९९४८ पटक हेरिएको
प्रकाशित: २०७५ श्रावण २७ , ११:१३ बजे

निर्मला हत्याकाण्ड : सत्य नजिक पुग्दैछ प्रहरी

Image

– मदन गिरी/भुवन भट्ट
महेन्द्रनगर २७ साउन । १६ दिनअघि बलात्कारपछि मृत अवस्थामा फेला परेकी १३ वर्षीया निर्मला पन्तको हत्याकाण्डको अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय जाँच ब्यूरो (सीआईबी) अझै पनि निष्कर्षमा पुग्न सकेको छैन । तर, संकेत र स्रोतका अनुसार अबका केही दिनमैं सीबीआईले घटनाको रहस्योद्घाटन गर्न सक्छ ।

घटनाको अनुन्धान गरिरहेको सीबीआईलाई घटनास्थलका कारण समस्या भएको देखिन्छ । निर्मलाको हत्याका दिन पानी परेका कारण अनुसन्धानमा सहयोगी कुकुरहरुले समेत काम गर्न सक्ने अवस्था नहुँदा अनुसन्धान प्रभावित भएको छ । सीबीआईका अनुसनधान अधिकृतहरु वर्षाका कारण क्षतविक्षत घटनास्थलमा बाँकी रहेका सुराक खोज्दै अपराधीसम्म पुग्ने प्रयास गरिरहेको छ ।

‘मानिसले खोज्नै पर्ने थिएन कुकुरले नै पत्ता लगाइहाल्थ्यो’, मानसखण्डसँग सीआईबीका डीएसपी अंकुर जोशीले घटनास्थलमैं भने, ‘बिग्रेको घटनास्थलका कारण जटिलता आयो ।’ प्रहरीले अब निर्मलाको गहन शव परीक्षण (भिसेरा लगायतको मेडिकल जाँच)को रिपोर्ट कुरेको देखिन्छ । सो प्रतिवेदनमा वीर्य, डीएनए, रौं र हत्याको मूल कारण पत्ता लाग्ने सम्भावना रहन्छ । प्रयोगशालाले एकदुई दिनमैं रिपोर्ट पठाउने सम्भावना छ ।

घटना र घटनास्थलको प्रकृति हेर्दा निर्मलाको हत्यारालाई घटनास्थल र सो आसपासको क्षेत्र सम्बन्धी राम्रो ज्ञान भएको ठहरमा प्रहरी पुगेको स्रोतको भनाई छ । प्रहरी निर्मलाको हत्या शव पाइएको स्थानमा नभई अन्यत्र भएको निष्कर्षमा पुगेको बताइएको छ । हत्यारा(हरु)ले अत्यन्त सोचविचार  गरी निर्मलाको शव उखुबारीमा फाले पनि निर्मलाको साइकल र कापी किताब पाइएका स्थान हेर्दा प्रहरी सो निष्कर्षमा पुगेको स्रोतको भनाई छ ।

जिल्ला प्रहरी कार्यालयले शनिबार साँझ निर्मला हत्या प्रकरणमा कोही पनि हिरासतमा नरहेको बताएको छ । तर, स्रोतका अनुसार घटनास्थल नजिक घर भएका एक अन्दाजी २३ वर्षीय युवकलाई प्रहरीले एक सातादेखि हिरासतमा राखेको छ । स्रोतका अनुसार शवको मेडिकल रिपोर्ट नआएसम्म ती युवकलाई छोडिने वा सार्वजनिक गरिने सम्भावना छैन ।

साउन १० गते भीमदत्त नगरपालिका–४ भगतपुर स्थित साथी रोशनी बमको घरमा पढ्न गएकी निर्मला घर फर्किनन् । उनी बेपत्ता भएपछि घरपरिवार र छरछिमेकले खबर गर्दा प्रहरीले ‘भोलि’ भनेर टारेको आरोप लगाइउको छ । प्रहरीको सो लापरवाहीका कारण स्थानीयमा आक्रोश बढ्दा महेन्द्रनगर बजार आन्दोलनको मारमा परेको छ ।

परिवारजन भने खुलेरै आरोप लगाउँदै !
निर्मलाकी साथी रोशनी बमका परिवारजनले निर्मला दिउँसो नै घर फिर्ता भएको बताएका छन् । तर, निर्मलाकी आमाले मानसखण्डसँगको कुराकानीमा घटना सुनियोजित भएको दावी गरेकी छन् ।

निर्मलाकी आमा दुर्गा पन्तले छोरी अबेरसम्म घर नफर्केपछि साँझ ६ बजे खोजतलासका लागि रोशनीको घर पुग्दा ढोका नखोलिएको बताइन् । ‘बाहिरबाट ढकढक्याएँ तर ढोका खुलेन्’, दुर्गाले भनिन्, ‘ केही बेरपछि बबिताले झ्यालबाट निर्मला दिउँसै घर गएकी बताइन् ।’ उनी चर्को स्वरमा झर्केर बोलेको दुर्गाको भनाई छ । बबिता रोशनीकी दिदी हुन् ।

दुर्गाका अनुसार निर्मलालाई रोशनीले घरमा सँगै पढ्न बोलाएकी थिईन् ।

छोरी नभेट्टिएपछि राति साढे १० बजे छिमेकीसहित आफू फेरि रोशनीको घर गएको दुर्गाले बताईन् । फेरि निर्मलाको बारेमा नराम्रा शव्दहरु प्रयोग गर्दै आफूहरुलार्ई धम्क्याएको उनको दावी छ । बबिताले ‘तँलाई के लाग्छ मेरा कोहि छैनन्, तँ पटक/पटक मेरो घरमा आएर ममाथि शंका गर्दै छेस् तुरुन्त मेरो घरबाट निकल’ भनेर धम्की दिएपछि आफूले प्रहरीलाई खबर गरेको दुर्गाको कथन छ । दुर्गाले आफ्नो अभिव्यक्ति दैनिक मानसखण्डलाई रेकर्ड गराएकी छन् ।

अर्को दिन बिहान आफू बबिताको घर जाँदा फेरि दुव्र्यवहार गरिएको दुर्गाको कथन छ । मृतक निर्मलाको साईकल निम्बखेडा स्थित खोलामा फालिएको अवस्थामा फेला परेको थियो । मृतक निर्मला पन्तकी आमाका अनुसार बबिताले नै साइकलका बारेमा जानकारी गराएकी थिईन् । साइकल फालिएको ठाउँका बारेमा बबिताले बताएपछि खोजी गर्दै जाँदा उखुबारीमा निर्मलाको शव भेटिएको दुर्गाको भनाई छ । साईकल खोलामा फालेको बताउँदै, लास पनि यस्तै आसपासमा नै होला खोज्नुस भनी बबिताले स्थानीय वासिन्दालाई समेत सल्लाह दिएकी दुर्गाको भनाई छ ।

प्रहरीले घटनामा संलग्न रहेको आशंकामा रोशनी र बबितालाई नियन्त्रणमा लिएको थियो तर उनीहरुलाई तत्काल छोडियो बबिता बहिनी रोशनी बमसँगै भगतपुरस्थित आफ्नै घरमा बस्दै आएकी छन् ।


About Author
-मानसखण्ड