३१९८ पटक हेरिएको
प्रकाशित: २०७५ भाद्र ०७ , ०९:५७ बजे

आन्दोलन तुहाउने प्रयास विफल, तेस्रो दिन महेन्द्रनगर झन् तनावग्रस्त हुने संकेत

Image

बिहानै सुनसान महेन्द्रनगर

 


एसपी विष्ट हेडक्वार्टर तानिएको खबर हल्ला मात्रै ठहर भएपछि बिहानैदेखि सडकमा क्रोध

-मानसखण्ड
महेन्द्रनगर, ७ भदौ । निर्मला हत्याकाण्डमा चलिरहेका आन्दोलन तुहाउन प्रहरी प्रधान कार्यालयले गलत सूचना प्रवाह गरिरहेको पाइएको छ । बुधबार साँझ प्रहरीले आफ्नो च्यानलका पत्रकारहरुलाई प्रयोग गरि कञ्चनपुरका एसपी डिल्लीराज विष्ट हेडक्वार्टर तानिएको खबर फैलाएको थियो । तर, प्रहरी प्रधान कार्यालयका प्रवक्ताले नै त्यो हल्ला भएको बताएको छ ।एसपी विष्टलाई हेडक्वार्टर तानेर एसएसपी बिक्रम चन्दलाई कञ्चनपुर पठाउने हल्ला चलाएपछि आजदेखि आन्दोलन मत्थर हुने प्रहरीको अनुमान पनि गलत सावित भएको छ । आज बिहानैदेखि स्थानीय व्यापारी र उद्यमीले महेन्द्रनगर बजार बन्द गरेर प्रदर्शन थालेका छन् भने यातायात व्यवसायीले पनि आन्दोलन जारी राखेका छन् ।

अहिले महेन्द्रनगर बजार बन्द छ । प्राप्त समाचार अनुसार गाउँ–गाउँबाट आन्दोलनकारी महेन्द्रनगरतर्फ हिडिसकेका छन् । प्रहरी प्रधान कार्यालयले फिजाएको हल्लाले वातावरण झन् क्रुद्ध बनेको छ । विद्यार्थी तथा युवाहरु पनि सडकमा आउन थालिसकेका छन् । आजको आन्दोलन झन् विध्वंशक हुने अनुमान गर्न थालिएको छ ।

प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको छ । चोक र महत्वपूर्ण ठाउँहरुमा दंगा प्रहरी तैनाथ छन् ।

गृहमन्त्रालय र प्रहरी प्रधान कार्यालयले नेतृत्वविहिन आन्दोलनको माग सम्बोधन गर्न ढिलाई गरेमा क्षति बढ्ने देखिएको छ । आन्दोलनकारीले एसपी विष्ट, डिएसपी ज्ञानबहादुर सेटीलाई निलम्बन गरी नयाँ अधिकार पठाउन र सीआइबीको अहिलेको टोलीलाई तत्काल फिर्ता लैजान माग गरिरहेका छन् ।

आन्दोलनकारीले हिजो निर्मला पढ्न गएको बम दिदीबहिनीको घरमा आक्रमण गर्ने प्रयास गरेका थिए । आज आन्दोलन उग्र भएमा धेरै व्यक्तिगत सम्पत्तिमा पनि आक्रमण हुने सम्भावना देखिन्छ


About Author
-मानसखण्ड