७३८० पटक हेरिएको
प्रकाशित: २०७५ श्रावण ३० , ०८:५४ बजे

निर्मला हत्याकाण्ड : आज साँझ महेन्द्रनगरमा ब्ल्याकआउट

Image

महेन्द्रनगर, ३० साउन । भीमदत्त नगरपालिका वडा नं. २ की १३ वर्षिया निर्मला पन्तको बलात्कारपछि भएको हत्याकाण्डको अनुसन्धानमा जिल्ला प्रहरी कार्यालयका अधिकारीहरु बाधक भएको जनमत बढ्दै गएपछि ‘निर्मलालाई न्याय’ अभियान सुरु गरिएको छ । दैनिक मानसखण्डका सम्पादक खेम भण्डारीको नेतृत्वमा सुरु भएको अभियानले बुधबार साँझ साढे आठबजेदेखि साढे नौ बजेसम्म महेन्द्रनगरमा ब्ल्याकआउट गर्दै जिल्लाका प्रहरी प्रमुख र उपप्रमुखलाई सरुवा गर्नका लागि आ–आफ्नो छतमा गएर आवाज उठाउन आव्हान गरेको छ ।

बलात्कारपछि हत्याजस्तो जघन्य घटनामा समेत एसपी विष्ट र डीएसपीले गैरजिम्मेवार अभिव्यक्ति दिइरहेकोले अनुसन्धान प्रक्रिया नै प्रभावित भएको छ । यस्तो अवस्थामा नागरिकले आफ्नो तर्फबाट एक घण्टा ब्ल्याकआउट गरेर आवाज उठाइदिन अभियानको अनुरोध छ ।

हत्याको अनुसन्धानमा प्रहरी असफल हुँदै जाँदा पीडित पक्षले भने जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी डिल्लीराज विष्टका कारण अनुसन्धान समेत प्रभावित भइरहेको दावी गरेका छन् ।

निर्मलाका आमाबुवा, छरछिमेक र भीनपा–२ खोल्टबिजारका वासिन्दाले एसपी विष्ट जिल्लाको प्रहरी प्रमुख रहुञ्जेल अनुसन्धान प्रभावित रहने दावी गरेका छन् । सोमबार दैनिक मानसखण्डसँगको कुराकानीमा उनीहरुले एसपी विष्ट र हत्याको घटनामा प्रारम्भदेखि आशंकित व्यक्तिबीच साँठगाँठ रहेको आरोप लगाए । पीडित पक्षले एसपी विष्टको बम दिदीबहिनीसँग पारिवारिक सम्बन्ध रहेको भन्दै आफूहरुले पटक–पटक अनुरोध गरे पनि निर्मला पढ्न गएको घरको खानतलासी नगरेको बताए । यस विषयमा एसपी विष्टलाई एसएमएस गरेर अनुरोध गर्दासमेत उनले मानसखण्डसँग बोल्न चाहेनन् ।

एसपी विष्टले बम दिदीबहिनीको घटनामा कुनै संलग्नता नरहेको भन्दै ठाडो बोल्ने तथा बलात्कार र हत्यामा एकजनाको मात्रै संलग्नता रहेको ठोकुवा अभिव्यक्ति दिने गरेकाले केन्द्रीय जाँच ब्युरो (सीआईबी)को अनुसन्धान समेत प्रभावित भएको पीडित पक्षको आरोप छ । जिल्ला प्रहरीले सीआईबीलाई समेत सहयोग नगरेको उनीहरुको भनाई छ ।

निर्मलाको हत्याकाण्डमा एकातिर बम दिदीबहिनीका बारेमा एसपी विष्टले निर्दोषिताको प्रमाणपत्र दिंदै घटनामा एकजनाको मात्र संलग्नता रहेको बताइरहेका छन् भने अर्कोतर्फ उनले अहिलेसम्म घटनाको अनुसन्धानबाट ‘शून्य’ फेला परेको अभिव्यक्ति दिइरहेका छन् ।

मंगलबार एसपी विष्टलाई जिल्ला प्रहरी कार्यालयमा भेट्न गएको पत्रकारहरुको एक समूहलाई एसपी विष्टले निर्मला हत्याकाण्डको अनुसन्धानमा कुनै प्रगति नभएको बताए । सीआइबीले गरिरहेको अनुसन्धानको बारेमा एसपीको यो कथनलाई अर्थपूर्ण रुपमा लिइएको छ ।

मंमगलबार एसपी डिल्लीराज विष्टले पत्रकारसँग जिल्ला प्रहरी कार्यालमा भएको भेटघाटमा निर्मला हत्या प्रकरणको अनुसन्धान शून्य रहेको अभिव्यक्ति दिएका हुन् ।

हत्यारा पत्ता लाग्न नसक्दा मृतकका आफन्तहरु मंगलबारदेखि फेरि आन्दोलनमा उत्रिएका छन् । मंंगलबार बजारक्षेत्रमा आन्दोलन गर्दै जिल्ला प्रहरी कार्यालयमा धर्ना दिएका थिए ।

 


About Author
-मानसखण्ड