३६९४ पटक हेरिएको
प्रकाशित: २०७५ भाद्र ०३ , ११:४२ बजे

निर्मला हत्याकाण्ड : झन्–झन् रहस्यमयी बन्दै

Image

 

मानवअधिकार आयोगले थाल्यो छानविन । आन्दोलन झन् सशक्त बनाउने तयारी

–मानसखण्ड
महेन्द्रनगर, ३ भदौ । १३ वर्षिया निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटना झन्–झन् रहस्यमयी बन्दै गएको छ । नेपाल प्रहरीको केन्द्रीय जाँच ब्यूरो (सीआइबी) समेत हत्यारा पत्ता लगाउन असफल हुने सम्भावना बढेपछि महेन्द्रनगरमा आन्दोलनको तापक्रम पनि बढ्न थालेको छ ।

हत्याकाण्डमा संलग्न बारे अफवाहको बजार तातेको छ । हत्याकाण्डमा जिल्लाका शक्तिशाली व्यक्तिको हात रहेको अनुमान गर्न थालिएको छ ।

अनुसन्धान समेत गर्न प्रहरी असफल हुँदै गएपछि राष्ट्रिय मानवअधिकार आयोगले आफ्नो तर्फबाट छानविन सुरु गरेको छ ।
आयोगले घटनाको अनुसन्धानमा प्रहरी नै बाधक भएको आरोप लाग्न थालेपछि टोली नै खटाएर अनुसन्धान थालेका इन्सेकका कञ्चनपुर प्रतिनिधि कोमल निरञ्जन भाटले बताए । आयोगको क्षेत्रीय कार्यालय धनगढीका प्रमुख झंकर रावलको नेतृत्वमा आएको टोलीले शनिबारबाट अनुसन्धान सुरु गरेको हो ।

आयोगको टोलीले सरोकारवाला, आन्दोलनकारी र सञ्चारमाध्यमसँग बुझेर हत्याकाण्डको विस्तृत प्रतिवेदन तयार गर्ने बताइएको छ ।

गत साउन १० गते भीमदत्त नगरपालिका वडा नं। २ खोल्टी बस्ने निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको थियो । सो हत्याकाण्डको प्रहरी अनुसन्धान नै विवादास्पद बनेको छ । प्रहरीले निर्मलाको शव पाइएको घटनास्थल समेत सिल नगरी पञ्चनामा बनाएको र सो दिनको वर्षाका कारण अनुसनधान प्रभावित भएकोले अनुसन्धानबाट ‘शून्य’ प्रतिफल पाइएको छ ।

साउन १० गते आफ्नो साथीकहाँ पढ्न गएकी निर्मला फर्केपछि प्रहरीलाई खबर गरे पनि वास्ता नगरिएपछि प्रहरी सुरुदेखि नै यस प्रकरणमा आलोचनाको पात्र बन्दै आएको छ । ११ गते स्थानीय वासिन्दाले शव फेला पारेपछि मात्रै प्रहरी शव पाइएको स्थलमा पुगेको तिथो । शव पाइएको ठाउँ प्रहरीले सिल नगर्दा दर्जनौं व्यक्तिको ओहरदोहर हुन गएको थियो । साथै, अघिल्लो दिन भएको वर्षाका कारण पनि शव पाइएको स्थलमा अनुसन्धान कुकुर परिचालन गर्न नसक्दा प्रहरीको केन्द्रीय जाँच ब्यूरो ९सीबीआई० समेत अनुसन्धानमा असफल भएको छ ।

हत्यारा प्रहरीको अनुसन्धानको तरिका राम्रोसँग परिचित भएको पहिलेदेखि नै आशंका गरिंदै आएका छ । निर्मलाको शवको मुचुल्का गरेपछि खटिएको प्रहरी टोली शव नल्याइकन फर्केको उतिबेला नै स्थानीय वासिन्दाले बताएका थिए । केही समयपछि शव पाइउको ठाउँमा शव लिन प्रहरी टोली पुगुञ्जेल सयौं मानिस हेर्ने भन्दै शव भए नजिक जाँदा सो ठाउँ बिग्रिसेको सीआइबीका डीएसपी अंकुर जोशीले मानसखण्डलाई बताएका थिए ।

स्थानीय वासिन्दा, महिला अधिकारकर्मी, परिवारजन र आन्दोलनकारीले प्रहरीको अनुसन्धान कार्यमा समेत प्रहरीको उदाशिनता रहेको आरोप लगाइरहेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी डिल्लीराज विष्टमाथि अनुसन्धान कार्यलाई गम्भीरताका साथ अगाडि नबढाएको आरोप लाग्दै आएको छ ।

प्रहरीले निर्मलाको शव परीक्षण तथा मेडिकल जाँचपछि अनुसन्धानमा प्रगति हुने बताए पनि अहिलेसम्म प्रहरी ‘हात लाग्यो शून्य’कै अवस्थामा छ । प्रहरीको असफलतासँगै एसपी विष्टको आलोचना बढ्दै गइरहेको छ ।

आन्दोलन झन् कडा हुने
अनुसनधानमा समेत प्रहरी उदाशिनता देखिएको भन्दै आन्दोलनकारीले आन्दोलन चर्काउने भएका छन् । शनिबार कञ्चनपुर उद्योग वाणिज्य संघको हलमा आयोजिक एक कार्यक्रममा आन्दोलनकारीले एकतावद्ध भएर अगाडि बढ्ने प्रतिवद्धता जनाएका छन् ।

आन्दोलनकारीले प्रहरीले घटनाका मुख्य आशंकित विरुद्ध अनुसन्धान नगरी निर्दोष व्यक्तिहरुलाई फसाउन खोजेको आरोप लगाउँदै अबका दिनमा एसपी विष्टको सरुवाको मागलाई मुख्य बनाउने सम्भावना बढेको छ ।

शुक्रबार प्रहरीले आन्दोलनकारीमाथि बल प्रयोग गरेको थियो । आइबारदेखि आन्दोलन एकीकृत गर्दै अगाडि बढाइने सहमति भएको छ ।


About Author
-मानसखण्ड