७६२४ पटक हेरिएको
प्रकाशित: २०७५ श्रावण २९ , १०:५५ बजे

निर्मला हत्याकाण्ड : आफ्नो खेल खेल्न यहाँ पनि चुकेन प्रहरी !

Image

–मानसखण्ड
महेन्द्रनगर, २९ साउन । रहस्यमयी हुँदै गइरहेको निर्मला हत्याकाण्डको अनुसन्धानमा असफल हुँदै जाँदा नेपाल प्रहरीले आफ्नो इज्जत बचाउने (फेस सेभिङ) उपाय खोज्न थालेको त होइन भन्ने आशंका उत्पन्न हुन थालेको छ ।

प्रहरीको केन्द्रीय जाँच ब्यूरो समेत खटिएको घटनाको अनुसन्धानमा प्रहरीले एकातिर कसैलाई हिरासतमा नराखेको भने पनि एकजनालाई थुनेको पाइएको छ भने अर्कातिर अनुसन्धान पूरा नहुँदै कञ्चनपुरका एसपी डिल्लीराज विष्टले अस्वाभाविक अभिव्यक्ति दिन थालेका छन् ।

घटनालाई नाटकीय रुप दिएर अनुसन्धान सफल भएको देखाउन प्रहरीले अनैतिक बाटो समातेको पनि दखिएको छ । निर्मला हत्याकाण्डकै सिलसिलामा समातिएका एकनालाई सार्वजनिक मुद्दा चलाएर प्रहरीले थुनामा राखे पनि सो हिरासतलाई समेत लुकाउन खोजेको छ ।

प्रहरीले निर्मला हत्याकाण्डको सिलसिलामा एकजना पनि हिरासतमा नरहेको बताउँदै आएको छ । तर, निर्मला हत्याकाण्डको गहिराईसम्म पुग्न प्रहरीले सार्वजनिक अपराध ऐनको सहयोग लिइरहेको छ । आश्चर्य त के भने निर्मला हत्याकाण्डको अनुसन्धानको नियतले प्रहरीले सार्वजनिक अपराध ऐन अन्र्तगत व्यक्ति आफ्नो हिरासतमा नरहेको समेत प्रहरीले बोल्न भ्याएको छ ।

कञ्चनपुर प्रहरीले सोमबार जिल्ला प्रशासन कार्यालयमा सार्वजनिक मुद्दामा तेस्रो म्याद थप गरी चक्रदेव वडूलाई थुनिरहेको भए पनि मानसखण्डलाई सो नामको व्यक्ति आफ्नो हिरासतमा नरहेको बताएको छ । जिल्ला प्रहरी कार्यालयका डीएसपी ज्ञानबहादुर सेठीले त्यस्तो बताएका हुन् । उनको भनाई अभिलिखित छ । उनले चक्रदेव नामको व्यक्ति आफ्नो हिरासतमा नरहेको बताए पनि सोमबार बिहान मानसखण्डसँग कुरा गर्दै प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले केही दिन अगाडि सो नामको व्यक्तिको म्याद थपेर लगिएको बताएका थिए ।
साउन १० गते बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको अनुसन्धानमा नेपाल प्रहरीको केन्द्रीय जाँच ब्यूरो
(सीआइबी) खटिएको छ । सो टोलीलाई सहयोग गर्ने नाममा कञ्चनपुर प्रहरीले भने जथाभावी गरिरहेको पाइएको छ ।

कञ्चनपुर प्रहरीले निर्मला हत्याकाण्ड सम्बन्धमा कसैलाई पनि हिरासतमा नलिएको बताए पनि प्रहरीले निर्मला पन्तको शव पाइएको उखुबारी नजिकैका २३ वर्षीय चक्रदेव वडू आठ दिनयता प्रहरीको नियन्त्रणमा रहेका परिवारजनले बताएका छन् । चक्रदेवलाई प्रहरीले यातना दिइरहेको पत्ता लागेको छ । उनलाई सार्वजनिक कसुर ऐनअन्तर्गत राखेर हिरासतमा लिइएको छ । उनलाई घटनाको ११ दिनपछि साउन २१ गते हिरासतमा लिइएको उनका वुवा रामदत्त वडूले बताए । चक्रदेवलाई प्रहरीले सार्वजनिक अपराध ऐन अन्तर्गत थुनामा राखेको प्रमुख जिल्ला अधिकारीले स्वीकारेका छन् । उनले कसुरबारे भने आफूले ध्यान नदिएको र प्रहरीको अनुरोधमा म्याद थप गरिदिएको बताए ।

संवेदनशील विषयमा प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले समेत ध्यान नदिएको पाइएको छ । आधारविनाको सार्वजनिक अपराधको कसुरमा उनले तीन पटक म्याद थप गरिसकेका छन् ।


सार्वजनिक अपराध ऐनअन्र्तगत हिरासतमा लिइएका वडूको उनी पक्राउ परेको अर्को दिन अर्थात २२ साउनमा रगतको नमुना समेत लिइएको छ । वडूलाई सार्वजनिक मुद्दामा नियन्त्रणमा राखिएको भए पनि उनलाई निर्मला हत्याकाण्डकै सन्दर्भमा केरकार हुँदै गरेको परिवारजनको दावी छ ।

एसपी विष्टकै व्यवहार शंकास्पद
सीआइबीले अनुसन्धान गरिरहेको निर्मला हत्याकाण्ड गम्भीर र रहस्यमयी भए पनि कञ्चनपुरका प्रहरी प्रमुख डिल्ली राज विष्ट आफ्नो व्यवहारका कारण शंकास्पद र आलोचित हुँदै गइरहेका छन् । यो प्रकरणमा उनको सुरुदेखिको व्यवहार प्रति मृतकका आफन्त र उल्टाखाम क्षेत्रका वासिन्दाहरु आक्रोशित छन् । मृतक निर्मलाका परिवारजन तथा आफन्तहरुका अनुसार हत्यारा पत्ता लाग्न नसकेको अवस्था भए पनि एसपी विष्टले हत्याकाण्डका बारेमा निश्चिन्तताका साथ निष्कर्ष दिन थालेका छन् ।

सोमबार साँझ आफ्नै घरमा मानसखण्डसहितका पत्रकारहरुलाई जानकारी दिंदै निर्मलाका बुवाआमाले एसपी विष्टको व्यवहार विरोधाभाषी रहेको बताएका छन् । घटना बारे सीआइबी नै अन्योलमा रहेका बेला एसपी विष्टले आफूहरुसँग बलात्कारमा एकजना मात्रै संलग्न रहेको र सामूहिक बलात्कार नभएको ठोकुवा गरेको पन्त दम्पतिको कथन छ । दम्पतिका अनुसार एसपी विष्टले हत्यामा बम दिदीबहिनीको हात नरहेको ठोकुवा गरिरहेका छन् ।

निर्मलाको हत्यामा बम दिदीबहिनीको संलग्नता रहेको आमचर्चा छ । घटना भएको दिन निर्मला पढ्न भनेर मध्यान्हमा बम दिदीबहिनीकहाँ गएकी थिइन् । तर, उनी आप्mनो घर फर्किनन् । उनको शव अर्कोदिन निम्बुखेडाको उखुबारीमा फेला परेको थियो ।

प्रहरीले बम दिदीबहिनीको घरको निरीक्षण समेत नगरेको छरछिमेकको भनाई छ । निर्मलाका आफन्तले बम परिवार र एसपी विष्टको पारिवारिक सम्बन्ध रहेको आरोप पनि लगाउन थालेका छन् ।

सामाजिक सञ्जालदेखि भीमदत्त नगरपालिकाभरि नै निर्मला हत्याकाण्डमा बम दिदीबहिनीको संलग्नता रहेको चर्चा भइरहे पनि प्रहरीले भने त्यसलाई गम्भीरताका साथ नलिएको मृतक निर्मलाका आफन्तको आरोप छ ।

मृतकका परिवारजनका अनुसार एसपी विष्टले उनीहरुसँग ‘बम दिदीबहिनीको हात छैन’ भनिरहेका छन् । अनुसन्धान चलिरहेको बेला एसपी विष्टको यस्तो अभिव्यक्ति आश्चर्यजनक हो । एसपी विष्टले किन बम दिदीबहिनीलाई उम्काउन खोजिरहेका हुन त भन्ने प्रश्नमा भने निर्मलाका आफन्त स्पष्ट छैनन् ।


About Author
-मानसखण्ड