४६४२ पटक हेरिएको
प्रकाशित: २०७५ भाद्र ०१ , ११:५१ बजे

निर्मला हत्याकाण्ड : चक्रदेव उम्किए प्रहरीको चंगुलबाट, आन्दोलन झन् बढ्दै

Image

– मानसखण्ड
महेन्द्रनगर, १ भदौ । प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काको सुझबुझका कारण १३ वर्षिया निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको घटनामा फसाउन खोजिएका चक्रदेव वडू बिहीबार रिहा भएका छन् । सार्वजनिक अपराध ऐन अनुसार मुद्दा चलाएर प्रहरीले अपहरणको शैलीमा राखेका वडूलाई सीडीओ खड्काको आदेश बमोजिम जिल्ला प्रहरी कार्यालयले थुनामुक्त गरेको हो ।

२३ वर्षीय वडूलाई सार्वजनिक अपराध ऐन अन्तर्गत हिरासतमा लिइए पनि प्रहरीले सो नामको व्यक्ति आफ्नो नियन्त्रणमा नरहेको बताउँदै आएको थियो । आफ्नै हिरासतमा रहेको व्यक्तिबारे त्यस्तो टिप्पणी गर्ने जिल्ला प्रहरी कार्यालयका डीएसपीको अभिव्यक्ति दैनिक मानसखण्डसँग सुरक्षित छ । प्रहरीको हिरासतबाट १२ दिनपछि छुटेका वडूको निर्मला पन्तको शव पाइएको स्थान नजिकैक घर छ । उनलाई ‘प्रहरीलाई गालीगलौच
गरेको’ अभियोगमा सार्वजनिक मुद्दा चलाइएको थियो । तर, हिरासतमा प्रहरीले वडूसँग निर्मला हत्याकाण्डकै सिलसिलामा केरकार गर्दै आएको आफन्तको आरोप छ ।

प्रहरीले वडूलाई फसाएर आफू सफल भएको देखाउन खोजेको आरोप लाग्दै आएको बेला प्रमुख जिल्ला अधिकारी खड्काको इजलासले उनलाई धरौटीमा रिहा गरेको हो । सीडीओ खड्काको इजलासले प्रहरीको दावीमा सत्यता नदेखेपछि म्याद थप गर्न इन्कार गरेको हो । वडूलाई प्रहरीले हिरासतमा राखेर निर्मला हत्याकाण्डका सन्दर्भमा यातना दिएको आफन्तले बताएका छन् ।

लामो भारत बसाइपछि वडू तीन महिना अगाडि मात्रै नेपाल फर्केका  हुन् । उनले करिब दुई महिना अगाडि मात्रै विवाह गरेका छन् । निर्मलाको शव पाइएको स्थान नजिक रहेको घरमा नवविवाहिता पत्निसँग घरमैं मघुमास मनाइरहेका उनलाई प्रहरीले अचानक गिरफ्तार गरेको थियो ।

आफन्तजनका अनुसार चक्रदेवलाई ‘प्रहरीलाई गाली गरेको’ आरोपमा झण्डै दुई साता हिरासतमा राखिए पनि प्रहरीले उनलाई निर्मला हत्याकाण्डमा फसाउन खोजिरहेको थियो । दैनिक मानसखण्डले सत्यतथ्य खोल्न थालेपछि प्रहरी पछाडि हटेको उनीहरुको भनाई छ ।

म्याद थपेर पठाएको बन्दीसमेत आफ्नो हिरासतमा छैन भन्ने अभिव्यक्ति प्रहरीका अधिकारीले दिन थालेपछि प्रजिअ खड्कासमेत क्रुद्ध बनेका स्रोतको भनाई छ । सीडीओ खड्काले वडूलाई रिहा गरेपछि निर्मला हत्याकाण्डको अनुसन्धानमा प्रहरी ‘शून्य अवस्थामा’ पुगेको छ ।

नागरिक समाज पनि क्रमशः उद्देलित
१३ वर्षिया निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको घटनाको २२ दिन बित्दा पनि प्रहरीले अनुसन्धान गर्न नसकेपछि आन्दोलनले कडा रुप लिने भएको छ ।

प्रहरीले बेला–बेलामा घटनाबारे बोली फेर्दै आएपछि स्थानीय वासिन्दा क्रुद्ध हुँदै गइरहेका छन् । प्रहरीमाथि जनताको विश्वास उठ्न थालेपछि नागरिक समाज आन्दोलित हुने भएको हो ।

घटनाको सत्यतथ्य छानविनका लागि दवाब दिन महेन्द्रनगरमा बिहीबार नागरिक संघर्ष समिति गठन गरिएको छ । मानव अधिकार रक्षक संञ्जालका उपाध्यक्ष लक्ष्मी बोहराको अध्यक्षतामा बिहीबार बसेको बैठकले आन्दोलनका कार्यक्रम समेत तय गरेको छ । बैठकमा महेन्द्रनगरमा क्रियाशील सबै अधिकारवादी संस्थाको सहभागिता थियो ।

बैठकले प्रहरीको फितलो अनुसन्धानका कारण २२ दिन बितिसक्दा पनि घटनाको सत्यतथ्य बाहिर नआएको निर्कष निकालेको छ । मिना भण्डारीको संयोजकत्वमा निर्मला हत्याकाण्डविरुद्ध संघर्ष गर्न कञ्चनपुरका विभिन्न संघ संगठनका पदाधिकारी सम्मिलित ५१ सदस्यीय नागरिक संघर्ष समिति पनि गठन गरिएको छ ।
बिहीबारको भेलाले भदौ १ गते प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको छ । निर्मलाको हत्याकाण्डमा उत्पन्न रहस्य सुल्झाउन मागसहित ज्ञापनपत्र बुझाइने बताइएको छ ।

त्यस्तै भदौ २ गते अनसन र बृहत ¥यालीका लागि उद्योग वाणिज्य संघको सभाहलमा छलफल गरी भदौ ३ गते जिल्ला प्रशासन कार्यालयमा रिले अनसन र गृह मन्त्रालयलाई ज्ञापनपत्र पठाउने योजना रहेको छ ।

संघर्ष समितिले रिले अनसन जारी राख्दैँ ४ गते प्रदेश सरकार र ५ गते राष्ट्रिय मानव अधिकार आयोगलाई ज्ञापनपत्र बुझाउने तयारी गरेको छ ।

फोटो सेसन मात्रै हो कि ?
सत्तारुढ नेकपा कञ्चनपुरका नेताहरुले बिहीबार गृहमन्त्री रामबहादुर थापालाई निर्मला हत्याकाण्डबारे ज्ञापनपत्र बुझाएको यो तस्विर सामाजिक सञ्जालमा प्रकाशित भएको छ ।  नेताले गृहमन्त्रीलाई बुझाएको ज्ञापनपत्रमा के उल्लेख छ भन्ने खुल्न सकेको छैन । जिल्ला प्रहरीका जिम्मेवार अधिकारीहरुकै कारण निर्मला हत्याकाण्डको अनुसन्धान विथोलिएको आरोप लागिरहेका बेला सत्तारुढ पार्टीका जिल्ला नेताहरुको ज्ञापनपत्रको विषयवस्तु खुल्न नसक्नु पनि आश्चर्यजनक मानिएको छ । ज्ञापनपत्रको प्रतिलिपी सञ्चारमाध्यमलाई उपलब्ध गराइएको छैन ।


About Author
-मानसखण्ड