४११९ पटक हेरिएको
प्रकाशित: २०७५ भाद्र ०७ , १०:११ बजे

यी कुरामा ध्यान नदिए आन्दोलन कसैले मत्थर पार्न सक्दैन !

Image

प्रहरी हेडक्वार्टरले कञ्चनपुरका एसपी र डिएसपी ताने पनि नयाँ आउने कमाण्डरका लागि समेत सहज छैन

-मानसखण्ड
महेन्द्रनगर, ७ भदौ । निर्मला हत्याकाण्डकमा प्रहरीकै संलग्नता रहेको आरोपका कारण तनावग्रस्त कञ्चनपुरका एसपी र डीएसपीलाई प्रहरी प्रधान कार्यालयले जगेडामा फिर्ता बोलाएको र एसएसपी बिक्रम चन्दलाई कञ्चनपुरको कमाण्ड सम्हाल्न खटाएको हल्ला चले पनि त्यसको पुष्टि हुन सकेन ।

आन्दोलन आज पनि उग्र हुने सम्भावना छ । आन्दोलन साम्य पार्न प्रहरी प्रधान कार्यालयले एसपी विष्ट र डिएसपी सेटीलाई निलम्बन गर्नुको विकल्प देखिंदैन ।

स्रोतका अनुसार हाल दिपायलस्थित क्षेत्रीय प्रहरी कार्यालयमा रहेका एसएसपी चन्द कञ्चनपुर आउन इच्छुक छैनन् । आफ्नो गृहनगर भएकोले उनी हच्किएका बताइएको छ । बिग्रिएको अवस्था सुधार्न आउने प्रहरी अधिकारीका अगाडि चुनौतीको पहाड उभिएको हुँदा पनि एसपी विष्ट र डिएसपी सेटीको कञ्चनपुरबाट बाहिरन समस्या भएको बताइएको छ ।

एसएसपी चन्द कञ्चनपुरको कमाण्डमा आए अवस्था सुध्रने वातावरण बन्ने अनुमान गरिए पनि एसपी डिल्लीराज विष्टले गरेका गल्तीका कारण आफू झमेलामा पर्ने उनको बुझाई रहेको उनी निकटका व्यक्तिले बताएका छन् । आदेश पालना गर्दै एसएसपी चन्द कञ्चनुर आएर समग्र घटनाक्रमको अध्ययन गरी सही नियतले काम नगरे अवस्था झन् भयानक हुने देखिन्छ । एसएसपी चन्द वा जो आए पनि जिम्मेवारी सम्हालेको १२ घण्टाभित्र निम्न विषयमा प्रष्ट पारेमा विश्वसनीय वातावरण बन्ने देखिन्छ । नयाँ अधिकारीले पनि जालझेल गर्न थाले आन्दोलन घातक मोडमा पुग्न सक्ने खतरा रहेको छ ।

निर्मलाको योनीमा पाइएको बीर्य वा अपराधीको डीएनए प्रमाणित हुने अन्य शारिरीक तत्व साउन ११ वा एक दुईपछि तत्काल विधि विज्ञान प्रयोगशालामा पठाइएको विश्वसनीय प्रमाण जनतालाई दिनुपर्नेछ । कण्डम प्रयोग गरिएकोले बीर्य नपठाइएको हास्यास्पद तर्क दिन थाले आन्दोलन झन् उग्र हुने सम्भावना छ । अपराधी र अभियुक्त दुबैको रगत परीक्षणबाट डीएनए प्रमाणित गर्न खोजे सोझै अविश्वसनीय हुने छ । अपराधीको बीर्य विधि विज्ञान प्रयोगशालामा नपठाइएको आशंकाका बीच प्रहरीले जनता झुक्याउन अन्य बाहना गर्न नसक्ने अवस्था छ । दिलिपसिंह विष्ट वा अन्य कुनै व्यक्तिको बीर्य जाँचका लागि पठाएर अपराधीको बीर्यसँगै भिडाइए सरासर षडयन्त्र भएको मानिने छ, अभियुक्तकोे रगत र निर्मलाको योनीमा पाइएको बीर्यको डीएनए नमिलेसम्म प्रमाण विश्वसनीय मानिने छैन । निर्मलाको योनीमा बीर्य नै नपाइएको तर्क दिइयो भने त्यसले अनिष्ट निम्त्याउने छ ।


शवको मुचुल्का र पोष्टमार्टम गरी साउन १६ भित्र विधि विज्ञान प्रयोगशालामा के के पठाइयो भन्ने बारेमा अब आउने प्रहरी कमाण्डरले प्रष्ट पार्नुपर्नेछ । विधि विज्ञान प्रयोगशालामा नपठाई, ‘हामीले यही सुरक्षित राखेका थियौं’ भन्ने जवाफ दिइए जनमानस झन् क्रुद्ध हुने सम्भावना छ किनभने महेन्द्रनगरमा त्यस्ता प्रमाण राख्ने सुविधा नै छैन ।

निर्मलाको शव पाइएको ठाउँबाट प्राप्त दसीप्रमाण के के हुन भन्ने खुलाउन आवश्यक छ । साउन १६ पछि संकलित दसीप्रमाण स्वीकार्न जनतालाई असहज हुने छ । साउन ११ गतेको मुचुल्काभन्दा बाहिर गएर प्रहरीले काम गर्न खोजे आन्दोलनले झन् उग्र रुप लिने सम्भावना छ ।

बम दिदीबहिनीसँगको बयान अभिलिखित भए नभएको बारे नयाँ अधिकारीले तत्काल सार्वजनिक गर्न जरुरी छ । उनीहरुको घरको खानतलासी र फरेन्सिक जाँच भएको प्रमाण पनि जनतालाई दिन आवश्यक छ ।

शव पाइएको स्थलमा किन अनुसन्धान कुकुर परिचालन गरिएन भन्ने जवाफ पनि दिन
जरुरी छ । निर्मलाको शरीरमा रहेको अपराधीको गन्ध आशंका गरिएको घर र अन्यन्त्रसँग भिडाउन कुकुर प्रयोग गर्न सकिने भए पनि प्रहरीले नगरेको आरोपको वैज्ञानिक जवाफ दिन जरुरी छ ।

सूचना प्रविधिका मात्रैको विज्ञ प्रमुख रहेको सीआइबीको टोली किन २४ दिनसम्म महेन्द्रनगर बस्यो रु किन फरेन्सिक र इन्भेष्टिगेशन एक्सपर्ट झिकाइएन भन्ने प्रश्नको उत्तर समेत पाइनुपर्छ ।

नेगी, वडू र दिलिपका सन्दर्भमा अब आउने अधिकारीले पर्याप्त अध्ययन गरी जिम्मेवारी सम्हाल्नुुपर्नेछ । किन उनीहरुलाई फसाउने प्रपञ्च गरियो भन्ने प्रश्नको उत्तर पनि दिन जरुरी छ ।

गृहमन्त्रीले संसदमा नाम लिएका अभियुक्त कसरी छुटे रु किन त्यसरी गृहमन्त्रीलाई नै उपयोग गरियो भन्ने प्रश्नको उत्तर पनि अब आउने प्रमुखले दिनुपर्छ ।

यी बाहेक पनि थुप्रै प्रश्नको उत्तर दिन प्रहरी बाध्य छ । महेन्द्रनगरका जनता भेडा हुन् र हामीले जे गरे पनि हुन्छ भन्ने मानसिकता बोकेर आउनेको भने भलो नहुने देखिन्छ । महेन्द्रनगरवासीले गरेको कुनै पनि आन्दोलन असफल भएको छैन ।


About Author
-मानसखण्ड