३३९४ पटक हेरिएको
प्रकाशित: २०७५ भाद्र १३ , ०९:२७ बजे

निर्मला हत्याकाण्ड : छुटेका केही कुरा

Image

- खेम भण्डारी
मैले मंगलबार लेखेको ‘निर्मला हत्याकाण्डका नखुलेका पाटा’ शीर्षकको लेखमा केही महत्वपूण कुरा छुटेका हुनाले लेखलाई निरन्तरता दिएको हुँ । आमपाठकको बुझाई निखार्नु तथा उच्चस्तरीय अनुसन्धान टोलीलाई सहयोग पुर्‍याउनु मात्रै यो लेखको उद्देश्य हो । यो लेखमा मात्रै होइन एक महिनाभन्दा लामो अवधिमा मेरा लेख, मेरो सम्पादकीय दायित्व रहेका समाचार र मेरा फेसबुक स्टाटसमा कहिंकतै एसपी विष्ट वा अन्य व्यक्तिको निजी र पारिवारिक जीवनलाई कहिंकतै छोइएको छैन ।

हो, जिम्मेवार व्यक्तिको चरित्र घटनाको महत्वपूर्ण पाटो भए पनि यो अधिकार हामीसँग नभएकोले मैले त्यसलाई सार्वजनिक गर्ने कुरै भएन । अनुसन्धानकर्ताहरुका लागि भने व्यक्तिको निजी चरित्र महत्वपूर्ण हुन्छ । त्यसैले, निर्मला हत्याकाण्डका सम्भावित–आशंकित अभियुक्त र प्रहरीका सम्बन्धित अधिकारी–अधिकृतहरुको पृष्ठभूमि र चरित्रको अध्ययन गर्न पनि म उच्चस्तरीय समितिलाई आग्रह गर्दछु । यो पाटो अनुसन्धान टोलीले छुटाउनै हुँदैन । हत्याकाण्डको अनुसन्धानको दायरामा आएका र आउने सबैको यो पक्ष हेरियो भने वास्तविक अपराधीसम्म पुग्न सजिलो हुनेछ ।

नैनराम सार्की कनेक्सन
नैनराम सार्कीको हत्याको आरोप टाउकोमा बोक्ने कालु विकलाई पनि निर्मला हत्याकमाण्डको पृष्ठभूमि बुझ्न सोधपुछको दायरामा ल्याए तस्वीर प्रष्ट गर्न सहयोग मिल्ने छ । नैनराम हत्या प्रकरण बंग्याउन र दवाउने सूत्रका रुपमा काम गरेका केही प्रहरी अधिकृतहरु निर्मला हत्याकाण्डमा पनि महत्वपूर्ण भूमिकामा रहे । नैनरामको हत्या गड्डाचौकी इलाका प्रहरी कार्यालयको क्षेत्रमा भएको थियो । त्यो इप्रकाका सईलाई पछि निर्मला हत्याकाण्डको अनुसन्धानमा खटिएको सीआइबीको सहयोगी बनाएर ल्याइयो । गड्डाजस्तो महत्वपूर्ण इप्रका इन्चार्जलाई किन अस्थायी रुपमा यो काममा खटाइयो भन्ने प्रश्नको उत्तर खोज्न जरुरी छ ।

अर्कोतिर फसाउन खोजिएका चक्रदेव वडूविरुद्ध जिल्ला प्रशासन कार्यालयमा सार्वजनिक अपराधको मुद्दा चलाउँदा प्रहरीले नै जाहेरी दिएको थियो । प्रहरी जाहेरीमा वडा नं. ११ बस्ने सार्की थरका केही व्यक्तिलाई साक्षी राखेको सूचना प्राप्त भएको छ । ती साक्षीहरु नैनराम काण्डमा पीडित पक्षले आरोपित गरेका व्यक्ति त होइनन् भन्ने पनि जाँच्नु जरुरी छ ।

सीआइबीको टोली घटनाको तेस्रोे दिन नै महेन्द्रनगर आएको थियो । टोलीलाई सहयोग गर्न गड्डाकै इन्चार्ज किन आवश्यक परे भन्ने प्रश्नको उत्तर पाइयो भने अनुसन्धान टोलीलाई अगाडि बढ्न धेरै सजिलो हुने छ । निम्बुखेडा बस्ने चक्रदेवविरुद्धको जाहेरीमा भुजेलाका साक्षी किन राखियो भन्ने प्रश्न पनि कम महत्वपूर्ण छैन ।

अम्बाको रुखको रहस्य
निर्मला अन्तिम पटक ज्यूँदै देखिएको भगतपुरस्थित बम परिवारको घरको अम्बाको रुख काटिएको मात्रै होइन जडखोदान नै भएको बताइएको छ । मैले भने त्यो घरको कम्पाउण्डभित्र खुट्टा राखेको छैन । लटरम्म फलेको सिजनको अम्बामाथि किन रिस पोखियो भन्ने बुझ्न साह्रै कठीन छ । यो बुझ्न हिरासतमा रहेका बम दिदीबहिनीका बाबुआमालाई समेत पोलिग्राफ आवश्यक छ ।

निर्मलाले बोकेको भनिएको अम्बाको पोलिथिन (जुन शव पाइएको ठाउँ नजिक पाइएको थियो) र बम परिवारको घरको अम्बाको जात मिल्थ्यो कि मिल्दैन थियो भन्ने थाहा पाउन अब सम्भाव छैन किनभने बम परिवारको आँगनको अम्बाको रुखको अब सुकेको हाँगा पनि पाउन कठीन छ । निर्मलाको शव पाइएको ६ दिनपछि अम्बाको रुख काटिनुले उब्जाएको प्रश्नको चित्तबुझ्दो उत्तर महेन्द्रनगरवासीले पर्खिरहेका छन् ।

दिलिप विष्टको बारेमा
दिलिप विष्ट मानसिक सन्तुलन गुमाएका भनेर सबैले चिनेका व्यक्ति हुन् । उनी मानसिक समस्या भएका व्यक्ति हुन् कि होइनन् भन्ने अबको मेडिकल अनुसन्धानले बताउने छ । तर, यस प्रकरणमा उनको परिवार र नजिकका मान्छेले केही लुकाएको आभाष भएको छ । विशेष गरी दिलिप खैरभट्टीको बाटो मात्रै हिंड्थे, शव पाइएको स्थलको बाटो कहिल्यै हिंडदैन थिए भन्ने दावी अर्धसत्य रहेको देखिएको छ ।

कञ्चनपुर कारागारमा करिब १० वर्ष विताएका दिलिप प्रायःजसो कारागार जान्थे । राम्रो व्यवहारका कारण गत वर्ष जेठमा मात्रै जेलमुक्त भएका उनका साथीहरु अझै कारागारमा छन् । उनलाई कारागारभित्र आउन जान सजिलो थियो । त्यहाँ उनी कैदीबन्दी साथीभाई र चिनेका प्रहरीलाई भेट्थे । दिलिपलाई त्यहाँ सबैले माया गर्थे र केही न केही दिन्थे । त्यसैले उनी कारागारमा प्रायः जान्थे ।

बेलुकातिर कारागार गएर फर्कँदा उनी भाँसी नहर हुँदै भगतपुरस्थित बम दिदीबहिनीको घर अगाडिको बागफाँटा जाने बाटो निस्केर निर्मलाको शव पाइएको स्थान हुँदै घर जान्थे । कुकुरसँग असाध्य डराउने हुँदा उनको हातमा सधैं लट्ठी हुने गथ्र्यो । भदौ १ गते प्रहरीले उनलाई त्यही बाटो हुँदै गइरहेका बेला शव पाइएको स्थलभन्दा करिब डेढ किलोमिटर टाढा खोल्टी स्कूलनजिक समातेको हो ।

तर उनी प्रायः साँझ नै घर फर्कन्थे । दिउँसो २–३ बजे घर फर्केको उनका परिवार र छरछिमेकलाई समझना छैन । प्रहरीको पछिल्लो भनाई अनुसार निर्मला करिब २ बजे बम परिवारको घरबाट निकस्केकी थिइन् ।

दिलिप त्यो बाटो कहिल्यै नहिंड्ने परिवारजनको दावी गलत हो । यसको अर्थ दिलिपले नै निर्मलाको बलात्कार र हत्या गरेको भन्ने हुँदैन । दिलिप अत्यन्त कमजोर शारिरीक अवस्थामा थिए । उनीसँग १३ वर्षकी किशोरीलाई कब्जामा लिएर दिउँसै व्यस्त सडकछेउ बलात्कार गर्ने र हत्या गर्ने शारिरीक शक्ति भने थिएन । हो, दिलिप खानेकुरा वा पैसाको लागि अरुको सानोतिनो काम गरिदिन्थे । निर्मलाको शव व्यवस्थापनमा कसैले उनको सहयोग लिएको अनुमान गर्न सकिन्छ । तर, अब त्यो अनुमान पनि गलत ठहरिने छ ।

किनभने, दिलिप अस्थिर मनस्थितिका व्यक्ति हुन् । भदौ १ मा प्रहरीले कब्जामा लिएर चर्को यातना दिएपछि उनलाई भदौ ४ मा जिल्ला अदालतमा म्यादका लागि हाजिर गरिएको थियो । अदालतमा न्यायाधीश सामु उनले आफूलाई त्यो घटनाबारे केही थाहा नभएको बताएका थिए । न्यायाधीशले उनलाई पेश गर्ने इन्स्पेक्टरलाई समेत कडा शब्दमा चेतावनी दिएका थिए ।

कदाचित दिलिप निर्मलाको शव व्यवस्थापन गर्ने काममा सहयोगी बनेका भए अहिलेसम्म कसले उनलाई त्यो काममा लगाएको हो भनिसक्थे । दैनिक उनलाई भेटिरहेका उनका दाजु र वुवाका अनुसार दिलिपले आफूलाई घटनाबारे केही थाहा नपाएको बताइरहेका छन् ।

फेरि पनि दिलिप..
निर्मलाको बलात्कार र हत्याको घटना भएपछि महेन्द्रनगरमा शव पाइएको स्थल वरपर एक पागलजस्तो मान्छे नांगै देखिने गरेको हल्ला चलेको थियो । महिला देख्नेवित्तिकै उसले आफ्नो तल्लो शरीरका लुगा फुकाल्ने गरेको पनि हल्ला चल्यो । यही हल्लाका बीच हत्याकाण्डमा दिलिप पनि हुन सक्ने आशंकायुक्त हल्ला पनि फैलिएको हो । उनको पृष्ठभूमि बुझेका व्यक्तिले ‘हुनसक्छ’ भन्ने प्रतिक्रिया पनि दिएका थिए ।

हल्ला चलिरहँदा प्रहरीले दिलिपलाई नियन्त्रणमा पनि लिएको थियो । अभिलेखमा नदेखाइएका करिब ७० अन्य व्यक्तिझै दिलिपलाई पनि प्रहरीले केही घण्टा हिरासतमा राखेर केरकार गरी छोडेको थियो ।

दिलिप मानसिक रुपमा स्वस्थ नदेखिएको करिब १५ वर्ष वितिसकेको छ । उनको गाउँ र गाउँलेहरुका अनुसार उनी पाइन्ट खुस्केको पनि थाहा पाउँदैन थिए । महिलाहरुबाट टाढा रहने उनले अहिलेसम्म कुनै पनि महिलालाई कुनै किसिमको दुव्र्यवहार नगरेको गाउँलेहरुको कथन छ । बिहान सबेरै बजार आउने उनी बेलुका भने सधैं घर फर्कन्थे । उनको घर महेन्द्रनगर बजारबाट करिब ६ किलोमिटर दक्षिणमा पर्छ ।

दिलिपकै वरिपरी...
आपराधिक पृष्ठभूमि भएका तर व्यवहार राम्रो भएकै कारण महेन्द्रनगरवासीले निर्मला हत्याकाण्डमा दिलिपको हात नभएको विश्वास गरेका हुन् । शारिरीक अवस्थाका कारण पनि उनी एक्लैले १३ वर्षिया किशोरीको बलात्कार र त्यसपछि हत्या गर्न नसक्ने आमबुझाई बनेको हो । यो आमबुझाई सत्य नजिक छ । दिलिप योजना बनाएर निर्मलाको बलात्कार र हत्या गरी शव व्यवस्थापन गर्न सक्ने व्यक्ति नभएको प्रष्ट छ ।

तर, एसपी विष्ट र सीआइबीको टोलीले कसरी उनलाई प्रमुख अभियुक्तका रुपमा प्रस्तुत गर्न सक्यो भन्ने प्रश्न यहाँनिर महत्वपूर्ण छ । यसका लागि प्रहरीले अहिलेसम्म लुकाइराखेका केही तथ्यमा ध्यान दिनुपर्छ ।

प्रहरीले शव पाइएको स्थलको मुचुल्का, शवको प्रकृति मुचुल्कामा कसकसले दस्तखत गरेका छन् भन्ने दैनिक मानसखण्डको लगातारको अनुसनधानबाट खुल्न सकेको छैन । यो विषय प्रहरीले अत्यन्त गोप्य राखेको छ । हामीले पटक–पटक प्रयास गर्दा पनि ती दुई मुचुल्काबारे जानकारी दिइएको छैन ।

निर्मलाको पोष्टमार्टम रिपोर्ट पनि गुप्त राखिएको छ । अनुसन्धान जारी रहेको भन्दै अहिलेसम्म त्यो रिपोर्ट गुप्त छ । पोष्टमार्टमका क्रममा निर्मलाको शरीरबाट कुनकुन अंगका नमुना र उनको शरीरमा पाइएको के के विधिविज्ञान प्रयोगशालामा पठाइए भन्ने पनि खुलेको छैन । विधिविज्ञान प्रयोगशालामा निर्मलाको योनीमा पाइएको बीर्य जस्ता डीएनए प्रमाणित हुने तत्व नपठाइएको आशंका सत्य पनि सावित हुने सम्भावना पनि छ । भदौ ४ गते प्रहरीले शव पाइएको स्थलमा कण्डमको खोल देखाएर बीर्य पठाउन नसकिएको कारण प्रस्तुत गर्न खोजिएको आभाष भएको छ । अपराधीले प्रयोग गरिएको कण्डम आफैसँग लगेर गएकाले योनीमा वीर्य नभेटिएको तर्क अगाडि सारियो भने आश्चर्य नमाने हुन्छ ।

विधि विज्ञान प्रयोगशालामा केही पठाइएको छ भने पनि त्यो पोष्टमार्टम भएलगत्तै पठाइएकोमा शंका छ । शव पाइउको २६ दिनपछि प्रहरीले भदौ ४ गते दिउँसो पनि शव पाइएको स्थानबाट प्रमाण संकलन गरिएको थियो । मृतक निर्मला पन्तका बाबुको रहोबरमा प्रहरीले फाटेको कमिजको खल्ती र कण्डमको प्याकेट बरामद गरेपछि फरेन्सिक महत्वका प्रमाण संलन र विधि विज्ञान प्रयोगशालामा पठाउने क्रम जारी थियो भन्ने बुझिन्छ । अनुसन्धान प्रक्रियामा यो तरिका बेठीक मानिन्छ ।

अंगुर जीसी र म
चक्रदेव वडू पक्राउ परेपछि एक दिन म घटनास्थल गएको बेला घटनास्थलमैं सीआइबी टोली पनि भेटियो । सीआइबी टोलीको लागि खटिएका सई डिकरदेव पन्तले मेरो परिचय डिएसपी अंगुर जीसीसित गराए । मैले जीसीसँग करिब पाँच मिनेट कुरा गरेको थिएँ । कुराकानीमा उनले निर्मलाको हत्या अन्तै भएको र उखुबारीमा ल्याएर शव ठेगान लगाएको बताएका थिए । त्यो कुराकानी सीआइबी टिमका अन्य सदस्य, सई पन्त र मसँग गएका एकजना कविले पनि सुनेका थिए । कुकुर परिचालन गर्न सक्ने अवस्था नरहेको बताउँदै उनले कुकुर मात्रै चलेको भए हत्यारा तुरुन्त पत्ता लाग्ने बताएका थिए । साउन १० गते पानी परेको, उखुबारीमा पानी भरिएको र खोला तारेर शव ठेगान लगाइएकोले कुकुर नचलेको उनको दावीमा सत्यता लागेको थियो । मैले तपाईहरुसँग ल्याब्राडोर छैन भनेर सोधेको पनि थिएँ । तर, उनले त्यो कुकुरका लागि पनि वातावरण नभएको बताए ।

पछि जीसी नै निर्मलाको हत्या त्यही भएको ठहरमा पुगे भन्ने सुनेर म आश्चर्यचकित भएको थिएँ । उनले त्यो भने भनेनन् थाहा भएन तर उनले निर्मलाका बाबुलाई दिलिप विरुद्ध किटानी जाहेरीका लागि दवाव दिंदा भने भनेका रहेछन् । एसपी विष्टको पत्रकार सम्मेलनमा उपस्थित उनले टाउको हल्लाएर समर्थन पनि गरेका हुन् ।

छानविन समितिलाई चुनौती
भीषण आन्दोलनका कारण मात्रै राज्यको ध्यान तानिएको यो घटनाको छानविन गर्न आएका उच्चस्तरीय समितिका अधिकारीहरुका सामु गम्भीर चुनौती उपस्थित भएको छ । समिति अनुसन्धानमा असफल हुनेवित्तिकै देशमैं नयाँ तरंग आउने र त्यसले प्रधानमन्त्री केपी ओलीलाई नै संकटमा पारिदिने खतरा उत्पन्न भएको छ । यस्तो अवस्थामा छानविन समिति निष्कर्षमा पुग्नु जरुरी छ । तर, एसपी विष्ट र सीआइबी डिएसपी अंगुर जीसीले विधि विज्ञान प्रयोशालामा नमुना पठाउँदा असंगति गरे नगरेको एकिन नगरी समितिले निष्कर्ष दिएमा अवस्था भयावह हुन सक्छ ।

निष्कर्षमा पुग्नका लागि छानविन समितिले छलकपट वा आधारहिन कथा सुनाउन पनि सम्भव छैन किनभने निर्मला हत्याकाण्डले अन्तर्राष्ट्रिय ध्यानाकर्षण गरेको छ । र, यस विषयमा दैनिक मानसखण्डले गहिरो दृष्टि राखेको छ ।

कञ्चनपुर प्रहरी र सीआइबीले पोष्टमार्टम, स्थलगत प्रमाणहरु साउन १५ पछाडि विधिविज्ञान प्रयोगशालामा पठाएको रहेछ र त्यसैका आधारमा छानविन समितिले निष्कर्ष दिने दुष्प्रयास गर्‍यो भने स्वीकार्य हुने सम्भावना कम छ । बलात्कारको घटनामा बीर्य नै नपाइएको भनियो वा पहिलो पटक दिलिप पक्राउ हुँदा बीर्य निकालिएको रहेछ भने पनि पत्याउन कठीन हुने छ । निर्मलाको योनीमा पाइएको बीर्य रित पुर्‍याएर सुरक्षित तरिकाले तत्काल विधि विज्ञान प्रयोगशालामा पठाइएको प्रमाणित भए आशंका गरिएकाहरुको रगतबाटै डीएनए भिडान भए पनि स्वीकार्य हुनसक्छ । तर, नमुना संकलन, सुरक्षा र तिनलाई पठाउने विधिमा कुनै छेडखानी भएको पाइए अर्को आशंका बलियो हुने छ ।

 


About Author
-खेम भण्डारी