१३०८ पटक हेरिएको
प्रकाशित: २०७५ भाद्र ०६ , १७:२८ बजे

यस्तो छ आन्दोलनले तनावग्रस्त महेन्द्रनगरमा !

Image

आज महेन्द्रनगरका चोक–चोकमा यस्ता दृश्य देखिए ।

 

किन टाउको थैलो पहिराइएको थियो दिलिपको ?, सीआईबीको पनि बेइज्जती, प्रशासन पनि चाल चल्दै, अझै चेताएन प्रहरी, दिलिपको बयान लिन नमिल्ने, बल्ल दायरामा आए बम दिदीबहिनी 

सीआईबीको पनि बेइज्जती
अपराध अनुसन्धानमा दक्ष र विश्वसनीय मानिएको नेपाल प्रहरीको केन्द्रीय जाँच ब्यूरो (सीआइबी)को पनि निर्मला हत्याकाण्डका क्रममा बेइज्जती भएको छ । सीआईबी टोलीले एसपी विष्टकै बोलीमा बोली मिलाएको र कञ्चनपुर प्रहरीसँग मिलेमतो गरेको भन्दै प्रदर्शनकारीले नाराबाजी गरेका छन् । सीआईबीलाई अपराधीको पैसामा बिकेको आरोप पनि आन्दोलनकारीले लगाए ।

प्रशासन पनि चाल चल्दै
निर्मला हत्याकाण्डको अनुसन्धानका क्रममा वास्तविक हत्यारा भन्दै कञ्चनपुर प्रहरीले दिलिप विष्ट नामका मानसिक अवस्था सन्तुलित नभएका व्यक्तिलाई सार्वजनिक गरेपछि सुरु भएको आन्दोलन साम्य पार्न स्थानीय प्रशासन सक्रिय भएको छ ।

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी कुमार खड्काले मंगलबार एक सर्वदलीय, सर्वपक्षीय बैठक बोलाएर जनताको आक्रोश कम पार्न के कस्ता उपाय गर्नुपर्छ भन्ने विषयमा चार घण्टा लामो अन्र्तक्रिया गरेका छन् ।
सो अन्र्तक्रियामा सबै राजनीतिक दल, नागरिक समाज, सुरक्षा निकायको उपस्थिति रहेको थियो ।

अन्र्तक्रियामा एसपी डिल्लीराज विष्टको व्यापक आलोचना भएको थियो । सहभागीहरुले एसपी विष्ट अक्षम भएको आरोप लगाएका थिए ।

नागरिक समाज तथा राजनीतिक दलका प्रतिनिधि जिल्लाको प्रहरी नेतृत्व वास्तविक दोषीलाई उम्काउन सक्रिय रहेको आरोप लगाउँदै एसपी विष्ट र डीएसपी ज्ञानबहादुर सेटी जिल्ला प्रहरीको नेतृत्व्मा रहुञ्जेल घटनाको छानविन नै नहुनेमा सहमति जनाएका छन् । उनीहरुले एसपी र डिएसपीलाई कञ्चनपुरको सुरक्षा नेतृत्वबाट हटाउन गृहमन्त्रालयलाई आग्रह गर्ने निष्कर्ष समेत निकालेका थिए ।

बैठकको अन्त्यमा प्रमुख जिल्ला अधिकारी खड्काले आन्दोलनकारीको माग अनुसार बम दिदीबहिनीकै घरबाट अनुसन्धान सुरु गर्ने प्रतिवद्धता व्यक्त गरेपछि बैठक कुनै पनि लिखित निर्णय नगरी सकियो ।

किन टाउको थैलो पहिराइएको थियो दिलिपको ?
सोमबार प्रहरीले मानसिक अवस्था सन्तुलित नभएका दिलिपसिंह विष्टलाई पत्रकार सम्मेलनमा उपस्थित गराउँदा उनका आँखा समेत राम्ररी देख्न नसकिने गरी उनको टाउकोदेखि घाँटीसम्मको भाग छोप्ने थैलो जस्तो कपडा पहिराइएको थियो । अभियुक्त सार्वजनिक गर्दा प्रहरीले स्वास नै फेर्न नसक्ने गरी यसरी थैलो टाउकोमा हालेको देख्दा अनुभवी पत्रकारहरु समेत छक्क परेका थिए ।

ज्यान मुद्दामा १० वर्ष जेल काटेका दिलिपको नाम, परिचय, वतनलगायतका सबै विवरण खोल्न नहच्किएको प्रहरीले उनको अनुहार मात्रै किन गोप्य राख्यो भन्ने खुल्दुली सबै पत्रकारको थियो । यो विषय आममानसको समेत जिज्ञासा बनेको छ ।

प्रहरीले अनौठो तरिकाले दिलिपको टाउकोदेखि घाँटीसम्म थैलोजस्तो कालो कपडाले छोप्नुको रहस्य भने खुलेको छ । दिलिपले पत्रकार सम्मेलनका क्रममा केही बोल्न नसकुन् भनेर उनका ओठ नै बन्द हुने गरी प्हरीले पट्टी लगाएको र त्यो पट्टी नदेखियोस् भनेर टाउकोमा थैलो घुसारेको जानकारी प्राप्त भएको छ ।

दिलिपले जिल्ला अदालतमा समेत आफू निर्मला हत्याकाण्डमा संलग्न नभएको बताएका थिए । उनले पत्रकार सम्मलेनमा त्यही दोहर्‍याउने खतरा महसुस गरी प्रहरीले यो जुक्ति अपनाएको हो ।

अझै चेताएन प्रहरी
सोमबार अभियुक्त भन्दै सार्वजनिक गरिुउका दिलिपसिंह विष्ट मानसिक रुपमा असन्तुलित भएको खबर आगो झैं फैलिएपछि प्रहरीले उनी मानसिक रुपमा स्वस्थ रहेको प्रमाण जुटाउन कसरत थालेको छ ।

कसरतका क्रममा प्रहरीले मंगलबार दिलिपका बुवा कमलसिंह विष्टलाई बिहानै घरबाट जिल्ला प्रहरी कार्यालय ल्यायो । दाजु खडकसिंह विष्ट समेतलाई करिब तीन घण्टा जिप्रकामा राखेर अनुसनधान अधिकारीहरुले दिलिप मानसिक अवस्था ठीक भएको व्यक्ति हो भनी कागजमा सहीछाप गराउने चेष्टा गरे । तर, उनीहरुले त्यसको सोझो प्रतिवाद गरेपछि प्रहरी दिलिपलाई मानसिक रुपमा स्वस्थ तर योन मामिलामा खराब सावित गर्ने आफ्नो प्रयासमा असफल भएको छ ।

दिलिपको बयान लिन नमिल्ने
मानसिक रुपमा अस्वस्थ दिलिप विष्टको जिल्ला न्यायाधिवक्ताले वयान लिन नमिल्ने भएकाले प्रहरी झन् समस्यामा परेको छ । कानुनअनुसार मानसिक असन्तुलन भएको व्यक्तिलाई सोझै बयान लिन पाइदैन ।

दिलिपको बयान लिनुअघि प्रहरीले जिल्ला न्यायाधिवक्ताहरु समक्ष उनको मानसिक स्वास्थ्य ठीक रहेको प्रमाण पेश गर्नुपर्ने हुन्छ । यसका लागि प्रहरीले फरेन्सिक प्रमाणपत्र प्राप्त मनोचिकित्सककहाँ दिलिपलाई लैजानुपर्छ । यो अवस्थामा दिलिपसँग उनका अभिभावक वा नातासम्बन्धका व्यक्ति पनि रहनुपर्छ ।

महेन्द्रनगरका कानुन व्यवसायीले जिल्ला सरकार वकिल कार्यालयलाई समेत दिलिपको मानसिक अवस्थाका बारेमा जानकारी दिइसकेको जानकारी प्राप्त भएको छ ।

बल्ल दायरामा आए बम दिदीबहिनी
एसपी डिल्लीराज विष्टले निर्मला हत्याकाण्डमा कुनै किसिमको संलग्नता नरहेका भन्दै पक्षरषा गर्दै आएका बम दिदीबहिनीबाट अनुसन्धान सुरु हुने प्रमुख जिल्ला अधिकारी कुमार खड्काको प्रतिवद्धतापछि ती दुबै दिदीबहिनी निर्मला हत्याकाण्डको दायरामा आएका छन् । यसबाट उनीहरुमाथि अभियोग लगाउने बाटो त खुलेको छ नै सञ्चारमाध्यम र आन्दोलनमा समेत उनीहरु समाचार तथा नाराजुलुसका विषय बन्न सक्ने भएका छन् ।

 

सबै नेता सुतेका बेला बम्किए सांसद धामी
जनताले निर्वाचित गरेर पदमा पुर्‍याएका सत्तारुढ र विपक्षीलगायत सबै जनप्रतिनिधिले निर्मला हत्याकाण्ड विरुद्ध आन्दोलन चर्किरहँदा मौनता साँधेका भए पनि कञ्चनपुर क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य नरबहादुर धामीले मंगलबार शून्य समयमा बोल्दै मानसिक असन्तुलन भएको व्यक्तिलाई फसाउन खोजेर प्रहरीले आफ्नो नपुंषकता प्रदर्शन गरेको आक्षेप लगाएका छन् ।
सांसद धामीले कञ्चनपुर प्रहरीले निर्मलाका हत्यारा लुकाउन खोजिरहेको भन्दै तत्काल कदम उठाउन गृहमन्त्रीलाई आग्रह समेत गरेका छन् ।

 


About Author
-खेम भण्डारी