९२४२ पटक हेरिएको
प्रकाशित: २०७५ भाद्र ०८ , १०:४६ बजे

महेन्द्रनगर शान्त तर आशंकित हत्यारा निकटका तत्व सल्बलाउँदै, बम दिदीबहिनीको सुरक्षाको चिन्ता बढ्दो

Image

-खेम भण्डारी
महेन्द्रनगर, ८ भदौ । निर्मला हत्याकाण्डको अनुसन्धानमा प्रहरीको आश्चर्यजनक लगातार तीन दिन व्यवहारविरुद्ध अशान्त रहेको महेन्द्रनगर आज भने सामान्य हुन थालेको छ । तर, आन्दोलनकारीले आशंका गरेका हत्याराका निकट मानिएका केही व्यक्ति र एसपी डिल्ली पन्तको पक्षमा रहेको समूहले फेरि अराजकता मच्चाउने प्रयास गरिरहेको गन्ध पाइएको छ ।

स्वस्फूर्त उत्रिएर आन्दोलनलाई सफल बनाएका महेन्द्रनगरका उद्यमी–व्यापारी सरकारले हिजो उठाएको कदमबाट सन्तुष्ट देखिएका छन् । आज विहानैबाट ठाउँ–ठाउँमा भेला भएका उनीहरुले वास्तविक हत्यारा पत्ता लगाउनका लागि सरकारले गठन गरेको उच्चस्तरीय छानविन समितिलाई सहयोग गर्नुपर्ने बताइरहेका छन् । उनीहरुले सरकारले सीडीओ, एसपी र डीएसपीलाई विभागमा झिकेर नयाँ अधिकारी पठाएकोमा प्रशंसा पनि गरिरहेका छन् । तर, केही व्यक्तिले आन्दोलन रोक्न नहुने पनि भनिरहेका छन् । आन्दोलन जारी राख्नुपर्छ भन्नेहरुलाई स्थानीय व्यापारी–उद्यमीले शब्दमैं प्रतिकार पनि गरिरहेका छन् ।

निर्मलाको हत्यामा संलग्न भन्दै जनताले आशंका गरेका व्यक्ति निकटका केही व्यक्ति र एसपी विष्टलाई कञ्चनपुरबाट हटाउन हुँदैन भन्दै सामाजिक सञ्जालमा वकालत गर्ने केहीले फेरि अराजकता फैलाउन खोजेको खबर पनि प्राप्त भएको छ । उनीहरुले विभिन्न बाहना झिकेर आन्दोलनलाई ’गन्तब्यमा पु¥याउनुपर्छ’ भनिरहेको विभिन्न स्रोतबाट जानकारी आएको छ । विशेष गरी महेन्द्रनगर बजार क्षेत्र बाहिर आन्दोलन चर्काउन उनीहरु क्रियाशील रहेको बताइएको छ ।

कञ्चनपुरका सीडीअ‍े, एसपी र डिएसपीलाई विभागमा झिकाएर उनीहरुका ठाउँमा नाम चलेका अधिकारीहरु आइसकेका छन् । सरकारले गृहमन्त्रालयका सहसचिवको संयोजकत्वमा तीनजना डीआइजी सहित बनाएको पाँच सदस्यीय छानविन समित पनि महेन्द्रनगर पुग्दैछ । एसएसपी बिक्रम चन्दले हिजोबाट नै अनुसन्धान प्रक्रियाको अध्ययन थालिसकेका छन् ।

जनताको आन्दोलनले गहिरो अनुसन्धान गर्न सरकारलाई दवाव दिएपछि गठित समिति वास्तविक हत्यारा नजिक पुग्ने सम्भावना बढेपछि अनुसन्धान प्रक्रियालाई अवरुद्ध गर्ने प्रयास पनि थालिएको अनुभव हुन थालेको छ । सफा नियतले शान्तिपूर्ण प्रदर्शनमार्फत दवाव कायम राख्न चाहनेहरुले प्रदर्शनमा घुसपैठ भएर फेरि अवस्था बिग्रने र अनुसन्धान प्रक्रिया अवरुद्ध हुने जोखिमतर्फ सोच्न पनि जरुरी छ ।

निर्मलाको बलात्कार र हत्यामा शक्तिशाली व्यक्ति९हरु०को संलग्नता प्रष्ट भइसकेको छ । हत्याराको छानविनकै लागि यति तूलो आन्दोलन गर्नुपर्ने परिस्थिति उत्पन्न गराउन सक्नेले अबको अनुसन्धान विथोल्न कुनै प्रयास गर्दैन भन्ने सोच्नु मुर्खता हुने छ । त्यसैले अराजकताको अवस्था आउन नदिन सचेत नागरिक तथा निर्मलालाई न्याय चाहने प्रत्येक व्यक्तिले सतर्क रहनु जरुरी छ ।

विभिन्न बाहना गर्दै जनमानस भड्काउने र अनेकथरी हल्ला फिजाएर फेरि अराजकता उत्पन्न गर्न खोज्नेहरुलाई निर्मलालाई न्याय भएको देख्न चाहनेहरुले ठाउँका ठाउँ कारबाही गर्न पनि जरुरी छ । हत्यारा शक्तिसाली भएकाले उसले अनेक तिकडम गरेर सोझासाझा मान्छेलाई भड्काउन सक्छ भन्ने बुझ्नु जरुरी छ ।

अर्कोतिर बमदिदीबहिनीको सुरक्षा पनि जरुरी छ । प्रहरी–प्रशासनले उनीहरुको सुरक्षाको पूरा प्रवन्ध गर्नु आवश्यक छ । हत्याराको निशानामा ती दिदीबहिनी पर्न सक्ने आशंका र चिन्ता सर्वत्र देखिएको छ । ती दिदीबहिनी निर्मला हत्या प्रकरणका सबैभन्दा महत्वपूर्ण सूत्र बन्न सक्ने सम्भावना रहेको बेला हत्याराले उनीहरुलाई निसाना बनाउने जोखिम औल्याईंछ ।


About Author
-खेम भण्डारी