१४२९ पटक हेरिएको
प्रकाशित: २०७५ श्रावण २८ , १०:१४ बजे

प्रधानमन्त्री केपी ओली रिसाउँदा......

Image

–मदन गिरी
महेन्द्रनगर, २८ साउन । प्रधानमन्त्री केपी शर्मा ओली रिसाउँदा सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको सातौँ वार्षिक साधारणसभा (सिनेट बैठक) स्थगित भएको छ । उपकूलपति र रजिष्ट्रारले विश्वविद्यालयलाई अधोगतिमा लगेको थाहा पाएपछि प्रधानमन्त्री रिसाएका बालुवाटार स्रोतको कथन छ ।

आईतबार काठमाडौमा हुने भनिएको बैठक स्थगित भएको विश्वविद्यालय केन्द्रिय कार्यालयका उपप्रशासक गोबिन्द बल्लब पन्तले बताए । बैठकको पूर्ण तयारी भईसकेको भए पनि अन्तिम समयमा आएर बैठक स्थगित भएको हो ।

आईतबार ११ बजे सुरु हुने भनिएको बैठक प्रधानमन्त्रीको सचिवालयले पौने नौ बजे स्थगित गरिएको उपप्रशासक पन्तले बताए । सिनेटको अध्यक्ष प्रधानमन्त्री हुने कानुनी व्यवस्था छ । प्रधानमन्त्री केपी शर्मा आलीको सचिवालयले आईतबारको सिनेट बैठक स्थगन गर्न मौखिक रुपमा जानकारी गराएको हो ।

विश्वविद्यालयका उपकूलपति भूषण श्रेष्ठ र रजिष्ट्रार द्विजराज भट्टले विश्वविद्यालयलाई मनमर्जी चलाउन खोजेको प्रधानमन्त्रीलाई आभास भएपछि बैठक स्थगित गरिएको प्रधानमन्त्रीको निजी सचिवालय स्रोतको कथन छ । उपकूलपति र रजिष्ट्रारले आवश्यक संख्यामा पदाधिकारी नियुक्त नगरी सबै अधिकार आफूमा केन्द्रीत गर्न खोजेकाले पदाधिकारी नियुक्तिपछि मात्रै बैठक डाक्न भन्दै प्रधानमन्त्रीको स्वकीय सचिवालयले स्थगनको सन्देश पठाएको बताइएको छ ।

उपप्रशासक पन्तले अर्को मिति नतोकिदाँसम्म बैठक स्थगित भएको बताउँदै कारण भने आधिकारी पत्र आएपछि मात्रै थाहा हुने बताए । प्रधानमन्त्रीको कार्य व्यस्तताको कारणले बैठक स्थगित भएको हुनसक्ने उनको बुझाई छ ।

विश्वविद्यालयको सिनेट बैठक कूलपति समेत रहेका प्रधानमन्त्रीले तोक्ने प्रावधान छ ।

बैकठमा विश्वविद्यालयको गत आर्थिक वर्षको प्रगति विवरण र चालु आर्थिक वर्षको नीति तथा कार्यक्रमबारे छलफल हुने कार्यतालिका रहेको थियो ।

गत आर्थिक वर्षमा आंगिक क्याम्पस समायोजन, प्राध्यापक नियुक्ति, टिकापुरमा कृषि संकायको स्थापनालाई बैठकले अनुमोदन गर्ने कार्यसूचि रहेको थियो । त्यस्तै विश्वविद्यालयको चाुल आर्थिक वर्षको बजेट तथा नीति कार्यक्रम, निजी क्याम्पसलाई दिईएको सम्बन्धन प्रक्रियालगायतका विषय पनि कार्यसूचिमा रहेका थिए ।

सिनेट बैठकमा उपकूलपति, शिक्षा तथा अर्थ मन्त्रालयका सचिव, राष्ट्रिय योजना आयोगका अध्यक्ष, नेपाल प्राध्यापक संघका अध्यक्ष, भीमदत्त नगरपालिकाका नगरप्रमुख, अन्य विश्वविद्यालयका उप कुलपति, संकाय डीन लगायत सदस्य रहने व्यवस्था छ । ३० सदस्यीय सिनेट सभामा हाल २५ मात्रै सदस्य रहेका छन । विश्वविद्यालयका पदाधिकारीको नियुक्ति नहुँदा सिनेट सदस्य रिक्त रहेका हुन् ।


About Author
-मदन गिरी