छ ।

काठमाडौंमा दक्ष जनशक्ति र उपकरणको अभाव भएपछि दिलिप विष्टलाई भारतको नयाँ दिल्ली लगिएको छ । उनको मानसिक अवस्थाबारे एकिनसाथ भन्न समय लाग्ने र दक्ष जनशक्ति आवश्यक हुने भन्दै दिल्ली लगिएको बताइएको छ ।

दिलिप विष्टलाई १ भदौ साँझ ७ बजे पक्राउ गरिए पनि ४ गतेका दिन मात्रै म्याद थपका लागि अदालतमा पेश गरिएको थियो । बन्दीगृह र थुनुवाको अनुमगन गर्ने अधिकार प्राप्त गैरसरकारी संस्था एडभोकेसी फोरमलाई गैरकानुनी थुनाबारे सूचना प्राप्त भएकै दिन प्रहरीले हतारमा दिलिपको म्याद थप गरी सार्वजनिक गरिएको थियो । यस प्रकरणमा एडभोकेसी फोरमको समेत संलग्नता रहेको आशंका गरिएको छ ।

दिलिप विष्टले ४ भदौमा जिल्ला न्यायाधीशकै इजालासमा इन्कारी बयान दिए पनि गैरकानुनी थुनामा रहेका बेला डिएसपी अंगुर जीसीले उनको भिडिओ बनाएको आशंका गरिएको छ । भिडिओमा दिलिपले हत्याकाण्ड आफूले गरेको स्वीकारेको र त्यो काण्डको कथा समेत बताएको भन्दै अंगुर जीसीले काठमाडौंमा केही पत्रकारलाई बताएका छन् । तर, दिलिपका दाजु खडकसिंह विष्टका अनुसार दिलिपले उनीसँग आफूले कुनै किसिमको स्वीकारोक्ति नदिएको बताएका छन् ।

काठमाडौंमा भने चलखेल
महेन्द्रनगरमा गहिरो अनुसन्धान चलिरहे पनि काठमाडौंमा भने विभिन्न खालका चलखेल भइरहेको जानकारी प्राप्त भएको छ ।

एसपी विष्टले केही नेता तथा राजनीतिक विचौलियाहरु मार्फत् शक्तिकेन्द्रलाई प्रभाव पार्ने प्रयास गरिरहेका स्रोतहरुको कथन छ । उनले यसबीच गृहमन्त्री रामबहादुर थापालाई समेत भेटेको सूचना पाइएको छ । विशेष गरी तत्कालिन नेकपा माओवादी केन्द्रका केही नेता र केही राजनीतिक विचौलिया एसपी विष्टलाई बचाउन लागिपरेको बाह्रखरी डटकम नामक अनलाइन पोर्टलले जनाएको छ ।

सीआईबी डिएसपी अंगुर जीसी पनि दिलिप विष्ट नै वास्तविक हत्यारा भएको दावीका साथ उच्च प्रहरी अधिकारी तथा पत्रकारहरुलाई भेटिरहेका छन् । प्राप्त जानकारी अनुसार उनले दिलिप विष्टले दिएको साविती बयानको भिडिओ आफूसँग रहेको पत्रकारलाई बताइरहेका छन् । तर उनले त्यो भिडिओ कहिले खिचिएको र किन त्यो मिसिलमा संलग्न नगरिएको भन्ने प्रश्नको भने उत्तर नदिएको एक पत्रकारले बताएका छन् ।

प्रहरी प्रधान कार्यालयको एक लबीले एसपी विष्ट र अंगुर जीसीलाई बचाउनका लागि दिलिप विष्ट नै वास्तविक अपराधी भएको निक्र्योलमा पुग्ने उपाय खोजिरहेको काडमाडौंमा क्रियाशील सुरक्षा सम्बन्धी एक सम्वाददाताले मानसखण्डलाई बताएका छन् । त्यो लबीले गृहमन्त्रालयलाई समेत प्रभावित गर्न खोजेको आफूले अनुभव गरिरहेको ती पत्रकारको भनाई छ ।

तर, प्रधानमन्त्री केपी ओलीले निर्मला हत्याकाण्डलाई अत्यन्त गम्भीर रुपमा लिएका हुनाले चलखेल गर्नेहरुलाई समेत कठिनाई भइरहेको ती पत्रकारको आकलन छ ।

प्रधानमन्त्रीको सोझो हस्तक्षेप
निर्मला हत्याकाण्डमा गृहमन्त्रालयको व्यवहारबाट असन्तुष्ट प्रधानमन्त्री केपी शर्मा ओलीले सोझै हस्तक्षेप थालेका छन् । उनले गृहमन्त्री रामशहादुर थापालाई सोझै निर्देशन दिएर पठाएको एसएसबीको टोलीले आइतबार बिहानैबाटै काम सुरु गरेको छ । सो टोलीले सोझै प्रधानमन्त्रीलाई रिपोर्टिङ गर्ने प्रधानमन्त्रीका एक सल्लाहकारले बताएका छन् ।

निर्मला पन्तको हत्याको घटनामा चलखेल हुन नपाओस् भन्नका लागि प्रधानमन्त्रीले सो टोली पठाएर आफैले अनुसन्धान प्रक्रिया तथा वास्तविकता बारे अवगत हुन चाहेको ती सल्लाहकारको भनाई छ । प्रधानमन्त्रीको निर्देशनमा गृह मन्त्रालयले पठाएको सिआइबीका प्रहरी बरिष्ठ उपरिक्षक ठाकुर प्रसाद ज्ञवाली नेतृत्वको टोलीले अनुसन्धान थालेको हो ।

शुक्रबार बालिका निर्मला पन्तका सहपाठीले प्रधानमन्त्रीलाई सम्बोधन गदै भावुक पत्र पठाएका थिए । प्रधानमन्त्रीलाई सम्बोधन गरिएको पत्रमा लेखिएको थियो ,‘हाम्री साथी निर्मलाका हत्यारालाई कहिले कारबाही हुन्छ’ ? भन्ने प्रश्न सहितको चिट्ठी प्रधानमन्त्रीले पढेपछि तुरुन्तै गृहमन्त्रीलाई बोलाएर प्रहरी उच्च अधिकृत नेतृत्वको सिआइबी टोली अनुसन्धानका लागि खटाईएको हो ।

एसपी डिएसपीसहित १२ प्रहरीलाई हिरासतमा लिन दवाव
गृहमन्त्रालयमाथि एसपी डिल्लीराज विष्ट, डिएसपी ज्ञानबहादुर सेटीलगायत सीआइबी डिएसपी अंगुर जीसी र अनुसन्धान प्रक्रियामा खटिएका अन्य प्रहशरी अधिकृतसहित १२ जनालाई हिरासतमा राखेर अनुसन्धान गर्नुपर्ने दवाव बढ्न थालेको छ । स्रोतका अनुसार जिल्ला प्रशासन कार्यालय र उच्च स्तरीय समितिका केही सदस्यले यस्तो दवाव दिइरहेका छन् । गृहमन्त्री रामबहादुर बादलले प्रहरी महानिरीक्षकलाई अनुसन्धानमा कुनै त्रुटि रहन निर्देशन दिए पनि प्रमुख जिल्ला अधिकारी र अन्य अधिकारीहरुको सुझाव ग्रहण नभइरहेको बुझिएको छ ।


About Author
-मानसखण्ड