२१४२३ पटक हेरिएको
प्रकाशित: २०७५ भाद्र ०६ , १७:१६ बजे

बम दिदीबहिनीको घर आक्रमण गर्न हजारौंको भीड एकत्रित, भगतपुर क्षेत्र तनावग्रस्त

Image

भगतपुर शुभकामना टोलस्थित बम दिदीबहिनीको घरतिर जाँदै आन्दोलनकारी । भीड बढ्ने क्रम जारी छ ।

 

आन्दोलन नेतृत्वविहिन हुँदा स्थानीय प्रशासन समस्यामा, कर्फयूको सम्भावना

-मानसखण्ड
महेन्द्रनगर, ६ भदौ । निर्मला हत्याकाण्डको एक मात्र अभियुक्त भन्दै मानसिक रुपमा असन्तुलित दिलिपसिंह विष्टलाई प्रहरीले सार्वजनिक गरेपछि सुरु भएको आन्दोलन आज झन् सघन र उग्र भएको छ । आन्दोलनकारीले महेन्द्रनगर सहर क्षेत्रका ठाउँ–ठाउँमा प्रदर्शन गर्दै टायर बालर विरोध गरिरहेका छन् ।

विहानबाट सुरु भएको आन्दोलन अहिले भगतपुर क्षेत्रमा केन्द्रीत भएको छ । आन्दोलनकारीले निर्मला पढ्न गएको बम दिदीबहिनीको घरमा आक्रमणको प्रयास गरिरहेका छन् । प्रहरीले आन्दोलनकारीलाई तितरबितर गर्न दर्जनौं राउण्ड अश्रुग्यास प्रहार गरेको छ । बमदिदीबहिनीको घरभन्दा तीन सय मिटर टाढासम्म हजारौं आन्दोलनकारी एकीकृत भएका छन् । उनीहरुले प्रहरीमाथि ढुंगा बर्साइरहेका छन् ।

यसअघि बिहानैदेखि आन्दोलनकारी बजारका चोक–चोकमा भेला भएर टायर बाल्दै प्रदर्शन गरेका थिए । उनीहरुले जिल्ला प्रशासन कार्यालय, सीडीओ निवास, वडा प्रहरी कार्यालयले घेराउ गरेका थिए ।

आज दोस्रो दिन पनि व्यापारी, उद्यमी स्वस्फूर्त बन्दमा उत्रिका छन् । सार्वजनिक यातायात पनि ठप्प छ । विद्यालय, सरकारी कार्यालय र बैंक पनि खुलेका छैनन् ।

गाउँ–गाउँबाट आएका आन्दोलनकारी नेतृत्वविहनि छन् । समूह–समूहमा बाँडिएका उनीहरु आ–आफ्नै तरिकाले आन्दोलनरत छन् ।

आन्दोलनकारी नेतृत्वविहिन हुँदा प्रमुख जिल्ला अधिकारीलाई वार्ता गर्न र समाधान खोज्न समेत समस्या भएको छ । सीडीओ कुमारबहादुर खड्काले आन्दोलनको नेतृत्व नहुँदा परिस्थिति नियन्त्रणबाहिर गएको स्वीकार गरेका छन् ।

शान्तिसुरक्षाको अवस्था बिग्रदै जाँदा स्थानीय प्रशासनले महेन्द्रनगरमा कर्फयू लगाउने सम्भावना पनि बढेको छ ।

आन्दोलनकारीले एसपी डिल्लीराज विष्ट र डीएसपी ज्ञानबहादुर सेटीलाई निलम्बन गरी सीआइबीको टोली तत्काल फिर्ता बोलाउन नाराजुलुस मार्फत माग गरिरहेका छन् ।


About Author
-मानसखण्ड