८५०६ पटक हेरिएको
प्रकाशित: २०७५ भाद्र ०८ , २०:१६ बजे

जे डर थियो त्यही भयो महेन्द्रनगरमा !

Image

नयाँ एसपी र सीडीओले काम थाल्न सकेनन् । उच्चस्तरीय अनुसन्धान टोलीको काम पनि अवरुद्ध । महेन्द्रनगरमा अनिश्चितकालिन कर्फयू । प्रहरीको गालीबाट दुईको मृत्यु तीन घाइते भएको अपुष्ट खबर । अनियन्त्रित र नेतृत्वविहिन आन्दोलकारीले मच्चाए तोडफोड र आक्रमण ।

-मानसखण्ड
महेन्द्रनगर, ८ भदौ । नेतृत्वविहिन आन्दोलनकारीमाथि प्रहरीले गोली चलाउँदा दुईको मृत्यु र तीन घाइते भएको जानकारी प्राप्त भएको छ । प्रशासनले घटनाको पुष्टि गरिसकेको नभए पनि महेन्द्रनगरकै १३ वर्षीय किशोरको मृत्यु भएको आन्दोलनकारीले बताएका छन् । यतिबेला अपुष्ट हल्ला सामाजिक सञ्जालमार्फत फैलाउने होड चलिरहेकोले घटनाको प्रष्ट तस्विर आइसकेको छैन । मृत र घाइतेहरुको नाम र संख्याका बारेमा सामाजिक सञ्जालमा भरिए पनि किटानीका साथ भन्न सकिने अवस्था छैन । एसपी कुबेर कडायतले यस सम्बन्धमा बुझ्ने काम भइरहेकोले केही समयपछि मात्रै मृतक र घाइतेको बारेमा प्रष्ट हुने बताए ।

अवस्था नियन्त्रणबाहिर पुगेपछि जिल्ला प्रशासनले महेन्द्रनगरमा अहिले ८ बजेदेखि अनिश्चिकालका लागि कर्फ्यू आदेश जारी गरेको छ ।

आन्दोलनका कारण जिल्ला सम्हाल्न पुगेका प्रमुख जिल्ला अधिकारी, जिल्लाका प्रहरी प्रमुख र उपप्रमुखले निर्मला हत्याकाण्डको अनुसन्धानतर्फ ध्यान नै दिन पाएका छैनन् । सरकारले गृहमन्त्रालयका सहसचिवको नेतृत्वमा तीनजना डीआईजीसमेतको पाँच सदस्यीय छानविन समितिले पनि निर्मला हत्याकाण्डको अनुसन्धान सुरु गर्न सकेको छैन ।

प्रत्यक्षदर्शीका अनुसार जिल्ला प्रशासन कार्यालयको मूलगेटको सुरक्षा घेरा तोडेर आन्दोलनकारी भित्र पसेपछि प्रहरीले एक दर्जन हवाई फायर गरेको थियो । हवाई फायरले पनि भीड तितरवितर नहुँदा प्रहरीले भीडमाथि गोली हानेको प्रत्यक्षदर्शीहरुको भनाई छ ।

आन्दोलनकारीले मूल गेट भत्काएर सुरक्षा घेरा तोड्ने प्रयास गरिरहेकै बेला जिल्ला प्रशासन कार्यालयमा जिल्लाको कमाण्ड भर्खरै सम्हालेका प्रमुख जिल्ला अधिकारी, नयाँ एसपी र डिएसपी तथा जिल्ला सुरक्षा समितिका अन्य सदस्य बैठक गरिरहेका थिए । उनीहरुले निर्मला हत्याकाण्डको अनुसन्धान बारे बैठक गरिरहँदा मूल गेटमा आन्दोलनकारीले आक्रमण गरेका बताइएको छ ।

विशेष गरी स्थानीय बसपार्क क्षेत्रमा केन्द्रीत आन्दोलनकारीले यसअघि ट्राफिक प्रहरीको भ्यान तोडफोड गरेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आन्दोलनकारीले भीमदत्त नगरपालिकाका प्रमुख सुरेन्द्र विष्टको घरमा समेत आक्रमण गरेका छन् ।

अनियन्त्रित आन्दोलन
मध्यान्हपछि सुरु भएको आन्दोलन साँझ ४ बजेपछि अनियन्त्रित हुन पुगेको थियो । आन्दोलन बसपार्कमा केन्द्रीत थियो । बसपार्कबाट मेयर विष्टको घर तीन सय मिटर, ट्राफिक कार्यालय चार सय मिटर र जिल्ला प्रशासन कार्यालय करिब छ सय मिटरको दूरीमा रहेका छन् । आन्दोलनकारीले आज पनि नगरपालिका घेर्ने प्रयास गरेका थिए । बजारका अन्य भागमा मानिसहरु समूहमा उभिएका भए पनि उद्देलित भने थिएनन् । गोली चलिसकेपछि भने केही चोकमा टायर बालिएका छन् ।

आन्दोलनको जिम्मेवार आव्हान पनि गरिएको थिएन । बन्दका कारण बसपार्क क्षेत्रमा रोकिएका सवारीसाधनका कर्मचारी र भारतबाट फर्केका यात्रुको आन्दोलनमा बाक्लो उपस्थिति रहेको बसपार्कका केही व्यापारीले बताएका छन् । महेन्द्र राजमार्गमा निकालिएको जुलुसमा उनीहरुले प्रधानमन्त्री र सरकारविरुद्ध नाराबाजी गरेका थिए ।

आन्दोलनमा केही स्थानीय व्यापारीको सहभागिता रहे पनि आजको प्रदर्शनमा सहभागिताका लागि कुनै पनि स्थानीय संघसंस्थाले आव्हान गरेका थिएनन् । विहान स्थानीय व्यापारीले शान्तिपूर्ण प्रदर्शनको तयारी गरेपनि घुसपैठ गरी आन्दोलन उग्र बनाउने सम्भावना देखिएपछि उनीहरुले सो तयारी स्थगित गरेका थिए ।

निर्मला हत्याकाण्डपछि चर्केको आन्दोलनको माग अनुसार सरकारले हिजै सीडीओ, एसपी, डिएसपीलाई जिल्लाबाट झिकेर उच्चस्तरीय छानविन समिति गठन गरेको छ । यो समितिले काम थाल्न नपाउँदै अनियन्त्रित र नेतृत्वविहिन आन्दोलन सुरु भएको हो । मंगलबार आन्दोलनको आव्हान गर्ने व्यापारी तथा बुधबारबाट सेवा रोकेका यातायात व्यवसायीले सरकारको हिजोको निर्णय सम्बन्धी प्रतिक्रिया नदिनु र आज पनि बिहानैबाट बजार तथा यातायात बन्द रहनुले पनि अनियन्त्रित आन्दोलनलाई बल पुगेको देखिन्छ ।

आज विहानैबाट बजार तथा बसपार्क क्षेत्रमा रहस्यमयी व्यक्तिहरुले आन्दोलनका लागि उक्साइरहेको खबर प्राप्त भएपछि मानसखण्ड डटकमले बिहान १० बजेर ४६ मिनेट जाँदा आशंका गरिएका हत्यारा र एसपी विष्टलाई जिल्लामा कायम राख्न खोज्ने केही व्यक्तिले अनुसन्धान विथोल्ने प्रयासको गन्ध पाइएको समाचार प्रकाशित गरेको थियो ।

बिहान प्रकाशित समाचार पढन् यहाँ क्लिक गर्नुहोस् ।


About Author
-मानसखण्ड