१०८१३ पटक हेरिएको
प्रकाशित: २०७५ भाद्र ०५ , १४:२४ बजे

तनावग्रस्त महेन्द्रनगर : एसपी विष्टलाई बलात्कारी भन्दै नाराबाजी र प्रदर्शन

Image

आन्दोलन चर्कदो, प्रहरी व्यापक बल गर्दै, अनिश्चितकालिन यातायात तथा बजार बन्दको घोषणा, स्वस्फूर्त आन्दोलनमा हजारौंको सहभागिता

-मानसखण्ड
महेन्द्रनगर, ५ भदौ । मानसिक अवस्था ठीक नभएका दिलिप विष्टलाई निर्मला हत्याकाण्डको एकमात्र अभियुक्त दावी गर्दै सोमबार प्रहरीले उनलाई सार्वजनिक गरेपछि महेनद्नगर तनावग्रस्त बनेको छ ।

सोमबार साँझबाट नै स्थानीय वासिन्दाले आक्रोश पोख्दै मेनरोडमा प्रदर्शन थालेका थिए । मंगलबार बिहानैदेखि फेरि आक्रोशति व्यापारी तथा स्थानीय वासिन्दाले बजार बन्द गरेका छन् । स्वस्फूर्त ढंगबाट व्यापारी, उद्यमीलगायत हजारौं प्रदर्शनकारी अहिले पनि सडकमैं छन् ।

जिल्ला प्रशासन कार्यालयको मूलगेटमा तैनाथ सुरक्षा घेरा तोडेर प्रदर्शनकारी भित्र पस्न खोज्दा प्रहरीले दुई राउण्ड हवाई फायर, ११ राउण्ड अश्रुग्यास प्रहार गरेको रिले अनसनमा मूलगेट नजिक बसेका आन्दोलनकारीले बताएका छन् । प्रहरीले चर्को बल प्रयोग गर्दा केही आन्दोलनकारी घाइते भएका र आधादर्जन भन्दा धेरैलाई नियन्त्रणमा लिएको बताइएको छ ।

मानसिक अवस्था असन्तुलित रहेका विष्टलाई अभियुक्त भन्दै प्रहरीले सार्वजनिक गरेपछि उत्पन्न आक्रोश झन् बढ्ने सम्भावना देखिएको छ । गाउँ गाउँमा आक्रोशति मानिसको हुल महेन्द्रनगर आउने क्रम रोकिएको छैन । आन्दोलनकारीले अनिश्चितकालिन बजार तथा यातायात बन्दको आव्हान गरेका छन् ।

आन्दोलनकारीले कञ्चनपुरका प्रहरी प्रमुख डिल्लीराज विष्टको निर्मला हत्याकाण्डमा संलग्नता रहेको भन्दै जिल्ला प्रशासन कार्यालय अगाडि नाराबाजी गरेका छन् । उनीहरुले एसपी विष्ट र डीएसपी ज्ञानबहादुर सेटीलाई तत्काल निलम्बन गरी न्यायिक छानविनको माग समेत गरेका छन् ।

एसपी विष्ट र डिएसपी सेटीलाई निलम्बन नगरेसम्म बजार तथा यातायात बन्द गरिने आन्दोलनकारीको भनाई छ । आन्दोलनमा विद्यार्थी तथा युवाको उल्लेख्य सहभागिता रहेको छ । गाउँगाउँबाट महेन्द्रनगर आएका महिलाको पनि बाक्लो उपस्थिति छ ।

गत साउन १० गते बलात्कारपछि मारिएकी निर्मलाको हत्याकाण्डमा प्रहरीले संदिग्ध भूमिका गरिरहेको छ । पीडित पक्षले आशंका गरेकाहरुमाथि अनुसन्धान नै नगरी एसपी विष्टले पटक–पटक निर्दोष व्यक्तिलाई फसाउने प्रयास गरेका देखिएको छ । यसअघि दुई युवकलाई छुट्टाछुट्टै हिरासतमा लिई अभियुक्त बनाएर पेश गर्न प्रहरीले गरेको प्रयास विरोधका कारण असफल भएको थियो ।

यसैबीच, अनुसन्धानमा खटिएको प्रहरीको केन्द्रीय जाँच ब्यूरो (सीआइबी) पनि आलोचना र आक्रोशको सिकार बन्न पुगेको छ । सीआइबीले एसपी विष्टकै योजना अनुसार काम गरिरहेको आन्दोलनकारी र पीडित पक्षको दावी छ ।

दिलिप विष्टलाई सार्वजनिक गरेपछिको जानकारीका लागि यो पनि पढ्नुहोस्

http://manaskhanda.com/newsDetail.aspx?Postid=6697

 


About Author
-खेम भण्डारी