६१६ पटक हेरिएको
प्रकाशित: २०७५ श्रावण २९ , ११:०१ बजे

एक वर्षमा यस्तो भयो बेल्डाँडी गाउँपालिकामा

Image

– मदन गिरी
महेन्द्रनगर, २९ साउन । कञ्चनपुरको दक्षिणी बेल्डाँडी गाउँपालिकाले भौतिक पूर्वाधार निर्माणलाई मुख्य प्राथमीकतामा राखेर काम गरिरहेको छ । जिल्लाकै दुर्गम तथा भौतिक पूर्वाधारको अभाव रहेको गाउँपालिले स्थानीय तहको सरकार बनेसँगै भौतिक पूर्वाधारमा जोड दिएको हो ।

गाउँपालिकाका अध्यक्ष धनबहादुर थापाले स्थानीय तहमा जनप्रतिनिधि आएको एक वर्ष बढी समय बितिसकेको उल्लेख गर्दै समृद्ध गाउँपालिका निर्माणका लागि भौतिक पूर्वाधार निर्माण जोड दिईएको बताए ।

उनका अनुसार भौतिक पूर्वाधार निर्माण अन्र्तगत सडक सञ्जालको निर्माण तथा स्तरोन्नती, भौतिक संरचना, रिङ रोडका लागि डिपीआर बनाउने तयारी भईरहेको छ ।

गत आर्थिक वर्षमा वडा नम्बर १ मा ६ मिलोमिटर, ३ मा तीन किलामीटर र ४ मा साढे चार किलोमिटर नयाँ सडक निर्माण गरिएको छ । गाउपालिमा चार किलोमिटर बढी सडक कालोपत्रे गरिनुका साथै थुप्रै अन्य सडकको स्तरोन्नति गरिएको अध्यक्ष थापाको भनाई छ ।

नदी कटान नियन्त्रणका लागि तटबन्ध निर्माणसँगै चौधर नदीमा पक्की पुल निर्माणका लागि ७० लाख रुपैयाँ बजेट नियोजन गरिएको र बाँकी बजेटका लागि प्रदेश सरकारसँग पहल गरिएको छ ।

त्यस्तै गाउँपालिका अध्यक्ष थापाले गाउँपालिकालाई पर्यटकीय नगरीको रुपमा अघि सार्ने योजना रहेको बताए । त्यसका लागि बेल्डाँडी रिङ रोडको डिपीआर बनाउने, धार्मीक पर्यटकीय स्थलमा पूर्वाधार निर्माण लगायतका कामको थालनी गरिएको छ ।
स्थानीय वासिन्दाको प्रत्यक्ष दैनिकीसँग जोडिएका र स्वरोजगारमूलक कार्यक्रम पनि गत आर्थिक वर्षमा सपन्न भएका छन् । अध्यक्ष थापाका अनुसार सिलाई कटाई, महिला तथा बालबालकिा उत्थान, लोक सेवा आयोगका तयारी कक्षा सञ्चालन, गुणस्तरीय शिक्षा र स्वास्थ्य क्षेत्रमा पनि विभिन्न कार्यक्रम गरिएका छन् ।

कृषि क्षेत्रको विकासका लागि स्थानीय किसानलाई उन्नत जातको बीउ, वितरण, कृषि अनुदान कार्यक्रम सञ्चालन गरिएका छन् ।

संघीय सरकारले दिएको अधिकार अन्र्तगत स्थानीय तह सञ्चालनका लागि आवश्यक १३ वटा कानुन समेत गाउँपालिकाले गत आर्थिक वर्षमा निर्माण गरेको छ ।

अध्यक्ष थापाले आफू निर्वाचित भएको एक वर्षको समय अवधिमा कर्मचारी र भौतिक संरचनाको अभावका कारण लक्ष्यअनुरुप काम गर्न नसकिएको दुखेसो पोखे ।

अध्यक्ष थापाले गाउँपालिकामा भौतिक संरचना र कर्मचारी अभाव मुख्य समस्या रहेको बताउँदै ‘हरेक विकास निर्माण कार्यका लागि भौतिक पूर्वाधार र कर्मचारीतन्त्रको राम्रो व्यवस्था हुनुपर्छ, जसको गाँउपालिकामा निकै अभाव छ, अहिले यसको विकासमा जोड दिएको छौँ’, भने ।

त्यस्तै गाँउपालिकाकी उपाध्य कमला कार्कीले पनि कर्मचारी अभावमा गाउँपालिकाले काम कारवाहि गर्न हम्मेहम्मे परेको बताईन् । उनका अनुसार १८ कर्मचारीको दरबन्दी रहेको गाँउपालिकामा हाल अधिकृत, सुब्बा र लेखापाल गरी तीनजना मात्रै
कार्यरत छन् ।

आवश्यक कर्मचारीको पदपूर्तिको लागि केन्द्र र प्रदेश सरकारसँग पहल गरिए पनि कुनै सुनुवाई नभएको उपाध्यक्ष कार्कीले गुनोसो गरिन् ।

गाउँपालिकामा रहेकोको दलदल भूमि, सुकुमबासी र आरक्ष पीडितको समस्या समाधानका लागि पनि केन्द्र सरकारलाई पहल गरिएको उनको भनाई छ ।


About Author
-मदन गिरी