४७८३ पटक हेरिएको
प्रकाशित: २०७५ भाद्र ११ , १०:१९ बजे

टीकापुर दोहर्‍याउन खोज्ने त्यो एम्बुलेन्स !

Image

–मानसखण्ड
महेन्द्रनगर, ११ भदौ । शुक्रबार महेन्द्रनगरमा गोली चलेपछि एक अनौठो घटना भएको खुलेको छ । सुरक्षा निकायले यसलाई टीकापुर घटना दोहर्‍याउने प्रयासका रुपमा पनि अथ्र्याएको छ ।

एक क्रुद्ध आन्दोलनकारीले महाकाली अञ्चल अस्पतालमा बिरामी पुर्‍याएर झलारी फर्कदै गरेको एम्बुलेन्स कब्जा गरी तीब्र गतिमा फरार भइरहेका बेला सुरक्षाकर्मीहरुले रोक्न नसकेको भएको ठूलो दुर्घटना हुने अनुमान पनि गरिएको छ । सुरक्षाकर्मीले एम्बुलेन्स तोडफोड गरेको समाचार आएको भए पनि किन एम्बुलेन्स अपहरण गरियो र अपहरण गर्ने युवक र अपहरणको उद्देश्यबारे भने खासै चर्चा भएन ।

एक क्रुद्ध आन्दोलनकारीले झलारीस्थित सुनावरा कृषि सहकारी संस्थाबाट सञ्चालित म १ च ४४६ नम्बरको एम्बुलेन्स अस्पतालबाट कब्जामा लिएर तीब्र गतिमा कुदाउँदै मदनचोकतर्फ आइरहेको बेला बीचैमा सुरक्षाकर्मीले त्यसलाई रोक्न सफलता पाएका थिए । सुरक्षाकर्मीले मेनरोडस्थित हुलाक कार्यालय नजिकै एम्बुलेन्स नियन्त्रण गर्न बल प्रयोग गरेका थिए । कब्जामा लिने युवक भने भाग्न सफल भएको बताइएको छ ।

शुक्रबारको आन्दोलनमा सार्वजनिक यातायातका मजदूरको उल्लेख्य सहभागिता थियो । एम्बुलेन्स कब्जामा लिने युवक पनि तीमध्ये एक भएको अनुमान गरिएको छ ।

मदनचोकमा ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ थिए । एम्बुलेन्स अपहरण गरी तीब्र गतिमा ठूलो संख्यामा प्रहरी रहेको स्थानतर्फ आइरहेको खबर पाइएपछि नियन्त्रणमा लिन बल प्रयोग गरिएको एक सुरक्षा अधिकारीले बताएका छन् । सो एम्बलेन्स प्रहरीको डफ्फासँग जोतेर रक्तपात गर्ने आशंका गरिएको सुरक्षा स्रोतको कथन छ । सुरक्षा स्रोतको कथन अनुसार अपहरणकारीले सुरक्षाकर्मी रहेको मदनचोकमा जथाभावी एम्बुलेन्स जोतेको भए दर्जनौ सुरक्षाकर्मी हताहत हुन सक्ने अवस्था थियो ।

लोकान्तर डट कमका सम्वादाता लखन चौधरी आफूले पनि त्यस्तै महसुस गरेको बताएका छन् । उनले यो घटनाको समाचार सो अनलाइनमा तुरुन्त प्रकाशन गरेका थिए ।

एम्बुलेन्स चालक यस्तो भन्छन्
एम्बुलेन्सका चालक विनोद प्रकाश रोस्याराले मानसखण्डसँग यस्तो कथा सुनाएका छन्  :

अस्पतालमा बिरामी पुर्‍याएर झलारी फर्कनै लागेको थिएँ । कसैले ‘एकजना घाइते बाहिर लग्नु पर्‍यो एम्बुलेन्स त्यो एम्बुलेन्स यता ल्याउनुस’ भन्दै आवाज दियो । त्यहा एकत्रित भीड पनि करायो । मैले एम्बुलेन्स ब्याक गरेर इमर्जेन्सीको ढोकैमा लगें । त्यत्तिकैमा कोही कराया –‘यो त मरिसक्या एम्बलेन्सको काम छैन ।’ एकजना अपरिचित आएर मलाई चावी दे साइड गर्छु भन्यो । मैले म आफै गरिहाल्छु भनेँ । उसले मानेन । मारिदिने धम्की दिंदै उसले मबाट चावी खोस्यो र मलाई बाहिर हुत्यायो । चालक सीटमा बसेर उसले एम्बलेन्स अगाडि बढायो तर म डोकामा भुण्डिएँ । मलाई उसले लात्ताले हानेर फाल्यो र एम्बुलेन्स कुदायो । म पछिपछि गएँ । एम्बुलेन्स तीब्र गतिमा कुदाएको थियो उसले । तर पनि म कराउँदै पछाडि–पछाडि कुदेँ । म हुलाक अगाडि पुग्दा सुरक्षाकर्मीले एम्बुलेन्स तोडफोड गरिसकेका थिए ।

त्यो युवकलाई म चिन्दिनँ तर देखे चिन्छु । उ अत्यन्त क्रुद्ध थियो । उसको क्रोध देखेर म डराएको थिएँ । उसले चोरी गर्नैका लागि एम्बुलेन्स अपहरण गरेको मलाई लाग्दैन । तर, किन उसले त्यस्तो गर्‍यो त्यो पनि म भन्न सक्दैन ।

 


About Author
-मानसखण्ड