३५४४ पटक हेरिएको
प्रकाशित: २०७५ श्रावण ३१ , ०९:०३ बजे

उपमेयर शुसिला चन्दको काम : हास्यास्पद प्रस्तावमा फस्दा झन् तनाव

Image

 

अपरिपक्व निर्णयले ट्याग लागेका चौपाया पनि सडकमा, महेन्द्रनगरमा जताततै गाईगोरु

महेन्द्रनगरका छाडाचौपाया हिंडाएरै जुम्ला पुर्‍याउने प्रस्ताव स्वीकार्‍यो भीमदत्तले । सिसैयावासीले फर्काए चौपाया । हास्यास्पद प्रस्ताव स्वीकार्दै २६ करोड रुपैयाँ लाग्ने दुस्साहसिक कामको अगुवाई भने उपमेयर सुशीला चन्दले गरिन् ।

– मानसखण्ड
महेन्द्रनगर, ३१ साउन । भीमदत्त नगरपालिकामा रहेको छाडा पशुचौपायालाई जुम्लाको सिंजा पठाउन थालिएको घटना पनि रोचक नाटक जस्तो बनेको छ ।

प्रदेश–६ को जुम्लामा पर्ने सिंजा गाउँपालिकाका वासिन्दा हर्कबहादुर खत्रीले छाडा गाईगोरु हिंडाएरै जुम्लाको सिंजा लैजान गरेको प्रस्ताव भीमदत्त नगरपालिका समक्ष राखेपछि जनप्रतिनिधि उत्साहित हुँदै सम्झौतामा पुगे । तर, केही घण्टामैं उनीहरुलाई निराशा मात्रै होइन थप बदनामीको जोखिम बनेको छ ।

नगरपालिकासँग सम्झौता गरेर करिब तीन सय ५० छाडाचौपाया धपाउँदै पूर्वतिर लागेका खत्रीलाई बेदकोट नगरपालिकाको सिसैयाका वासिन्दाले रोकेर ती चौपाया फर्काई दिएपछि स्थिति हास्यास्पद बन्न गएको हो ।

भीमदत्त नगरपालिकाले गत आर्थिक वर्षमा छाडाचौपाया व्यवस्थापन भन्दै ७० लाख रुपैयाँ खर्च गरे पनि एउटा छाडाचौपाया पनि व्यवस्थित नभएको पृष्ठभूमिमा यो नयाँ घटना भएको हो ।

सिसैयाका वासिन्दाले चौपाया फर्काएपछि भीमदत्त नगरपालिकाका मेयर र उपमेयरको प्रतिष्ठा थप विवादित हुने देखिएको छ । महेन्द्रनगरबाट जुम्लाको सिंजासम्म तराईका गाईगोरु हिंडाएर लैजाने प्रस्ताव नगरपालिकाले कसरी स्वीकार गर्‍यो भन्ने रोचक विषय बनेको छ । राजमार्ग प्रयोग गरेर मान्छे सिंजा पुग्न मात्रै कम्तमिा ३७ दिन लाग्ने अनुमान गरिएको छ । यस्तो असम्भव प्रस्ताव नगरपालिकाले स्वीकार्नु रहस्यमयी ठानिएको छ ।

यस्तो थियो सम्झौता
प्रति चौपाया आठ सय ७५ रुपैयाँ पाउने गरी खत्रीले हिंडाएरै चौपाया सिंजा लैजाने सम्झौता भीमदत्त नगरपालिकासँग गरेका थिए । पहिलो खेपमा नगरपालिकाले एक हजार छाडाचौपाया पठाउने निर्णय गरी खत्रीसँग सम्झौता गरेको छ । खत्रीले छाडाचौपाया सिंजा पुर्‍याएको प्रमाण बुझाएपछि भुक्तानी पाउने शर्त रहेको छ ।

खत्रीले पहिलो खेप मात्रै सिंजा पुर्‍याए भने आठ लाख ७५ हजार रुपैयाँ नगरपालिकाले भुक्तानी दिनुपर्नेछ । भीमदत्तमा अहिले करिब ८ हजार छाडाचौपाया रहेको अनुमान छ । सबै छाडाचौपाया त्यसरी व्यवस्थापन गर्ने हो भने करिब ७० लाख रुपैयाँ खर्च गर्नुपर्ने देखिन्छ ।

गोठमैं ट्याग लगाइएका चौपाया यसरी व्यवस्थापन गर्ने हो भने नगरपालिकाले करिब २८ करोड रुपैयाँ खर्च गर्नुपर्ने हुन्छ ।
खत्रीले महेन्द्रनगर–साँफेबगर–दैलेखको राकम–कालिकोट हुँदै चौपाया हिंडाएरै चौपाया सिंजा पुर्‍याउने सम्झौता भएको भीमदत्त–१७ का वडाअध्यक्ष हिमाल चन्दले बताए ।

भीमदत्त नगरपालिकाका सूचना अधिकारी हरिसिंह धामीका अनुसार खत्रीसँग सम्झौता गरी छाडाचौपाया पठाउन लागिएको हो । सिंजाका स्थानीय वासिन्दाको सहमति अनुसार भीमदत्तबाट छाडा चौपाया लगेर गाँउका किसानलाई बाँड्ने योजना बनाएको खत्रीले बताएका छन् ।

खत्रीले उन्नत खालका निरोगी गाइगोरु सिंजा लग्ने र त्यहाँका स्थानीयलाई चौपाया बुझाएको रसिद भीमदत्त नगरपालिकालाई बुझाएपछि रकम दावी गर्ने सूचना अधिकारी धामीको भनाई छ । तर, बाटोमैं मर्ने चौपायाको बारेमा सम्झौतामा कुनै उल्लेख नगरिएको बताइएको छ ।

सम्झौतामा चौपाया ‘डोटी’ जिल्ला मात्रै प्रवेश गराइएमा सम्झौतामा उल्लेखित १० प्रतिशत रकम नगरपालिकाले तिर्नुपर्ने प्रावधान रहेको वडाअध्यक्ष चन्दले बताए ।

कञ्चनपुरबाट डोटी जिल्लाको सिमाना एक दिनको पैदल दूरीमा पर्छ । त्यो पैदल दूरी (बुडर) सम्म छाडाचौपाया पुर्‍याउन सके मात्रै खत्रीले प्रति एकहजार चौपायामा करिब ८० हजार रुपैयाँ पाउँछन् । छाडाचौपायासहित बुडर पुग्न धेरैमा तीन दिन लाग्ने जानकारहरुको अनुमान छ ।

सिंजा पुर्‍याइएका गाइको मात्रै पूरा रकम दिने नगरपालिकाले सम्झौता गर्ने निर्णय गरिए पनि सम्झौतापत्र बारे थाहा नभएको वडाअध्यक्ष चन्दले बताए । यसबारेमा नगरपालिकाका प्रवक्ता राजेन्द्र पाण्डेलाई सम्पर्क भए पनि उनले दैनिक मानसखण्डसँग बोल्न इन्कार गरे ।

खत्रीले गाँउका किसानलाई वितरण गर्न चौपाया लगिरहेको बताए । उनले स्थानीय किसानलाई मल तथा दुधका लागि चौपाया आवश्यक भएको बताए । खत्रीले गत पुसमा शुक्लाफाँटा नगरपालिबाट पनि तीन सय चौपाया जुम्ला लगेको भन्दै भुक्तानी लिएको बताइएको छ । त्यस्तै कृष्णपुर नगरपालिबाट पाँच सय चौपाया लग्न सम्झौता भएको उनको भनाई छ ।

भीमदत्त नगरपालिकाका उपप्रमुख सुशिला चन्द सिंहको संयोजकत्वमा बसेको वडाध्यक्षसहितको बैठकले नगरका एक हजार छाडा चौपाया जुम्ला पठाउने निर्यण गरिएको हो । चौपाया जुम्ला पठाउन महेन्द्रनगर खुला मञ्चमा जम्मा गरिदैँ छ । जम्मा भएकामध्ये करिब तीन सय ५० चौपाया बुधबार महेन्द्रनगरबाट सिंजा लैजादै गर्दा सिसैयावासीले रोकेर फिर्ता पठाएका छन् ।

असर उल्टो !
नगरपालिकाले ब्रम्हदेवमा चौपायाका लागि व्यवस्थापन गरेको र बाँकी चौपाया जुम्ला पठाउन लागेको खबर पाएपछि गोठमा भएका चौपाया समेत डोर्‍याएर नगरवासी महेन्द्रनगर बजार आउन थालेका छन् । यसले गर्दा छाडाचौपायाको समस्या झन् बढेको छ । अहिले महेन्द्रनगर बजारमा विगतमा भन्दा धेरै छाडाचौपाया घुमिरहेका छन् ।

ट्याग लागेका चौपाया गोठबाट निकालेर छाडा छोड्न थालिएपछि भीमदत्त नगरपालिकाले आधिकारिक सूचना जारी गरी त्यसो नगर्न अनुरोध गरिरहेको छ । भीमदत्त नगरपालिकाको गणना अनुसार नगरक्षेत्रमा ट्याग लागेका चौपाया मात्रै २४ हजार रहेका छन् ।

 


About Author
-मानसखण्ड