२३८२ पटक हेरिएको
प्रकाशित: २०७५ भाद्र ११ , १०:१३ बजे

यस कारण फेरि भड्किन सक्छ आन्दोलन !

Image

- मदन गिरी
महेन्द्रनगर, ११ भदौ । निर्मला हत्याकाण्डविरुद्ध भएको आन्दोलनका माग पूरा भए पनि हिंसा भड्काउने तत्व सक्रिय रहँदा महेन्द्रनगरमा लगाइएको कफ्र्यू सोमबार मध्यान्हपछि जारी रहने छ । हिंसा भड्काएर अनुसन्धान प्रभावित गराउन संगठित समूह नै लागेको अनुमान गर्दै प्रशासनले अझै पनि कफ्र्यू उठाएको छैन । सोमबार विहान ५ बजेपछि फुकुवा हुने कफ्र्यु १२ बजेपछि फेरि लागू हुने छ ।

आईतबार १० बजेबाट अनिश्चत कालिन रुपमा लगाएको कफ्र्यू स्थानीय प्रशासनले साझ ६ बजे चार घण्टाका लागि मात्रै फुकुवा गरेको थियो ।

अनुसन्धान जारी
 निर्मला हत्याकाण्डको अनुसन्धान ‘शून्य’बाट सुरु गरेको प्रहरीले अहिलेसम्म भीमदत्त नगरपालिका वडा नं. १८ भगतपुर बस्ने राशनी बम र बबिता बमबाहेक अरु कसैलाई नियन्त्रणमा लिएको पुष्टि गरेको छैन । ती दुई दिदीबहिनीसँग सोधपुछ गर्ने काम भइरहेको जिल्ला प्रहरी कार्यालयले बताएको छ ।
आफूलाई नेपालकै एक नम्बर दावी गर्ने एक समाचार पोर्टलले निर्मलाको बलात्कार र हत्यामा दुई युवकको संलग्नता रहेको खबर प्रकाशित गरेपछि नाम चर्चामा आएका ती युवकलाई पक्राउ नगरिएको जिल्लाका प्रहरी प्रमुख एसी कुबेर कडायतले बताएका छन् ।

कञ्चनपुर प्रहरीले गृहमन्त्रालयद्वारा गठित उच्चस्तरीय छानविन समितिलाई सहयोग गरिरहेको छ । समिति गठन भइसकेपछि पनि आन्दोलन भडकिंदा कफ्र्यू लगाउनुपर्ने अवस्था बनेकोले छानविन समितिको म्याद केही दिन थपिने देखिएको छ ।

अनुसन्धान चलिरहेको हुँदा घटना बारेमा अहिले नै प्रष्ट तस्विर आइसकेको छैन । गृहमन्त्रालयले एसपी डिल्लीराज विष्टलाई निलम्बित गरेपछि घटनामा उनको ठूलै स्वार्थ रहेको दैनिक मानसखण्डको दावीलाई बल प्राप्त भएको छ । साथै, डीएसपी ज्ञानबहादुर सेटीलगायत एसपी विष्टको नेतृत्वमा रहेका सबै अधिकृतविरुद्ध समेत कारबाही थालिएको बताइएको छ ।

किन आयो यस्तो अवस्था ?
१३ वर्षिया निर्मला पन्तको बलात्कारीपछि हत्या भएको भोलिपल्ट अर्थात् साउन ११ देखि नै सुरु भएको आन्दोलन अन्ततः रक्तरञ्जित हुन पुगेको छ । आन्दोलनका क्रममा सयौं घाइते, केही गम्भीर घाइते र एकजना शहीद बनेका छन् ।

आन्दोलन सुरुका केही दिन उग्र रह्यो । बलात्कार र हत्याको घटनालाई राजनीतिकरण गरियो । प्रहरी र प्रशासनलाई राहत दिंदै आन्दोलन भीमदत्त नगरपालिका केन्द्रीत गरियो । निर्मलाको लासमाथि राजनीति गर्ने आरोप बढ्न थालेपछि आन्दोलनकारी पछाडि हटे र आन्दोलन नै लगभग हराएको अवस्थामा पुग्यो ।

तर केही महिला अधिकारकर्मी र नागरिक समाज सम्बन्धित केही संस्थाले धर्नाका रुपमा आन्दोलन जारी राखे । मानसिक सन्तुलन गुमाएका दिलिप विष्टको गिरफ्तारीपछि भदौ ५ गतेदेखि भने सिंगो सहर क्रुद्ध बन्यो । भीमदत्त नगरपालिका सिंगो आन्दोलनमा उत्रियो । आन्दोलनको मुख्य माग थियो – एसपी विष्ट र डिएसपी ज्ञानबहादुर सेटीलाई कञ्चनपुरबाट हटाउने र सीआइबीको टोलीलाई फिर्ता पठाउने ।

आन्दोलनले चर्को रुप लिएर गोली नै चलाउनु पर्ने अवस्था आएपछि ७ साउनमा प्रधानमन्त्री केपी ओली आफैले हस्तक्षेप गरी आन्दोलनकारीको माग अनुसार एसपी, डिएसपी मात्रै नभई प्रमुख जिल्ला अधिकारीलाई समेत फिर्ता बोलाइयो । डिएसपी अंगुर जीसीको टोलीको औचित्य नै नरहने गरी उच्चस्तरीय छानविन समिति गठन गरियो ।

सरकारको सो कदमपछि स्थिति सामान्य हुने अपेक्षासहित स्थानीय प्रशासनले ७ साउनमा जारी गरेको कफ्र्यूमा समेत ढिलाई गरेको थियो ।

स्थानीय प्रशासनले अनुमान गरेभन्दा फरक शुक्रबार स्थिति फरक बन्न पुग्यो । दिउँसो १ बजेसम्म शान्त रहेको महेन्द्रनगर विस्तारै उद्देलित हुन थाल्यो । चोक–चोकमा मान्छे भेला हुन थाले । बसपार्क क्षेत्रमा भने हलचल बिहानैदेखि सुरु भएको थियो ।

महेन्द्रनगर भित्रिएर हौलडमा बसेका करिब दुई सय पचास बस, मिनिबस र माइक्रोबसका मजदूरहरु दिन छिप्पिदैं जाँदा सडकमा उत्रन थाले । उनीहरुका बीचमा केही स्थानीय व्यक्ति भए पनि राजमार्गमा अनियन्त्रित र अनौठा मानिसले भरिएको भीड जुलुसमा परिणत हुन थाल्यो । सहरका अन्य भाग भने शान्त नै थिए । ठाउँ–ठाउँमा स्थानीय वासिन्दा भेला भएर गफगाफ गरिरहेका भए पनि उनीहरु उत्तेजित थिएनन् ।

बसपार्क क्षेत्रमा बढेको उत्तेजना क्रमशः जिल्ला प्रशासन कार्यालयतर्फ सोभियो, सडकमा टायर बाल्न सुरु गरियो । भीडले ट्राफिक प्रहरीको एक भ्यान जलायो, सीडीओ कार्यालयको मूलगेटको सुरक्षा तोडेर भित्र पस्न खोज्यो । सीडीओ कार्यालयमा त्यतिबेला उच्चस्तरीय छानविन समितिका सदस्य र कञ्चनपुर सम्हाल्न भर्खरै पुगेका प्रशासक तथा प्रहरी अधिकारीसमेत जिल्ला सुरक्षा समितिको बैठक चलिरहेको थियो ।

भीडले मूल गेट तोडेर भित्र पस्न खोजेपछि १३ राउण्ड हवाई पाmयर समेत गरिएको थियो । तर पनि भीड तितरबितर नभएपछि गोली चलाउँदा केही व्यक्ति घाइते भए । घाइतेमध्ये स्थानीय वासिन्दा शनी खुनालगायत थिए । खुनाको त्तकाल मृत्यु भयो ।

भडकाउवादीहरुकै कारण दुर्घटना
नेपाल सरकारले आन्दोलनले मागेभन्दा धेरै दिए पनि शुक्रबार झन् अराजकता फैलनुका पछाडि केही व्यक्तिको सक्रियता रहेको पाइएको छ । ती व्यक्तिमध्ये केही नेपाली कांग्रेस र त्यो दलको भ्रातृ संगठनका जिम्मेवार व्यक्ति रहेका सामाजिक सञ्जालमा आरोप समेत लगाइएको छ ।

निर्मला हत्याकाण्डको विरोधका निहुँमा केही जिम्मेवार नेताले लगानी समेत गरेको संकेत पाइउको छ । स्थानीय एक व्यापारी र महिला आन्दोलनकारीको बैठक गराई काठमाडौं फर्किएका एक नेताले आन्दोलन सञ्चालनका लागि चाहिने जति पैसा व्यवस्था गर्न ती व्यापारीलाई अनुरोध गरेका थिए ।

शुक्रबार केही युवा र महाकाली समितिका एक जिम्मेवार पदाधिकारीले बसपार्कमा रहेका मजदूरलाई मदिरा खुवाएर भड्काएको आरोप पनि सामाजिक सञ्जालमा व्यापक भएको छ । दैनिक मानसखण्डको खोजबाट त्यो आरोप सत्यको नजिक भएको देखिएको छ ।

आफूनिकट केही व्यापारी र उद्यमी, यातायात व्यवसायी तथा महिला अधिकारकर्मीका रुपमा सतहमा आएका व्यक्तिलाई शुक्रबार समेत आन्दोलनमा उतार्न नेपाली कांग्रेसका नेताहरुको भूमिका रहेको सामाजिक सञ्जालमा उल्लेख छ । माग रहित शुक्रबारको आन्दोलनको कसैले जिम्मेवारी नलिए पनि बसपार्कका मजदूरलाई भड्काउन सक्रिय व्यक्ति स्थानीय रुपमा परिचित भएको दावी गरिएको छ ।

भडकाउवादीलाई कारबाहीको माग
शनिबार जिल्ला प्रशासन कार्यालयमा आयोजित सर्वदलीय–सर्वपक्षीय बैठकमा बिहीबार र शुक्रबारको गोलीकाण्ड बारे छानविन गर्न छुट्टै समिति गठनको माग गरिएको थियो । त्यो माग निर्णय पुस्तिकामा समेटिए पनि सरकार समक्ष पठाइएन । बैठकमा शुक्रबार आन्दोलन भड्काउन परिचालित व्यक्तिउपर समेत कारबाहीको माग गरिएको थियो ।

हिंसा भड्किने खतरा कायमै
महेन्द्रनगर क्रमशः सामान्य हुँदै गइरहेको भए पनि फेरि हिंसा भड्किने जोखिम भने कायमै रहेको छ । सामाजिक सञ्जालमा जिम्मेवार राजनीतिक दलका जिम्मेवार व्यक्ति हिंसा भड्काउने किसिमले प्रस्तुत भएका हुँदा भित्रभित्रै भड्काउवादी तत्व सक्रिय रहेको अनुमान सुरक्षा संयन्त्रले गरेको छ ।

कफ्र्यूबाहिरका विभिन्न स्थानमा शनिबार राजनीतिक दलका कार्यकर्ताहरु उद्देलित भए पनि आइतबार भने त्यो दृश्य देखिएन । सोमबारसम्म अवस्था सामान्य भए अनिश्चितकालिन कफ्र्यू हटाउने मनस्थितिमा जिल्ला सुरक्षा समिति रहेको थाहा भएको छ ।

शुक्रबारको घटनापछि स्थानीय प्रशासनले बसपार्कमा होल्ड रहेका महेन्द्रनगरबाहिरका सावारीसाधन, मजदूर र योत्रुलाई कफ्र्यूकै समयमा पनि सुरक्षा दिएर बाहिर पठाइरहेको छ ।

भड्काउन खोज्नेहरुविरुद्ध सामाजिक सञ्चालमा व्यापक आलोचना भएपछि स्थितिमा केही सुधार आए पनि हिंसाको जोखिम कम भएको छैन ।

यस कारण फेरि आन्दोलन भड्किन सक्छ
निर्मला हत्याकाण्डविरुद्धको आन्दोलनका क्रममा नेपाल प्रहरीको केन्द्रीय जाँच ब्यूरो (सीआइबी)ले पठाएको टोली आन्दोलनकारीको आलोचनाको मुख्य तारो थियो । आन्दोलनकारीले टोलीका प्रमुख अंगुर जीसीलगायतका अधिकृतलाई पनि कारबाहीको माग गरेका थिए ।

तर, गृहमन्त्रालयले जीसी र उनको टोलीविरुद्ध कारबाही गरेको कुनै समाचार प्रकाशमा आएको छैन । कफ्र्यू हटाउनेवित्तिकै यो मागका आडमा फेरि नाराजुलुस हुने सम्भावना रहेको छ ।

अनुसन्धानका क्रममा डिएसपी जीसीको भूमिका पनि शंकास्पद देखिएको छ । उनी दिलिप विष्टलाई सार्वजनिक गर्ने कार्यक्रममा उपस्थित भएर एसी डिल्लीराज विष्टको दावीलाई समर्थन जनाएका थिए । जीसीले एसपी विष्टसँग मिलेर तथ्यहरु बंग्याउने प्रयास गरेको गुनासो पटक–पटक सामाजिक सञ्जालमा आएको थियो ।

डिएसपी जीसी र जिल्ला प्रहरी कार्यालयका अन्य अधिकृत तथा सीआइबीलाई सहयोग गर्न खटाइएका इलाका प्रहरी कार्यालय गड्डाचौकीका सई डिगरदेव पन्तलाई निलम्बन गर्नुपर्ने मागसहित फेरि आन्दोलन उठ्न सक्ने सम्भावना देखिएको छ ।


About Author
-मदन गिरी